असार १, २०८०
बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...
मंसिर १८, २०७९
मंसिर ४ मा भएको निर्वाचनको नतिजा आउँदै गर्दा मंसिर ८ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरेर चुनाव जितेकोमा बधाई दिए । त्यसपछि पुनः एमाले–माओवादी सहकार्यका सम्भावनाबारे चर्चा शुरू भएको छ ।
त्यसयता एमाले र माओवादी केन्द्रका नेताहरूका बीचमा शीर्ष तहमा संवाद भएको छैन । बरू सत्तारूढ गठबन्धनभित्र सरकार बनाउने र प्रमुख राजनीतिक पद बाँडफाँटको विषय बसहमा आएको छ ।
सत्तारूढ गठबन्धनकै स्पष्ट बहुमत पुर्याउने गरी जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसँग प्रचण्ड, माधव नेपाल र बाबुराम भट्टराईले छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । सत्तारूढ गठबन्धनले सरकार बनाउन छलफलहरू अगाडि बढाए पनि एमालेले भने त्यसतर्फ खासै तदाकरूकता देखाएको छैन ।
निर्वाचन परिणामले एमालेलाई समानुपातिक मतमा पहिलो र संसदको दोस्रो शक्तिकोरूपमा स्थापित गर्ने देखिएको छ । निर्वाचनको परिणाम र समीक्षा, सरकार गठन तथा चर्चामा रहेको वामपन्थी समीकरणको सम्भावनाका बारेमा नेकपा एमालेका उपमहासचिव विष्णुरिमालसँग लोकान्तरका लागि उद्धव थापाले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :
निर्वाचनको नतिजालाई कसरी विश्लेषण गर्नुभएको छ ?
– हामीले यो चुनावमा ६ प्रतिशत मत वृद्धिको लक्ष्य राखेका थियौं । एमालेको लोकप्रिय मत ३४ प्रतिशत थियो । त्यसमा ६ प्रतिशत मत बढेको थियो भने हाम्रो बहुमत आउन सक्थ्यो । तर, लोकप्रिय मत ६ प्रतिशत बढ्न सकेन त्यसकारण सोचअनुसारको सीट आउन सकेन । अर्को, चौतर्फी घेराबन्दीका बीचमा चुनावमा गएका हौं । यस्तो अवस्थामा जे नतिजा आयो त्यो सानो उपलब्धि हो जस्तो लाग्दैन ।
देशभरका सबैजसो निर्वाचन क्षेत्रमा लोकप्रिय मत पाएका छौं । प्रदेशगत रूपमा हेर्ने हो भने पनि प्रदेश १ मा लोकप्रिय मतमा अगाडि छौं । समग्र देशभरको लोकप्रिय मत हेर्दा एमाले पहिलो पार्टी भइरहेको छ । प्रत्यक्षतर्फको नतिजामा मधेश समेत एमाले पहिलो शक्ति बनेको छ । घेराबन्दी र एकोहोरो लखेटाइको बीचमा एमालेको प्रगति नराम्रो होइन । तर, हाम्रो अपेक्षा यतिमा सीमित थिएन ।
तपाईंहरूले चुनावअघि ‘मिसन– १५०’ भन्नुभएको थियो, प्रत्यक्षतर्फ ४५ सीटमा सीमित हुनुपर्यो । समानुपातिकमा पनि स्थानीय तहको भन्दा कम मत आयो । तपाईंहरूको हिसाब–किताब कहाँ बिग्रियो ?
– सबैको हिसाब बिग्रियो नि । शहरी क्षेत्रको मत विभाजित भएको छ । परम्परागत शक्तिहरू एमाले, कांग्रेस र माओवादीको मात्रै हिसाब गर्ने हो भने नतिजा फरक आउन सक्थ्यो । शहरी मतदाताको मत दुईतिर बाँडिएको देखिन्छ । विकासको एउटा मानक कायम भएपछि युवाहरू र शहरी मतदाताको मत बाँडिदोरहेछ भन्ने लागिरहेको छ । एकातिर उत्तरआधुनिक भएर परम्परातिर लाग्ने रहेछन् । त्यो परम्परागत र रुढीवादी भोटलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आकर्षित गरेको छ । त्यसको केही भोट कांग्रेसमा गएको हुनसक्छ ।
अर्कोतिर फ्रस्टेटेड मत अर्थात् परिवर्तनका आकांक्षी र विद्यमान अवस्थाप्रति विद्रोह गर्ने चेत भएका मानिसहरूको मत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)तिर गएको देखिन्छ । दुईवटा पार्टीले हाम्रो मत काटेका छन् ।
एमालेकै कुरा गर्दा हामीले ६ प्रतिशत वृद्धिको लक्ष्य राखेका थियौं, उल्टै ६ प्रतिशतले आरोलो लाग्ने अवस्था बन्यो । ६ प्रतिशत उकालो लागेको भए मिसन– १५० प्राप्त गर्ने अवस्था बन्थ्यो । ६ प्रतिशत ओरालो लागेका कारण पहिलो पार्टी बन्नका लागि संघर्षरत हुन पुग्यौं ।
रास्वपाले फ्रस्टेटेड मत पायो भनेर मात्रै पुग्छ कि ठूला र स्थापित दलहरूको भविष्यमाथि घण्टी बज्यो भन्ने अर्थमा पनि विश्लेषण गर्नुपर्ला ?
– त्यस्तो निष्कर्ष निकाल्नु अलि चाँडो हुन्छ । त्यस्तो थियो भने लोकप्रिय मत उनीहरूले किन कम पाए त ? त्यस्तो हो भने एमालेकै लोकप्रिय मत पहिलो नम्बरमा नहुनुपर्ने हो नि त । प्रदेशमा त राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी दिएन त्यसैले मत आएन भन्न सकिएला तर, एमालेले १४१ ठाउँमा मात्रै उम्मेदवारी दिँदा पनि देशभरको लोकप्रिय मतमा त एमाले नै अगाडि रह्यो नि । १४० कै हाराहारीमा त राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उम्मेदवारी दिएको थियो । किन उनीहरूको मत त्यति धेरै आएन त ? किन एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो भयो ? यसको अर्थ, स्थापित पुराना पार्टीहरूप्रति गुनासो चाहिँ छ, तर त्यसको विकल्प अरू बन्छ भन्ने मानिसलाई विश्वास पनि छैन । २०७४ सालको चुनावमा पनि यस्तो प्रयोग त भएको थियो नि ।
मेरो विश्लेषणमा, पुरानो गठबन्धनलाई जनताले ठ्याक्कै पुग्ने गरी बहुमत दिएनन् । शंका व्यक्त गरे । पत्याइने पार्टी एमाले र कांग्रेस नै रहेछन् । यी दुईबाहेक अन्य पार्टी खोजौं भन्नेले राष्ट्रिय स्वतन्त्र पार्टी रोजे । परम्परागत शक्तिको रूपमा राप्रपा पनि आयो । क्षय चाहिँ माओवादी र माधव नेपालजीको पार्टीमा भयो । माधव नेपालजीको पार्टीले राष्ट्रिय पार्टीको दर्जा पाउन मुश्किल देखिँदैछ । माओवादीले पहिले पाएको कुल सीटको आधा मात्रै अहिले प्राप्त गरेको छ । पूर्वी तराईमा सीके राउतको पार्टी रूचाइएको देखिन्छ । पश्चिम तराईमा नागरिक उन्मुक्ति पार्टी रुचाइएको छ ।
अघिल्ला चुनावको तुलनामा अन्य पार्टी मात्रै होइन, एमाले पनि त खिइएको देखियो नि होइन ?
– हामीले विश्लेषण गर्दा आग्रहपूर्ण रूपमा गर्नु हुँदैन । अरू पार्टीको विश्लेषण गर्दा एमाले पनि खिइयो नि भनेर जोड्नुपर्ने आवश्यकता के छ र ? एमाले त जे छ त्यही छ नि । जनमतको हिसाबले एमाले नम्बर १ को पार्टी छ त । एमाले पनि खिइयो भन्ने ट्याग जोड्दा प्रश्नकर्तामा आग्रह देखिन्छ । आग्रहपूर्ण कुरा मिसाइहाल्न जरूरी छैन ।
जनमतमा एमालेलाई पहिलो पार्टी मानिएको छ । प्रत्यक्षमा कांग्रेससँग झण्डै १० सीट जति फरक पर्ने देखिँदै छ । पुराना पार्टीमध्ये यही २ वटा पार्टीलाई पत्याइएको देखिन्छ । परम्परागत शक्तिको रूपमा राप्रपा आएको छ । पूर्वी तराईमा जनमत पार्टी र पश्चिम तराईमा नागरिक उन्मुक्ति पार्टीलाई पत्याएका छन् । ओरालोमा त माओवादी र एकीकृत समाजवादी नै छन् नि । म एमाले भएर मेरो आँखाबाट विश्लेषण गर्दा यही देख्छु ।
नेता र दलहरूलाई सुध्रिनका लागि मतदाताले चेतावनी दिएको चाहिँ मान्नुहुन्छ ?
– सुध्रिन त पर्यो नै । तर, कसैले चेतावनी दिएको चाहिँ म भन्दिनँ । नेताहरूको गुण, दोष थाहा पाउँदापाउँदै तपाईंले मन नपराएका नेताहरू पनि जित्नुभएको छ नि । युवा उम्मेदवार दिएका ठाउँमा युवाले जितेका छैनन् । काठमाडौं उपत्यकामै धेरै युवाले हारेका छन्, बुढाले जितेका छन् । नयाँले पाउनुपर्ने भनेको ठाउँमा पुरानाले जित्नुभएको छ । मकवानपुर, नुवाकोट हेर्नुभयो भने पाका उमेरका मान्छेले जितेका छन् । सामान्यता शहरी क्षेत्रको मत २ भागमा बाँडिएको देख्छु मैले चाहिँ ।
निर्वाचनबाट संसदको जस्तो बनोट आउने देखिँदैछ त्यसले राजनीतिक स्थायित्व, विकास र समृद्धिका योजनालाई प्रभावित त प्रभावित पार्छ नै, अझ दलको ध्यान सरकार बनाउने र ढलाउनेतिर जाँदा सबैभन्दा असर चाहिँ संसदमा देखिने भयो हैन ?
– सही कुरा हो । त्यसकारण हामीले हाम्रो पार्टीको तर्फबाट दुईवटा लाइन हुनुपर्यो भन्ने गरेका छौं । सेन्टर टु लेफ्ट एउटा राष्ट्रिय शक्ति बनोस्, सेन्टुर टु राईट अर्को राष्ट्रिय शक्ति बनोस् भनेको हो । शक्तिका हिसाबमा जनतालाई दुईवटा रोजाइ दिन राम्रो हुन्छ भन्ने हाम्रो तर्क हो । त्यसमा दलहरू एकभन्दा बढी हुन सक्छन् । अहिलेको सत्ता गठबन्धन पनि एउटा शक्ति हो भने त्यसले स्पष्ट राजनीतिक ओरिएन्टेसन लिनुपर्छ, खिचडी ओरिएन्टेसन होइन । हामीलाई (एमाले) अर्को शक्ति मान्ने हो भने त्यही अनुसारको ओरिएन्टेसन हुनुपर्छ ।
पहिले ४ वटा राष्ट्रिय पार्टी थिए भने अब ७ वटा पुग्ने भए । यसले स्थायित्वमा प्रश्न खडा गरेको छ ।
निर्वाचनको परिणामले एमालेलाई संसदको दोस्रो शक्तिकोरूपमा स्थापित गर्ने देखिन्छ । सत्तारूढ गठबन्धनले सरकार गठनका लागि छलफल अगाडि बढाइरहेको छ । एमालेले चाहिँ तदारूकता देखाएको छैन । तपाईंहरूको खास ध्यानचाहिँ कता हो ?
– सरकार र राज्यसत्ता फरक पाटो हुन् । राज्य कसरी चलाउने, सत्ता कसरी चलाउने भन्ने विषयमा दुईवटा ठूला दलहरू नेपाली कांग्रेस र एमालेका बीचमा समझदारी हुन आवश्यक छ । कांग्रेसले यसरी सोच्छ कि सोच्दैन उसको कुरा हो । दुईवटा मूल शक्तिले खेलको नियम यसरी बनाएर जाऔं है भनेर सल्लाह गर्नुपर्ने हो । राज्यसत्ता सञ्चालनका विभिन्न अवयवहरू हुन्छन्, तिनिहरूलाई कसरी चलाउँदा निष्पक्ष शासन दिन सकिन्छ भनेर छलफल गर्न सकिन्छ ।
सरकार बनाउने सवालमा, गठबन्धनमा रहेका साथीहरू एमालेविरूद्ध चुनाव लड्नुभएको हो । अहिले गठबन्धनलाई साँच्चिकै बहुमत अलि पुगिसकेको छैन । त्यसकारण, गठबन्धनभन्दा बाहिरको दलहरू पनि खोज्दै हुनुहुन्छ । गठबन्धनको बहुमत पुग्यो र अरूलाई पनि लिएर सरकार बनाउनुभयो भने त्यो उहाँहरूको कुरा भयो । त्यसमा हामीले हात हाल्ने कुरा भएन । निर्वाचनको सम्पूर्ण रिजल्ट नआउँदासम्म हतारिनुपर्ने आवश्यकता पनि ठान्दैनौं ।
हामी प्रमुख प्रतिपक्षी बन्नेमा कुनै शंका नै छैन । सरकार र प्रतिपक्षको सन्दर्भमा गठबन्धनमा रहेका साथीहरू एकजुट हुनसक्नुहुन्छ कि सक्नुहुन्न भनेर हेर्ने नै हो । यसमा पर्ख र हेरकै अवस्थामा हो । तर, राज्यसत्ता सञ्चालनको विषयमा हामीले एमाले र कांग्रेसका बीचमा समझदारी बनाऔं भनिरहेका छौं ।
सत्ता सञ्चालनको विधि बनाउन सरकारमा हुन आवश्यक छ, सरकार र राजनीतिक प्रणालीलाई स्थायित्व दिऔं भनेर कांग्रेस र एमालेको सकार बन्ने सम्भावना छ त ?
– यसमा हामीले बोल्न आवश्यक नै छैन । नेपाली कांग्रेस, माओवादी र माधव नेपालजीका पार्टीहरू अहिलेको गठबन्धन नै टिक्न सक्छ, यसले नै सरकार चलाउँछ भनिरहेका छन् । जबसम्म उहाँहरू त्यहाँ रहनुहुन्छ, उहाँहरूले संख्या पुर्याउनुहुन्छ होला । त्यस बेलासम्म हात हाल्न आवश्यक हामीले देखेका छैनौं ।
सरकार त जसरी चलाए पनि भयो तर सरकारले दिने डेलिभरीमा चाहिँ विपक्षमा बस्ने र सत्तामा बस्ने दुई मुख्य दलका बीचमा सझदारी हुन आवश्यक छ भन्ने तर्क हाम्रो हो । तर, विना समझदारी पनि चल्छ भन्ने साथीहरूलाई लाग्छ भने अनि त्यसपछि एमालेको प्रतिक्रिया शुरू हुन्छ । अहिले त साथीहरू जेलदेखि घरसम्म दौडिइरहनुभएको छ । दौडिन दिऔं, सरकार बन्छ भने राम्रै छ नि त ।
संसदमा रहेका वामपन्थी शक्तिहरू एकजुट हुने सम्भावना कत्तिको देख्नुभएको छ ?
– वामपन्थता भन्ने एजेन्डाको आधारमा अहिले बहस भइरहेको छैन । प्रचण्ड र माधव नेपालको पार्टी वामपन्थ भनेर बस्नुभएको छैन । उहाँहरू त नेपाली कांग्रेसको नेतृत्वमा एउटा यस्तो गठबन्धन बनाऊँ जसले एमालेलाई साइजमा ल्याउँछ, ओरालो लगाउँछ, एमालेको अध्यक्षलाई सिध्याउन मद्दत गर्छ भन्ने मिसनमा हुनुहुन्छ ।
त्यो मिसन पूरा नहुँदासम्म हामीले फ्रेन्डसीपको हात बढाऊँ भन्दा पनि त्यसले काम गर्दैन । हाम्रो आग्रह, अपेक्षा र वास्तविकताको बीचमा मेल खाइरहेको छैन । साथीहरू, कम्युनिस्ट मान्यतामा रहनुभएको छैन । त्यसप्रति उहाँहरूको तीव्र आक्रोश छ ।
निर्वाचनमा जानु भनेको जनताको अदालतमा जानु पनि हो । जनताले तपाईंहरूको शक्ति परिभाषित गरिदिएका छन् । अब आ–आफ्नो हैसियत स्वीकार गरेर राजनीतिक स्थायित्व दिने शर्तमा वामपन्थीहरू मिल्न के कुराले रोक्यो ?
– यो प्रश्न हामीलाई होइन, गठबन्धनमा रहेका अन्य दलहरूलाई सोध्नुपर्ने हुन्छ । जसले गठबन्धन बनाएर दौडिइरहनुभएको छ, घर–घर जेल–जेल कुदिरहनुभएको छ, उहाँहरूलाई सोध्नुपर्छ । एमालेले गठबन्धन फुटाउन किन पहल गर्दैन भन्ने प्रश्न हो र ? होइन भने उहाँहरू त गठबन्धनमा हुनुहुन्छ । गठबन्धन पनि कसम खाएर गर्नुभएको छ । उहाँहरूले नै निर्णय नगरेसम्म यसमा छलफल गर्नु भनेको हाइपोथेटिकल कुरा मात्रै हुन्छ ।
सरकार बनाउनका लागि एमालेले निमन्त्रणा नै दिएन भन्ने पनि त होला नि ?
– हामीले प्रचण्ड र माधव नेपाललाई गठबन्धन छाडेर आउनुहोस् भनेर दौडिएको भए तपाईंहरूले हामीलाई गठबन्धन भत्काउन किन दौडिएको भनेर प्रश्न गर्नुहुन्थ्यो । गठबन्धन फुटाएर अस्थिरतातिर जाने विकल्प किन रोज्नुभएको भन्नुहुन्थ्यो । हामी के हेरिरहेका छौं भने एउटा कोर्ष त पूरा हुनपर्यो नि । हाम्रो मिसन– १५० भनेजस्तै उहाँहरूको पनि त मिसन थियो नि ।
हुँदाखादाको पार्टी फुटाएर, एमालेलाई सत्ताच्यूत गरेर, निन्दा भर्त्सना गरेर चुनाव जानुभएको हो । उहाँहरूको मिसन पूरा भयो कि भएन त ? त्यसले एउटा किनारा पक्रिनु परेन त ? उहाँहरूको मिसन पूरा भएको छ कि छैन हामीलाई थाहा छैन । मिसनमै हुनुहुन्छ भने त जतिसुकै रोइकराई गरे पनि केही हुँदैन ।
हिजो जे भयो भयो, अब फ्रेस स्टार्ट गरौं भन्ने हो भने सबै पोका पन्तुरा फुक्न पनि सक्छन् । कांग्रेस–एमाले, एमाले–माओवादी, एमाले र माधव नेपालजीको पार्टीको बीचमा कस्तो सम्बन्ध रहने भन्ने बारेमा छलफल हुन सक्ने भयो । जबसम्म उहाँहरू एउटै मिसनमा बाँधिएर दौडिरहनुहुन्छ, त्यतिबेलासम्म हामीले भन्ने भनेको त बेकारको परिकल्पना जस्तो भएन र ?
त्यसो भए तपाईंहरू पर्ख र हेरमै हुनुहुन्छ ?
– पर्खिने नै हो नि त । त्यो भन्दा अर्को उपाय के रहन्छ र ? जनताले संसदमा दोस्रो हुने मत दिनुभएको छ ।
गठबन्धनको नेता नेपाली कांग्रेस छ र उसलाई यो गठबन्धनले अप्ठ्याराहरू पार लगाउँछ भन्ने जहिलेसम्म लाग्छ, अनि सहयात्री दलहरूले जहिलेसम्म कम्फर्टेबल फील गरिरहन्छन्, तबसम्म एमालेले जति प्रयत्न गरे पनि आउने परिणाम एउटै त हो ।
भिडियाेमा हेर्नुहाेस् विष्णु रिमालसँगकाे अन्तर्वार्ता-
बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...
बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...
संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...
लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...
वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...