असार १, २०८०
बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...
बैशाख १४, २०७९
लुम्बिनी प्रदेशको आर्थिक केन्द्र बुटवल उपमहानगरपालिकाको प्रमुखका लागि नेपाली कांग्रेसबाट खेलराज पाण्डेले उम्मेदवारी दिएका छन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उम्मेदवारसँग झण्डै २ हजार मतान्तरले पराजित पाण्डे यसपटक आफूले जित्नेमा आशावादी छन् ।
सत्ता गठबन्धनबाट बुटवलको मेयरका प्रत्यासी कांग्रेस उम्मेदवार पाण्डेसँग उनका योजना र चुनावी एजेन्डाबारे लोकान्तरका लागि विमल गौतम, सुशील पन्त र प्रकाश आचार्यले कुराकानी गरेका थिए ।
प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :
बुटवलको मेयरका लागि दोहोर्याएर टिकट पाउनुभयो । मतदाताको प्रतिक्रिया कस्तो छ ?
– मतदाताबाट सकारात्मक प्रतिक्रिया पाएको छु । यो पहिलो निर्वाचनको घाइते हो, त्यतिबेलै जितेको भए राम्रो हुन्थ्यो, दोहोर्याएर मौका पाएको छ, एकचोटी अवसर दिनुपर्छ है भन्ने खालको सहानुभूति धेरैमा पाएको छु ।
विगतको चुनावको घाइते भन्नुभयो, अहिले नि दुखिरहेको छ कि ?
– राजनीतिमा लागेर चुनाव लडेपछि जीतहार स्वाभाविक नै हो । जसले जित्नुभयो उहाँलाई सम्मान गरेरै तपाईंले बुटवललाई राम्रो गराउनुहोला, सबैको साझा बन्नुहोला, हामीलाई पनि बेलाबेला चिया खान बोलाउनुहोला, आवश्यक परे सरसल्लाह लिनुहोला भनेको हो । चुनाव हारेर नेगेटिभ स्वभाव रहेन । हारेपछि घाइते स्वाभाविक नै हुन्छ । तर पनि म निरन्तर पाँच वर्ष जनताको घरदैलोमा पुगेर उनीहरूका समस्या समाधानको पहल गरें।
मतदाताको विश्वास जित्न विगतमा भन्दा यसपटक तपाईं नयाँ के कुरा लिएर जनतामा जाँदै हुनुहुन्छ ?
– केही त विगतकै कुराहरू छन् । यहाँको सुकुम्वासी समस्या समाधान गर्ने मेरो मूल मुद्दा हुनेछ । अहिले बुटवलमा ज्योतिनगरको पहिरोले संकट पैदा भएको छ । त्यसको अल्पकालीन र दीर्घकालीन समाधानका उपायहरू खोजी गर्ने । त्यसैगरी तिनाउ दानव करिडोरबाट विस्थापित १५ सय घरहरूलाई कहाँ व्यवस्थापन गर्ने, तिनीहरूलाई कहाँ जग्गा दिने, तिनका घरहरू कहाँ बनाइदिने भन्ने हो । विपन्न परिवारहरू विस्थापित हुँदैछन् । खोलाका किनारमा बसिराखेका सुकुम्वासी अव्यवस्थित बसोवासीहरू तिनाउ दानव करिडोरले गर्दा त्यहाँ बस्न सम्भव छैन ।
तिनीहरूको व्यवस्थापन नगरी सुखै छैन । अर्को विगतमा तपाईंहरूले हेर्नुभयो, मोतीपुर औद्योगिक क्षेत्र निर्माण गर्दैगर्दा त्यहाँ ठूलो समस्या सिर्जना भयो । त्यहाँ अढाइ सय बिगाहा जनताको जग्गा परेको छ । त्यो जग्गा उनीहरूलाई फर्काएर बाँकी क्षेत्रमा स्मार्ट औद्योगिक क्षेत्र बनाउन हामीले पहल गर्नेछौं । त्यसै गरेर राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको सडकले बुटवलको पहिचानमा नयाँ समस्या खडा गरेको छ ।
जतिसक्दो चाँडो यो बाटोको टुंगो लगाएर समस्या समाधान गर्ने पक्षमा छौं । यी यावत कुरा पुरानै छन् भने नयाँ कुरा यहाँ करहरू बढेको छ । हाटबजार व्यवसायीहरूले कर तिर्न सक्ने अवस्था छैन । घरबहाल करमा त्यस्तै समस्या छ । ई–रिक्सा व्यवसायीहरूको पनि त्यस्तै समस्या छ । यी सबै साना व्यवसायीहरूलाई करमा केही छुट दिएर, उनीहरूलाई पनि राहत हुने केही गर्न खोजेका छौं । र, बुटवललाई देशकै सबल आर्थिक केन्द्र कसरी बनाउने भन्ने बारेमा त्यस क्षेत्रका विज्ञहरू ल्याएर, उद्योगी व्यवसायीहरूसँग पनि समन्वय गरेर छलफल गर्नेछौं र, त्यो बाटोमा हामी लाग्नेछौं ।
विगतमा के कारणले पराजय भोग्नुपर्यो र यसपटक तपाईंको उम्मेदवारीको औचित्य के हो ?
– अब विगतमा केही सामान्य कारणहरू थिए । अहिले नकोट्याऊँ । ती कुराहरू सुधार भएका छन् । जनताको सहानुभूति त्यतिबेला भन्दा पनि बढ्दो छ । चुनावमा आफ्नो पार्टीका भोटहरूसँग विभिन्न कुराहरू पनि जोडिएका हुन्छन् । ती कुराहरू अहिले राम्रोसँग जोडिएका छन् ।
चुनाव धेरै महंगो भयो । नेपालमा गरीब, इमान्दार र पैसा नहुनेले चुनाव लडेर जित्ने दिन गए भनेर व्याख्या भइराखेको छ । तपाईं यत्रो ठूलो उपमहानगरको चुनावी मैदानमा उत्रिनुभयो । कति करोड खर्च गर्दै हुनुहुन्छ ?
– म विगत ३३ वर्षदेखि एउटा कोठा भाडामा लिएर बस्छु । मसँग लगाउने दुई/चार जोर कपडाबाहेक केही पनि छैन । कति पैसाले चुनाव लड्छु तपाईं आफैं अड्कल गर्नुस् ।
अनि पैसा खर्च नगरी सजिलै चुनाव जितिन्छ त ?
– मैले अरूको चिया खाएर, अरूको नास्ता खाएर चुनाव लड्ने हो, यसरी बुझ्नुहोला ।
चुनावमा पैसा खर्च नगरी हारिन्छ भने हार्ने ?
– मैले अघिल्लोपटक पनि पैसा खर्च गरेको होइन । मलाई पैसा चाहिन्छ भनेर कोही सोध्न पनि आउनुभएन । अहिले पनि आउनुभएको छैन । अरूले टिकट लिन जाँदा पैसा खर्च गर्छन् भनिन्छ । मलाई जसले टिकट दियो, उहाँहरूकै चिया खाएर टिकट लिएर आएँ । चुनाव प्रचार पनि त्यहीअनुसार हुन्छ । म जनताको सहानुभूतिका कारणले चुनाव लड्ने हो । पैसा खर्च गरेर चुनाव लड्ने मान्छे होइन ।
भाडाको कोठामा बसेको छु भन्नुभयो, बुटवलमा तपाईंको घर छैन ?
– नेपालभरी मेरो कहीँ पनि घर छैन । म एउटा कोठा भाडामा लिएर बस्छु । यो देशका लागि नमूना पनि हुन सक्छ । म अघिल्लोपटक चुनाव लड्दा पनि त्यो कुरालाई महत्त्व दिएको थिएँ । तर, त्यसलाई नेगेटिभ रूपमा प्रचार गरियो । घर नहुनेले चुनाव लडे भनियो ।
यति ठूलो पार्टीबाट यति ठूलो उपमहानगरमा घर नभएको व्यक्तिले बारम्बार टिकट पाइराखेको छ । चुनाव लडिराखेको छ । यसका लागि बढी सहानुभूति हुनुपर्छ भन्ने मेरो मान्यता हो । जुन कुरालाई तपाईंहरूले हाइलाइट गरिदिनुहोला भन्ने मेरो अनुरोध छ । नेपालभरी घर नभएको व्यक्ति नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भनेर राखिदिनुहोला ।
मेरो राजनीतिक जीवन सरल छ । म बीपीको विचारमा विश्वास गर्छु । सबैकोमा मर्दा पर्दा, सुःख दुःख, बिहे, ब्रतबन्ध, पूजाआजामा पुग्ने गर्छु । सबै पार्टीका नेता आउँदा भेट्ने गर्छु । मैले चुनाव जितेँ भने, सबैभन्दा पहिले एउटा पार्क निर्माण गरेर बीपी र पुष्पलालको सालिक र यहाँका पूर्व मेयर स्व. सूर्यप्रसाद प्रधान दाइको सालिक राखेर सबैको साझा संगम चौतारी बन्न चाहन्छु ।
राजनीतिक क्षेत्रलाई लड्ने थलोको रूपमा होइन कि उपयोग गर्ने र समृद्धि बनाउने थलोको रूपमा विकास गर्न चाहन्छु । म विचारको राजनीति गरेको मान्छे हो । लहडमा राजनीतिमा लागेको मान्छे होइन ।
बुटवलमा घर नहुँदा राजनीति गर्न अप्ठ्यारो परेन ? घरघडेरी नजोडेकोमा पछुतो लागेन ?
– जुन वर्गका लागि मैले राजनीति गरेको हो । जुन निम्न आय भएका वर्गले प्रश्न उठाउँछन्, उनीहरूले पनि बुझ्न जरुरी छ कि हाम्रा लागि राजनीति गरेको व्यक्तिलाई हामीले सहयोग गर्नुपर्छ । सामान्य घर समेत नभएको मान्छे बुटवल जत्तिको ठाउँबाट नेपाली कांग्रेस पार्टीबाट मेयर लड्दैछ भन्दा त नेताहरूले गौरव गर्नुपर्यो नि, झन् सहयोग गर्नुपर्यो नि !
नेपालमा आम नेताहरूलाई हेर्ने दृष्टिकोण अत्यन्तै नेगेटिभ छ । यी सब चोर हुन्, फटाहा हुन्, लुट्न आएका हुन्, आफ्नालाई पोस्न आएका हुन्, आफ्ना ठेकेदारलाई मालामाल बनाउन र देश डुबाउन आएका हुन् भन्ने छ । चरम निराशा र टिकाटिप्पणीबीच तपाईं यति वर्षदेखि घर पनि नभएको मेयर बन्ने भनेर उभिनुभएको छ । यो आमनेगेटिभ दृष्टिकोणलाई चिर्न यहाँसँग के रणनीति छ ?
– मेरो सबैभन्दा ठूलो कुरा आत्मविश्वास छ । आत्मविश्वासका कारणले गर्न सकिन्छ भने कुरामा म दृढ विश्वासमा छु । पहिलो सबै कुरालाई आफूसँग जोड्नुपर्छ । आफूभित्रको कुरालाई सफा राख्ने सके समाजभित्रको कुरालाई पनि हटाउन सकिन्छ ।
खेलराज पाण्डेलाई वर्षौंदेखि भाडामा बस्दै आएको, घर पनि नभएको, जग्गा पनि नभएको, जनताको दैलोमा जाने अनि पार्टी पनि नभनी सबैको कार्यक्रममा सहभागी हुने मान्छे भनेर मात्र मतदान गर्ने कि अरू पनि केही आधार छन् ?
– मसँग नयाँ विचार छ, बुटवललाई देशकै सबल आर्थिक केन्द्र बनाउन सक्छौं भन्ने । यहाँ रहेका सुकुम्वासी र अव्यवस्थित बसोवासीका समस्यालाई मैले केही समयमै टुंगो लगाउन सक्छु । त्यसका लागि राष्ट्रिय भूमि आयोग बाहेकको विकल्पको बाटोबाट पनि मैले यसलाई टुंग्याउन सक्छु भन्ने योजनाहरू मसँग छन् । पछि कार्यक्रमहरूमा बोलौंला । बुटवलमा रहेका मूल समस्यालाई मूल राजनीतिक दललाई बुटवल उपमहानगरपालिकामा अट्ने गरी छुट्टै हलको व्यवस्था गर्नेछु ।
उपमहानगरपालिकालाई मैले मात्रै चलाउन्न । सबै राजनीतिक दललाई आउने गराउँछु । बुटवलका सबै संघ संस्थालाई त्यहाँ अट्ने गराएर सबैको सामूहिक सहयोग, सल्लाह र मेलमिलापको नीतिबाट बुटवल उपमहानगरपालिका चलाउने लक्ष्य लिएको छु । एकल बाटोमा हिँड्ने, एक्लै गएर कुर्चीमा बस्ने मेरो उद्देश्य होइन । सबैलाई समेटेर जाने मेरो उद्देश्य हो ।
यदि तपाईं निर्वाचित हुनुभयो भने पाँच वर्षपछि हामी बुटवल आउँदा के–के सुधार देख्न पाउँछौं ? एक, दुई, तीन गरेर भनिदिनुस् न ।
– बुटवलमा सुकुम्वासी र अव्यवस्थित बसोवासीको समस्या छ, जुन करीब टुंगोमा पुगेको देख्न पाउनुहुनेछ । दोस्रो, यो ज्योतिनगर पहिरो, तिनाउ करिडोर र औद्योगिक क्षेत्रको समस्या टुंगोमा पुर्याउने छौं । तेस्रो फोहोरमैला व्यवस्थापनको कुरा टुंगो लाग्नेछ ।
दृढ विश्वासमा हुनुहुन्छ ?
– म एकदम दृढ विश्वासमा छु । आफ्नो काम गर्ने हो । त्यसमा कुनै कमा, फुलस्टप गर्दिन ।
बुटवल एमालेको गढ मानिन्छ । एमालेको बलियो संगठन छ । यसका बावजुद पनि तपाईं चुनाव जित्नेमा विश्वस्त हुनुको कारण के हो ?
– कसरी गढ हुन्छ ? २३ सय मतले म पराजित भएको ठाउँमा कसरी गढ हुन्छ ? २३ सय मत भनेको त १२ सय मत यताउता हुँदा नतिजा उल्टिने अवस्था हैन र ? मैले गढ भन्दिन । हाम्रा प्राविधिक त्रुटिहरू भएका होलान् । जनताको मन जितेपछि ठूला–ठूला पर्खालहरू भत्किन्छन् । एउटा चुनावमा त्यो भत्किन के बेर लाग्छ । म विश्वस्त छु कि हामी मेयर भएको पाउनुहुनेछ । जनताले हामीलाई माया गर्नुभएको छ । सबैले परिवर्तन चाहनुभएको छ । योपटक अवश्य पनि चेञ्ज हुनेछ ।
तपाईं दोस्रोपटक मेयरमा लड्दै हुनुहुन्छ । हार्नुभयो भने फेरि अर्कोपटक प्रयास गर्नुहुन्छ कि गर्नुहुन्न ?
– मलाई लाग्छ, जीवनमा त्यस्ता समयहरू आउँछन् । मेरा लागि मेयरको सम्भावना अन्तिम–अन्तिम जस्तो लाग्छ । त्यसकारण एकपटक बुटवलवासीले मलाई जिताउनुहुन्छ भन्नेमा विश्वस्त छु ।
तपाईं यत्रो लामो समयदेखि बुटवलमा बस्नुभएको छ । घर पनि छैन, घडेरी पनि छैन, सामाजिक सेवामा लाग्नुभएको छ । मेयरमा जित्नुभयो भने तपाईंले तलब सुविधा के गर्नुहुन्छ ?
– मैले तलब सुविधा जनताका छोराछोरीका लागि सरकारी स्कूलमा पढ्दा फी तिरिदिनेछु । हस्पिटलमा शुल्क तिर्न नसक्नेहरूका लागि, मानव सेवा आश्रमका लागि, जेष्ठ नागरिक वृद्धाश्रम, अपांग आश्रमहरूमा खर्च गर्नेछु ।
चुनावमा निस्किन पर्यो भने कार्यकर्ताहरू अगाडिपछाडि लाग्छन् । गाडीमा ट्राभल गर्नै पर्यो । पेट्रोल हाल्नै पर्यो । तपाईं घरभाडामा बस्नुहुन्छ । सबै काम गर्नका लागि पैसा कहाँबाट जुट्छ ?
– त्यस्तो हुँदैन । राजनीतिमा के हुन्छ भने हामी विभिन्न तह र कमिटीमा हुन्छौं । कुन न कुनै साथीहरूका साधन हुन्छन् । तिनै साथीहरूले जाऊँ भन्नुहुन्छ । त्यसरी नै काम चलाएको छु । नभए पैदल नै हिँड्छु । नभए रिक्सा चढ्छु । प्रायःजसो रिक्साले भाडा लिनुहुन्न । प्रायःजसो चोकका दोकानले चिया खाएको पैसा लिनुहुन्न । यसै गरेर चलेको छु । तपाईंले बुटवलमा अनुगमन गर्न पनि सक्नुहुन्छ ।
पार्टीभित्रको असन्तुष्टिलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ? मेयरमा तपाईंको नाम सिफारिश भएपछि क्षेत्रीय सभापति हरि लम्सालले राजीनामा दिनुभयो । त्यसको असर त पर्छ होला नि ?
– नगरबाट मेरो नाम अनुमोदन गरेपछि क्षेत्रीय समितिले पनि अनुमोदन गर्यो । जिल्ला समितिले सिंगल अनुमोदन गर्यो । तपाईंहरूले निर्णय हेर्न सक्नुहुन्छ । पार्टीभित्रका यी साना कुराले मतदानमा असर गर्दैन ।
मतदातालाई हाम्रो मिडियामार्फत केही भन्न चाहनुहुन्छ ?
– बुटवलवासीले मलाई साह्रै माया गर्नुभएको छ । अघिल्लो निर्वाचनमा पनि झिनो मतले पराजित भएको हुँ । जति गर्नुपर्यो मैले पाँच वर्षमा गर्न सकिनँ होला, यो पटकचाहिँ मलाई अवसर दिनुभयो भने मैले बुटवलका लागि हर दिन, हर रात खटेर विकास र आधुनिक बुटवल निर्माणको प्रयत्न गर्छु ।
बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...
बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...
प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...
संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...
नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ । माओवादीको विधा...
बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...