माघ २, २०८०
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
काठमाडाैं | असोज २, २०८०
माधव नेपालले अपानी (अन्तर पार्टी निर्देशन) जारी गरेर केही नेतालाई कार्य विभाजनसहितका निर्णय गरेपछि सम्मानित नेता झलनाथ खनालले सार्वजनिक रूपमा आपत्ति जनाएका छन् ।
‘पार्टीका नाममा जारी भएको अपानी एकदम खतरनाक छ । पार्टीको कुनै पनि कमिटीले निर्णय गरेको छैन । यो छलफल नै नगरी यत्तिकै जारी भएको छ । यसबारेमा हामी छलफल गर्दैछौं,’ अपानी जारी भएको भोलिपल्टै खनालले सार्वजनिक टिप्पणी गर्दै आपत्ति व्यक्त गरे ।
अपानी जारी गर्दै प्रदेश इन्चार्ज, सह–इन्चार्जको मनोनयन, २१ नेतालाई केन्द्रीय सदस्यमा मनोनयन, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोगमा सदस्य थप र हेरफेर, केन्द्रीय सल्लाहकार परिषद्मा सदस्य मनोनीत गर्ने तथा केन्द्रीय विभागमा मनोनीत गरेर जिम्मेवारी दिने काम भएको हो ।
यतिमात्रै होइन, केन्द्रीय समितिबाट निर्णय भएअनुसार आगामी माघ १४ देखि १८ गतेसम्म महाधिवेशन गर्ने विषयलाई पनि प्राथमिकता दिँदै कार्यतालिका सार्वजनिक गरिएको छ ।
आफूसँग परामर्श नै नगरी महत्त्वपूर्ण निर्णय गरेको भन्दै खनालले आपत्ति जनाएका हुन् ।
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य अमृतनाथ तिमल्सिना केन्द्रीय कमिटीको बैठकको भावना मागभन्दा एकलौटी हिसाबले अपानी जारी भएपछि देशैभर असन्तुष्टि रहेको बताउँछन् ।
‘केन्द्रीय कमिटी बैठकमा विद्रोहको भावनाअनुसार जान नसकिएको कुरा राखेपछि कार्यविभाजन र केन्द्रीय सदस्य मनोनयन पनि यही गरौं, निर्णय गरौंभन्दा भएन । तर, सचिवालयका केही सदस्यकाबीच छलफल गरेर जारी गरिएको अपानीपछि असन्तुष्टि देखिएको हो,’ तिमल्सिना भन्छन्, ‘असन्तुष्टि जनाउनेलाई घटुवा गर्ने, बेकामे बनाउने तर अध्यक्ष निकटको घेरालाई दोहोरो तेहोरो जिम्मेवारी दिनेजस्ता असाध्यै पूर्वाग्रही काम भएका छन् । धारणा राखिएको आधारमा कतिपयलाई सरुवा र जिम्मेवारविहीन बनाइएको छ । यही क्षुद्र शैलीविरुद्ध देशव्यापी असन्तुष्टि छ । कतिपय बोलेका छैनन्, तर थेगिनसक्नुको अवस्था छ ।’
अपानीमा मात्रै होइन एमसीसी, गठबन्धन सरकारलाई हेर्ने दृष्टिकोण, पार्टी सञ्चालन शैली, सैद्धान्तिक आधारका विषयमा खनालले हरेक बैठकमा अध्यक्ष नेपाललाई काउन्टर दिने गरी फरक मत र प्रस्तुति दिँदै आएका छन् ।
उपचारका लागि खनाल दिल्लीमा हुँदै गर्दा २०७८ भदौमा एमाले विभाजन भएर नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएको थियो । तर, शुरूदेखि नै समाजवादीमा वरिष्ठ नेता हुँदै खनाल सम्मानित नेता भए पनि खनालले हरेक फोरममा घुर्क्याउने शैलीमा नेपालमाथि दबाब बढाउँदै आएका छन् । दुई वर्षमा खनाल निरन्तर पार्टीमा बागी र विद्रोही नेताको शैलीमा प्रस्तुत भइरहेका हुन् ।
पञ्चायतकालदेखि नेपालसँग सँगसँगै जस्तो देखिए पनि यिनीहरू प्रतिस्पर्धी देखिँदै आएका छन् । नेकपा विघटनपछि एमालेमा केपी ओलीको पेलान सहन नसकेर सहकार्यजस्तो गरे पनि नेपाल र खनाल दुवैमा पदको भोक ज्यादा रहेकाले समस्या भएको नेताहरू बताउँछन् ।
वरिष्ठ नेता भएको दुई महिना नबित्दै खनाललाई सम्मानित नेता बनाउन नेपाल विवश भएका थिए । तर पार्टी स्थापनायताका दुई वर्षमा खनालले पार्टीको मूलधारभन्दा आफू फरक भएको सन्देश दिने गरी पार्टी गतिविधि गर्दै आएका छन् ।
यतिमात्रै होइन, गठबन्धनले एउटा कोर्स लिँदै गर्दा पनि खनालले पार्टीका बैठकमा वामपन्थी एकताको कुरा उठाउन छोडेका छैनन् । पूर्व सहमतिअनुसार प्रचण्ड नेतृत्वको सरकार बने पनि खनालले खिचडीको संज्ञा दिए ।
राष्ट्रपति पाउने आशामा पनि खनाल थिए । तर, परिस्थितिले गठबन्धनका तर्फबाट कांग्रेसका रामचन्द्र पौडेललाई राष्ट्रपति बनायो । त्यसपछि त झन् खनाल हरेक विषयमा गठबन्धन, सरकार र पार्टी निर्णयविरुद्ध आक्रामक विद्रोहीजस्तो देखिएका छन् ।
पुराना कम्युनिस्ट नेता राधाकृष्ण मैनाली दुवैलाई केपी ओलीले लखेट्न खोजेपछि बाध्यतामा मिल्नुबाहेक सधैं एक अर्कालाई रोक्ने र मुख्य पदमा पुग्ने लालसा रहेको बताउँछन् ।
‘२०३९ सालमा खनाललाई नेपालले नै महासचिव बनाउन भूमिका खेलेको हो । तर ४६ सालमा मदन भण्डारी महासचिव भएपछि खनालले पचाउन सकेनन् । त्यतिखेरै सिपी र झलनाथलाई पाँच वर्षलाई चुप लाग्नुस् भन्दा दुवैले मानेनन् । महाधिवशेनबाट महासचिव भएपछि फरक मत भए अर्को महाधिवेशनमा उठाउने हो तर अहिले चुप लागौं भन्दा उनीहरूले अस्वीकार गरेका थिए,’ मैनालीले पुरानो कुरा स्मरण गर्दै भने, ‘खनालले महासचिव नमानिरहेका बेला दासढुंगा घटना घट्यो । तर, खनालले लफडा नगरेको भए मदन भण्डारीको निधनपछि कि झलनाथ कि सीपी एमालेको नेतृत्वमा आउँथे तर दुवैले नबुझेपछि माधव नेपाल १४ वर्ष एमालेको नेतृत्वमा आउने अवस्था बन्यो ।’
त्यसपछि पनि नेपाल र खनालबीच विरोध पनि गर्ने, सहकार्य पनि गर्दै जाने शैली बन्यो । त्यो सहकार्य सत्ता र शक्तिको उपज भएको उनी बताउँछन् ।
‘दुवैको सोच जिन्दगीभर पार्टी र सत्तामा बस्ने भन्नेमै देखिँदै आएको छ । यसैले सहकार्य जस्तो गरे पनि यी दुवै भित्री चाहना एक अर्कालाई नमान्ने आफैं मुख्य नेता हो भन्ने नै हो,’ उनी भन्छन्, ‘दुवैलाई ओलीले लखेटेपछि बाध्यताले एक ठाउँमा जस्तो देखिएका हुन् । बाध्यात्मक सहयकार्यमा रहेका नेपाल र खनालबीच भित्री द्वन्द्व छ । एउटै पार्टीमा भए पनि आत्मीयता छैन ।’
ओलीको पेलानपछि बाध्यताले नेपालतिर लागे पनि चुनावी गठबन्धन, परिणाम, सरकारजस्ता विषयमा खनालले निरन्तर फरक मत राख्दै आएका छन् । अहिले मात्रै होइन, नेकपा विभाजनपछि पनि खनालले कम्युनिष्टहरू मिलेर चुनावमा जानुपर्ने बताएका थिए ।
गठबन्धन बनाए पनि गत स्थानीय तहको निर्वाचनमा आफ्नो समाजवादी पार्टीले उल्लेख्य सफलता प्राप्त नगरेकोमा खनाल असन्तुष्ट छन् । गठबन्धन गर्दाको फाइदा पार्टीले उठाउन नसकेको भन्दै खनालले पटक–पटक औचित्य पुष्टि नभएको बताए । तर, नेपालले जसोतसो उनलाई इन्गेज गरिरहने नीति लिएका छन् । खनालले कतिसम्म गरे भने इलाममा समाजवादीलाई चुनाव जिताउन गठबन्धन काम नलागेको भन्दै एमालेसँग मिलेर जिल्ला समन्वय समिति गठन गरे ।
अध्यक्षले जारी गरेको अपानी मान्नुपर्ने भए पनि आफूले हस्ताक्षर नगरेको विषय किन मान्ने भन्नेमा खनाल देखिनु दुर्भाग्यपूर्ण भएको मैनाली बताउँछन् । पार्टी नेतृत्व र सिद्धान्तको भन्दा पनि आफू शक्तिबाट विमुख हुनुको चिन्ता खनालमा धेरै देखिएको उनी बताउँछन् ।
‘झलनाथले इलाममा चुनाव हार्नुभयो, तर राष्ट्रपति हुन व्यग्र भएर लाग्नुभयो । चुनाव हारेको व्यक्ति नैतिक रूपले राष्ट्रपति हुन्छु भनेर लाग्नु नै बेकार हो,’ मैनाली भन्छन्, ‘यता पार्टीमा सिनियरमध्ये वरिष्ठ नेतामा खनाल छँदै थिए । तर, यसमा फेरि सम्मानितको फुर्को उहाँलाई चाहियो । सम्मानितको पगरी अध्यक्षभन्दा मुनि बस्न सकस भइरहेको भन्ने हो । अध्यक्षभन्दा पनि सम्मानित हुँ भन्ने देखाउन उनकै जोडमा यो पद सिर्जना गरिएको हो ।’
केही आवश्यकताले एक ठाउँमा, सैद्धान्तिक हिसाबले जहिल्यै फरक मत
नेपाल र खनालले एउटा मोर्चा र पार्टीमा रहँदै आएका छन् । सैद्धान्तिक हिसाबमा पनि नेपाल र खनालको मत एउटै छैन । तर एकाधबाहेक उनीहरूबीच सहकार्य सौहार्दपूर्ण देखिँदैन । मदन भण्डारीले पाँचौं महाधिवशेनमा जबज ल्याउँदा खनालले नौलो जनवादलाई अगाडि सारेका थिए । तर, नेपाल भने भण्डारीसँग सँगै रहे ।
एमालेबाट विभाजन भए पनि नेपालले जनताको बहुदलीय जनवादलाई ‘इग्नोर’ गरिसकेका छैनन् । त्यतिखेरदेखिको असन्तुष्टि र फरक मत माधव नेपालसँग सहकार्य हुँदा पनि खनालले अहिले पनि देखाउन छोडेका छैनन् ।
खनाल नेकपा एकीकृत समाजवादीमा पनि मार्क्सवाद र लेनिनवादकै पक्षमा छन् । माधव पक्षका अरू नेता भने अझै पनि जबजलाई मान्नुपर्ने पक्षमा छन् । तर मदन भण्डारीदेखि अहिले अलग पार्टीसम्म पुग्दा पनि खनाल भने यो लाइन मान्न तयार नरहेको उनका अभिव्यक्ति र अडानले देखाउँछन् ।
२०५० साल जेठमा मदन भण्डारीको निधन भएपछि एमालेमा नेपालको उदय भयो । नेपालले २०५० देखि २०६४ सम्म १४ वर्ष एमाले चलाए । २०५४ मा वामदेवले एमाले फुटाउँदा भने खनालले साथ दिएनन् । माधव, ओली र खनाल एउटै कित्तामा उभिँदा वामदेव, सिपी मैनाली र आरके मैनाली मालेको पक्षमा उभिए ।
तर २०६४ सालको पहिलो संविधानसभामा माओवादीले एकलौटी वर्चस्व स्थापित गरेर एमाले तेस्रो दल बन्न पुग्यो । त्यसपछि नेपालले राजीनामा दिए ।
लगत्तै भएको महाधिवेशनमा नेपाल र ओली मिल्दा पनि खनालले एमाले अध्यक्षमा बाजी मारे । दुई प्रभावशाली नेताविरुद्ध खनालले नतिजा आफ्नो पक्षमा पार्नुलाई निकै अस्वाभाविक र अप्रत्याशित मानिन्छ । खनालले आफ्नै बलमा दुई प्रभावशालीलाई लडाएकोबाहेक खनालले राजनीतिक सिनमा प्रभावशाली बन्न सकेका छैनन् । नेपालमा अहिलेसम्म बनेका प्रधानमन्त्रीमध्ये सबैभन्दा फितलो उनकै कार्यकाललाई मान्ने पनि छन् ।
एमाले र माओवादीबीच एकता भएर नेकपा बन्दा खनाल प्रचण्ड र माधव समूहमै देखिए । ओलीले संसद् विघटन गरेको विवाद बढ्दै जाँदा नेकपा विघटन भएर एमाले ब्यूँतियो । तर ब्यूँतिएको एमालेबाट विद्रोह गरी नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेपछि खनालले उनैलाई साथ दिए । तर, पार्टीगत आबद्धता समाजवादीमा देखाए उनी अलग पार्टीमा भएजस्तो अभ्यास गरिरहेका छन् । केही महिनाअघि माओवादी केन्द्र, नेकपा एस, जसपा र नेकपाबीच समाजवादी मोर्चा बन्दा अध्यक्षले मात्रै घोषणा भाषण गर्नुपर्नेमा खनाललाई समेत समेट्नुपरेको थियो ।
खनाल मात्रै होइन नेपाल पनि उस्तै लहडी र पदका भोका नेता भएको मैनाली बताउँछन् ।
‘ओलीसँग चुनाव माधवले हारेकै हुन् । पाँच वर्षका ओली अध्यक्ष हुन् । पाँच वर्ष मिलेरै बस्नुपर्ने थियो । तर न ओली, न नेपाल र न खनाल एकपटक माथि पुगेपछि अर्कोले लिँदा पचाउन सक्ने अवस्थामा यी तिनै नेता छैनन्,’ मैनाली भन्छन्, ‘एकपटक पदमा पुगेपछि अर्कोलाई छोड्ने नै यी तिनै नेताको शब्दकोषमा छैन । बरु कसरी हुन्छ पदमा पुगेपछि बचुञ्जेल बस्नुपर्छ भन्ने सोचले एमालेदेखि समाजवादीका यी तीन नेता अछुतो छैनन् ।’
पार्टी स्थापना भएको दुई वर्षमा विभाजनको औचित्य पुष्टि गर्ने, छिनछिनै र दिनदिनै प्रभावशाली नेता र कार्यकर्ता पलायन रोक्ने कार्यक्रम नेपालले ल्याउन सकेका छैनन् । असन्तुष्टिको स्वर आउँदा पनि दबाउने र गलाउने नीतिमा नेपाल छन् ।
‘दुई वर्षमा एमाले फर्किनेको लहर चलिरहेको छ तर अध्यक्षलाई कसरी पार्टीप्रति भरोसा बढाउने भन्ने चिन्ता छैन । सिनियरदेखि जुनिएर नेतासम्मलाई पेलेर एमालेमा गए हुन्थ्यो भन्नेमा उहाँ देखिनुहुन्छ,’ नेकपा एसका एक प्रभावशाली नेता भन्छन्, ‘यस्तै अवस्था भइरहे अब हाम्रो पार्टीमा ठूलो पहिरो जानबाट कसैले रोक्न सक्दैन ।’
४० बढी केन्द्रीय सदस्य, २० जति जिल्ला नेतृत्व र हजारौं नेता कार्यकर्ता एमाले प्रवेश गरिरहेका छन् । यतातर्फ समाजवादी चिन्तित भएको उनका योजना र कार्यक्रममा देखिँदैन ।
पार्टीमा फरक मत दर्ज गर्दैगर्दा खनाल एमालेका नेतासँग पनि उत्तिकै संवादमा छन् । एमालेका नेतालाई डल्लुस्थित निवासमा बोलाएर नेपाललाई तर्साउने, थकाउने र गलाउने नीति उनले लिएको बताइन्छ । एमालेसँग वार्ता गरेको जस्तो गर्ने र तर महाधिवेशन हुने अवस्थामा अध्यक्षमै भिड्ने तयारीमा समेत खनाल रहेको उनी निकट स्रोत बताउँछ ।
पूर्व एमाले नेता मैनाली ओलीले माथिल्लो पद दिन्छु भने झलनाथ भोलि नै हाम्फाल्ने अवस्थामा रहेको बताउँछन् ।
‘एउटा पद छ, तर प्रतिस्पर्धा यस्तो छ कि ओली, नेपाल र खनाल बाचुञ्जेल अध्यक्ष नछाड्ने जिरहमा छन् । ओलीले राष्ट्रपतिको उम्मेदवार बनाउँछु भनेको भए खनाल पहिल्यै जान्थे । काखी च्यापेर ओलीले राम्रो पद दिए झलनाथ भोलि नै एमालेतिर हिँड्छन् । पार्टीमा विभाजन आयो, मिलाउँछौं भन्ने भन्दा पनि माथिल्लो पदमा कसरी जाने भन्ने प्रतिस्पर्धा तीन नेता छन्,’ उनले भने, ‘तीनवटै नेता एक नम्बरबाट दुईमा पर्न मान्दैनन् । यिनीहरूको महत्त्वाकांक्षाले गर्दा कम्युनिस्टबीच पार्टी एकता हुँदैन । यिनीहरूमा पदको लोभ छ । चरम महत्वकांक्षा तर राष्ट्रिय स्वर्थ छैन । तीनैजना मिलेर पार्टी बने पनि अब कार्यकर्ताले यिनलाई पत्याउँदैनन् ।’
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...