बिनाविभागीय मन्त्रीको खर्च सवा करोड

काठमाडौं, २९ पुस– तलबभत्तालगायत साधारण खर्चका कारण राज्यको बजेट नै असन्तुलित बनेका बेला माओवादी केन्द्रबाट सरकारमा रहेका बिनाविभागीय मन्त्रीहरूले राज्यकोषको सवा करोड रुपैयाँभन्दा बढी खर्च गरेका छन् । 
सरकारमा रहेर प्रतिपक्षी एमालेसँग चुनावी गठबन्धन गरेको भन्दै ३१ असोजमा प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट सरकारमा सहभागी १७ मन्त्रीलाई बिनाविभागीय बनाइदिएका थिए । जिम्मेवारी मुक्त भए पनि चुनावविरुद्ध ‘षड्यन्त्र’ हुन सक्ने भन्दै माओवादी केन्द्रले सरकार नछाड्ने निर्णय गरेको थियो । 

बिनाविभागीय बनाइएकाहरूमध्ये राज्यमन्त्री शम्भुलाल श्रेष्ठ भने पछि माओवादी केन्द्र छाडेर कांग्रेसमा प्रवेश गरे । माओवादी केन्द्रका तर्फबाट सरकारमा रहेका १६ जना बिनाविभागीय मन्त्रीहरूले सरकारी ढुकुटीबाट करिब सवा करोड खर्च गरेपछि २८ पुसमा राजीनामा दिएका हुन् ।

राज्यकोषका लागि अनावश्यक भार बनेको बन्दै माओवादी मन्त्रीहरूको आलोचना हुँदै आएको थियो । देउवा सरकारमा माओवादी केन्द्रका तर्फबाट एक जना उपप्रधानमन्त्री, आठ जना मन्त्री र आठ जना राज्यमन्त्री सहभागी थिए ।
बिनाविभागीय भएपछि पनि उनीहरू जिम्मेवारीसहितको मन्त्रीकै हैसियतमा राज्यस्रोतको निर्वाध उपभोग गर्न पछि परेनन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारदेखि आफ्नो पार्टीका कार्यक्रममा मन्त्रीकै हैसियतले राज्यको सुविधा उपभोग गरे । 

मतदान गर्न आफ्नो गृहनगर जाँदा होस् वा निर्वाचनमा मनोनयन दर्तासम्म पनि उनीहरूको सान कुनै प्रभावशाली मन्त्रीभन्दा कम थिएन । यी मन्त्रीहरूका कारण मात्र २८ पुससम्म सरकारी ढुकुटीबाट एक करोड २७ लाख रुपैयाँभन्दा बढी खर्च भएको छ, कान्तिपुरमा खबर छ ।

पुस २९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस