चैत १, २०८०
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
काठमाडाैं | चैत २८, २०८०
नयाँ सत्ता समीकरण बनेसँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको सम्बन्ध कति समयसम्म कायम रहला भन्ने आमजिज्ञासा व्यक्त हुन थालेको छ ।
कम्तीमा मार्क्सवादी विचारधारा मान्ने भएकाले कम्युनिस्ट पार्टीहरूबीच रसायन मिल्छ भन्ने अड्कलबाजी पनि छ । तर, बनिसकेको नेकपा विघटन तथा २०७९ को चुनावी परिणामपछिको समीकरण समेत भत्काएर माओवादी कांग्रेससँगको समीकरणमा गएको विगतका कारण धेरैले यो समीकरण लामो जाँदैन भन्ने अनुमान गरिरहेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै हुँदा कुरा मिलेकै देखिन्छ । जब छुट्टिन्छन्, उनीहरूबीचको आरोप–प्रत्यारोप उत्कर्षमै पुग्छ । ओली–प्रचण्डबीचको टकराव यति टाढासम्म पुग्छ कि कम्युनिस्टहरू तीन पुस्तासम्म मिल्न सक्दैनन् । तर, मिल्दा सहजै र सरल तरिकाबाट अब वामपन्थी एक हुन्छन् भन्ने खालको व्यवहार देखाउने गर्छन् ।
पछिल्लोपटक इलाम क्षेत्र नं. २ को उपनिर्वाचनले राष्ट्रिय राजनीति गर्माएको छ, जहाँ नेकपा (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र ‘पहिचानवादी’को चौपक्षीय चर्चा छ ।
अघिल्लोपटक थोरै मतान्तरले पराजित नेपाली कांग्रेसको चर्चा उत्तिकै छ । संविधान सभाका सभामुख सुवास नेम्वाङको निधनपछि हुन लागेको उपनिर्वाचनको माहोलमा केही पात्रहरूबारे चर्चा भए पनि राष्ट्रिय राजनीतिक अर्थ लाग्ने समीकरण भएका छन् ।
केन्द्रीय सत्ता समीकरणसँगै नेकपा (माओवादी केन्द्र)ले एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गरेको छ । २०७९ को चुनावमा माओवादीले गठबन्धनका तर्फबाट कांग्रेसका डम्बरबहादुर खड्कालाई समर्थन गरेको थियो ।
थोरै मतले पराजित खड्का अहिले पनि कांग्रेसबाट चुनावी मैदानमा छन् । अहिले माओवादीको समर्थन केन्द्रीय सत्ता समीकरण अनुसार एमालेलाई छ । अझै अर्को रोचक पक्ष यसअघि चुनावमा भाग नलिएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले समेत नेम्वाङलाई समर्थन गरेको छ ।
पुरानो गठबन्धन भत्किएपछि नयाँ समीकरणलाई ‘वामपन्थी एकता’को संज्ञा दिइयो । तर, वैचारिकी दृष्टिकोणबाट रास्वपालगायत अन्य दलहरूको समेत सहभागिता रहेकाले वामपन्थी एकता भन्न सकिन्न । पुरानो गठबन्धन भत्किएपछि एमाले र माओवादीका दोस्रो तहका नेताहरूले कालन्तरमा पार्टी एकतासम्म जानेगरी सत्ता फेरबदल भएको बताउँदै आएका छन् ।
इलामको उपचुनावले २०८४ को चुनावमा पनि वाम तालमेल हुन्छ भन्ने संकेत गरेको छ । माओवादीले एमालेका उम्मेदवारलाई सहजै समर्थन जनाउनु त्यसको उदाहरण बन्न सक्छ । उता सत्ता समीकरणको तेस्रो शक्ति रास्वपाले मित्रवत प्रतिस्पर्धाका लागि एकल उम्मेदवार अघि सार्नुलाई पनि २०८४ को पूर्वानुमानका रूपमा हेर्न सकिन्छ ।
२०७९ को स्थानीय, प्रदेश र संघीय चुनावमा एकाध ठाउँबाहेक एक्लै चुनावमा उत्रेको एमालेले समानुपातिकमा लोकप्रिय मत पायो । चुनाव सकिएसँगै पुरानो गठबन्धन भत्काउन सफल एमाले डेढ महिनापछि फेरि एक्लियो । त्यसबीचमा एमालेले आफ्नो सम्पूर्ण शक्तिलाई गाउँ केन्द्रित गर्न ‘मिसन ग्रासरूट’ अभियान सञ्चालन गर्यो । गत मंसिरमा ‘समृद्धिका लागि संकल्प यात्रा’ पूरा गर्यो । त्यसक्रममा एमालेले एउटै नारा दिइरह्यो, ‘राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउन मिसन– २०८४’ ।
सतहीरूपमा बुझ्दा ‘मिसन– २०८४’ चुनावमा बहुमत लिने मात्रै हो भन्ने बुझाइ आमरूपमा देखिन्छ । राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनु भनेको प्रगतिशील शक्तिलाई निर्णायक तहमा विकास गरेर जाने भन्ने बुझाइ कमैमा छ । त्यसको मापन कहाँबाट हुन्छ भन्ने विषय मात्रै चुनावी परिणामले देखाउने हो । मिसन– २०८४ भनेको चुनाव मात्र होइन भन्ने बुझ्नुपर्छ ।
यतिखेर एमाले र माओवादीबीच इलाममा भएको तालमेलले दुईवटा अर्थ राख्छ । एउटा केन्द्रमा सत्ता समीकरण गरिसकेपछि माओवादीले नैतिकता र इमान्दारिता देखाउने अवसर । दोस्रो, २०८४ मा राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउने एमालेको लक्ष्यको पहिलो परीक्षण । कम्तीमा वाम तालमेललाई जनताले २०७४ जसरी अनुमोदन गरेका थिए, सोही मत एमाले–माओवादीसँग छ/छैन भन्ने मापन इलाम– २ को उपचुनावले गर्नेछ ।
‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सार्थक बनाउन एमालेले मिसन– २०८४ मा राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउन अभियान जारी राखेको छ । यसका लागि राष्ट्रिय शक्ति मजबुत बनाउन जरुरी छ । सत्ता समीकरणमा एमालेले आफ्ना धेरै मागलाई अघि सारेको छैन । एमालेको यो शैलीले राष्ट्रिय शक्तिलाई निर्णायक तहमा विकास गर्नका लागि शक्ति सञ्चयको एक साधनका रूपमा काम गरेको देखिन्छ ।
गत वर्ष माओवादी, कांग्रेसहितको गठबन्धनमा फर्किएपछि एक वर्ष एमाले राष्ट्रिय शक्ति हुँदाहुँदै पनि लगभग रित्तो हात लिएर बसेको थियो । नेकपा विभाजन, गठबन्धनबाट एक्लिएको अनुभवबाट पाठ सिकेर पछिल्लो समीकरणलाई टिकाई राख्ने जिम्मेवारी एमालेको हो । मिसन– २०८४ सफल पार्न पनि कम्तीमा समीकरणभित्र रहेका वामपन्थी शक्तिलाई गोलबद्ध गरी अभिभावकीय भूमिका निभाउनु जरुरी छ ।
माओवादीदेखि विप्लवको नेकपाले समेत इलाममा एमाले उम्मेदवारलाई सहयोग गर्न मोर्चा कस्नुले राजनीतिक अर्थ राख्छ । यो सहकार्यलाई अझ सबल बनाउन जरुरी छ । वामपन्थीहरूको कम्तीमा रसायन मिल्ने भएकाले मत ‘ट्रान्सफर’ हुन्छ भन्ने व्यवहारमा देखाउन इलाम– २ पहिलो परीक्षण केन्द्र हो । एमाले उम्मेदवारले इलाम– २ मा प्राप्त गर्ने मतले वामपन्थीहरूको भविष्य र ध्रुवीकरणको सम्भावनाको प्रस्ट रेखा कोरिदिने छ ।
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...