काठमाडौं, १३ भदौ– फरक विषयवस्तु उठान गरेर कमैले मात्र चलचित्र निर्माण गर्ने आँट गर्छन् नेपालमा । चलचित्रको बजार अझै स्थूल भइ नसकेको अवस्थामा फरक धारको सिनेमा निर्माण गर्नु ठूलै जोखिम नै बनेको छ अहिले । कमै फिल्मकर्मीले यस्ता फिल्म बनाउने आँट देखाउँछन् । ती आँटमा कुनै सिनेमा सफल पनि हुन्छन् । कुनै चलचित्रले चाहेजस्तो चमत्कार देखाउन सक्दैनन् । उदाहरण हो, लाश चिर्ने मान्छेको कथा अर्थात ‘चलचित्र भुइँमान्छे’ को कथा ।
लामो समयदेखि ‘शैली थिएटर’ मार्फत रंगमञ्चीय दुनियाँमा रमाएका नवराज बुढाथोकीलाई थिएटरमा मात्र होइन, फिल्ममा पनि रमाउने रहर थियो । तर, उनलाई धारावाहिक रुपमा बन्ने नेपाली चलचित्रभन्दा फरक विषयवस्तुमा फिल्म बनाउनुपर्छ भन्ने सोच पनि थियो ।
त्यही सोचको जन्म बन्न पुग्यो चलचित्र ‘भुइँमान्छे’ को कथा ।
अस्पतालमा हुने वेथिति र महंगो शुल्क तिरेर भएका नक्कली डाक्टरले गर्ने व्यवहारमाथि आधारित कथा खोजे । लाश चिर्ने मान्छेको कथालाई फिल्मको विषय बनाए । आफैले पटकथा र संवाद पनि तयार पारे ।
उक्त फिल्म भने कमै दर्शकको मात्र रोजाइमा प–यो । भलै फिल्म हेरेका दर्शकले भने राम्रो प्रतिक्रिया दिएको बताउँछन् बुढाथोकी । ‘फिल्म राम्रो बनाउने प्रयास गरेको हुँ तर आफैले मूल्यांकन गर्दा पनि चाहेजति राम्रो बनाउन सकिन भन्ने लाग्छ,’ बुढाथोकी भन्छन्, ‘पात्रको भूमिका बुझाउन हामीले स–साना कुरामा पनि ख्याल गरेका थियौं ।’
आफूले सबै वर्गका लागि केन्द्रमा राखी फिल्म बनाए पनि अहिले भने चलचित्र एकथरी वर्गले मात्र मन पराएको उनको बुझाइ छ । ‘हेर्ने दर्शकले फरक विषयमा चलचित्र बनाएको बताउनुहुन्छ तर अहिले यस्तै विषयवस्तुमा रुचि हुनेले फिल्म हेरेको हामीले पायौं,’ उनी थप्छन् ।
केही समयअघि मात्रै भटाभट नक्कली डाक्टर पक्राउ परे । तिनै डाक्टरको नियतिलाई पनि उनले फिल्ममा फरक ढंगले प्रस्तुत गर्न खोजेका छन् । हस्पिटलमा हुने त्यस्ता वेथितिलाई उनले फिल्मको माध्यमबाट प्रस्तुत गर्न खोजेको बताउँछन् ।
शूटिङ गर्दाको दुःख सम्झँदा र अहिले पाइरहेका सकारात्मक प्रतिक्रिया पाउँदा उनलाई केही राहत मिल्छ । त्यतिबेला शूटिङ गर्न उस्तै गाह्रो थियो । धेरैजसो अस्पतालमै छायांकन गर्नुपर्ने । अस्पताल भने जतिबेला पनि व्यस्त हुने । ‘शूटिङ पनि हामीले गुरिल्ला शैलीमा गरेका थियौं, हस्पिटलमा कतिलाई त हामीले शूटिङ गरिरहेका छौं भन्ने पनि थाहा हुँदैनथ्यो ।’ उनी छायांकनको समय सुनाउँछन्, ‘बिरामीलाई असर नपर्ने गरी हामीले लुकीलुकी छायांकन सक्नुपर्ने अवस्था थियो ।’
हस्पिटलमा छायांकन गर्ने व्यवस्था ललितपुर, हरिसिद्धिको नेशनल क्यान्सर अस्पतालले मिलाइदिएको थियो । लुक्दै र समय मिलाउँदै अस्पताल परिसरको छायांकन सकेको थियो फिल्म युनिटले ।
अस्पतालका धेरै दृश्यलाई क्यामरामा कैद गर्न सम्भव भएपनि पोष्र्टमार्टमको दृश्य हस्पिटल परिसरमै खिच्न निर्देशकले सम्भव देखेनन् । किनकि जतिबेला पनि काम भइरहेको हुन्थ्यो अस्पतालमा । त्यसैले टिमले पोष्र्टमार्टमको दृश्यका लागि सेट (नक्कली पोष्र्टमार्टम गर्ने स्थल) तयार पार्यो ।
शूटिङको दौरानमा केही रमाइलो र केही जोखिम मोल्नुपर्ने स्थिति आएको बुढाथोकी बताउँछन् । ‘फिल्म छायांकनको क्रममा दुर्घटना नै भए नि,’ उनी सुनाउँछन् ।
एक दृश्यमा अभिनेत्री तथा भलिवल खेलाडी सिपोरा गुरुङले फूलले हान्नुपर्ने थियो रमेश बुढाथोकीलाई । फूलमा काँडा पनि छन् भन्ने कसैले याद गरेका रहेनछन् । फूलले अनुहारमा हान्दा काँडाले रमेशको आँखामा लागेछ । आँखाबाट रगत नै आउन थालेपछि उनलाई रातारात हस्पिटल पुर्याउनु पर्यो । ‘एक हप्ता त हामीले शूटिङ नै रोकेर उहाँको उपचार गर्नुपर्ने अवस्था आयो,’ निर्देशक सुनाउँछन् ।
मान्छेको लाश चिर्ने कथामा किन सिपोरा गुरुङ त ? भन्ने लोकान्तरको प्रश्नमा निर्देशक नवराज भन्छन्, ‘हामीलाई खेलाडीजस्ती लाग्ने नायिका चाहिएको थियो, साथीहरुले उनको नाम सिफारिस गर्दा फिल्ममा सुहाउँछ जस्तो लाग्यो । उनले गुरुङ चलचित्रमा पहिल्यै अभिनय गरिसकेकाले पनि हामीलाई काम गर्न पनि सहज भयो ।’
र, भुइँमान्छे उर्फ रमेश बुढाथोकीचलचित्रमा ‘भुइँमान्छे’ को भूमिका निभाउने पक्कापक्की भएपछि कलाकार तथा निर्देशक रमेश बुढाथोकीलाई एक किसिमको बेचैनी भयो । आफूले आजसम्म नगरिएको फरक भूमिकामा अभिनय गर्न पाउँदा रमेश प्रफुल्ल पनि थिए । साथसाथै उनलाई लाश चिर्ने मान्छेको मनोविज्ञान फिल्ममार्फत प्रस्तुत गर्नुपर्ने थियो । उनले बुझेका थिए, ‘मेहनत राम्रोसँग गर्न सकिएन भने भूमिका राम्रो बन्दैन ।’
लाश चिर्ने मान्छेको पात्रलाई उतार्नकै लागि रमेश पोखराको गण्डकी अस्पताल पुगे । त्यहाँ गएर १५ वर्षदेखि लाश चिर्ने काम गरिरहेका व्यक्ति (हामीले ती व्यक्तिको नाम सोधनौं) लाई भेटे । यही काम गर्दै आएको पात्रको मनोविज्ञान र उसले सोच्ने कुरा कस्तो हुन्छ भन्ने कुरालाई उनले नजिकबाट नियाले । लाश चिर्न प्रयोग गरिने प्राविधिक ज्ञान पनि बटुले उनले । ‘पहिले त उहाँले हामीलाई केही बताउनै खोज्नुभएको थिएन, पछि बिस्तारै सबै भन्नुभयो,’ रमेश सुनाउँछन्, ‘उहाँको व्यवहारिक जिन्दगीका बारेमा समेत थाहा भएपछि भने अभिनय गर्न अझै सहज भयो ।’
शुरुमा त रमेशलाई मुर्दाघरमा मान्छेको लाश चिरेको प्रत्यक्ष देख्दा डर पनि लागेछ । ‘पहिलो दिन बान्ता भयो,’ उनी भन्छन्, ‘मुर्दाघरमा बेबारिसे लाशलाई चिरेको देख्दा शुरुमा सबैलाई त्यस्तै हुन्छ होला ।’
शुरुमा गाह्रो भएपनि पछि भने उनलाई बानी प–यो । फिल्मकै छायांकन अघि मुर्दासँग डर लाग्ने गरेपनि अहिले भने डर लाग्न छोडेको रमेश बताउँछन् ।
शूटिङको छायांकन पनि उनका लागि स्मरणीय बन्यो । दुईपटक त उनी दुर्घटनामा नै परे । ‘एकपटक सिसा फुटाउने दृश्यमा सिसाले काटेर मेरो ढाडमा घाउ बनाइदिएको थियो, अभिनय गर्दा म अभिनयमै डुबेछु,’ उनी सुनाउँछन्, ‘पछि डबिङमा हेर्दा ऐनामा अझ ठूलो टुक्रा झुण्डेको रहेछ, यदि त्यतिबेला खसेको भए मेरो टाउकोमा ठूलै चोट लाग्ने रहेछ ।’
त्यही दृश्य फिल्ममा पनि छ ।
‘जेजस्तो भएपनि पैंतीस दिने छायांकन रमाइलो थियो, फरक भूमिका गर्दा झनै खुशी लागेको छ,’ रमेश भन्छन् । अहिले भने उनी चलचित्र निर्देशनका लागि विषयवस्तुको अध्ययनमा व्यस्त छन् । अर्कातिर ‘भुइँमान्छे’ को प्रतिक्रिया र प्रदर्शन अझै बाँकी छ ।
Advertisment
Advertisment