बैशाख ७, २०८१
दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ । प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...
केही दिनअघि रुइबा पढेर सकें । हुन त मेलै यसको डिजिटल पाण्डुलिपि पढेकी थिएँ । त्यतिबेला यसको नाम न्याउली थियो । १ वर्षअघि नेपालमा भएको लकडाउनका बेला यसको पाण्डुलिपि पढ्दा समयको सदुपयोग भएको थियो । अनि कोरोनाको महामारीमा लकडाउनमा पर्दाको पीडामाथि उपन्यासले अरु पीडा पनि थपेको थियो । त्यतिबेला पाण्डुलिपि पढ्दा थुप्रैपटक रोएकी थिएँ ।
दाङमा रहेको मेरा श्रीमान्को घरमा एक्लै मोबाइलमा उपन्यास पढेर म सुँक्सुकाउँदा मेरा सासूससुराले श्रीमान्को सम्झनाले रोएकी भनेर खासखुस गरेको सुनेकी थिएँ । त्यतिबेला श्रीमान् अस्ट्रेलियामा हुनुहुन्थ्यो ।
साना छोराछोरी लिएर केही दिनलाई नेपाल गएकी म अन्तर्राष्ट्रिय उडान बन्देज भएकाले ६ महिनाभन्दा बढी नेपालमै रहनुपरेको थियो । त्यही बेला चीनबाट चेतनाथ आचार्यले उपन्यासको पाण्डुलिपि इमेल गरिदिनुभएको थियो ।
म निकै भावुक स्वभावकी छु । मलाई चलचित्रमा देखिने वियोगान्त दृश्यले रुवाउँछ । कथा अथवा उपन्यास पढ्दा पात्रसँगै यात्रा गर्छु । पात्र हाँस्दा हाँस्छु र पात्र रुँदा रुन्छु पनि । रुइबा उपन्यासमा त हँसाउने अथवा खुशी दिने न कुनै पात्र छ न कुनै घटना । बरु न्याउलीले भोगेका पीडा र एकपछि अर्को प्रतिकूल अवस्थाले रुवायो मलाई । एकपटक मात्र होइन, क्षण क्षणमा चिमोटिरह्यो । हरेक घटनाले हिर्काइरहे बारम्बार ।
यतिबेला म अस्ट्रेलियामा छु । अस्ट्रेलिया फर्किएको लगभग १ वर्षपछि रुइबा उपन्यास ‘हार्डकपि’ नै प्राप्त भएपछि खुशीले उद्देलित हुँदै पढ्न थालेँ । छोराछोरी र कामको समय चोरेर रुइबा पढ्दा फेरि रोएँ धेरैपटक । पाण्डुलिपिमा उपन्यासको प्रस्तावित नाम न्याउली थियो । पुस्तक प्रकाशन भएर आउँदा ‘रुइबा’ भएछ । भाषा तथा प्रस्तुतिमा थुप्रै परिस्कृत पनि भएछ ।
म आख्यान पढ्न रुचाउँछु । उपन्यास र कथा मेरा प्रिय किताब हुन् । हुन त म आत्मवृतान्त र निबन्धहरू पनि पढ्छु । ऐतिहासिक खोजमूलक किताब पढ्नु पनि मेरो रुचि हो तर सबै कृतिलाई तुलना गर्दा चाहिँ आख्यानका कृति मेरा पहिलो रोजाइमा पर्छन् । किताब पढ्छु मात्र लेख्दिनँ ।
रुइबा पढेपछि चाहिँ म साह्रै छटपटिएँ । पीडा र वेदनाले मलाई चिथोरिरहे । रुइबा पढेपछि मनमा आएको उच्चाहट, छट्पटाहट, व्यग्रता र संवेदनालाई पोख्ने ठाउँ नपाएर यी अक्षरहरू मार्फत मेरो धारणा व्यक्त गर्दैछु ।
उपन्यासका पाना पल्टाउँदै जाँदा यसकी मुख्य पात्र न्याउलीको कारुणिक कथा वाचनले समय बितेको पत्तो पाइँदैन । समय बितेको मात्र होइन, आँशु बगेको पनि पत्तो हुँदैन । न्याउलीको देशप्रतिको माया कति छ भन्ने कुरामा उनले प्रश्न गर्छिन्, ‘म मरेपछि मेरो रुइबामाथि कसले दाबी गर्छ ? मेरो माइतीले अथवा मेरो देशले ?’ (न्याउलीको बिरह पृष्ठ २५२)
उपन्यासको नामका बारेमा धेरैलाई अन्योल हुनसक्छ । मलाई पनि अन्योल नै थियो । पढेपछि मात्र थाहा पाएँ, यो शब्दको तामाङ संस्कृतिसँग अन्योन्याश्रित सम्बन्ध रहेछ । तामाङ चेली मरेपछि पनि माइतीसँग जोडिन जाने एउटा सम्बन्धको कडीको विधि नै रुइबा रहेछ ।
उपन्यासकी मुख्य पात्र न्याउलीले भोग्नु परेका अनगिन्ती दुःख र कष्टका कथाहरूले मलाई यति धेरै दुःखी बनायो कि कतिखेर हिकहिकावट छुट्यो मैले थाहा पाइनँ । हुन त सबै मानिसका भावनाहरू उस्तै हुँदैनन् । सबैको मन उस्तै कमलो हुँदैन । सबै पाठक पात्रमा डुब्न नसक्लान् पनि तर रुइबा यस्तो उपन्यास हो, जसले जस्तोसुकै कठोर मन भएकालाई पनि एक न एकपटक रुवाएरै छाड्छ ।
सबै मानिसका आ–आफ्नै तितामिठा अनुभवहरू हुन्छन् । एउटा व्यक्तिले भोगेका अनुभव अरुका लागि कथा बन्न सक्छन् । कतिपय कथाहरू पात्र आफैंले भन्न सक्षम हुन्छन् भने कतिपय कथाहरू गुमनाम हुन्छन् तर कतिपय गुमनाम पात्रका कथाहरू पनि सार्वजनिक हुन सक्छन्, यदि कुनै सिर्जनशील कलमजीवीको सम्पर्कमा पुगे भने । हो, ‘रुइबा’ पनि त्यही गुमनाम बन्दी जीवन बिताइरहेकी न्याउलको आवाज बन्न पुगेको छ । जसले कथा मात्र भन्दैन, जीवन भोगाइका पाठ पनि पढाउने काम गरेको छ ।
सामाजिक र पारिवारिक संरचना, भौगोलिक बनावट, भाषा र रहनसहन अनि धर्म र संस्कृतिले मानिसलाई कसरी एकअर्कामा बाँधेर राखेको हुन्छ भन्ने कुरा रुइबा उपन्यासमा अति नै सरल र चाखलाग्दो रूपमा पस्किने काम गरेको छ । जातीय पहिचान, संस्कार र संस्कृतिलाई माथिल्लो स्थानमा राखेको छ यस उपन्यासले । अनि त्यसैसँग जोडेर रुइबाको अर्थ पनि खुलाउने काम गरेको छ । रुइबा शीर्षकले तामाङ जाति मात्रको विधिविधान बुझाउने प्रयत्न गरेको छ । तामाङ जातिमा रुइबाको अर्थ चेली मरेपछि उसको हड्डी माइतीले लगेर गरिने अन्तिम संस्कार हो, जसलाई वंशजका रूपमा पनि लिइन्छ ।
विदेशको जेलमा आजीवन कारावास भोलिरहेकी तामाङ चेलीको मृत्युपछि हड्डी कसले खोज्छ माइती अथवा देशले भनेर प्रश्न उठाइनुले पनि यो पुस्तकको नामकरण अत्यन्त ओजिलो र गहकिलो बनेको छ । यसर्थ उपन्यासको शीर्षक सार्थकता गहन र महत्त्वपूर्ण छ ।
उपन्यासमा न्याउलीको ‘रुइबा’ अर्थात् हड्डी विवाह र मृत्युसँग मात्र जोडिएको छैन, विदेशमा अनाहकमा जेल जीवन बिताइरहेका र जीवन गुमाउनेहरूको साझा दुःखको प्रतीक र बिम्ब पनि बनेको छ ।
उपन्यासले तामाङ जातिका केही मौलिक संस्कृतिलाई निकै ओजपूर्ण रूपमा उठाएको छ । तामाङ जातिको विवाह सन्दर्भलाई हेर्ने हो भने ‘हड्डीबाहेक सबै थोक दोर्जेको’ (पृष्ठ ५४) मा छोरीलाई कुटुम्बको जिम्मा लगाउँदा माइती पक्षले भनेका छन्, ‘लौ हाम्रो छोरी तिम्रो हातमा सुम्पेको छा । यसको रुई (हड्डी) र थरबाहेक आपाको रगत र आमाको रगत आजुदेखि तिम्रो भोयो । यसको रुइबा (वंश) माइतीकै अधिनमा रहन्छा । कालगतिले वा आगतिले मरेमा माइतीलाई रुई फिर्ता हुनुपर्छा ।’
यही प्रसङ्गले पनि रुइबाको कति महत्त्व रहेछ भन्ने कुरा प्रस्ट हुन्छ । कुटुम्बलाई छोरी दिएर बुवाआमा अथवा माइतीबाट जतिसुकै टाढा पुगे पनि उसको हड्डी सधैँ माइतीको अधिनमा हुने कुरा सायद हामी अरु जातिका नेपालीले कहिल्यै सोचेका थिएनौँ । तामाङ जातिको यो मौलिक चलन सायद अरु नेपाली जातिमा छैन पनि होला । यही सन्दर्भले तामाङ चेलीको मौलिक अस्तित्व, पहिचान र महत्त्वलाई उपन्यासमा दर्शाइएको छ ।
तर बिडम्बना, न्याउलीको रुइबा दाबी गर्ने माइती बेखबर छन् । ऊ आफैँ परिवन्दमा परेर परदेशमा गुमनाम बन्दी जीवन बिताउन बाध्य छे । बुवाआमाले त चराजस्तै स्वतन्त्र भएर उडी हिँड्नु भनेर नाम ‘न्याउली’ राखिदिए तर नियतिको खेलले न्याउलीलाई १६ वर्षदेखि काराबासको पिँजडामा कुँज्याएको छ । पखेटा काटिएका छन् उसका । शरीरसँगै इच्छा र चाहनाहरू पनि कुँजिएका छन् ।
उपन्यासभित्र न्याउलीको मात्र कथा छैन । कथाभित्र थुप्रै उपकथाहरू छन् । दुःख–सुख अनि बाध्यताका कथा, ती कथा घामछाया जस्ता छन् । ती घटनाहरूले वैशालु रहर र रङ्गिन साँझका सपनाहरू देखाउँछन् । म आफू पनि न्याउली पात्रसँगै गाउँघरको सम्झनामा पिरलिएकी छु । अनि ती कथा सँगसँगै बिर्सिएका तर सम्झनामा बेलाबेलामा आइरहने कथा सम्झिरहेकी छु ।
कति सुनेका, कति कुराहरू अरुले भनेका र कति कुरा आफैँले देखेका गाउँघरका सुखदुखका घटनाहरू । न्याउली सँगसँगै दोर्जे, आँङी र आस्याङहरू आँखामा झलझली आउँछन् । बिहे गरेर बुहारी भित्र्याउँदाको खुशीयाली घरमा छाउँछ । त्यो केही महिनाको अन्तरालमा छुट्टिनुको पीडामा गएर सकिन्छ ।
अझ कथाले छुट्टिनुका कारण रहर मात्र नभई बाध्यता पनि हो भन्ने कुरा ‘घाम छाया’ (पृष्ठ ५७) मा यसरी व्यक्त गरेको छ – ‘सानो चिमे घरमा एकातिर आस्याङ र आङी अर्कोतिर हामी । ३ महिना त संकोच पचाएकै हो । जतिसुकै गरीब भए पनि लाज त सबैलाई लाग्दोरहेछ ।’ आहा कति सटिक ढंगमा प्रस्तुत गरिएको गाउँले जीवनकथा ।
गाउँघरका त्यस्ता सानातिना थुप्रै कथाहरू पनि छन्, जसले मनमनै हाँस्ने बनाउँछन् । मलसाप्रे आस्याङ, आइतेकी स्वास्नी मजेत्रे, ठेप्सी, स्यालटोपे, कालटोपे आदिको कथाले गाउँघरमा मान्छेको बोलाउने नाम कसरी राखिन्छ भन्ने कुरालाई बडो रोचक ढंगले प्रस्तुत गरिएको छ ।
कति कथाहरू सकसपूर्ण छन् । न त औषधि, अस्पताल अनि न त स्वास्थ्य जाँच । गरीबी, अशिक्षा र अज्ञानताको मारमा दबिएका सोझा मानिसहरू । न्याउलीको नानी पाउने व्यथा र बच्चा पाएको प्रसङ्गले पनि त्यही कुरालाई दर्शाएको छ । हामी सानो छँदाको हाम्रो गाउँको माइजूको सम्झना दिलायो । बुधवारको दिन बजार भर्न थुन्सेभरि कोदो बोकेर बेच्न हिँडेकी माइजूले बाटोमै बच्चा पाएर लुङ्गीमा लपेटेर घरमा ल्याएकी थिइन्, त्यो पनि एकपल्ट नभएर २–२ पटक । अहिले ती माइजू भरखरै बितेको सुनेँ । हामीलाई औधी माया गर्ने ती माइजूको अल्पायुमै अप्रत्यासित मृत्युले धेरै दिनसम्म सोचमग्न बनाएको थियो । आखिर मान्छेको जीवन के रहेछ र ! कहिले घाम कहिले छाया ! बाटैमा जन्मिएका ती दुवै भाइहरू अहिले लाठे भइसकेका छन् ।
मानिसका दुःख कहिल्यै नसिद्धिन्ने रहेछन् । हुन त जीवन छ र नै दुःख छ । दुःखसँगै जोडिन आइपुग्छन् अभाव, वाध्यता र अनगिन्ती हण्डरहरू । ती अड्चनहरूबाट उम्किनका लागि विभिन्न उपाय र निकासको खोजीमा मानिसले अनेकौँ कुराको सामना गर्नुपर्ने हुन्छ ।
यहाँ पनि दोर्जे भित्रभित्रै टीभीले खाइसकेको छाती लिएर विदेशिनु कुनै रहर होइन । आफू जन्मिएको माटोमै जीवन बिताउने अनि त्यही माटोमा पुर्खासँगै बिलिन हुने दोर्जेको चाहना वैदेशिक रोजगारसँगै अधुरो रहन गएको छ ।
न्याउली त एक प्रतिनिधि पात्र मात्र हो । काठमाडौंको रमझम र ब्वाँसे नीतिमा कसरी सोझासाझाहरू सजिलै फस्न पुग्छन् भन्ने कुरालाई विभिन्न चरित्रका माध्यमबाट लेखकले छर्लङ्ग पारेका छन् । न्याउलीको विवशतालाई निमोठ्ने निर्दयी साहुनी, भरिलो शरीरलाई लुट्ने मानवअधिकारवादी भनौदा नेताहरू, धेरै पैसाको प्रलोभन देखाएर विदेश पठाउने विनोद जस्ता पात्र ।
काठमाडौंमा कति बाध्यात्मक परिस्थितिका बीच बाँच्नु परेको छ न्याउली जस्ता भुइँ मान्छेहरूले । न्याउलीले काठमाडौंमा ३ वर्षे छोरी मात्र बालमन्दिरमा छाडेकी होइन, आफूभित्र आमा हुनुको सबै मातृबात्सल्य प्रेम पनि छोडेकी छे । कस्तो छाती नै चर्किने पीडा ! एउटी आमालाई आफ्नो बच्चा एकैछिन अरुको जिम्मामा छोडेर काममा जानुपर्दा त कति पीडा हुन्छ । बच्चालाई उचित समय र माया दिन नपाएकोमा अपराध बोध हुन्छ तर यहाँ त न्याउलीले बच्चाका लागि आफू जिउँदै मरिदिनु परेको छ ।
ओहो कस्तो उकुसमुकुस लाग्ने कहालीलाग्दो परिस्थिति ! ऐठन हुन्छ न्याउलीको दुःख सम्झदा पनि । लाग्छ, न्याउलीले आफ्नो कहानी भनिरहँदा ती कहानीलाई लेखकले कसरी शब्दमा वर्णन गर्न सक्यो होला ? अनि कसरी लेख्न सक्यो होला उसको व्यथा !
तर पनि मानिस बाँचिरहेको छ, भनौँ बाँचिदिन्छ अनेकौँ चोट र दुःखका पहाड छातीमा राखेर । अझ यसो भनौँ, बाँच्नु अथवा बाँचिदिनु पनि उसको बाध्यता हो । जसरी न्याउली छङतुको कारागार जीवनमा आजीवन काराबासको सजाय पाएर बाध्यतापूर्ण जीवन बाँचिरहेकी छे । यहाँ न्याउलीका लागि जीवन बाँचिदिनु बाध्यता, मृत्यु कुर्नुबाहेक कुनै अर्को विकल्प छैन !
न्याउलीले आफ्नो कथा भनिरहँदा कुनै कुनै मोडहरूमा मेरा आफ्नै कथा सुने जस्तो लाग्ने । विभिन्न प्रसङ्ग जोडिँदै गर्दा घरको सम्झाना आइरह्यो । अनि भुल्दै गरेका विस्मृतिहरू फेरि ताजा बनेरहे । आमाको हातका खानेकुराको तिर्सना सधैँ लागिरहन्छ । बच्चैदेखि खाएको खानेकुराको स्वाद अहिले पनि जिब्रोले खोजिरहन्छ ।
अप्सराले न्याउलीका लागि नेपाली चिया बनाएर ल्याएकी छिन् । चियाभन्दा पनि त्यससँग जोडिएका सम्झनाले न्याउली भावुक बनेकी छे । मानिसभित्र दबिएका मनोदशा, संवेदनशीलता र भावुकता देखाउने काम भएको छ यहाँ । न्याउली भन्छे ‘अप्सराको अनुहारमा आमाको अनुहार देखेँ, देवकी र क्रिस्टिना पनि थिए त्यहाँ’ (नेपाली चिया, पृष्ठ १७४) ।
परदेश बस्ता आफन्त र गाउँलेको सम्झनाले कति रुवाउँछ भन्ने कुराको भुक्तभोगी आफैँ भएर पनि होला न्याउलीले ओकलेका ब्यथाहरू मेरा आफ्नै हुन् ।
न्याउलीको शरीर वर्षौँदेखि थुनिएको छ छङतूको जेलमा । भाषा र लवाइखवाइ पनि चिनियाँमै अभ्यस्त भइसकेको छ । समय, साल, सम्वत केहीको हेक्का छैन । वर्षौँ अगाडि छोडिएको गाउँघर, आमा, छोरा, आङी, आस्याङ र छिमेकी को कस्ता भए, को को मरी सकेँ अनि को जिउँदै छन् कुनै खबर छैन ।
बालमन्दिरमा छोडेकी छोरी कत्रि भई र कस्ती भई कुनै अत्तोपत्तो छैन । खोज खबर केही नभएकी न्याउली जेल परेको कुरा न उनका आफन्तले नै थाहा थाहा पाएका छन् । मेरी बाँची कुनै खबर छैन आफन्तहरूलाई ।
कति बिरोधाभासपूर्ण कथा न्याउलीको ! चरा वर्षमा जन्मिएकी न्याउली चराजस्तै संसार हेर्ने भाग्यमानी हुनुपर्ने, स्वतन्त्र भएर फुक्का बनेर उड्नुपर्ने तर परिस्थितिले परदेशको पिँजडामा थुनिएकी छे । कहिल्यै उम्कन नमिल्ने गरी आजीवन काराबास जीवन ! आजीवन जेलजीवन भोग्दैछे न्याउली सारा संसारबाट बेखबर र गुमनाम ।
नाम न्याउली हो भन्ने पनि भुलिसकेकी । वर्षौँपछि कोही भेट्न आउँदा, आफ्नै नाम पनि नौलो र अनौठो लाग्न थालेको छ उसलाई । गाउँघरका आफन्त, साथीभाइ र छोराछोरी सबैको अनुहार वर्षौँपछि धमिलो भइसके उसको मानसपटलमा ।
रुइबा पढिसकेपछि मानसपटलभरि धेरै दिनसम्म पनि एउटा मङ्गोलिन अनुहारले पछ्याइ रह्यो न्याउलीको अनुहार लिएर । उसले पाबाङमा बिताएका बालापन र साथीसंगातीसँगका रमाइला दिनहरू धेरैजसो आफ्नै जस्ता लागे । उसले भोग्नु परेका अनेकौँ दुःखका पहाडहरू हाम्रै वरिपरीका उकालीओराली गर्ने नियमित दुःखका गोरेटाहरूसँगै नुनिला पीडा बनेर पोखिरहे आँखाबाट । सबैभन्दा बढी त न्याउलीले सहनु परेका शारीरिक र मानसिक चोट कल्पनाभन्दा पनि बाहिरका लाग्छन् ।
मानिसले यतिबिधि कष्ट र चोट कसरी सहन सक्छ भन्ने प्रश्नले बारम्बार गाँजिरह्यो । कति कहालीलाग्दा भयानक र दर्दनाक परिस्थितिको सामना गर्नुपर्ने रहेछ मानिसले एउटै जीवन भोगाइमा ।
रुइबाले नेपाली समाजको मात्र वर्णन गरेको छैन । यसले चिनियाँ समाजलाई सूक्ष्म ढंगले नेपालीलाई बुझाउने प्रयत्न पनि गरेको छ । चिनियाँले नेपाललाई कसरी लिन्छन् भन्ने कुराको सानो चोइटो यस प्रकार छ । न्याउलीसँगै जेल जीवन बिताइरहेकी एक चिनियाँले न्याउलीलाई भन्छिन्, ‘मी ली त क्वो च्या मै हावो त रनमिन । उनको मुखबाट यस्तो कुरा सुनेपछि आश्चर्य लाग्यो । उनले भनेकी थिइन् सुन्दर देशका सुन्दर मान्छे ।’ (निर्थक प्रयास पृष्ठ २४५)
चीन नेपालको छिमेकी मुलुक हो तर धेरै नेपालीलाई चिनियाँ संस्कृति, संस्कार, चालचलन, चाडबाड आदिका बारेमा न्युन मात्र थाहा छ । लेखक चीनमा बसेर पत्रकारिता गरिरहेकाले पनि चीनको बारेमा लेख्ने अवसरलाई सदुपयोग गर्दै नयाँ शिराबाट चीनलाई चिनाउने काम गरेका छन् रुइबामा । नेपाली सामाजिक आर्थिक अवस्थाको वर्णन जस्तै चिनियाँ सामाजिक आर्थिक अवस्थाको चित्रण पनि सुन्दर ढंगमा गरिएको छ ।
वैदेशिक रोजगारीका नाममा सोझा गाउँले नेपालीमाथि भइरहेको बेचबिखन जस्तो कहालीलाग्दो छ चिनियाँ जेल बसाइ धेरै सहज रहेछ भन्ने बुझ्न सकिन्छ । तामाङ संस्कृति र चिनियाँ संस्कृति कतिपय अवस्थामा मिल्दाजुल्दा हुँदा रहेछन् । चिनियाँ समाजमा महिलाको अवस्था कस्तो छ भन्ने कुरालाई उपन्यासले विभिन्न कथा जोडेर देखाउने प्रयास गरेको छ ।
वास्तवमा लेखकले बढो सिल्पका साथ कथाहरूको पोयोलाई सिङ्गो डोरीको स्वरूप दिएका छन् रुइबामा । जसरी एउटा डोरी बनाउनलाई चोयाको विभिन्न मसिना मसिना पोया बाटिन्छ र ती पोयालाई बटार्दै बटार्दै लगेपछि एउटा सिङ्गो डोरी बन्छ । त्यसरी नै रुइबामा एउटी गुमनाम मान्छेको सिङ्गो कथालाई विभिन्न कथाहरूको माध्यमबाट एकदमै सफलता र कौशलताका साथ भन्ने गरिएको छ ।
हरेक लेखकका लेखन शैली आ–आफ्नै हुन्छन् । पाठकलाई कथामा बाँध्न सक्ने खुवी पनि फरक हुन्छ । रुइबामा लेखकले पाठकलाई लेखकले न्याउलीको कथा भनिरहँदा त्यो कथा कसैको नभएर आफ्नै कथा हो भन्ने भान पाठकलाई परिरहेको हुन्छ । पाबाङको पाखा पखेरामा स्वछन्द उड्ने न्याउली आज परदेशको बेपत्ता ठाउँमा गुमनाम जेल जीवन बिताइरहेकी छे । फैसलाअनुसार मृत्यु कुर्नुबाहेक कुनै अर्को विकल्प छैन । उसो भए न्याउलीकै भाषामा ‘म मरेपछि मेरो रुइबामाथि कसले दाबी गर्छ ? मेरो माइतीले अथवा मेरो देशले ?’ (न्याउलीको बिरह पृष्ठ २५२) प्रश्न कसलाई सोध्ने ? प्रिय देश ! प्रिय मातृभूमि ! सक्छौ आफ्नी नागरिक न्याउलीलाई जिउँदै स्वदेश फर्काइदेऊ, सक्दैनौ न्याउलीको रुइबा फिर्ता ल्याएर माइतीलाई देऊ !
मेलबर्न, अस्ट्रेलिया ।
दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ । प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...
लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...