एमाले स्थायी कमिटी बैठकः बैशाख ९ मै एकता गर्नुपर्नेमा जोड

काठमाडौं, ४ बैशाख– नेकपा एमालेले विवादित विषयलाई हल गरेर बैशाख ९ गते नै पार्टी एकता गर्नुपर्नेमा जोड दिएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको एमाले स्थायी कमिटी बैठकले विवादित विषयमा सहमति जुटाउँदै बैशाख ९ मै एकतागर्ने गरी अघि छलफल अघि बढाउनुपर्नेमा जोड दिएको नेता सुवास नेम्वाङले जानकारी दिए ।  
एमाले र माओवादी केन्द्रबीच चुनाव चिन्ह, झण्डा एकीकृत पार्टीको कमिटीमा दुई पार्टीको कति प्रतिनिधित्व रहने, प्रस्तावनामा जनयुद्ध शब्द राख्ने या नराख्ने भन्ने लगायतका विषयमा विवाद रहेको बताइएको छ । 

यही विवादका कारण मंसिर ९ गते गर्ने भनिएको एकता पर धकेलिन सक्ने भनिएको बेला एमालेले तोकिएकै मितिमा एकता हुनुपर्नेमा जोड दिएको हो । 

त्यसको लागि एमालेले मंगलबार बस्ने पार्टी एकता संयोजन समितिको बैठकलाई फलदायी बनाउने गरी प्रस्तुत निर्णय गरेको समेत बताइएको छ । 

यसअघि आजै बिहान एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच दुई घण्टा लामो छलफल भएको थियो । सो छलफलपछि एमालेले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाएको हो । 

एमाले स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीसहित  वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र माधवकुमार नेपाल, पार्टी उपाध्यक्षद्वय वामदेव गौतम र भीम रावल, नेता सुवास नेम्वाङ, महासचिव एवं रक्षामन्त्री ईश्वर पोखरेललगायत सहभागी थिए ।  
 

बैशाख ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस