असोज १०, २०८०
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
‘आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो’---कविशिरोमणि लेखनाथ
संयोग हो, कविशिरोमणिको नामबाटै परिचित ‘लेखनाथ नगरपालिका’ (हाल पोखरा महानगरपालिका) मा राधा माधव समिति नेपालको तर्फबाट २०६७ साल असोजमा सामयिक प्रवचन कार्यक्रम आयोजना गरिएको रहेछ । प्रवचनकर्ता हुनुहुन्थ्यो युवा दार्शनिक स्वामी श्रीहरिदासजी । कृपालु जी महाराजका एक मात्र नेपाली प्रचारक भनेर चिनिँदै आउनु भएका नेपाली स्वामीजीले १४ दिनसम्म त्यहाँको इच्छुक जनसमुदायसमक्ष प्रस्तुत गरेका विचार-मन्थनको संगालो हो ‘जन्म-मृत्यु रहस्य’ नामक यो पुस्तक । कास्की जिल्लाको एउटा बस्तीका बासिन्दाको बीचमा प्रवचनको माध्यमद्वारा बाँडिएका आध्यात्मिक चिन्तनहरू ठूलो जनसमुदायमा पुग्दा बढी नेपालीहरू लाभान्वित हुने अपेक्षा राखेर होला, झण्डै १० वर्षपछि तिनलाई पुस्तकको आकार दिइएको छ ।
पूर्वीय दर्शन, सनातन वैदिक धर्म र त्यसमा आधारित संस्कार संस्कृतिहरूबारे बुझ्न र त्यसबाट गौरवान्वित हुन स्वामी श्रीहरिदासले नेपालका नेपाली र नेपालबाहिरका नेपालीभाषीहरूलाई वर्षौंदेखि रेडियो र टेलिभिजन समेतका माध्यमबाट प्रेरणाका सन्देश दिँदै आउनुभएको छ । यस हरफको लेखक आफैं पनि ‘रेडियो नेपाल’बाट हरेक दिन बिहान प्रसार हुने ‘अध्यात्म सन्देश’ कार्यक्रमको श्रोता हो । दशौं लाख सचेत मानिसको बीचमा परिचित स्वर छ स्वामी हरिदासजीको । गाह्रो, चाम्रो र जटिल मानिने धार्मिक ग्रन्थ र दार्शनिक मान्यताहरूलाई सरल र बोधगम्य भाषामा प्रस्तुत गर्ने क्षमता भएकैले उहाँ प्रभावकारी प्रवचनकर्ता हुनुभएको हो । नत्र वेद, उपनिषद्, भागवत, भगवद्गीता, रामायण, महाभारत जस्ता ग्रन्थहरूको अर्थ र अभिप्राय सम्झाउन बुझाउन के सजिलो हुन्थ्यो ! स्वामीजीको अध्ययन पूर्वीय दर्शनको साथसाथै पश्चिमीजगत्का मूल मर्म मान्यताहरूको विवेचनासम्ममा विस्तार भएको देखिन्छ, सुनिन्छ । ठाउँ-ठाउँमा तुलनात्मक उदाहरणहरू समावेश भएका हुन्छन् । मनुष्य जीवनको महत्वसित जोडेर जन्म-मृत्युको रहस्य खोतल्ने क्रममा स्वामीजीले पुनर्जन्मका धारणा एवं मान्यताका विविध पक्षहरूमा प्रकाश पार्नुभएको छ । अनेक कथा, उपकथा र प्रसङ्ग जोडेर गरिएको व्याख्याले गर्दा विश्व ब्रह्माण्ड सम्बन्धी अनेक जटिल कुराहरू बुझ्न सहज तुल्याइएको छ । एक दृष्टान्त हेरौं: पृष्ठ १५४-५५ मा वेदव्यास कतै जान लाग्दा बाटोमा एक कीरो दौडिँदै गएको देखिएछ । किन दौडको ? भन्ने वेदव्यासको प्रश्नको उत्तरमा उसले भनेछ: परबाट आइरहेको गोरु-गाडाले कुल्चेर मार्ला कि भनेर । वेदव्यासले भने : कीराको जुनी अन्त्य भएपछि अर्को जुनीमा एक खुड्किलो उक्लिन पाइन्छ नि त । तर उसले सन्देह प्रकट ग-यो—अर्को जुनीमा त झन् तल पो झरिने हो कि ? तर वेदव्याससँगको सम्पर्क र निकटताले उ लाभान्वित भयो—आगोको नजिक पुग्नेले न्यानोपन अनुभव गरेजस्तै । अनि त त्यो कीरो जानीजानी गोरु-गाडाको पाङ्ग्रामुनि किचिएर म-यो । त्यसपछि ऊ पछि पक्षी बन्यो, अनि त्यसपछि पशुको जुनी पनि पायो । अनि अर्को जुनीमा मनुष्य भयो! मनुष्य बनिसकेपछि त्यही जीव अनेक साधना र तत्वज्ञानद्वारा ऋषि हुन पुग्यो । ‘मैत्रेय ऋषि एक कीराबाट महान् ऋषि बने’।
करीव साढे तीनशय पृष्ठको यस पुस्तकको सिरानमा छापिएको छोटो मन्तव्यमा राष्ट्रकवि माधवप्रसाद घिमिरे लेख्नुहुन्छ : स्वामी हरिदासजीले विभिन्न दर्शनका परस्पर ‘विरोधी कुरालाई पनि सहजै समन्वय गर्नुभएको छ’। शताब्दीपुरुष सत्यमोहन जोशीले यस पुस्तकलाई ‘रोचक र अत्यन्त जीवनोपयोगी’ ठान्नुभएको भेटिन्छ । पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मी (जो पछि केही समय मन्त्रिपरिषद्को अध्यक्ष पनि हुनुभयो) को बुझाइमा यो कृति ‘भक्ति-कृपा-आनन्दको त्रिवेणी’ हो । शुभेच्छा प्रदान गर्नेहरूको लहरमा केपी शर्मा ओली, लोकेन्द्रबहादुर चन्द, गङ्गाप्रसाद उप्रेती, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र प्रा.शम्भुप्रसाद खनाल जस्ता नामहरू पनि पढ्न पाइन्छ ।
चर्चित पुस्तकबारे शुभेच्छा प्रकट गर्ने महानुभावमध्ये डा.गोविन्द टण्डन पशुपतिनाथ विषयमा विद्यावारिधि गरेका विद्वान् हुनुहुन्छ । उहाँले पशुपतिक्षेत्र विकास कोषको सदस्य-सचिव भएर काम गर्दा राधा माधव समितिलाई वनकालीमा ‘कृपालु उद्यान’ सञ्चालनको अवसर दिलाउन गहकिलो सहयोग गर्नुभएको जानकारी शुभेच्छा मन्तव्यबाट पाइन्छ । सुखद् संयोग भन्नुप-यो, २०७६ साल छँदै एकदिन प्रा. कृष्ण खनाल र ३/४ जना अन्य सज्जनहरूका साथ मैले पनि यो उद्यान हेर्ने मौका पाएको थिएँ । र, त्यस दिन आ-आफ्नो सामर्थ्य अनुसार त्यहाँ उपलब्ध ‘आध्यात्मिक आनन्द’ हामी सबैले प्राप्त गरेका थियौं । राधा माधव समितिसँग सम्बद्ध ‘विद्वत् समाज नेपाल’ का संयोजक घनेन्द्रपुरुष ढकालले त्यस उपवनका उद्देश्य र विशेषताको रोचक वर्णन गरिदिएको हुनाले आध्यात्मिक आनन्दको अनुभूति सघन हुन पुगेको थियो । डा. टण्डनले स्वामी श्रीहरिदासजीको पहल-प्रयत्नमा सञ्चालित डिभाइन युथ क्लब लगायतका गतिविधिको पनि सविस्तार उल्लेख गर्नुभएको छ ।
पुस्तकको मुख्य खण्डमा वेद र वेदमा आधारित मान्यताहरूको विशद चर्चा भएको हुनाले समग्रमा पुस्तक आध्यात्मिक चिन्तकहरूको स्रोत-सामग्री बन्न गएकोमा सन्देह रहेन । तथापि प्रवचनमा आधारित सामग्री भए हुनाले मूलपाठ लेख्यभाषाको जस्तो नभईकन कत्थ्यभाषाको हुन गएको छ । त्यसैगरी, आजको प्रवचनको सिलसिला जोड्न हिजोको प्रसङ्ग कोट्याउनु पर्ने हुन जान्छ । त्यसैले यसमा पुनरुक्तिको दोष खोज्नतिर लाग्नु हुँदैन । अनि जस्ताको तस्तै प्रस्तुति गर्दा कताकति अंग्रेजी शब्द पनि परेका छन् । यो पनि अनौठो भएन । भारतमा अध्ययन र सत्सङ्ग गर्दाको स्वामीजीको हिन्दी छाप यदाकदा भेटिएकोलाई पनि सहज नै सम्झौं यद्यपि उहाँले ‘म नेपालका श्रोतालाई नेपालीमा सम्बोधन गर्दैछु’ भन्ने कुराको हेक्का यदाकदा नराखेको देख्दा केही खल्लो अनुभव हुन्छ । जस्तो, ‘भाग्नु’ भन्ने शब्द । नेपालका श्रोताले यो भाग्नु शब्दलाई उम्किने, तर्किने,डराउने वा अनुपस्थित हुने अर्थमा बुझ्दछन् । हिन्दीमा मिठाईको बट्टा देख्ने केटो त्यतातिर ‘भाग्छ’ ; नेपाली ठिटो त आकर्षित भएर ‘दौडिन्छ’मात्र । भाग्दैन । त्यस्तै, कुनै कुरा वा काम नगर्न अह्राइन्छ भने नेपालीमा त्यसलाई निषेध, वर्जित, रोक जस्ता शब्दद्वारा बुझाउने गरिन्छ; स्वामीजीले भनेजस्तो ‘मना गरिदिए’ जस्तो शैली अपनाइन्न । अर्को पक्ष के छ भने नेपाली समाजमा सन्देश दिने प्रवचनहरूमा स्वामीजीले नेपाली पुस्तक, लेखक तथा विद्वान्हरूको उल्लेख र चर्चा पर्याप्त मात्रामा गर्नुभएको छैन । कविशिरोमणिका रचनाको उल्लेख एकाध ठाउँमा पाइन्छ भने नेपाली रामायणका रचयिता भानुभक्तको सन्दर्भ यस पुस्तकमा जम्मा एक ठाउँमा भेटियो । हो, भारतको दाँजोमा नेपालमा आध्यात्मिक ग्रन्थको संख्या कम होला, परन्तु यहाँको निधि नगण्य नै छ त भन्न मिल्दैन । कि कसो हो ?
विज्ञेषु किमधिकम् ।
----------------------------------------------------------------
कृति: जन्म-मृत्यु रहस्य
लेखक/प्रवचनकर्ता : स्वामी श्रीहरिदासजी
प्रकाशक: श्री राधा माधव समिति, भक्तपुर
संस्करण: प्रथम माघे सक्रान्ति २०७६
मूल्य: रू १०००/ (एक हजार)
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...