नेपाल कलाभूषण चन्द्रराज शर्माको निधन

पुस ६, २०७४

काठमाडौं, ६ पुस–संगीतकर्मी नेपाल कलाभूषण चन्द्रराज शर्माको निधन भएको छ । शर्माको बिहीबार बिहान त्रिवि शिक्षण अस्पतलामा उपचारको क्रममा निधन भएको हो । 

झण्डै ९ सय गीतमा संगीत दिनुभएका शर्माको विंस २००० असार २४ गते काठमाडौंको डिल्लिबजारमा जन्म भएको हो । उनका बुवा यज्ञराज शर्मा संगीत शिरोमणी थिए । आमा हेमकुमारीको कोखबाट माइलो सन्तानको रुपमा जन्मिएका शर्माले २०२० सालमा भारतको इलाहवादको प्रयाग संगीतबाट संगीतमा प्रभाकर गरेका थिए ।

२०२२ सालमा रेडियो नेपालमा भएको शास्त्रीय संगीत सम्मेलनमा तत्कालीन राजा महेन्द्रले उनलाई नेपाल कलाभूषण उपाधि प्रदान गरेका थिए । नेपालको पहिलो रंगिन चलचित्र कुमारीमा संगीत निर्देशन गरेका शर्माले श्रीस्वस्थानी र महाकवी देवकोटासहित चलचित्रमा पनि संगीत दिएका छन् । 
उनले गीतिनाटक मुनामदन, सत्यनाग, क्रसमा टाँगिएको जिन्दगीमा पनि संगीत निर्देशन गरेका छन् । शर्माको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म पशुपति आर्यघाटमा राखिने छ । उनको आजै आर्यघाटमा अन्तिम शंस्कार गरिने परिवारका सदस्यले बताएका छन् । शर्माका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

पुस ६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस