बैशाख ७, २०८१
दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ । प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...
नेपाली साहित्यको क्षेत्रमा चिरपरिचित नाम हो गोपी मैनाली । कुशल प्रशासक मात्र नभई सिद्धहस्त लेखक तथा साहित्यकारमा पनि पर्छन् उनी ।
उनको नाम संवत् पचासको दशकदेखि नै सुन्दै आएको हुँ मैले । गोरखापत्र र मधुपर्कहरूमा बरोबर पढिँदै आएका मैनालीका लेख–रचना गोरखापत्रको लेख–रचना शाखामा हुँदा छापेको छु आफैंले पनि । सम्पादकीय भूमिका रहँदा पनि छापिए जस्ता लाग्छन् केही ।
पेशाले कर्मचारी भए पनि रुचि भने लेखन तथा साहित्य नै हो गोपीजीको । निजामती प्रशासनको उच्च तहबाट अवकाश लिएका गोपीजी लेखन क्षेत्रमा भने अहिले पनि उत्तिकै सक्रिय देखिन्छन् ।
यसअघि नै विभिन्न विषयमा पौने दर्जन हाराहारी कृति प्रकाशित गराइसकेका गोपीजीका ‘घाउ आफैंलाई दुख्छ’ शीर्षकको निबन्ध संग्रह यसै वर्ष प्रकाशनमा आएको छ ।
सन्तोषी माता सञ्चार प्रालिले प्रकाशित गरेको पुस्तकमा ३० वटा निबन्ध समावेश छन् ।
निबन्धहरू जति छन्, सबै उम्दा छन् अनि छन् दार्शनिक चिन्तनले ओतप्रोत उत्तिकै । त्यसमा पनि विशेषगरी भन्नुपर्दा ‘आफ्नै कथा विशेष हुन्छ’, ‘अक्षर र म’, ‘आन्दोलित मन र प्रजातन्त्र’, ‘विचरा निजामती’, ‘घाउ आफैंलाई दुख्छ’, ‘पीडा तर प्राप्तिको’, ‘सत्ता थरीथरीका’, ‘पश्चात्ताप’, ‘बाइसौं शताब्दीका मान्छे’ र ‘बिदाइ’ शीर्षकका निबन्ध बढी उम्दा लागे मलाई ।
निबन्धहरूमा वर्तमान राजनीति र त्यसले डोर्याएको समाज तथा संस्कृति र प्रशासनिक क्षेत्रका विद्रूप राम्रैसँग केलाएका छन् लेखकले । सामाजिक स्वरूप जति नै विदू्रप भए पनि लेखक तथा साहित्यकारले देखेको कुरा भन्नैपर्छ भन्ने सन्देश प्रवाह गर्ने काम प्रशस्तै भएका छन् पुस्तकमा । यसमा लेखक आशावादी छन् र जस्तोसुकै अवस्थामा पनि आशा छाड्नुहुन्न भन्ने सन्देश दिने काम गरेका छन् उनले ।
शुरूकै निबन्धमा उनले भनेका छन्, ‘आशाले अव्यक्त उत्साह थप्छ र व्यक्ति त्यही उत्साहमा हिँडिरहेको हुन्छ । जीवनमा शक्ति दिन्छ र त्यही शक्ति यात्राका बाटा बन्ने गर्छन् र त्यही बाटो जीवनरूपी गाडी बन्छ ।’
यस निबन्धमा आशालाई जीवनरूपी गाडी भनेका मात्र छैनन्, उनले त्यसको आधारमा लिएका छन् सपनालाई । जीवनमा त्यही मानिस अगाडि बढ्न सक्छ, जसले सपना देखेको छ, देख्न सकेको छ । भलै सपना सबै पूरा होलान्, नहोलान् तर जीवनलाई अघि बढाउने हो भने देख्नैपर्छ, देखेको हुनैपर्छ सपना ।
समाजमा प्रश्न छ, संस्कारमा प्रश्न छ, संस्कृतिमा प्रश्न छ, नीतिमा प्रश्न छ, नेतामा प्रश्न छ, नैतिकतामा प्रश्न छ । कहाँ छ्रैन प्रश्न ? केमा छैन प्रश्न ? सर्वत्र प्रश्न, प्रश्नैप्रश्न । प्रश्नैप्रश्नको घेरामा उभिएको छ सुमेरु पर्वत बनेर सिंगो वर्तमान । ‘अक्षर र म’ शीर्षकको निबन्धमा यी र अन्य यस्तैयस्तै यावत प्रश्नलाई खैंचेर उत्तर खोज्ने प्रयास गरेका छन् लेखकले ।
यसको अर्थ यो होइन कि सबैका उत्तर भेटिन्छन् नै । कति भेटिएलान् कति नभेटिएलान् । हुनसक्छ प्रश्नबाटै भाग्ने पनि होलान् कति । तथापि प्रश्न प्रश्नै हो, जो सदा प्रश्नहरूकै घेरामा रहन्छ, रहेको छ भन्ने केन्द्रीय विषय होे यस निबन्धको ।
भनिन्छ राजनीति नै मूल नीति हो । राजनीति बिग्रे सबै बिग्रन्छ, सप्रे सबै सप्रन्छ । आज समाजमा जति पनि विकृति र विसंगतिका पहाड खडा भएका छन्, सबै राजनीतिमा आएको विचलन वा दूषित राजनीतिकै प्रभाव हो भन्नेमा सायदै विमति होला कसैको ।
नेताहरूका बोली एउटा हुन्छ, व्यवहार अर्कै । सत्य कुरा सत्य नै हुनुपर्ने हो तर राजनीतिक दल र तिनका नेताहरूका लागि सत्य पनि अलग–अलग हुने गरेको छ वा सत्यले पनि अलग–अलग बनिदिनुपरेको छ । उनीहरूलाई सत्तामा हुँदा जुन कुरा सत्य लागेको हुन्छ, सत्ताको ढोकाबाट निस्कना साथ त्यही कुरा ठीक विपरीत हुन पुग्छ, पुग्दै आएको छ । यिनै कुराहरू केन्द्रीय विषय बनेर रहेका छन् ‘आन्दोलित मन र प्रजातन्त्र’ शीर्षकको निबन्धमा ।
‘घाउ आफैंलाई दुख्छ’ शीर्षकको निबन्धलाई मेरुदण्डको रूपमा लिन सकिन्छ पुस्तकको, जसको स्थान पनि मध्यभागतिर नै रहेको छ र त्यस्तै किसिमका दृष्टिगोचर हुन्छन् विषयवस्तु पनि ।
सम्भवतः पुस्तकको शीर्षक यसैबाट तानिनुको आशय पनि यही नै हुनुपर्छ । सबैलाई थाहा भएकै कुरा हो दुःख आफ्नै ठूलो हुन्छ र भोग्नु पनि उसैले पर्छ, जसलाई घाउ लागेको छ । अरूले गर्ने भनेको कम गर्नेसम्मको प्रयास हो, कम गर्ने होइन ।
दुःख देखाउँदैमा र दयाको पात्र हुँदैमा दुःख कम हुने होइन र दुःखमाथि विजय पाइने पनि होइन । यद्यपि दुःखले सहारा खोज्छ, जुन आँखा र अनुहारबाट पोखिएको हुन्छ । तथापि यथार्थ के हो भने दुःख निवारणका लागि दयाको भीख माग्नु भनेको दुःखमाथि विजय पाउनु होइन, अपितु पराजित हुन हो । त्यसैले दुःख देखाएर दयाको भीख माग्नुभन्दा त्यसको सामना गर्नु नै बुद्धिमानी हुन्छ भन्ने कुरालाई निकै सटीक ढंगले केलाइएको छ यस निबन्धमा ।
जीवनलाई यात्रासँग तुलना गर्दै जीवन टुंगिएपछि यात्रा पनि टुंगिन्छ भन्ने आशय व्यक्त भएका छन् ‘जीवनयात्रा’ शीर्षकको निबन्धमा । यसमा भने अलिकति विमति जनाउने धृष्टता गर्न मन लागेको छ मलाई । रूपमा त्यही हो, जीवन सकिएपछि यात्रा पनि सकिन्छ र यात्रा सकिएपछि दुःख पनि सकिएको मान्नुपर्ने हुन्छ तर सारमा जीवन सकिँदैमा यात्रा सकिन्छ नै भन्ने हुँदैन । ऊर्जा कहिले पनि निरपेक्ष हुँदैन । अन्यथा अस्वीकार गर्नुपर्ने हुन्छ उसको नवीकरणीय पद्धतिलाई नै । त्यस्तै हो जीवन पनि । त्यसैले जीवन टुंगिन्छ तर यात्रा सकिँदैन । जरुरै एउटा अध्याय पूरा भएको हुन्छ तर त्यो पूरा हुन भ्याएको हुन्न अर्को अध्याय शुरू भइसकेको हुन्छ त्यसैको । यस अर्थमा भने लेखकबाट रूपकै अर्थमा लिन खोजिएको अनुमान लगाउनुपर्ने हुन्छ ।
जे होस् सबै निबन्ध दार्शनिक चेतले आप्लावित छन् । विषयवस्तु खँदिला छन्, सामान्य विषयलाई खँदिला तरिकाले प्रस्तुत गर्ने प्रयास भएका छन् । शैली तिलस्मी छ, जादूमयी छ । हरेक प्रसङ्ग एकपछि अर्को तैलधारावत तानिएका छन् र पुस्तक तानी नै रहन्छन् नसकिँदासम्म नै । हो, क्लिस्ट छन्, कठिन छन् कतिपय शब्द । राम्रै स्थान पाएका छन् अंग्रेजी शब्दले पनि । कठिन शब्दका सट्टा अरू नै कुनै सरल शब्द राखिएका भए हुन्थ्यो भन्ने पनि लाग्न सक्छ कतिलाई ।
झट्ट हेर्दा लाग्ने त्यही नै हो तर के बिर्सन हुन्न भने प्रसङ्ग अनुसार जुन शब्द चयन गर्दा बढी मिठास मिल्छ, लेखकले त्यस्तै शब्द प्रयोग गरेका हुन्छन् । यहाँका क्लिस्ट शब्दलाई पनि यसै अर्थमा लिनुपर्ने हुन्छ । जे होस् पुस्तक अब्बल छ, शैली अनुकरणीय । लेखकबाट थप कृतिको आशा राख्दै अहिलेलाई बिट मार्न चाहन्छु ।
दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ । प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...