संसदलाई टेर्दैन प्रदेश सरकार, बैशाखदेखि दिएन मागेको विवरण

पुस २६, २०७५

सुर्खेत – कर्णाली प्रदेश सभाको प्राकृतिक स्रोत तथा साधन समितिले सरकारले बैशाख १७ गते बसेको बैठकले माग गरेको विवरण हालसम्म नदिएको बताएका छन् ।

समितिका अध्यक्ष अम्मर थापाले समितिले बैशाख १७ गते नै प्रगति विवरण पठाउन भनेर निर्देशन दिएपनि आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय र पर्यटन मन्त्रालयले अटेर गरेको आरोप लगाए ।


ADVERTISEMENT

‘हामीले बारम्बार खर्च तथा प्रगतिको पूर्ण विवरण माग गरेका थियौं,’ उनले भने, ‘तर सरकारले अहिलेसम्म सुनेको छैन ।’

बिहीवार बसेको समितिको सातौं बैठकले आगामी आर्थिक वर्षको बजेटका लागि विभिन्न ४ वटा क्षेत्रमा लगानी गर्ने योजना बनाउन सरकारलाई निर्देशन दिएको छ । समितिका अध्यक्ष थापाका अनुसार समितिले पहिलोमा विद्युत् उत्पादन, दोस्रोमा पर्यटन क्षेत्र, तेस्रोमा उद्योग र चौथोमा जडीबुटीलाई प्राथमिकीकरण गर्न आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिइएको बताए । 

बैठकले चालू आर्थिक वर्षको पहिलो र दोस्रो चौमासिकको प्रगति विवरणसहित माघ ३ गतेको बैठकमा उपस्थित हुन निर्देशन दिएको छ । ‘अहिलेसम्म कति बजेट कहाँ खर्च भएको छ ? सांसदले जान्ने चाहना राख्नुभएको छ,’ उनले भने, ‘सोही अनुसार हामीले मन्त्रालयका कर्मचारीलाई माघ ३ गते बस्ने बैठकमा उपस्थित हुन पत्र लेखेका हौं ।’

अध्यक्ष थापाका अनुसार समितिले माघको पहिलो साता जाजरकोट, सल्यान र रुकुम पश्चिममा अनुगमन गर्ने बताएको छ । ‘विकासका कामहरू कसरी अघि बढेका छन् भन्ने हेर्न समितिबाट माघको पहिलो साता ३ जिल्लामा अनुगमन गर्न जाने योजना बनाएका छौं,’ उनले भने, ‘विकास निर्माणमा जनताको रुचि कस्तो छ, आवश्यकता छ कि छैन ? जनताले आयोजनाबारे जानकारी पाएका छन् कि छैनन् भन्ने अनुगमनको विषय हुनेछ ।’

पुस २६, २०७५ मा प्रकाशित

शेरबहादुर थापा

थापा लोकान्तरकालागि कर्णाली प्रदेशका प्रतिनिधि हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस