कहाँ जान्छ राजधानी काठमाडौंको घनाबस्तीबाट निस्किने ढल ?

जेठ १, २०७६

काठमाडौं – राजधानी समेत रहेको काठमाडौं उपत्यकाको घनाबस्तीबाट निस्कने ढल कहाँ जान्छ ? धेरैलाई जिज्ञासा लाग्न सक्छ । राणा प्रधानमन्त्री श्री ३ वीरशमशेरको पालादेखि बनेका पुराना ढलहरू कहाँ जान्छन्, अहिलेसम्म पनि सर्वसाधारण अनविज्ञ छन् ।

असन क्षेत्रमा मर्मत सम्भार गर्न भन्दै जथाभावी भत्काउँदा केही समय पहिले मात्र पुरानो ढलमा वीरशमशेरकालीन इँटा भेटिएको थियो । शताब्दी पूरानो संरचनाका कारण ठूलो पानी परेको समयमा काठमाडौंका व्यस्त स्थानमा ढल फुटेर समस्या निम्तिने गरेको छ ।


ADVERTISEMENT

नदीमा मिसाइने ढल व्यवस्थित गर्नका लागि अहिले काठमाडौं उपत्यकाभित्रका नदीको किनारामा ढल विस्तार गर्ने काम हुँदैछ । यसअघि उपत्यकाको अधिकांश ढल वाग्मती, विष्णुमती, हनुमन्ते खोलामा मिसिएर बग्ने गरेको थियो ।

राजधानी काठमाडौं उपत्यकामा वाग्मती, विष्णुमती, मनोहरा खोला, धोबीखोला, हनुमन्ते खोला, महादेव खोला, बल्खु खोला, नख्खु खोलालगायत १२ वटा नदी तथा खोलाको किनारामा ढल प्रशोधन केन्द्र स्थापनाको काम भइरहेको छ ।

काठमाडौंका नदी सफा गर्नका लागि ढल प्रशोधन केन्द्र स्थापना गर्ने काम भइरहेको योजना कार्यन्वयन निर्देशनालय (पीआईडी)का आयोजना प्रबन्धक सुरतकुमार बमले जानकारी दिए । 

‘यो आयोजना सम्पन्न भएपछि काठमाडौं उपत्यकाका ढलहरू सिधै खोलामा मिसिन नदिई किनारामा प्रशोधन हुन्छ । प्रशोधन गरेर सफा पानी मात्र खोलामा मिसाइन्छ,’ बमले लोकान्तरसँग भने । 

काठमाडौंमा १ हजार १ सय ५, ललितपुरमा २ सय ६४ र भक्तपुरमा १ सय ५४ किलोमिटर ढल निमार्णको काम भइरहेको छ । 

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले ३६ दशमलव ९९ किलोमिटर र योजना कार्यन्वयन निर्देशनालय (पीआईडी) तथा काठमाडौं उपत्यका खानेपानी लिमिटेडले ४ किलोमिटर गरी वाग्मती किनारमा करीब ४१ किलोमिटर ढल निर्माण भएको छ ।

११ दशमलव २ किलोमिटर ढल निमार्णको काम भने शुरू हुने प्रक्रियामा समेत छैन ।

योजना कार्यन्वयन निर्देशनालय (पीआईडी)ले वाग्मतीमा ४ किलोमिटर, मनोहरामा २६ दशमलव ३ किलोमिटर, हनुमन्ते खोलामा २५ दशमलव ३३ किलोमिटर र खासाङखुसुङ खोलमा ७ दशमलव ६८ किलोमटिर ढल निमार्ण गर्नेछ । 

वाग्मती नदीमा मिसिन आउने ढललाई सिधै नदीमा मिसिन नदिई प्रशोधन गरेर खोलमा मिसाउनका लागि गुह्वेश्वरीमा १ करोड ६४ लाखलिटर प्रतिदिन प्रशोधन क्षमता भएको प्रशोधन केन्द्र स्थपना गरिएको छ । 

प्रशोधन केन्द्रले पहिलो चरणमा प्रतिसेकेण्ड १ सय ९० लिटर पानी प्रशोधन गर्ने अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना उप–प्रमुख इञ्जिनीयर योगेन्द्र चित्रकारले जानकारी दिए । उनका अनुसार दोस्रो चरणमा ३०० लिटर प्रतिसेकेण्ड पानी प्रशोधन गरेर वाग्मतीमा मिसिने छ । 

ढल प्रशोधन केन्द्र (वेस्ट वाटर ट्रिटमेन्ट प्लान्ट) उपत्यकामा वाग्मतीको गुह्वेश्वरी, खासाङखुसुङ खोलाको सल्लाघारी, बालकुमारी, गोर्कण, धोबीघाट र चाल्नाखेल गरी ६ ठाउँमा निर्माण गरिँदै छ ।

कसरी हुन्छ ढल प्रशोधन ?

गुहेश्रीको ढल प्रशोधन केन्द्रमा चाबहिल र बौद्ध क्षेत्रको ढल आउँछ । १२ सय डायमिटर भूमिगत पाइपबाट दैनिक १ करोड ६० लाख लिटरभन्दा बढी ढल यस केन्द्रमा भित्रिन्छ । 

आएको पानीलाई पहिलो चरणमा फेज १ मार्फत् भित्र्याइन्छ । त्यसपछि फोहोर पानीलाई एउटा ठूलो ट्याङकीमा जम्मा गरिन्छ । जम्मा गरेको पानी बाट प्लास्टिकका फोहोरहरू छुट्याइन्छ । प्लास्टिकलाई रिसाइकलिङमा पठाइने गुह्ेश्वरी ढल प्रशोधन केन्द्रमा कार्यरत इञ्जिनीयर प्रदीप कुमारले बताए । 

दोस्रो फेजमा फोहोर पानी फेरि अर्को ट्याङकीमा ४ वटा पम्पमार्फत् पठाइन्छ । त्यसमा पनि ढलमा आएका ठूलाठूला फाहोरलाई छुट्याइन्छ । 

छुट्याइएको फोहोर दोस्रो पाइपमार्फत फोहोर प्रशोधन ट्याङकमा जान्छ भने बाँकी रहेको फाहोर पानी ठूलो टनेल हुँदै अर्को प्रशोधन ट्याङकमा जान्छ । त्यहाँ पनि फेरी पानीबाट बाँकी फाहोरहरू छुट्याइन्छ । त्यो  फोहोर पनि फोहोर प्रशोधन केन्द्रमै जान्छ ।

विभिन्न चरण पारी गरी प्रशोधित ढललाई पानीको रूपमा वाग्मती नदीमा मिसाइन्छ ।

जम्मा भएको फोहोरबाट स्लाइसकेक (प्रांगरिक मल) बनाइन्छ, भने त्यसबाट निस्कने ग्याँसबाट केन्द्रलाई चाहिने विद्युत् निकाल्ने तयारी छ ।

केन्द्रलाई प्रतिदिन १ हजार ९४ किलोवाट विद्युतीय शक्तिको आवश्यकता पर्दछ । 

उत्पादन हुने फाहोरको ३० प्रतिशत भागले ऊर्जा उत्पादन गर्ने इञ्जिनीयर प्रदीप कुमारले लोकान्तरलाई बताए । 

व्यवस्थित ढल नहुँदा समस्या

ठूलो पानी पर्नासाथ काठमाडौंमा ढलले समस्या निम्त्याउने गरेको छ । ढल फुटेर सार्वजनिक स्थानमा दुर्गन्ध फैलिने तथा ढल भरिएर घरका शौचालय जाम हुने गरेको छ । 

गत वर्षको साउन २९ गतेको भीषण वर्षाका कारण शौचालय भरिदा अनामनगरका रमेश शाहलाई ५ हजार खर्चनु पर्‍यो ।

‘मेलम्चीको पाइपले गर्दा ढल नै पुरिएको रहेछ । घरको शौचालय जाम भएर खुलाउन उल्टै पैसा खर्च भयो,’ उनले गुनासो गरे । 

अव्यवस्थित बसोबास, उचित ढल निकास अभाव तथा उपत्यकाका नदी साँघुरिँदा ढलले समस्या पार्ने गरेको छ । 

जेठ १, २०७६ मा प्रकाशित

गगन अर्याल

लोकान्तर संवाददाता अर्याल सुरक्षा/अपराध तथा समसामयिक विषयमा समेत कलम चलाउँछन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस