विक्रम ल्यान्डरसँग अझै सम्पर्क नभएको इसरोको भनाइ

भदौ २४, २०७६

काठमाडौं – चन्द्रमाको सतहमा पुगेको विक्रम ल्यान्डरले भारतीय अन्तरिक्ष नियोग इसरोसँग सम्पर्क बनाउन सकेको छैन । 

चन्द्रयान–२ को अर्बिटरले विक्रम ल्यान्डर पत्ता त लगाएको तर त्यससँग सम्पर्क गर्न नसकेको इसरोको भनाइ छ । इसरोले लेख्यो, ‘ल्यान्डरसँग सम्पर्क स्थापित गर्ने सबै सम्भव प्रयास गरिँदैछ ।’


ADVERTISEMENT

विक्रम चन्द्रमाको सतहमा पल्टिएको र त्यसमा कुनै टुटफुट नभएको खबर सोमवार आएको थियो । अर्बिटरले पठाएको तस्वीरमा विक्रमको कुनै टुक्रा देखिएको छैन । अर्थात् विक्रम साबुत छ । त्यो थाहा पाएपछि वैज्ञानिकहरूले विक्रमसँग फेरि सम्पर्क बनाउने सम्भावना व्यक्त गरे । 

गत जुलाई महिनाको २२ तारिखमा प्रक्षेपण गरिएको चन्द्रयान–२लगातार ४७ दिनसम्म बाधा पार गर्दै चन्द्रमा नजिक पुगेको थियो । शनिवार राति ल्यान्डर विक्रम रोभर प्रज्ञानका साथ चन्द्रमाको सतहमा ओर्लनुपर्ने थियो तर जम्मा २.१ किलोमिटरको दूरीमा उसले बाटो बिरायो र इसरोसँग उसको सम्पर्क टुट्यो । 

तर इसरो समेत वैज्ञानिक जगतले चन्द्रयान–२ आफ्नो लक्ष्य ९५ प्रतिशत हासिल गर्न सफल भएको बताएका छन् । अर्बिटरले आगामी सात वर्षसम्म चन्द्रमाको परिक्रममा गर्ने र महत्त्वपूर्ण जानकारी दिने काम नै यस मिसनको सबभन्दा ठूलो उपलब्धि हो ।

एजेन्सी
 

भदौ २४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार