×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

एमालेको ‘लालकिल्ला’मा समाजवादीको धावा : गठबन्धनले पल्टाउला ‘हाइवे’को राजनीति ?

चैत २३, २०७८

NTC
Premier Steels

काठमाडौंबाट बाहिरिने मुख्य नाका नागढुंगा पार गर्नेबित्तिकै शुरू हुन्छ, धादिङको धुनीबेसी नगरपालिका । साविकका नौबिसे, छत्रेदेउराली र जीवनपुर गाविस मिलेर बनेको यो नगरपालिका धेरै लामो समयदेखि कम्युनिस्टहरूको गढका रूपमा परिचित छ ।

Muktinath Bank

विशेषगरी नेकपा एमालेको प्रभाव क्षेत्र मानिने यस स्थानीय तहका प्रमुख बालकृष्ण आचार्य एमाले विभाजनपछि माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा लागेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धुनीबेसीबाट थाक्रे गाउँपालिका हुँदै पृथ्वी राजमार्गमा अगाडि बढ्दा गल्छी गाउँपालिका पुगिन्छ । गल्छी पनि अघिल्लोपटक एमालेले जितेको स्थानीय तह हो । गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ समेत अहिले नेकपा एसमा नै छन् ।


Advertisment
Nabil box
Kumari

गल्छीबाट अझै अगाडि बढ्दा पुगिने गजुरी गाउँपालिकामा समेत अघिल्लो पटक एमालेले नै बाजी मारेको थियो । अध्यक्षमा राजेन्द्रविक्रम बस्नेत र उपाध्यक्षमा सीता ढुंगाना निर्वाचित भएका थिए । बस्नेत एमालेमै छन्, तर उपाध्यक्ष ढुंगाना नेकपा एसमा लागेकी छिन् ।

Vianet communication

यी त केही उदाहरण मात्र हुन्, दशकौंदेखि एमालेको प्रभाव क्षेत्र मानिने ‘हाइवे’ इलाकामा पछिल्लो समय एकीकृत समाजवादीले धावा बोलिरहेको छ ।

हाइवेको राजनीति र विगतको निर्वाचन परिणाम

संविधान सभा निर्वाचनताका धादिङमा ३ वटा निर्वाचन क्षेत्र थिए । उत्तरी भेग १, सदरमुकामसहित मध्यभेग २ र हाइवेसहितको दक्षिणी भेग ३ नम्बर निर्वाचन क्षेत्र अन्तर्गत पर्दथे ।

साविक ३ नम्बर क्षेत्र लामो समयदेखि तत्कालीन एमालेका नेता राजेन्द्रप्रसाद पाण्डे (हाल एकीकृत समाजवादीका उपाध्यक्ष)को प्रभाव क्षेत्रका रूपमा रहेको थियो ।

२०६४ मा देशव्यापीरूपमा माओवादीको ह्वीम आउँदा धादिङ पनि अछुतो रहेन । धादिङका तीनवटै क्षेत्रमा तत्कालीन नेकपा (माओवादी) विजयी भयो ।

३ नम्बरमा शालिकराम जम्कट्टेलले विजयी झण्डा फहराए । त्यतिबेला राजेन्द्र पाण्डेको पराजयलाई धादिङमा धेरैले आश्चर्यका रूपमा लिएका थिए ।

२०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा पाण्डेले गाउँगाउँमा पुगेर चुनाव प्रचारप्रसार गर्नै पाएनन् । माओवादी प्रभाव रहेको क्षेत्रमा उनी पुग्ने वातावरण नै बनेन ।

दक्षिणी धादिङमा दुई कम्युनिस्ट नेताबीच कडा टक्कर पर्‍यो । तर, बाजी भने पाण्डेले मारे । जम्कट्टेललाई पराजित गर्दै पाण्डे आफ्नो पुरानो विरासत फर्काउन सफल भए ।

२०७४ सालमा स्थानीय तह निर्वाचन हुँदा एमाले–माओवादी तिक्तता उत्कर्षमा थियो । माओवादीले कांग्रेससँग चुनावी गठबन्धन गर्‍यो । 

हाइवेमा खानीखोला, बैरेनीसहितका केही बजारलाई छाड्ने हो भने कांग्रेसको खासै प्रभाव छैन । कांग्रेसले यस क्षेत्रका ५ मध्ये तीनवटा स्थानीय तह थाक्रे, गजुरी र बेनीघाट रोराङमा माओवादी केन्द्रलाई सघायो, गल्छी कांग्रेसको भागमा पर्‍यो । धुनीबेसीमा भने एमाले, कांग्रेस र माओवादी एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिए ।

अन्तिम समयमा भएको कांग्रेस–माओवादी तालमेल खासै व्यवस्थित थिएन । कतिपय स्थानमा त कांग्रेस उम्मेदवार खडा भइसकेपछि विज्ञप्ति निकालेर फिर्ता लिएको भनियो, तर मतपत्रमा चुनाव चिह्न कायम थियो ।

कांग्रेस–माओवादी सहकार्यले एमालेको किल्ला तोड्न सकेन । तालमेल भएका ४ मध्ये थाक्रे, गल्छी र गजुरीमा एमाले एक्लै हावी भयो । बेनीघाट रोराङ माओवादीले जित्यो ।

बेनीघाट त्यही स्थानीय तह हो, जहाँका अध्यक्ष पित्तबहादुर डल्लाकोटी ‘हरि’ एमाले प्रवेश गरेको भोलिपल्टै माओवादीमा फर्किएर चर्चामा छन् ।

बुधवार माओवादी अध्यक्षसँग भेट्दै डल्लाकोटी

डल्लाकोटीको पार्टी अदलबदलसँग हाइवेको पेचिलो कम्युनिस्ट राजनीतिको खेल जोडिएको छ । यहाँ उल्लेखनीय कुरा के पनि छ भने डल्लाकोटीलाई एमालेबाट माओवादीमै फर्काउन नेकपा एसका नेताहरू समेत निकै सक्रिय बनेका थिए । यो प्रसंगलाई यहीँ छाडौं ।

२०७४ को स्थानीय तह निर्वाचन परिणाम:

२०७४ सालको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा फरक माहोल बन्यो । वाम गठबन्धन बनाएर एमाले र माओवादी एकसाथ चुनावमा होमिए ।

निर्वाचन क्षेत्र पनि खुम्चिएर ३ बाट २ मा झरिसकेको थियो । साविकको ३ नम्बर निर्वाचन क्षेत्रमा साविक २ का केही गाविस (कल्लेरी, कुम्पुर, नलाङ, सलाङ) मिसाएर १ नम्बर निर्वाचन क्षेत्र कायम गरियो । साविक १ र २ का अधिकांश भूभाग २ नम्बर निर्वाचन क्षेत्रमा परे ।

पहिलेदेखि नै कम्युनिस्टको प्रभाव रहेको क्षेत्रमा एमालेको दबदबा रहेका साविकका ४ गाविस थपिँदा क्षेत्र नम्बर १ कम्युनिस्टहरूको लालकिल्ला नै बन्यो ।

वाम गठबन्धनको सहमति बनेपछि धादिङ १ बाट राजेन्द्र पाण्डे वा शालिकराम जम्कट्टेलमध्ये एकजना उम्मेदवार बन्ने लख धेरैले काटेका थिए ।

भागबण्डका क्रममा धादिङका दुवै क्षेत्र एमालेले पायो । त्यसपछि धेरैले राजेन्द्र पाण्डे नै उम्मेदवारका रूपमा दोहोरिने लख काटेका थिए ।

तर, पार्टीको आन्तरिक जोडघटाउमा पाण्डे पछाडि परे । अध्यक्ष केपी शर्मा ओलीपक्षीय नेता भूमि त्रिपाठीले दुई हेबीवेटलाई पछाडि पार्दै टिकट हात पारे ।

पाण्डे र जम्कट्टेललाई प्रदेश सभातर्फ धादिङ १ (क) र (ख) मा सीमित राखियो । 

धादिङ– १ मा कम्युनिस्ट मिलनको नतिजा अभूतपूर्व आयो । वाम गठबन्धनका एमाले उम्मेदवार त्रिपाठीले कांग्रेसका विश्वप्रसाद अर्याललाई झण्डै २८ हजार मतान्तरले पराजित गरे । त्रिपाठीले ४९ हजार १२१ मत प्राप्त गर्दा अर्यालले २१ हजार ९ सय ६८ मत पाएका थिए ।

प्रदेश सभातर्फ पनि पाण्डे र जम्कट्टेल दुवैले प्रभावशाली जीत दर्ता गरे । अहिले पाण्डे बाग्मती प्रदेशको मुख्यमन्त्री छन् भने जम्कट्टेल उनकै सरकारमा आर्थिक मामिला मन्त्री छन् ।

बलियो एमालेविरुद्ध आक्रामक समाजवादी

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केही दिनअघि दक्षिणी धादिङका २ स्थानीय तह धुनीबेसी र गल्छीको नामै लिएर एक्लै चुनाव जित्ने दाबी गरे ।

पार्टी कमिटीको अधिवेशनका लागि गल्छी पुगेर फर्किएपछि नेता नेपालले उत्साहित हुँदै ती दुई स्थानीय तहको नाम लिएका थिए । उनले दाबी गरेजस्तो समाजवादीले चुनावै जित्ला वा नजित्ला त्यो हेर्न भने जेठको पहिलो सातासम्म कुर्नै पर्छ ।

जे होस्, माधव नेपाल उत्साहित हुनुको कारण ती स्थानीय तहमा एकीकृत समाजवादीको आक्रामक संगठन विस्तार हो । समाजवादीले स्थानीय तह र वडामा मात्र होइन, टोलटोलमा पुगेर पार्टी कमिटी गठन गरिरहेको छ ।

एकीकृत समाजवादीकै नेतृत्वमा रहेको धुनीबेसी र गल्छीमा मात्र होइन गजुरीमा पनि पार्टी आक्रामक ढंगले संगठन विस्तारमा लागेको छ ।

गजुरीमा एकीकृत समाजवादीलाई जनतामाझ परिचित गराउन दिनरात नभनी खटिएकी छिन्, गाउँपालिका उपाध्यक्ष सीता ढुंगाना । उनी अनेमसंघ समाजवादी धादिङको अध्यक्ष समेत हुन् ।

‘म यसबीचमा गजुरीको टोलटोलमा पुगेको छु । हाल गजुरी गाउँपालिकामा समावेश भएका साविकका २७ वडालाई आधार मानेर २७ वटै टोल कमिटी बनाइसकेका छौं । वडा कमिटी र पालिका कमिटी यसअघि नै बनिसकेका छन्,’ ढुंगानाले भनिन्, ‘घरदैलोमा जाँदा जनताको जुन किसिमको समर्पण देखेका छौं, त्यसले हामी उत्साहित छौं । अहिले पार्टीको नाम फेरिएको हो, चुनाव चिह्न फेरिएको हो, हामी जनतासँगै छौं, जनता हामीसँगै छन् ।’

उनले एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष राजेन्द्र पाण्डेको प्रभावस्वरूप पनि धादिङमा पार्टीप्रति निकै आकर्षण रहेको दाबी गरिन् ।

‘सिंगो धादिङ नै कम्युनिस्टको लालकिल्ला हो । विशेषगरी राजेन्द्र पाण्डेको क्षेत्र हो । राजेन्द्र पाण्डे भनेको कम्युनिस्ट आन्दोलनको अन्तर्राष्ट्रिय फिगर हो । एमाले धादिङको संस्थापक नेता र एक नम्बर सदस्य हो । जतिलाई एमाले बनाउनुभयो, उहाँले नै बनाउनुभएको हो,’ ढुंगानाले भनिन्, ‘राजेन्द्र पाण्डे जुन पार्टीमा हुनुहुन्छ, त्यही पार्टीको लालकिल्ला हो धादिङ ।’

हाल एमालेमै रहेका जनप्रतिनिधिले समेत आफूहरूलाई सहयोग गरिरहेको दाबी उनले गरिन् । ‘उहाँहरूकै सहयोगले त हो हामीले टोलटोलमा पुगेर कमिटीहरू बनाएको,’ एमालेमा रहेका जनप्रतिनिधिहरूको प्रसंगमा उनले भनिन्, ‘पहिले जुन डरत्रास र भयका कारण एमालेमा रहनुभयो, अब कार्यकालको अन्तिममा त्यो डर छैन, उहाँहरू हामीसँग जोडिँदै हुनुहुन्छ ।’

जम्माजम्मी ७ महिनाको शिशु पार्टीले धादिङमा उडान भरिसकेको उनको दाबी छ ।

‘१३ वटै स्थानीय तहमा पालिका कमिटी मात्र हैन, युवासंघ, पिपुल्स भोलेन्टियरसहितका जनवर्गीय संगठन पनि बनाइसकेका छौं,’ उनले थपिन्, ‘७ महिनाको बच्चा बामे सर्नुपर्ने हो, हाम्रो पार्टीले त हाइस्पिडमा उडान भरिसकेको छ ।’

संगठनमा एमाले नै अब्बल, निष्क्रिय मतदातासँग डर !

एकीकृत समाजवादीको दाबी आफ्नो ठाउँमा छ, तर दक्षिणी धादिङमा एमाले अझै पनि त्यति साह्रो कमजोर भएको छैन । संगठनको हिसाबले एमाले नै बलियो छ ।

तर, एमालेलाई निष्क्रिय मतदाताको डर छ । कुनै पनि पार्टीमा सबै मतदाता सक्रिय कार्यकर्ता हुन्नन् । ठूलो संख्या त त्यस्ता मतदाताको हुन्छ, जो सक्रिय राजनीति गर्दैन, भोट भने वर्षौंदेखि हाल्दै आएका हुन्छन् । यस्ता मतदातालाई विभिन्न कारणले पार्टीसँग जोडेको हुन्छ । कुलोदेखि चुलोसम्मका कुराले मतदातालाई पार्टीमा जोड्छ । मुख्य कारण भने नेता नै हुन्छन् ।

दक्षिणी धादिङ (साविकको ३ नम्बर क्षेत्र)मा एमालेका यस्ता मतदाताको संख्या उल्लेख्य छ, जसले राजेन्द्र पाण्डेलाई देखेर एमालेलाई भोट हाल्न थाले ।

राजेन्द्र पाण्डे अर्को पार्टीमा लाग्दा ती मतदाता खुलेर उनको पक्षमा त लागेका छैनन्, तर भोट उनैले भनेको ठाउँमा हाल्छन् कि भन्ने डर एमालेलाई छ ।

‘संगठनको हिसाबले त हामी निकै बलियो छौं । अधिकांश सक्रिय नेता/कार्यकर्ता एमालेमै हुनुहुन्छ,’ दक्षिणी धादिङको राजनीतिसँग परिचित एमालेका एक नेताले लोकान्तरसँग भने, ‘हामीलाई डर भनेको ‘प्यासिभ भोटर’को हो ।’ 

दक्षिणी धादिङमा लामो समयदेखि एमालेमा भोट हाल्दै आएका प्यासिभ भोटरको रुझान कतातिर बढी जान्छ, त्यसले समाजवादी र एमालेको वास्तविक साइज निर्धारण गर्नेछ ।

जिल्लाभर गठबन्धनको सम्भावना

अघिल्लोपटक त्यति व्यवस्थित ढंगले गठबन्धन गर्न नसकेका कांग्रेस र माओवादी यसपालि भने एकीकृत समाजवादीसहितको ‘महागठबन्धन’ बनाएर एमालेविरुद्ध चुनावी मैदानमा होमिने गृहकार्यमा छन् । त्यसका लागि जिल्ला र सम्बन्धित स्थानीय तहमा सत्तारुढ गठबन्धनको चुनावी संयन्त्र सक्रिय भइसकेको छ ।

२ नगरपालिका र ११ गाउँपालिका गरी १३ स्थानीय तह रहेको धादिङमा हाइवे क्षेत्रका अधिकांश स्थानीय तह माओवादी र एकीकृत समाजवादीको भागमा पर्ने देखिएको छ । त्यसको भरताल कांग्रेसले सदरमुकामस्थित नीलकण्ठ नगरपालिका (जुन कांग्रेसको परम्परागत गढ पनि हो) र मध्य तथा उत्तरी क्षेत्रका स्थानीय तह लिएर गर्नेछ ।

हाइवेका धुनीबेसी र गल्छीमा कांग्रेसको संगठन केही मात्रामा छ, अन्य ३ स्थानीय तहमा कांग्रेस तुलनात्मक रूपमा कमजोर मानिन्छ । गजुरीमा पछिल्लो समय संगठनमा केही सुधार गरे पनि प्रतिस्पर्धी हैसियतमा पुगिसकेको छैन ।

यस्तो अवस्थामा धुनीबेसी र गल्छी दुवै एकीकृत समाजवादीलाई छाड्नु परेमा हाइवेमा कांग्रेसले उपप्रमुख र वडाध्यक्षहरूमै चित्त बुझाउनुपर्ने देखिन्छ, जुन उसका लागि खासै घाटाको डील पनि होइन ।

त्यसो हुँदा थाक्रे, गजुरी र बेनीघाट माओवादीको पोल्टामा पर्नसक्छ । अथवा, यीमध्ये कुनै एक स्थानीय तह कांग्रेसको भागमा पर्ने सम्भावना पनि हुनसक्छ ।

गठबन्धन हुँदा कांग्रेसको संगठन बलियो रहेका मध्य र उत्तरी क्षेत्रका अधिकांश स्थानीय तह उसले पाउने सम्भावना छ ।

जिल्लाका १३ स्थानीय तहमध्ये अघिल्लोपटक एमालेले ८, कांग्रेसले ३ तथा माओवादी र राप्रपाले एक–एक स्थानीय तहमा जीत हात पारेका थिए ।

यसपालि एकीकृत समाजवादीसहित सत्ता गठबन्धनको जिल्लाव्यापी तालमेल हुँदा एमालेलाई निकै मुस्किल पर्ने विश्लेषण गरिएको छ । 

अघिल्लोपटक कांग्रेस र माओवादी मिल्दा समेत हराउन नसकेका स्थानीय तहमा समेत एकीकृत समाजवादीका कारण एमालेलाई अप्ठ्यारो पर्ने देखिन्छ ।

खरानी पार्टी हो, ३० गतेपछि उडेर जान्छ– भूमि त्रिपाठी, अध्यक्ष, एमाले, धादिङ

एमाले धादिङका अध्यक्ष एवं धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद भूमि त्रिपाठी अघिल्लोपटकको नतिजालाई कायमै राखेर थप सफलता मिल्ने दाबी गर्छन् ।

‘धादिङ– १ मा हाइवेका ५ वटा र सिद्धलेक गरी ६ वटा पालिका छन् । अघिल्लोपटक पनि धेरै पालिकामा गठबन्धनकै सामना गरेका थियौं । त्यतिबेला ६ मध्ये ५ वटा जितेका थियौं । बेनिघाटमा गठबन्धनले जित्दा पनि ५ वटा वडा हामीले एक्लै जितेका थियौं,’ त्रिपाठीले भने, ‘यसपालि त्यो नतिजालाई कायम राख्दै थप सफलता हात पार्नेमा हामी ढुक्क छौं ।’

उनले एकीकृत समाजवादी पार्टी नै नभएको बताए ।

‘तपाईंले कुन्नि के नाम भन्नुभयो, मैलेचाहिँ खरानी पार्टी भन्ने गरेको छु । त्यो पार्टी नै हैन, ३० गतेपछि बिलाएर जान्छ । अहिले यिनीहरूको भ्रम हो, एउटा वडा पनि जित्दैनन्,’ त्रिपाठीले भने, ‘कुन वडामा, कुन पालिकामा कुन चिह्नमा भोट हाल्ने भन्ने समेत थाहा नभएकाहरूले हामी जित्छौं भन्नु हास्यास्पद कुरा हो । तिनका गफ मात्र हुन् ।’

त्रिपाठीले धादिङमा इतिहासमै नभएको संगठन विस्तार यसपटक गरेको दाबी गरे । 

‘इतिहासमै नभएको संगठन विस्तार यसपटक भएको छ । अस्ति गल्छीमा पालिका अधिवेशन गर्दा इतिहासमै उपस्थित नभएका मान्छे उपस्थित भए, धुनीबेसी ४ मा भएको कार्यक्रममा पनि त्यत्तिकै उत्साहजनक उपस्थिति थियो,’ त्रिपाठीले भने, ‘यहाँ कसैले पनि पार्टी छाडेको छैन । एमाले कार्यकर्तामा उत्साह छ ।’

अध्यक्ष त्रिपाठीले विपक्षमा गठबन्धन बन्दा आफूहरूलाई झन् सहज हुने जिकिर गरे ।

‘बरु गठबन्धन भएन भने केही–केही स्थानीय तहमा कांग्रेससँग प्रतिस्पर्धा होला, गठबन्धन हुँदा हामीलाई सजिलो छ,’ त्रिपाठीले थपे, ‘यो परमादेशी गठबन्धन भर्सेस जनादेशको लडाईं हो । यहाँ यिनीहरूलाई त कुन वडामा कुन चिह्नमा भोट माग्ने भनेर डायरीमा टिपेर हिँड्नुपर्ने अवस्था छ ।’


hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x