बाम एकता प्रक्रिया निर्णायक विन्दुमा

काठमाडौँ, ३ फागुन- कम्युनिस्ट पार्टीको नाममा फरक धारको राजनीति गर्दै स्थापित भएका दुई वामपन्थी दल एमाले र माओवादी केन्द्र अब औपचारिक रूपमा एक हुने विन्दुमा पुगेका छन्, कान्तिपुरमा खबर छ ।

एउटै कम्युनिस्ट केन्द्र निर्माण गर्ने, विकास र समृद्धिका लागि स्थिर सरकार चलाउने उद्घोषसहित चार महिनाअघि वाम गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा सहभागी यी दुई दलले एकताको औपचारिक खाका तयार गरिरहेका छन् ।

बुधबार रातिसम्म चलेको वाम एकता संयोजन समितिको बैठकले एकताको विधिसम्बन्धी ९५ प्रतिशत काम सकेको एमाले उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए । बाँकी विषय टुंग्याउने गरी बिहीबार समितिको बैठक पुन: बस्नेछ ।
हालसम्मको प्रगतिअनुसार एकीकृत पार्टीको नेतृत्व एकता महाधिवेशनसम्म एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले संयुक्त रूपमा गर्नेछन् । पार्टीको कार्यकारी भूमिकामा दुवै जना रहने विधि तयार गरिएको हो ।
‘को–चेयरको अवधारणामा जाने भन्नेमा अब सहमति बनिसकेको छ,’ एमाले महासचिव पोखरेलले भने, ‘संगठनात्मक र सैद्धान्तिक व्यवस्थापनसम्बन्धी काम गर्न कार्यदल बनाउने कुरा भएको छ ।’ यस्तो कार्यदलले पार्टी एकता र सिद्धान्तको विस्तृत स्वरूप तयार गर्नेछ ।
शीर्ष नेता र एकता संयोजन समितिले एकताको सैद्धान्तिक स्वरूपलाई औपचारिकता दिएपछि त्यसको प्राविधिक काम कार्यदलले पूरा गर्नेछ ।

फागुन ३, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस