खेलाडी उत्पादन गर्न स्थानीय स्तरमा फूटबल प्रतियोगिता

फाइल फोटो
असोज ४, २०७६

कावासोती – स्थानीयस्तरमा खेलाडी उत्पादनका लागि नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकामा ‘प्रथम मध्यविन्दु कप फूटबल’ प्रतियोगिता हुने भएको छ । 

मध्यविन्दु नगरपालिका–७, चोरमारास्थित खेल मैदानमा यही असोज १२ गतेबाट हुने प्रतियोगितामा १६ वटा समूहको सहभागिता रहने आयोजक संस्था नवजागरण माध्यमिक विद्यालय खेलमैदान स्तरोन्नति समितिका अध्यक्ष घनश्याम पौडेलले बताए ।


ADVERTISEMENT

प्रतियोगितामा नवलपरासी, चितवन, रुपन्देही, कपिलवस्तु लगायतका जिल्लाबाट समूहहरुको सहभागिता रहने अध्यक्ष पौडेलले शनिवार पत्रकार सम्मेलन गरी जानकारी दिए ।

स्थानीय तह मध्यविन्दु नगरपालिका लगायत विभिन्न संघसस्थाको सहयोगमा आयोजना गर्न लागिएको सो प्रतियोगिताका विजेता हुने समूहले २ लाख २२ हजार २२२ रुपैयाँ र उपविजेता हुने समूहले १ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गर्ने उनले जानकारी दिए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्तालाई समेत पुरस्कार प्रदान गरिने अध्यक्ष पौडेलले बताए । प्रतियोगिता सम्पन्न गर्न करीब ११ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । जसमा मध्यविन्दु नगरपालिकाले ५ लाख ५० हजार रुपैयाँ र अन्य खर्च सामुदायिक वन, विभिन्न उद्योगी, व्यवसायी र समाजसेवीबाट संकलन गरिने जनाइएको छ । 

स्थानीयस्तरमा खेलाडी उत्पादन गर्न प्रतियोगिता महत्वपूर्ण हुने अध्यक्ष पौडेलले बताए । आगामी वर्षमा नियमित रुपमा घटस्थापनाका दिनदेखि शुरू हुने गरी प्रतियोगिता सञ्चालन गरिने समेत उनले बताए । 

असोज ४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस