बैशाख ४, २०८१
गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...
मृत्यु शय्यामा छट्पटाउँदै गर्दा एउटा किताब उपहार दिँदै झिनो स्वरमा आशीर्वाद दिएकी थिइन् साहित्यकार दुर्गादेवी नेपालले । उनले दिएको किताब थियो आफैँले लेखेको ‘बगेको खोला’ र आशीर्वाद थियो शुभाशीर्वाद तथा कल्याण होस् । लगत्तैजसो खबर आयो– उनले संसारबाट विदा लिइन् । सुन्दै कस्तो–कस्तो लाग्यो । तर, लागेर के गर्ने दैवी नियम नै त्यस्तै भएपछि ।
विसं २०७१ सालमा ‘उनैको माया’ काव्यकृति प्रकाशित गराएकी दुर्गादेवीको ‘बगेको खोला’ दोस्रो कृति हो नइ प्रकाशनले प्रकाशित गरेको । इन्दिरा प्रसाइँद्वारा सम्पादित यस कृतिमा ५९ वटा शीर्षकका प्रकरणहरू छन् लामाछोटा गरी । कुल ३३४ पृष्ठको कृतिमा लेखिकाको आफ्नै भोगाइ र चित्रण छ तत्कालीन समाजको । १९९५ साल असोज १६ गते रुँदै धर्ती टेकेकी उनी यही २०८० साल असार १२ गते रुवाउँदै गइन् । थाहा छैन कहाँ गइन् । सायद गइन् होला ८५ वर्षसम्म समाजबाट जे लिइन् वा समाजले जे दियो ती सब समाजलाई नै फिर्ता गरी ‘त्वदीयं वस्तु गोविन्द ! तुभ्यमेव समर्पये’ भन्दै आफ्नै पतिसमक्ष, जसलाई गुमाएकी थिइन् २०४६ सालको जेठमै उनले ।
किताबको विषयवस्तु सामान्य छन्, सरल छन् । सरल विषयवस्तुलाई सरल तरिकाले प्रस्तुत भएका छन् तर तिनका सन्देश भने गहन छन् निकै । कुनै प्रकरण त यस्ता छन्, जसले दर्शनको समेत रसास्वादन गराउन सक्छन् पाठकलाई । विषय त त्यहाँ पनि सामान्य नै छन् तर सन्देश भने कम छैनन् कुनै दार्शनिक चिन्तनका उपजभन्दा । किताबमा तत्कालीन समाजको बनोट छ, चित्रण छ । अनि तत्कालीन नारीजातिको अवस्था प्रतिबिम्बित भएको छ साङ्गोपाङ्गो । समाजको एउटा कुनामा उभिएर उनले तमाम समकालीन नारीजातिको भोगाइ प्रस्तुत गरेकी छन् यहाँ ।
यद्यपि, तत्कालीन समाजको तहमा उभिएर हेर्दा वा हेर्नेलाई खासै केही नलाग्न सक्छ तर आजको पुस्ताको आँखाले हेर्दा निकै अनौठा लाग्दा कुरा छन् यहाँ । कतिले त जिब्रो काढ्न पनि सक्छन् हाम्रै समाज पनि त्यस्तो थियो र भनेर ।
हेरौँ केही उदाहरण–
‘म १० वर्षकी पुगेकी थिएँ, मेरा जेठा दाजुले नै बिहेको टुङ्गो गर्नुभएछ । ......त्यस बेलासम्म मलाई पनि मेरो बिहा हुने अरे भन्ने थाहा भएको थियो । केटासँग बिहा हुने भन्छन्, को केटा होला ? कस्तो केटा होला ? भन्ने पनि मनमा आउँथ्यो ।’ यहाँ उनको बिहे १० वर्षमा भएको उल्लेख छ तर उनकै एउटी सासुको बिहेको कुरा त त्योभन्दा पनि अनौठो छ । यसबारे उनले भनेकी छिन्– ‘६ वर्षका मेरा ससुरा र सात वर्षकी पवित्रादेवीको बिहे भएको थियो रे । मेरी बूढी सासूले आफू बीचमा सुतेर छोरा–बुहारीलाई आफ्नो दायाँबायाँ सुताउनुहुन्थ्यो रे ।’
त्यस्तै, अर्को एक ठाउँमा उनी बोलेकी छिन्– ‘मैले बल्लबल्ल भाँडा माझी सकेर चुलो पोतेपछि धन्दा सकिएको थियो । त्यसपछि बुहारीको खास धर्मको काम सासूका गोडामा तेल लगाउनुपर्ने थियो । सासूले ‘भो’ नभनुन्जेल तेल लगाउनुपर्दो रहेछ । त्यसपछि ६ जना नन्द–देवर र कान्छी सासूको खुट्टामा पनि तेल घस्न लगाए ।.....ससुरा घरमा भएका बेला कहिलेकाहिँ दुईपट्टी दुईटी सासूलाई सुताएर बीचमा ससुरा सुतेको हुनुहुन्थ्यो । बुहारीले ससुराका गोडा छुनु हुँदैनथ्यो तर सासूहरूका गोडाका बीचमा भएका ससुराका गोडा टुकीको उज्यालोमा ठम्याउन मलाई बडो कठिन हुन्थ्यो ।’
त्यसैगरी, अर्को एक प्रसङ्गमा आफ्ना ससुराबारे भनेकी छिन्– ‘कट्टेल, आचार्य, दाहाल, सुवेदी गरी आधा दर्जनभन्दा बढी थरका उहाँका ससुराली थिए । आफूलाई मन परेकी कन्यासँग बिहा गर्न उहाँ साम, दाम, दण्ड, भेद नीति अप्नाउनुहुन्थ्यो । लगभग सातवटीभन्दा बढी पत्नी र उपपत्नीसँग लगनगाँठो कस्नुभएका उहाँको स्वास्थ्य गतिलो थियो ।’
यस्तै, अर्को एक प्रसङ्गमा उनले लेखेकी छिन्– ‘रात निकै बितेपछि मात्र सुत्न पाइने र आधारातमै उठ्नुपर्दा दिनैभरि मौका परे पनि एकैछिन झपक्क सुत्न पाए पनि हुन्थ्यो जस्तो लाग्थ्यो । एकपटक त काइँली र अन्तरी देउरानीसँग ढिकी कुटिराखेको बेला पिसाब फेरेर आउँछुु भनेर गएँ । अनि परालको कुन्यूमा गएर सुतेँ । ‘माइली खोइ त ?’ अचानक कान्छ्यामाको आवाज कानमा परेपछि झसङ्ग भएर बिउँझेकी थिएँ ।’
यसैगरी, अर्को प्रसङ्गमा उनी भन्छिन्– ‘राति उहाँ आउनुभयो र चिन्ता बस्नुभयो । त्यसपछि जोखाना हेरेर भन्नुभयो– ‘बुहारी ! तेरो भाग्य छ भने मात्रै यो नानी बाँच्छे, नत्र बाँच्दिनँ । यसलाई बचाउन मुस्किल छ । कुटनपिँधनमा चित्त नबुझेकी आइमाइले लाटी बुढेनी देउता उठाएर लगाइदिएकी रहेछ । लगाउन त अर्कैलाई लगाइएको हो तर हलुङ्गो छायाँ भएकाले नानीलाई लागेको रहेछ ।’
त्यस्तै, तत्कालीन समाजमा घरायसी व्यवहारमा हुने असमानतालाई उनले यसरी व्यक्त गरेकी छिन्– ‘म नानीलाई डोर्याउँदै खोल्सामा पुगेर पानी लिएर आउँथेँ, भात पकाउँथेँ । त्यसैबेला देवर घरमा आइपुगे भनेचाहिँ मैले ल्याएको सबै पानी गोरुलाई खान दिन्थे । अनि मैले फेरि खोल्सामा गएर पानी ल्याउनुपर्ने हुन्थ्यो तर यदि उनकी पत्नीले भात पकाउँदै छिन् भनेचाहिँ उनी बस्तुलाई खोलामै लगेर पानी खुवाएर ल्याउँथे ।’
त्यसैगरी, अर्को एक प्रसङ्गमा जागिरे जीवनका बेथालाई यसरी सम्बोधन गरेकी छिन्– ‘मलाई सुत्केरी बेथै लागेको हो । मैले टुङ्गो पनि गरेँ । त्यसपछि केही लुगा धुनुपर्ने थियो त्यो पनि धोएँ । चामल, दाल, ज्वानो, मेथीहरू केलाएर सबै बट्टबट्टामा राखिदिएँ । अब म सुत्केरी भएपछि बिचरा मेरा दुलहाले कसरी मलाई भात पकाएर खुवाउने होला ? एकैछिन फुर्सद नभएको मानिसले कसरी घरको काम गर्ने होला ? मलाई मेरा दुलहाको विषयमा धुमधाम पीर पर्यो । सघाउने पनि कोही छैन ।’
त्यस्तै, अर्को एक प्रसङ्गमा तत्कालीन समाजका देउरानी र जेठानीका बीच हुने व्यवहारबारे पनि उनी बोलेकी छिन्– ‘हामीले केही पनि खाएका थिएनौँ । भोक र थकाइले भुतुक्क भएकी थिएँ तर कसलाई भन्नु र ? देउरानी पनि राम्रोसँग बोलिनन्, उनी ठस्सै परेर बसिरहिन् ।’ यस प्रसङ्गलाई अघि बढाउँदै उनले अर्को एक ठाउँमा भनेकी छिन्– ‘मेरी छोरी कल्पना उनको (देउरानीको) छोरो नवीनभन्दा सानी थिई तर कल्पना रोई र मेरो हात खाली छैन भने पनि उनी त्यो छोरी फुल्याउन अघि सर्दिनथिन् । आफ्नै छोरो सुमसुम्याएर बसिरहन्थिन् । कल्पनालाई सेक्नलाई अँगेठीमा कोइला सल्काएर म आगो ठिक्क पार्थेँ । उनी छोरो लिएर सेक्न बस्थिन् ।’
यसको अर्थ सामाजिक अवस्थाको मात्र चित्रण भएको छ भन्ने होइन । आफ्नै भोगाइ हुँदाहुँदै पनि केही प्रसङ्गले दार्शनिक निचोडसमेत दिएको छ किताबले । हेरौँ एउटा उदाहरण– ‘हामी बूढाबूढी जीवनभर सङ्घर्ष गर्दागर्दा बल्ल अब आनन्दले बसेर खानपिउन सक्ने भएका थियौँ । पतिका कठोर आर्थिक सङ्घर्षका दिनहरू समाप्त भएका थिए । अब बसीबसी खाऊँभन्दा पनि पुग्ने सम्पत्ति मेरा पतिले आर्जन गरिसक्नुभएको थियो तर मेरा पतिको आयु नै समाप्त पार्ने रोग लागेको थियो ।’ यो उनको मात्र कथा र बेथा होइन अपितु सबै मानव जातिको अवस्था हो । जीवनभर दुःख गरेर सम्पत्ति आर्जन गर्यो भोग्ने समय हुँदैन र अर्कै आइपुगेको हुन्छ यस निम्ति ।
यी केही उदाहरण हुन् । सबै शीर्षकका प्रकरणहरू यस्तैयस्तै छन् । सबैले केही न केही सन्देश दिएका छन् । स्थानाभावले सबै उल्लेख गर्न सम्भव छैन । समग्रमा ‘बगेको खोला’ यस्तो किताब हो, जहाँ उनको मात्र होइन अपितु तत्कालीन तमाम दुर्गादेवीहरूको कथा र बेथा समेटिएको छ । सबै दुर्गादेवीको भोगाइको दर्पण बनेर उभिएको छ यो । त्यसैले सबैले एकपटक पढ्नैपर्ने हुन पुगेको देखेको छु यस किताबलाई ।
अन्त्यमा समाजलाई यति अमूल्य कृति उपहार दिएर जाने साहित्य तथा समाजसेवी दुर्गादेवीलाई श्रद्धान्जली अर्पण गरी उनको आत्माले चिरशान्ति पाओस् भन्दै विदा हुन चाहन्छु ।
गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ । प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...