खोलालाई कुलो बनाउँदा भक्तपुरमा डुबान ! अब समाधान के ?

असार २८, २०७५

काठमाडौं – विभिन्न क्षेत्र डुबान र जलमग्न भएको देखेर सामाजिक सञ्जालमा सरकारप्रति व्यंग्य गरियो । ‘सरकार सापेक्ष प्रकृति, जताबाट पनि पानीजहाज ल्याउन सहज, तिम्रो शहर काठमाडौमा,’ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेविसंघका एक नेताले फेसबुकमा लेखे । सामाजिक सञ्जालमा डुबान क्षेत्रका तस्वीर छाएका छन् ।

मनसुनी वर्षाको शुरूआतमै जलमग्न र डुबान हुने समस्या केहीलाई सरकारको आलोचना गर्ने मौका भएको छ भने सर्वसाधारणलाई आपतको विषय । सरकारी निकायहरू डुबान क्षेत्रका विस्थापितलाई पुनस्र्थापना र राहतमा लागेका छन् । बुधवार रातिको वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढीले मध्यपुर लगायतका क्षेत्र डुबानमा परेका छन् ।

बाढीका कारण भक्तपुरका जगाती र बाराही क्षेत्रका वस्तीमा पानी पसेको छ भने भूकम्पपीडितको शिविर डुबानमा परेको छ । मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका वस्ती, नयाँ ठिमीको हनुमन्ते आसपासका क्षेत्र जलमग्न र डुबानमा परेका छन् । राधेराधे र त्यस क्षेत्रका वस्तीका साथै भाटभोटेनी सुपर मार्केटदेखि स्यामसुङ कम्पनीसम्म डुबान भएको छ । राधेराधे अगाडिदेखि सानोठिमी जाने निकोसेरासम्म नै डुबानमा परेपछि घरबाट निस्कने अवस्था नभएको स्थानीयवासी पुरुषोत्तम कार्कीले जानकारी दिए । जमिनबाट ४ फिट माथिसम्म पानी जमेपछि घरभित्र पानी पसेको छ । मध्यपुरथिमिमा अरनिको राजमार्ग खण्डका दुवै क्षेत्र डुबानमा परेका छन् ।

वस्ती डुबानमा पर्दा र सर्वसाधारणलाई आपत हुँदा मात्रै तात्ने सरकारी प्रवृत्तिले समय–समयमा डुबानका समस्या देखिन्छन् । यस्ता समस्यालाई विपक्षीले तत्काल सरकारको आलोचना गर्ने मौकाका रुपमा उपयोग मात्रै गर्नु अर्काे बिडम्बना हो । मानव वस्ती योजनावद्ध र दीर्घकालीन सोचका साथ व्यवस्थित नगरिँदा डुबानको समस्या देखिन्छन् । यस्ता समस्याको समाधान के हुन सक्छ ? बेलैमा सोच्नुपर्छ । बुधवार एकैरातमा परेको पानीले वस्ती नै डुबाउने अवस्था किन आयो ?

२४ वर्षपछि डुब्यो भक्तपुर

भक्तपुरमा साढे २ दशकपछि डुबानको समस्या विकराल रुपमा देखियो । मध्यपुर ठिमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीका अनुसार २०५१ सालमा ठूलो डुबानको समस्या देखिएको थियो । ‘२४ वर्षपछि फेरि यसपालि ठूलो समस्या देखिएको छ,’ उनले भने ।

वर्षाको अनुपातमा ढलनिकासको व्यवस्था नहुँदा गहिरो क्षेत्रका वस्ती डुवानमा परेको उनको तर्क छ । ‘खोलानाला कतै पनि थुनिएका छैनन् । प्राकृतिक बहाव नै बढी भयो,’ उनले भने । खोला र निकास क्षेत्रमा पानी नअटाएपछि ढुबान भएको उनले बताए । गएराति साँच्चिकै धेरै वर्षा भएको हो र ?

छोटो अवधिमा धेरै वर्षा

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले गएराति छोटो अवधिमा धेरै वर्षा भएको जनाएको छ । भक्तपुर क्षेत्रको वर्षा मापन छुट्टै नहुने भएपनि काठमाडौं उपत्यकामा भएको वर्षाका कारण महाशाखाले अनुमान गर्ने गरेको छ ।

काठमाडौं उपत्यकामा गएराति ९३ दशमलव ६ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ । ‘हाम्रो मापन अनुसार यति वर्षा हुनु सामान्य नै हो । तर, गएराति छोटो अवधिमा यति वर्षा भएको चाहिँ हो,’ महाशाखाका मौसमविद् मीनकुमार अर्यालले भने, ‘वर्षाको मापन २४ घण्टामा हुने गर्छ । तर, गएराति १० बजेदेखि बिहान ४ बजेसम्म छोटो अवधिमै वर्षा भएको छ ।’ महाशाखाको रेकर्ड अनुसार उपत्यकामा सन् २००२ मा सर्वाधिक १ सय १७ मिलिमिटर वर्षा भएको छ ।

दीर्घकालीन समाधान खोज्ने कि ?

हनुमन्ते खोलाको निकास साँघुरो भएका कारण मध्यपुरको राधेराधे क्षेत्र र बालकोटको तल्लो क्षेत्रमा पटक–पटक डुबानको समस्या हुने गरेको छ । खोलाको आकार सानो भएका कारण डुबान हुने गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले बताए । ‘डुबान हुने क्षेत्रमा घर बनाइएका छन्, नगरपालिकाले नक्सा पास नै नगरेर मनपरी गर्ने गरिएको छ,’ उनले भने । व्यक्तिगत स्वार्थले खोलाहरूलाई अतिक्रमण गरेर कुलो आकारमा पुर्याइएको छ ।

नगरपालिकाले ब्लक कारखाना क्षेत्रलाई आवासीय प्रयोगमा नल्याउन २०६९ सालमा निर्देशन दिएपनि पूर्ण कार्यान्वयन हुन नसकेको उनले सम्झिए । जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष नवराज गेलालले पहिल्यैदेखि प्राविधिक सोच नै त्रुटिपूर्ण रहेको बताए । ‘भौतिक पूर्वाधार सडक लगायत बनाउँदा नै त्रुटिपूर्ण काम गर्ने गरिएकाले डुबानको समस्या देखिएको छ,’ उनले भने ।

हनुमन्ते खोला अतिक्रमण भएर साँधुरो हुँदै गएको बताउँदै उनले पानीको मात्रा अनुसार निकास हुन नसकेको बताए । ‘डुबानको समस्या समाधानका लागि खोला ठूलो बनाउनुपर्छ,’ उनले भने, ‘सडक निर्माणका क्रममा पानी निकासका लागि राखिने ह्यूमपाइप साँधुरा राखिने गरेका छन् ।’ ठूलो आकारका ह्यूमपाइप राख्न आग्रह गर्दा सडक विभागका इन्जिनियरले नमान्ने र जिद्दी गर्ने गरेको उनले गुनासो गरे ।

डुबान समस्याको दीर्घकालीन समाधानका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, सडक कार्यालय, नगरपालिका, प्रकोप नियन्त्रण कार्यालय लगायतले समन्वय गरेर काम गर्नुपर्ने उनले बताए । उनका अनुसार व्यापारिक र आवासीय प्रयोजनका लागि खोला किनारमा जथाभावी टहरा बनाउने प्रवृत्तिले पनि क्षति बढाउने गरेको छ ।

तत्कालको उद्दार र राहत सँगसँगै समस्याको दीर्घकालीन समाधानतिर पनि सोच्नु आवश्यक छ । होइन भने यस्ता समस्या हरेक वर्ष दोहोरिइरहने छन् । आकाशबाट पर्ने वर्षालाई रोक्ने क्षमता हामीसँग नभएका कारण वस्ती व्यवस्थापन र ढल निकासको पर्याप्त बन्दोबस्त मिलाउनु नै बुद्धिमानी हो । सरकारले आपत परेका बेला तात्ने सँगसँगै खोला अतिक्रमण गरेर बसेकालाई हटाएर खोलालाई फराकिलो बनाउनुपर्छ । यसमा स्थानीय सरकारको भूमिका बढी देखिन्छ ।

प्राकृतिक प्रकोपलाई सरकारको आलोचना गर्ने मौकाका रुपमा मात्रै उपयोग गर्नेप्रति लक्षित गर्दै पत्रकार मदन खनाल फेसबुकमा लेख्छन्, ‘सरकारको आलोचना र पानीजहाज देखाएर ‘हुटिट्याउ’ गर्नुभन्दा प्राकृतिक विपत्ति हो, नागरिकको रुपमा मेरो नि दायित्व छ भन्ने ठाने कस्तो हुँदो हो ? सरकारलाइ खबरदारी गर्दै उद्दारमा जुटौं ।’ तत्कालको नागरिक कर्तव्य पूरा गर्दै दीर्घकालीन समाधानका लागि सरकारलाई खबरदारी गर्दै गरे भविष्यमा यस्ता समस्याको सामना गर्नु नपर्ला कि ?
 

असार २८, २०७५ मा प्रकाशित

जी भट्ट

भट्ट ‘लोकान्तर’का डेस्क सम्पादक हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार