समृद्धि हासिल गर्न साना उद्योगलाई प्रविधिको आवश्यकता

भदौ ३१, २०७६

काठमाडौं– मुलुकमा आर्थिक समृद्धि हासिल गर्न लघु, घरेलु तथा साना उद्योगलाई विज्ञान र प्रविधिसँग जोड्नुपर्ने आवश्यकता रहेको सरोकारवालाहरुले औंल्याएका छन् ।

स्थानीय उत्पादनमा आधारित नेपालमा सदियौंदेखि चलिरहेका परम्परागत लघु, घरेलु तथा साना उद्योगलाई विज्ञान र प्रविधिको माध्यमबाट उत्पादकत्व र क्षमता बढाउनुपर्ने उनीहरुले औंल्याएका हुन् ।


ADVERTISEMENT

सातौं विज्ञान दिवसको पूर्वसन्ध्यामा नेपाल घरेलु तथा साना उद्योग महासंघले काठमाडौंमा आयोजना गरेको ‘विज्ञान, प्रविधि र उद्योगसँगसँगै’ विषयक एक दिने विचार गोष्ठीका सहभागीहरुले विज्ञान र प्रविधिको माध्यमबाट पुराना उद्योगहरुलाई सुदृढ र विकास गर्नुपर्नेमा जोड दिएका छन् । 

महासंघका अध्यक्ष श्याम गिरीले सरकारले लिएको समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य नेपाली उद्योग र तिनका उत्पादनसँग जोडिने भन्दै अहिले सञ्चालित विज्ञान र प्रविधिको माध्यमबाट हजारौं परम्परागत लघु, घरेलु तथा साना उद्योग धन्दाहरुको क्षमता विकास गर्नुपर्नेमा जोड दिए ।

बेलैमा यस्ता उद्योगहरुको विकास र प्रवर्द्धन गर्न नसकिए केही वर्षपछि आफैं बन्द हुने उनको भनाई थियो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले समृद्घ नेपाल र सुखी नेपालीको लक्ष्यलाई पुरा गर्नका लागि त्यसको मुख्य आधारको रुपमा रहेका लघु, घरेलु तथा साना उद्योगलाई विज्ञान र प्रविधिको माध्यमबाट सुदृढ र विकास गर्नुपर्नेमा जोड दिए ।

भदौ ३१, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस