कम्युनिस्टबाट होइन, कांग्रेसबाट छ लोकतन्त्रलाई खतरा

जेठ ३०, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूसँग सम्भवतः भाषण गर्ने विषयवस्तुको अभाव हुँदै गएको छ । त्यही भएर होला, उनीहरू एकपछि अर्को उट्पट्यांग र अविश्वसनीय अभिव्यक्ति दिइरहेका छन् । हुँदाहुँदा लोकतन्त्रलाई कम्युनिस्टबाट खतरा छ भन्न थालेका छन् । सारा दुनियाँलाई थाहा छ, नेपालमा लोकतन्त्रको कोही सच्चा पहरेदार र हिमायती छ भने कम्युनिस्टहरू नै छन् । लोकतन्त्र ल्याउनका लागि सबभन्दा बढी रगत पसिना कम्युनिस्टहरूले नै खर्च गरेका छन् । हो, नेपाली कांग्रेस पनि एउटा लोकतान्त्रिक पुरानो दल हो, उसले पनि लोकतन्त्रका लागि संघर्ष गरेको छ । तर, ६८ वर्ष लामो इतिहासलाई केलाउँदा प्रस्ट हुन्छ, कम्युनिस्टहरूले लोकतन्त्रका मामिलामा एक इन्च पनि सम्झौता गरेका छैनन् ।

यस्तो कुरा घामजत्तिकै छर्लंग हुँदाहुँदै कांग्रेसका नेताहरूलाई किन दृष्टिभ्रम भइरहेको छ र उनीहरूले बारम्बार लोकतन्त्रलाई कम्युनिस्टबाट खतरा देखिरहेका छन् ? यसका पछाडि केही मनोवैज्ञानिक कारणले काम गरेको छ ।
शक्तिहीन हुँदै गएपछि मानिसहरूलाई दृष्टिभ्रम हुन्छ । अहिले नेपाली कांग्रेस नेपालमा राणाशासनको जग बसाल्ने जंगबहादुर राणाको नियतिबाट गुज्रिरहेको प्रतीत हुन्छ । त्यति शक्तिशाली शासक जंगबहादुर राणाले जीवन अन्तिम क्षणमा पत्थरघट्टामा पुग्दा सेता बाघ देखेका थिए । कांग्रेसले त्यसैगरी अहिले कम्युनिस्टबाट लोकतन्त्रलाई खतरा देखेको छ ।

नेपालका हरेक राजनीतिक परिवर्तनमा कांग्रेस र कम्युनिस्टहका बीचमा सहकार्य छ । जब यी दुई शक्ति मिलेका छन्, निरंकुश शक्ति पराजित भएको छ, लोकतन्त्र बलियो भएको छ । यसरी काँधमा काँध मिलाएर सँगै लडेको शक्तिलाई लोकतन्त्रविरोधीका रूपमा चित्रित गरेर कांग्रेसका नेताहरूले आफ्नो औचित्यमाथि आफैँ प्रश्न उठाइरहेका छन् ।

हुन त कांग्रेसका नेताहरूका कुरा कांग्रेसकै कार्यकर्ताले पत्याइरहेका छैनन् । डडेल्धुरा पुगेर सभापति शेरबहादुर देउवाले आफ्ना कार्यकर्तासँग गुनासो गर्नुभएको छ, तिमीहरू खाली मेरो विरोध गर्छौ, केपी ओलीको विरोध गर्दैनौ । मंगलबार नेपाल टेड युनियन कांग्रेसको महाधिवेशन उद्घाटन गर्दा पनि उहाँले त्यस्तै गुनासो गरेको सुनियो, कांग्रेसका नेताहरू कम्युनिस्टको विरोध गर्न डराए ।

खासमा अहिले कम्युनिस्टको विरोध गर्ने विषयवस्तु नै छैन । भर्खर सरकार बनेको छ, सरकारले केही न केही राम्रो गर्ने कोसिस गरिरहेको छ । कांग्रेसले थिलोथिलो बनाएको अर्थतन्त्रलाई लयमा फर्काउने कोसिस गरिरहेको छ, राजनीतिक स्थिरताको प्रत्याभूति प्रशासनमा दिन थालेको छ, विदेशीहरूले त्यसको अनुभूति गर्न थालेका छन् । विकासका केही दीर्घकालीन आयोजनाहरूमा हात हालेको छ । सय दिन पार गर्दै गरेको सरकारले रातारात काल्पनिक रामराज्य बनाइदिन्छ भनेर कसैले चिताएको कुरा भएन । यस्तो बेलामा सरकारको विरोध गर्नुपर्ने कारण नै नभएकाले कांग्रेसका विवेकी नेता कार्यकर्ताहरू चुप छन् । यसले सभापति देउवालाई पोलिरहेको छ । 

दुई कम्युनिस्ट पार्टी एकीकरण भएर एउटै बलियो र विशाल कम्युनिस्ट पार्टी बनेपछि कांग्रेसका नेताहरूमा छटपटी बढेको छ । यसबाट एक त बीचबीचमा सत्ताको खेल खेल्न र कुनै पनि सरकारलाई टिक्न नदिन बानी परेका कांग्रेसका नेताहरूको पेसा खोसिएको छ र पाँच वर्ष मुलुकमा कम्युनिस्ट पार्टीको दुई तिहाई बहुमतको सरकार सुनिश्चित भएको छ । अर्को, कम्युनिस्ट पार्टीले आफ्नो चुनावी वाचालाई मात्रै ध्यानमका राखेर काम गर्दा अर्को चुनाव मात्र होइन, कैयौँ चुनावसम्म यसको जनाधार कसैले भत्काउन सक्ने छैन भन्ने कुरा कांग्रेसका नेताहरू बुझेका छन् । त्यही भएर उनीहरूमा छटपटी देखिन्छ ।

के कांग्रेसका कुनै नेताले मूल्यांकन गरेका छन्, उनीहरुका यसबीचका यी क्रियाकलापबाट जनमत बढेको छ कि घटेको छ ? उनीहरुप्रति आफ्नै समर्थकहरुको धारणा कस्तो बन्दै गएको छ ?

यसबीचमा प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न स्वयम् कांग्रेस चुकेको छ । सरकारले गरेका राम्रा र जनसमर्थन भएका विषयहरूले कांग्रेसलाई अप्ठेरो परिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा कुनै विवादास्पद वा नेपाललाई घाटा हुने कुराहरू भएनन् र कांग्रेसले विरोध गर्ने विषयवस्तु पाएन । बिनाआधार र बिनाऔचित्य भारतसँग सरकार झुक्यो भन्दा कसैले पत्याउँदैनन् भन्ने थाहा पाउँदापाउँदै पनि कांग्रेस त्यही रिटोरिक दोहोर्याउन बाध्य छ ।

सरकारले बर्षौंदेखि जकडिएको सिन्डिकेट तोड्दा त्यसको चोट आफैँलाई लागे जस्तो गरी ऐया गर्नु कांग्रेसको वर्गीय चरित्रको प्रमाण हो । सरकारको विरोध गर्ने नाममा सिन्डिकेटका पक्षमा समेत बोल्न कांग्रेस पछि परेन । त्यसैगरी, फौजदारी अभियोग लागेका सांसदहरूलाई पनि निलम्बन गर्नु हुँदैन भनेर कांग्रेस लामो सयमसम्म संसदको नियमावली नै पारित हुन दिएन र  त्यसमा विजय हासिल गरेको छ । के कांग्रेसका कुनै नेताले मूल्यांकन गरेका छन्, उनीहरूका यसबीचका यी क्रियाकलापबाट जनमत बढेको छ कि घटेको छ ? उनीहरूप्रति आफ्नै समर्थकहरूको धारणा कस्तो बन्दै गएको छ ?

कांग्रेसका केही नेताहरूले आफू सत्तामा रहनु नै लोकतन्त्र बलियो हुनु हो भन्ने भ्रम छ । अब कम्युनिस्टहरूको दुई तिहाई बहुमत भएपछि आफ्नो औचित्य सकिने भयो भनेर उनीहरूले लोकतन्त्रको दुहाई दिए पनि आफ्ना अयोग्यताहरू जनताबीच छताछुल्ल हुने भए भन्ने कुराले पिरोलेको छ । बरु लोकतन्त्रलाई कहाँबाट खतरा छ भनेर इतिहास खोतल्दै जाने हो भने सुई कांग्रेसतिरै सोझिन्छ ।

२०१७ सालमा नेपाली कांग्रेसले दुई तिहाई बहुमत ल्याएको बेला प्रजातन्त्र जोगाउन सकेन । लोकतन्त्रका आदर्श वीपी कोइराला प्रधानमन्त्री भएको बेला राजा महिन्द्रले सैनिक कु गरेर शासनसत्ता आफ्नो हातमा लिँदा कांग्रेसले उचित प्रतिवाद गर्न सकेन । बरु, त्यसका कैयौँ नेता पञ्चायत प्रवेश गरे । पञ्चायतका विरुद्धमा लडेर प्रजातन्त्र फर्काउन ३० वर्ष संघर्ष गर्नुपर्यो । सायद लोकतन्त्रलाई खतरा भनेको यही होइन र ?

०४८ मा सुविधाजनक बहुमत पाउँदा पनि कांग्रेसले सत्ता चलाउन सकेन । पाँच वर्ष ढुक्कले शासन गर्ने जनादेश पाएको कांग्रेसले जनतालाई धोका दियो र बीचैमा मध्यावधि चुनाव गरायो । फेरि ०५६ सालमा बहुमत पाउँदा पनि तीन वर्षमा तीन प्रधानमन्त्री भए र शासन चलाउन सकेन । त्यसको फलस्वरूप राजाले प्रतिगमन गरे र लोकतन्त्रका लागि अर्को कठोर लडाइँ लड्नुपर्‍यो ।

इतिहासमा यति सपाट तथ्यहरू हुँदाहुँदै कांग्रेसका नेताहरू कम्युनिस्टबाट लोकतन्त्रलाई खतरा देख्नु जीवित इतिहासमाथि कालो पर्दा हाल्नु मात्र हुन्छ ।

हिजो सशस्त्र युद्ध लडेको पार्टीसमेत शान्तिपूर्ण प्रतिस्पर्धात्मक लोकतान्त्रिक प्रक्रियामा सहभागी हुनुका साथै यसैलाई आफ्नो सिद्धान्त बनाउन तयार भएर एकीकरणमा सामेल भएका बेला कांग्रेसले स्याल आयो भनेर कसका लागि कुखुरा सुरक्षित गर्न खोजिरहेको छ ? 

नेपालका कम्युनिस्टहरूको लोकतन्त्रमाथिको निष्ठामाथि कसैले प्रश्न उठाउन सक्दैन । लोकतन्त्रलाई आदर्श मान्दै त्यसको प्राप्ति, संरक्षण र सम्बद्र्धनमा अहोरात्र खटेका कम्युनिस्टहरूमाथि यसरी आरोप लगाउनुले कांग्रेस विचलित हुँदै गएको देखिन्छ । यो बेग्लै कुरा हो, सरकारले राम्रो काम गरेन भनेर विरोध गर्नु प्रतिपक्षको दायित्व हुन्छ । नीति तथा कार्यक्रम र बजेटमाथि केन्द्रित भएर विरोध गर्नु कांग्रेसको अधिकार र दायित्व हो ।  तर, त्यसको चाहिँ किन हो, त्यति विरोध गरेको पाइँदैन । जुन विषयमा चर्चा नै गर्न आवश्यक छैन, त्यस विषयमा चाहिँ चर्को स्वरमा विरोध गरेको सुनिन्छ ।

सबै विश्वस्त भए हुन्छ, नेपालमा कुनै जनवादी क्रान्तिबाट कम्युनिस्टहरू सरकारमा आएका होइनन् । हतियारबन्द युद्ध लडेर राज्यसत्ता कब्जा गरेको अवस्थामा हतियारले नै त्यसलाई सुरक्षित पार्ने पुरानो कम्युनिस्ट अवधारणालाई अहिले सम्झिनु भनेको पोहोर मरिन् सासु, अहिले आए आँसु भने जस्तै हो ।

अहिले त कांग्रेसले गराएको निर्वाचनबाट कम्युनिस्टहरू सत्तामा आएका छन् । याद गर्नुपर्छ, यो कम्युनिस्ट पार्टीको सरकार हो, कम्युनिस्ट सत्ता चाहिँ होइन । हिजो सशस्त्र युद्ध लडेको पार्टीसमेत शान्तिपूर्ण प्रतिस्पर्धात्मक लोकतान्त्रिक प्रक्रियामा सहभागी हुनुका साथै यसैलाई आफ्नो सिद्धान्त बनाउन तयार भएर एकीकरणमा सामेल भएको बेला कांग्रेसले स्याल आयो भनेर कसका लागि कुखुरा सुरक्षित गर्न खोजिरहेको छ ? 
 

जेठ ३०, २०७५ मा प्रकाशित

विष्णु रिजाल

नेकपाका केन्द्रीय सदस्य विष्णु रिजाल लोकान्तर डट् कमका नियमित स्तम्भकार हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस