कात्तिक ३०, २०८०
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
काठमाडाैं | फागुन २८, २०८०
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले नियुक्ति पत्र थमाइदिएपछि २०५६ माघ २५ गते रसुवाको सदरमुकाम धुञ्चेस्थित जिल्ला सिञ्चाइ कार्यालयमा शुरू नियुक्ति लिएँ । त्यहाँ रहँदा इञ्जिनियर र ओभरसियरले मलाई पनि फिल्डमा लैजान्थे । फिल्ड भत्ता भने उनीहरूले मात्र लिन्थे, मलाई दिँदैनथे । सो कार्यालय नुवाकोटस्थित डिभिजन कार्यालयमा गाभिएपछि म उद्योग मन्त्रालयमा सरुवा भएर आएँ । मेरो कार्यदक्षता देखेर मन्त्रालयका सचिवहरू समेत छक्क पर्दथे । कम्प्युटरबाट शुद्धाशुद्धिसहित एकैछिनमा एक पेज सिध्याइदिँदा सबैजना अचम्मित हुन्थे । मैले सचिव, सहसचिव तथा उपसचिवसमेतलाई कम्प्युटर सिकाउने काम गरें । सचिव भानुप्रसाद आचार्य, सहसचिव निरञ्जन बराललाई समेत मैले उहाँहरूको कार्यकक्षमा बसेर वा कहिलेकाहीँ मेरै कार्यकक्षको कुर्सीमै राखेर कम्प्युटर सिकाएँ ।
मलाई मन्त्रालयले कर्मठ र इमान्दार कर्मचारीको रूपमा लिन थाल्यो र सजिलोका लागि सबैले मलाई नै खोज्न थाले । उच्चपदस्थ अधिकृतहरूको ध्यान मतर्फ आकर्षित हुन्थ्यो । कर्मचारीहरूबीचमा एकआपसमा मनमुटाव भएको मैले धेरै देखेँ । उसले उसलाई सराप्ने र गाली गर्ने त कति देखेँ कति । कामचोर र बेइमान कर्मचारीहरूको बिगबिगी अझै पनि छ हरेक निकायमा । मलाई सर्वसाधारणहरूले सबै कर्मचारी भ्रष्ट छन् भन्नु उचित लाग्दैन, किन कि यहाँ कैयन इमानदार कर्मचारीहरू पनि छन् । बेइमान कर्मचारीहरू घुमिफिरी मालदार अड्डा चाहर्छन् ।
२०७० मा मलाई कपिलवस्तुको मोतीपुर गाविसको सचिवमा पदस्थापन गरियो । म भाँचिएको र टुसाएको अर्को सानो करङको पीडाबाट गुज्रिरहेको थिएँ र थेरापीका लागि कहिले शिक्षण अस्पताल त कहिले निजी फिजियोथेरापी सेन्टरमा गैरहनुपर्थ्यो । उता मोतीपुरको गाविस कार्यालय वाणगंगा नगरपालिकामा गाभियो र मलाई तत्कालीन जिल्ला विकास समितिमा फाजिलमा राख्ने काम भयो । त्यसबखत म सार्वजनिक संस्थान निर्देशन बोर्ड काठमाडौंमा काजमा भएकाले जिविसले तलब मेरो खातामा राखिदिन्थ्यो । बिग्रँदो स्वास्थ्यका कारण म थेरापीहरू छुटाएर कपिलवस्तु जान सक्ने अवस्था थिएन । बोर्डमा काजमा राखिराख्नका लागि तत्कालीन स्थानीय विकास मन्त्रालयमा धेरै नै धाउनुपर्यो र हारगुहार गर्नुपर्यो । कारण एउटै थियो, नाजुक स्वास्थ्य अवस्था । सार्वजनिक संस्थान निर्देशन बोर्ड खारेज भएपछि बोर्डको सम्पत्ति तथा दायित्वमा अर्थ मन्त्रालयमा एक वर्ष गुजारें । काम नतोकिँदा पुस्तकालयमा अध्ययन गरेर दिन कटाउँथे ।
'कार्यालय नभएको ठाउँमा सरुवा'
२०७५ चैतमा मलाई सरकारले मालपोत कार्यालय सिम्रौनगढ बाराको मालपोत अधिकृतमा पदस्थापन गर्यो । तर, त्यहाँ मालपोत कार्यालय खडा भैसकेको थिएन । एक त मालपोत कार्यालय मेरो रुचिको कार्यालय पनि थिएन । किनकि नैतिकता र इमान्दारिता बचाइराख्ने मेरो धेय थियो । आखिर उक्त मालपोत कार्यालय मैले अवकाश पाएको दुई महिनापछि अर्थात् २०७९ भदौमा मात्र स्थापना भयो । २०७९ मा स्थापना भएको कार्यालयमा चार वर्षअघि अर्थात् २०७५ मै मलाई पदस्थापन गर्दा मैले एक वर्षसम्म तनाव व्यहोर्नुपर्यो । सामान्य प्रशासन मन्त्रालयमा छ/सातजना साथीभाइहरू हुँदाहुँदै पनि मलाई काठमाडौँस्थित कुनै पनि कार्यालयमा सरुवा गरिएन । कुनै-कुनै साथीहरूले 'पैसा खुवाउने गर्नुस् न, सरुवा भैहाल्छ नि' पनि भने । तर म कुनै पनि हालतमा पैसा खुवाउने सोचमा थिइनँ । मेडिकल बोर्डको सिफारिश बोकेर मैले सामान्य प्रशासन मन्त्रालय धाएँ र भौतारिएँ धेरै समयसम्म । २०७६ चैत्र २७ गते मलाई मालपोत कार्यालय रोल्पाको मालपोत अधिकृतमा छ महिनाका लागि काजमा खटाइयो । आफ्नो रुचिको कार्यालय नभए तापनि मन नलागी नलागी रोल्पा मालपोतमा हाजिर भएँ । मेरो घर पनि उतै भएकाले मलाई चिन्न नसकेको जन्मथलो खुंग्री र समग्र रोल्पाले चिन्यो । फाइदा त्यही एउटै मात्र भयो ।
रोल्पा हाजिर भएलगत्तै लकडाउन शुरू भयो र कामकाज ठप्प भयो । काजमा रहिरहेकै अवस्थामा मलाई कार्यालय नै नभएको ठाउँ मालपोत कार्यालय सिम्रौनगढबाट भूमि व्यवस्थापन विभागले रोल्पामै सरुवा भएको पत्र पठायो । नियमानुसार २०७९ असारसम्म रोल्पामै रहनुपर्ने भए तापिन स्वास्थ्यमा समस्या भएको र मालपोत कार्यालयमा रही कामकाज गर्ने मनस्थिति नभएको कारण म सबैभन्दा कमजोर निकाय खेलकुद मन्त्रालयमा सरुवा भएँ र अवकाशका लागि आठ महिना कुरेँ । मसँग सल्लाह नै नलिई अचानक मन्त्रीको निजी सचिवालयमा कामकाज गर्न तोकियो । शान्त वातावरण चाहिने मलाई अशान्त ठाउँमा खटाइएकोमा गुनासो गर्न प्रशासन गएँ ।
प्रशासनका उपसचिवले भन्नुभयो, 'रुकुमबासी मन्त्रीको सचिवालयमा रोल्पाबासी मान्छेले काम गर्न पाएपछि अरू के चाहियो ?' आफू फन्दामा परेको महसुस भयो । अनेक थरिका मान्छे आउजाउ गर्ने ठाउँ हो, मन्त्रीको सचिवालय । त्यही भएर बल्लबल्ल छ महिना मन्त्रीको निजी सचिवालयमा कटाएँ । सचिवालयमा बस्दा मन्त्रीले महाशाखा वा शाखाबाट फाइल मगाउने र निजी सचिवले मन्त्रीको टेबुलबाट बोकेर आफ्नो कार्यकक्षमा लैजाँदा भुसतिघ्रेहरू सँगसँगै हुन्थे । र, निजी सचिवको कार्यकक्षमा स्वकीय सचिव समेत बसी के-के गर्थे थाहा पाइँदैनथ्यो । आसेपासेहरूले भित्रबाट चुकुल पनि लगाइहाल्थे । सचिवालयमा कामले आउने र विना कामले आउने बराबरजस्तै हुन्थे । स्वकीय सचिवले मेरो कुर्सी/टेबुल नै कब्जा गरेपछि मलाई दिक्क लाग्न थाल्यो, त्यसैले दुई महिना बिदामा बसेँ र २०७९ असार २२ गते अनिवार्य अवकाशपश्चात् आनन्दले सास फेर्न पाएँ ।
'सरकारले भनेबमोजिम घरपायक भएन'
सरकारले कर्मचारी समायोजन गर्ने सिलसिलामा घरपायक पदस्थापन गर्ने भन्दै हालको ठेगाना कायम गर्न उर्दी जारी गर्यो । सोहीअनुसार मैले पनि रोल्पाबाट काठमाडौं बसाइँसराइको प्रमाणपत्र लिएर निजामती किताबखानामा अद्यावधिकका लागि बुझाएँ । तर पदस्थापन न घरपायक भयो, न त पदस्थापन भएको ठाउँमा कार्यालय नै थियो । यस्तो गर्नुथियो भने किन बसाइँसराइको कागज बनाउनुपर्थ्यो र मलाई ? रोल्पाकै ठेगाना नै ठीक थियो नि !
'लेखापालका कारण १६ हजार गुम्यो'
जिल्ला विकास समितिमा दरबन्दी रहँदा लेखापालले पोशाक भत्ताबापतको रकम भुक्तानी नगर्दा रु ७५०० नोक्सानी व्यहोर्नुपर्यो । भुक्तानी माग्दा काज रहेको निकायबाट लिनुस् भने र काज रहेको निकायका लेखापालले दरबन्दी भएकै कार्यालयबाट लिनुस् भने ।
रोल्पा मालपोत कार्यालयमा कार्यरत रहँदा लेखापालले नागरिक लगानी कोष कट्टीबापतको रकम कोषमा नपठाउँदा ८५०० नोक्सानी व्यहोर्नुपर्यो । कर्मचारीवृत्तमा खराब मानिने लेखापालहरूको चाकडी गर्नेतर्फ लागिएन ।
'काम गर्ने कालु, मकै खाने भालु'
कुनै बखत मन्त्रालयमा राति नौ बजेसम्म खट्ने र विभागमा रहँदा सार्वजनिक बिदाका दिनहरूमा समेत डटेर काम गर्दा पनि हरेक वर्ष निजामती सेवा पुरस्कार पाउनेको सूचीमा मेरो नाम नपर्दा म छक्क पर्थेँ । सूचीमा केही भ्रष्ट र कामचोरहरूको नाम देख्दा भने पुरस्कार नपाएकै राम्रो भन्ने मनस्थितिमा पुग्थेँ । कसैसँग गुनासो गर्दैनथेँ ।
विकृति/विसंगति र भ्रष्टाचारविरुद्ध कलम
२०५३ सालमा गोरखापत्र दैनिकले ‘भाग्य र कर्म’ शीर्षकको मेरो पहिलो कथा छाप्यो, जुन कथाका इमानदार र भ्रष्ट कर्मचारीलाई पात्र बनाएको थिएँ । त्यस्तै स्पेसटाइम दैनिक पत्रिकामा ‘घुस र पदोन्नत’ शीर्षकको कथा छापिएको थियो । मेरा कैयन लेख रचनाहरू विद्रोह झल्किने खालका हुन्थे । कार्यालयमा कार्यरत हुँदा आफूले देखेका नचाहिँदा क्रियाकलापहरूलाई लेख रचनामा उतार्थेँ । मेरो अध्ययन साहित्य नभए तापनि रुचि भएकै कारण साहित्यतर्फ होमिएको थिएँ । २०६१ सालमा म साहित्यिक संस्था दायित्व वाङ्मय प्रतिष्ठानको आजीवन सदस्य भएको थिएँ ।
साधारण जीवनशैली
मैले हजार रुपैयाँ पर्ने गोल्डस्टार जुत्ता लगाउँछु, अरूले जस्तो दश हजारका जुत्ता म लगाउँदिनँ । ‘सादा खाना वनारस जाना’ को सिद्धान्तलाई अंगालेको छु । पन्ध्र वर्ष अघिदेखिका पोशाक लगाउने गर्छु । मैले जिन्दगीमा सुनको सिक्री र औँठी लगाएको छैन र लगाउनेवाला पनि छैन । एक घण्टासम्मको दूरीका लागि म गाडी चढ्दिनँ, पैदल नै हिँड्छु । अति जरुरी काममा मात्र ट्याक्सी प्रयोग गर्छु । सम्पत्ति थुपार्नेहरूलाई व्यंग्य गर्दै फेसबूकमा सामग्रीहरू सम्प्रेषण गर्नेगर्छु । अधिकृतबाट अवकाश भए तापनि दुई श्रेणी मुनिका कर्मचारी अर्थात् खरिदारकोभन्दा कम पेन्सन थाप्छु । जथाभावी र फजुल खर्च गर्ने मेरो क्षमता पनि छैन ।
अवकाशपछिका दिन
चालीस वर्ष काठमाडौंमा, त्यसमा पनि बाह्र वर्ष सिंहदरबारभित्र बिताउँदा कुशासनका धेरै कुराहरू देख्नुपर्यो । त्यतिबेलादेखि बेथिति र विसंगतिविरुद्धका विषयमा लेख्ने गर्छु र देश बर्बाद गर्नेहरूलाई पनि कलममार्फत् बेलाबेलामा घोच्ने गर्छु । २०६१ सालमा पहिलो कविता संग्रह ईन्द्रेणी प्रकाशन गरेको अठार वर्षपछि अर्थात् २०७९ मा जन्मथलो झल्काउने ‘साइँली सलल’ बोलको एउटा गीत रचेँ, जुन रेकर्ड भएर पनि युट्युबमा उपलब्ध छ । २०८० मा आफ्ना संघर्षका कुराहरू समावेश भएको आत्मकथा संग्रह ‘ओगिल्जा’ प्रकाशनलगत्तै ‘रापतीका अलग शब्दहरू’ पनि प्रकाशन भैसकेका छन् । अझ आधादर्जन पुस्तक प्रकाशनको तयारी त छन्, तर आर्थिक समस्याका कारण ती तत्काल प्रकाशन हुनेवाला छैनन् ।
प्रसंशकहरूबाट उत्साह
मेरा फेसबूक साथीहरूबाट प्राप्त प्रेरणा र उत्साहबाट साहित्यमार्फत म यहाँसम्म आइपुगेको छु । बरु आफन्तहरूबाट उत्साह पाइँदैन । समसामयिक लेख र साहित्यिक रचनाहरू सञ्चार माध्यममा प्रकाशन भैरहेका छन् । दुई घण्टामा एउटा लेख तयार गर्न सक्छु भने पन्ध्र मिनेटमा एउटा गीत वा कविता रच्न सक्छु । त्यस्तै एउटा मुक्तक पाँच मिनेटमा तयार गर्न सक्छु । फुर्सद भएमा कहिलेकाहीँ दिनमा चारवटासम्म लेख/रचना गर्ने गरेको छु । मेरो रमाउने विषय भनेकै लेखन र साहित्य हो । कहिलेकाहीँ तीनवटासम्म साहित्यिक कार्यक्रमहरू भ्याउनुपर्ने अवस्था पनि आउँछ । काठमाडौंमा आयोजित हरेक कार्यक्रममा राप्ती भेगका साहित्यिक व्यक्तित्वहरू भेटाउन मुस्किल पर्छ, कहिलेकाहीँ फाट्टफुट्ट भेटिनुहुन्छ, नत्र प्रायः कार्यक्रमहरूमा मैले गृहजिल्ला रोल्पाको मात्र होइन, राप्तीकै प्रतिनिधित्व गर्नुपर्ने हुन्छ ।
'सुकुम्बासी भन्दा पनि हुन्छ'
मेरो नाममा रोल्पाको खुग्रीमा आधा घर र बाटोले नछोएको मूल्यहीन डेढ आना जग्गा मात्र छ । मेरो सम्पत्ति भनेकै कलम, कागज, शब्द र शब्दपुञ्जहरू नै हुन् । त्यस्तै प्रसंशकहरूबाट प्राप्त प्रशंसाका पोकाहरू पनि अमूल्य सम्पत्ति हुन् । आफन्तहरूबाट भन्दा पनि पराई तर प्रसंशकहरूबाट नै मैले उत्साह पाउँदै आएको छु । मैले पाएका उपाधिहरूमध्ये ‘प्रकृतिप्रेमी’ को उपाधि पनि हो । त्यसैले म बेलाबेलामा जन्मथलो रोल्पाको खुंग्री जाने गर्छु र प्रकृतिसँग रमाउँदै वनपाखा, नदीनाला, गौचरणको भ्रमण गर्ने गर्छु ।
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
हाम्रा पुर्खाहरूले २०० (सन् १८१४) वर्षअघि कस्तो समाजमा जीवनयापन गरे ? यसको लेखाजोखा हेर्दा कहालिलाग्दा तथ्यबाहेक केही भेटिन्न । मूलतः पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका युवाहरू लावालस्कर लागेर युद्धमा होमिए ।...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...