फागुन १, २०८०
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
काठमाडाैं | पुस १९, २०८०
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले ।
जिल्ला विकास समिति बागलुङको सभापति निर्वाचित भई शपथ लिएपछि उनले सभापतिको कार्यकक्षबाट तत्कालीन राजा वीरेन्द्र शाहको फोटो हटाए । फोटो हटाउनुपर्ने परिस्थितिमा उनी किन पुगे ? थापा मगर भन्छन्, ‘राजनीतिक दृष्टिकोणको बुझाइ र निरन्तर वर्ग संघर्षको एउटा परिघटना हो त्यो ।’
थापा त्यो बेला नेपाल कम्युनिस्ट पार्टी (मसाल)को वैधानिक मोर्चा अखिल नेपाल राष्ट्रिय जनमोर्चाबाट सभापति चुनिएका थिए । थापाको राजनीतिक गतिविधि, पृष्ठभूमि र राजाको फोटो फ्याँक्नेसम्मको कथा निकै लामो छ ।
भर्खर २९ वर्ष लाग्दै गर्दा २०५४ मा बाग्लुङको दक्षिणी भेगमा पर्ने हुग्दिसिर गाउँ विकास समिति वडा नम्बर ८ बाट वडाध्यक्षमा निर्वाचित भएका थिए, थापा मगर । राष्ट्रिय जनमोर्चा र नेपाल कम्युनिस्ट पार्टी (एमाले)को तालमेलबाट उनी सभापति निर्वाचित भएका थिए ।
मुद्दै–मुद्दाबाट मुक्तिपछि सभापति
लीला जिल्ला विकास समिति सभापति बन्नुसँग उनको लामो राजनीतिक यात्राको सम्बन्ध छ । उनी गाउँबाट २०४० सालमा मजदूरीका लागि भारत पुगे । चौकीदारीका लागि भनेर मद्रास पुगेका थिए ।
बागलुङ जिल्लामा नेकपा (मसाल)को बलियो पकड थियो । त्यसको प्रभाव उनीमा नहुने कुरै भएन । दिउँसो पार्टीको काम, साँझ चौकीदारी गर्थे । त्यससँगै सितिरियो कराँते खेल्न शुरू गरे । मसालको प्रवासी संगठन अखिल भारत नेपाली एकता समाजमा उनी आबद्ध थिए । त्यहीबेला उनी एकता समाजको भगिनी संगठन वामपन्थी युवक मोर्चाको सदस्य बने ।
२०४५ सालको अन्त्यतिर पूर्णकालीन कार्यकर्ता बनेर नेपाल पाठाइनेमध्ये थापा मगर पहिलो टोलीमा परे । गाउँमा आउँदा उनको परिचय लडाकूको रूपमा बनेको थियो । कारण हो, कराँते । उनी खाइलाग्दा, औसत युवाभन्दा हृष्ट–पुष्ट र अग्ला थिए । थापा बरेङ आइपुग्दा आफ्ना नेता तथा कार्यकर्तालाई बरेङ प्रहरी चौकीले ज्यादती गरिरहेको थाहा पाए । जनआन्दोलन नजिकिँदै जाँदा थापा मगरकै नेतृत्वमा २०४६ फागुन २२ गते बरेङ प्रहरी चौकीलाई घेराबन्दीमा पारियो ।
घेरामा परेका प्रहरीले आत्मसमर्पण त गरे, तर थापा मगरकै नेतृत्वमा उक्त घटना भएकाले उनलाई सर्वस्वहरणसहित राज्यद्रोहको मुद्दा लगाइयो । तर त्यसको एक महिनापछि प्रजातन्त्र आएकाले उक्त सजाय मिनाहा भयो । ‘सशस्त्र संघर्ष’ गर्ने पार्टीको नीतिमा मुख्य हतियार अखिल नेपाल युवक संघ थियो ।
२०४७ मा राज्य र जो कोहीको पहुँच नपुग्ने स्थानमा मसालले राजनीतिक, सांगठनिक र शारीरिक प्रशिक्षण शुरू गर्यो । बागलुङ र प्यूठान गरी झण्डै एक सय ठाउँमा प्रशिक्षण चलायो । बन्द शिविर र प्रशिक्षणबाट पूर्णकालीन जनमिलिसिया हुँदै पछि सशस्त्र संघर्षका लागि ‘सेना’ निर्माण गर्ने भनी शिविर सञ्चालन गरिएको थियो । २०४८ को आमचुनाव नेकपा (मसाल)ले बहिष्कार गर्यो, जसका कारण मसालले ‘सशस्त्र संघर्ष’ शुरू गर्छ भन्ने भाष्य निर्माण भयो ।
राजनीतिक सक्रियतासँगै थापा २०४८ मा धौलागिरि बहुमुखी क्याम्पस बागलुङमा भर्ना भए । खुला राजनीतिमा भर्खर प्रवेश गर्दा २०४८ माघ १ गते ठूलो घट्ना भयो । त्यसपछि थापाको भूमिगत राजनीतिक यात्रा फेरि शुरू भयो । कालिगण्डकीको किनार स्थानीय भाषामा जिमिरीघाट (पछि जैमुनीघाट)मा माघे संक्रान्तिमा ठूलो मेला लाग्छ । त्यही मेलामा शारीरिक रूपमा प्रशिक्षित सयौं युवालाई ड्रेससहित मार्चपास गराइयो । मार्चपाससँगै आमसभा पनि गरियो ।
राजतन्त्र र त्यतिबेलाको कांग्रेस सरकारविरुद्ध थापाले चर्को भाषण गरे । प्रहरी निरीक्षक ज्ञानेश्वर वैद्यको नेतृत्वमा जिल्लाबाट ५० जना प्रहरी टोलीले सभास्थल घेरा हाल्यो । जिल्लाबाट आएको प्रहरी टोलीले बाटोमाथि रहेको ठाँटीमा अस्थायी शिविर खडा गरेको थियो । साँझ सभा समापनपछि त्यसको वरपर युवाको विभिन्न समूहबीच झडप भयो । त्यही झडप नियन्त्रण गर्न जाँदा प्रहरी टोलीको नेतृत्व गरेका निरीक्षक वैद्यको मृत्यु भयो ।
त्यतिखेर सूचना र सञ्चारका माध्यम अहिलेजस्तो थिएनन् । बिहान मिर्मिरे नहुँदै मेलास्थल र वरपरका बस्ती तथा जिल्लाबाट आएका प्रहरी र सेनाको झण्डै ५ सय जनाको टोलीले घेरा हाल्यो ।
सुरक्षा निकायको अपरेसनका क्रममा कुटपिट हुने र पक्राउ पर्नेमा प्रायः मसाल समर्थक र केही एमालेका कार्यकर्ता परे । दोस्रो दिन थापाको नाममा वारेन्ट जारी भयो । मार्चपासको नेतृत्व र भाषण गरेको भनी थापालाई मुख्य योजनाकारका रूपमा दोषी करार गरिएको थियो ।
‘सुरक्षा निकायले अपरेसन चलाउँदै गयो । मलाई जनताले बचाए र त्यहाँबाट बाहिर निस्कन सफल भएँ । अनाहकमा दलबहादुर विक, राम पौडेल, प्रेम राना, भीमबहादुर थापा, कोपिल मल्ल, राजु थापा, जीतबहादुर रानालगायत पक्राउ परे । उनीहरूलाई यति यातना दिइयो कि जिउँदै खुट्टा जलाइयो’, चर्चित जैमुनी घटना सम्झँदै थापा भन्छन् ।
२०४८ पछि फेरि मुद्दा लाग्दा उनी पार्टीको आन्तरिक काममा भूमिगत रूपमा सक्रिय भए । २०५१ मा बागलुङमा जनमोर्चाले एमालेसँग तालमेल गर्यो । तालमेलसँगै क्षेत्र नम्बर १ मा गोविन्द अधिकारी र ३ मा परि थापाले चुनाव जिते । चुनावपछि मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार गठन भयो ।
निर्दोषलाई मुद्दा लगाइएको भनी धौलागिरीबाट प्रतिनिधित्व गर्ने सांसदहरूले मन्त्रिपरिषद् समक्ष निवेदन दिए । सोही निवेदनका आधारमा मुद्दा खारेज भयो । थापा पनि खुला राजनीतिमा आए ।
मसाल पटक-पटक चिरा पर्यो । त्यसैको एउटा चिरा माओवादीले १० वर्ष ‘सशस्त्र संघर्ष’ चलायो । मसालबाट राजनीतिक यात्रा शुरू गरेका थापा यतिखेर गण्डकी प्रदेश सभाको सदस्य छन् ।
तात्कालीन नेकपा विभाजन हुँदा एमाले रोजेका थापा अहिले पार्टीको पोलिटब्यूरो सदस्य छन् । आफूसहितको मुद्दा फिर्ता गराउन २०५१ मा गृहमन्त्री रहेका केपी ओलीलाई भेट्दाको स्मरणमा थापा मगरले भने, ‘भूमिगत शैलीमा गाउँबाट आएर गृह मन्त्रालय गइयो । १५/२० मिनेट प्रतिक्षा गरेपछि उहाँ (ओली) आउनुभयो । शरीर चटक्क परेको थियो, अहिलेजस्तो थिएन । हात मिलाइयो । उहाँले हैन चिनेजस्तो लाग्यो नि ? भन्नुभयो । अनि मैले कमरेड व्यवस्था परिवर्तनका लागि लडेको योद्धा हुँ । संघर्षमा होमिएको छु भनें ।’
सभापति भएपछि जिल्लाका सबै प्रमुखलाई परिचालन गर्ने पदमा पुगे थापा मगर । ‘सभापतिको शपथ लिएँ । अहिलेजस्तो फ्लेक्स र फोटोको चलन थिएन । आर्टिसलाई माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओको फोटो पेन्टिङ गर्न लगाएको थिएँ । वर्ग संघर्ष, विश्व दर्शन, क्रान्तिको हेतुले राजाको फोटो हटाएर माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओको फोटो राख्न लगाएँ । सामान्तवादको नाइके राजसंस्था भएको मेरो चेतमा थियो । त्यसकारण राजाको फोटो हटाएको हुँ, त्यतिबेला’, थापा मगरले राजाको फोटो हटाउनुको कारण खुलाउँदै भने ।
पुरानो संरचनामा रहेका यन्त्रहरूलाई उनले गरेको यो कार्यप्रति चित्त बुझेन । त्यसबेला पार्टीको नीति ‘पुरानो व्यवस्थाविरुद्ध संघर्ष’का निम्ति जनप्रतिनिधि बन्ने भन्ने थियो ।
पुराना राजनीतिक गतिविधि, उनको पृष्ठभूमिसँगै ‘राजतन्त्र नमान्ने सभापति’ भनेर कर्मचारीहरूसँग ‘लडाइँ’ शुरू भयो । कतिपय समय थापा मगरले कार्यालयका अधिकारीहरूमाथि जाइ लागे ।
जिल्लाभरिको विकास निर्माण, खानेपानी, कृषि, विद्युतलगायत समस्या समाधानमा ३४/३५ वटा समितिको नेतृत्व जिविस सभापतिले गर्ने व्यवस्था थियो । त्यसकारण उनले कसैसँग सम्झौता नगरी राजाको फोटो फ्याँकेर आफ्नो कार्यकाल सके ।
‘सशस्त्र संघर्ष हुन्छ, राजसंस्था जान्छ, जनवादी क्रान्ति हुन्छ भन्ने विश्वासमा त्यो काम गरियो । त्यही कारण प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा अधिकारी लगायतलाई घेराबन्दीमा पारें’, उनले भने, ‘त्यो विद्रोह सामन्तवादको नाइके राजसंस्थाविरुद्ध थियो । जानीबुझी गरेको थिएँ ।’
अहिले हर्क साम्पाङसहित केही स्वतन्त्र जनप्रतिनिधि र राजावादीले फोटो फेरेको सन्दर्भ र त्यो बेलाको परिघटना बिल्कुल फरक भएको थापा मगर बताउँछन् ।
‘अहिले जनताका छोरा–छोरी राष्ट्र प्रमुख बनेको अवस्था छ । कि यो व्यवस्थाको नयाँ विकल्प दिन सक्नुपर्यो, हैन भने स्वतन्त्रताका नाममा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो फ्याँक्नु अराजकता हो । यो कार्यले पश्चगामी शक्तिलाई मलजल पुगेको महसुस गरेको छु,’ उनले भने ।
फेरि राजतन्त्र र सामान्तवादको कुरा गर्नु पश्चगामी हुने उनले बताए ।
‘अहिले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद भएर जनताका समस्या ठीक–ठीक ढंगले समाधान गर्न नसकेको साँचो हो । वितृष्ण भएकै हो । तर, त्यसको विकल्प फेरि पनि राजतन्त्र, राणातन्त्र र सामान्तवाद हो भन्नु गलत हुन जान्छ । फोटो फेरेर मात्र छुट्टै चिनारी दिन खोज्नु पश्चगमनलाई टेवा दिनु हो ।’
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
हाम्रा पुर्खाहरूले २०० (सन् १८१४) वर्षअघि कस्तो समाजमा जीवनयापन गरे ? यसको लेखाजोखा हेर्दा कहालिलाग्दा तथ्यबाहेक केही भेटिन्न । मूलतः पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका युवाहरू लावालस्कर लागेर युद्धमा होमिए ।...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...