राष्ट्रियसभा सदस्यका कारण देउवाको राजीनामा रोकियो

काठमाडौं, ३ फागुन– प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दिने भनिएको राजीनामा अन्तिम समयमा आएर रोकिएको छ । राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि सरकारले गरेको सिफारिस राष्ट्रपतिले अनुमोदन नगरेको कारण देखाउँदै देउवाले राजीनामा रोकेका हुन् ।

सरकारको सिफारिस राष्ट्रपतिले कार्यान्वयन नगर्दासम्म राजीनामा दिन नहुने तर्क देउवा निकटले गरेपछि उनले राजीनामाको मनस्थिति परित्याग गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ । देशवासीलाई सम्बोधन गरी बुधबार राजीनामा दिने देउवाको तयारी थियो । उनले साँझ मन्त्रिपरिषद्का सदस्यसँग आफ्नो राजीनामाको विषयमा अनौपचारिक छलफल पनि गरेका थिए । 

छलफलमा राष्ट्रपतिसँग सरकारको सिफारिसका विषयमा कुरा गरेर मात्रै राजीनामा दिन सुझाव आएपछि देउवा राजीनामाबाट पछि हटेका हुन् । प्रधानमन्त्री सचिवालयदेखि केही कांग्रेसी नेताले बुधबार देउवाको बिदाइ सम्बोधन तयार पारेका थिए । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले सम्बोधन र राजीनामा सबै तयार पारेर बसे पनि सरकारको सिफारिस राष्ट्रपतिबाट कार्यान्वयनमा ढिलाइ हुँदा रोकिएको जानकारी दिए, अन्नपूर्ण पोस्टमा खबर छ ।
 

फागुन ३, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस