वैज्ञानिकहरूको दाबी : मानवकै जस्तो भाषा हुन्छ चराचुरुंगीको

भदौ २६, २०७६

काठमाडौं – वैज्ञानिकहरूले एउटा अनुसन्धानपछि चराचुरुंगीले पनि मानिसकै जस्तो कुरा गर्ने दाबी गरेका छन् । 

चरा चिर्बिराएकोमा भाषा खोज्ने वैज्ञानिकहरूले चिर्बिर्‍याइँमा मानिसको भाषामा जस्तै वाक्य, शब्द र अक्षर हुने बताए । चराहरू मानिसले जस्तै कुरा गर्ने र सन्देश दिने वैज्ञानिकहरूको दाबी छ । 


ADVERTISEMENT

प्रोसीडिंग्स अफ द नेसनल एकेडमी अफ सायन्सेज जर्नलमा प्रकाशित अनुसन्धानमा चराहरूको आवाज पनि मनुष्यको भाषा जस्तै सानासाना अक्षर मिलेर बन्ने गरेको र त्यो संगठित हुँदा शब्द वा वाक्य बन्ने छापिएको छ । 

स्विट्जरल्यान्डमा ज्युरिख विश्वविद्यालयका अनुसन्धानकर्ता सब्रिना एंगेजरको नेतृत्वमा वैज्ञानिकहरूले अस्ट्रेलियाली पक्षी चेस्टनट क्राउन्ड बब्लरको आवाज विश्लेषण गरे र मानिसको भाषा जस्तै उनीहरूको सुरलाई छुट्ट्याउन सकिने बताए । 

मानव शिशुहरूको आवाजको अर्थ निकाल्ने माध्यम नै चराको आवाज विश्लेषणमा एंगेजर र टोलीले उपयोग गरेको थियो । 

चराको आवाजमा अक्षर खुट्ट्याएर त्यसबाट बनेको वाक्य र त्यसको अर्थ पत्ता लगाइएको पहिलोपटक भएको बेलायतको वार्विक विश्वविद्यालयका साइमन टाउनसेन्डले बताए ।

प्रत्येक जीवको आवाजलाई सानो सानो भागमा बाँडेर त्यसमा लुकेको अक्षर चिन्न सकिने सम्भावना यसले देखाएको अनुसन्धानकर्ताहरूको भनाइ छ । त्यसबाट बनेको शब्द र वाक्यलाई चिनेर त्यसको अर्थ पत्ता लगाउन सकिन्छ । अनि मानिसको आरम्भिक विकासक्रममा कसरी भाषाको जन्म भयो भन्ने पनि पत्ता लगाउन सकिन्छ ।

एजेन्सी
 

भदौ २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस