पुस ४, २०८०
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
२२ वर्ष अघि काठमाडौं आउनुअघि म जन्मेको गाउँ (साबिक ग्वालिचौर–२, बाग्लुङ) मा छुवाछुतको घिनलाग्दो चलन थियो । शायद अहिले पनि होला ।
घरमा काम गर्न आउने नेपाली, दमाई, सार्की, दर्जी थरका दाइ, भाइ र दिदीबहिनीलाई खाना दिनुपर्दा परैबाट दिनुपर्ने । उनीहरूलाई कथित बाहुनका घरभित्र छिर्न नदिने चलन व्याप्त । उनीहरूलाई छुनुहुँदैन भन्ने मान्यता । खानेपानी दिनुपर्दा अम्खोराबाट धारो बनाएर उनीहरूको हातामा दिनुपर्ने । कसैगरी अम्खोरालाई उनीहरूले छोए भने त्यसलाई तत्काल पखाल्नुुपर्ने । घाममा सुकाएर बेलुकीपख मात्र त्यस्तो अम्खोरा घरभित्र लानुपर्ने ।
इमान्दारीपूर्वक भन्नुपर्छ, मेरो घरमा पनि त्यो रोग थियो । मै हुँ भन्ने सबैका घरमा त्यस्तो रूढिवादी चलन थियो । यहीँ काठमाडौंमा आदर्शका चर्का कुरा गर्ने मै हुँ भन्नेहरूका घरमा अहिले पनि म यस्तो घिनलाग्दो व्यवहार देख्छु ।
पंक्तिकार चाहिँ सानैदेखि विद्रोही स्वभावको । अन्याय, अत्याचार नसहने अलि ‘सेन्सिटिभ नेचर’ व्याप्त थियो । आफैंले आफैंलाई प्रशंसा गरेको होइन तर अन्याय अत्याचारको विरोध गर्दा गाउँमा धेरैजनासँग धेरैपटक पंक्तिकारको झगडा परेको छ ।
मानिसलाई हेपेको, होच्याएको, असमान व्यवहार गरेको विरुद्धमा झगडा गर्दा पंक्तिकारलाई कतिपयले ‘शेखे ठेट्नो’ पनि भन्थे गाउँमा । घरका सदस्य र वरपरका छिमेकीसँग छुवाछुत र शोषणको विरोध गर्दा भएका सबै झगडामा मैले हारें । त्यसैले गाउँलेमाझ म लोकप्रिय थिइनँ । अरू त अरू स्कूलका सरहरू पनि छुवाछुत ठीक हो भन्दै तर्क गर्थे ।
२०५४ सालमा एसएसली दिएर घरमा बसेको थिएँ । घरमा काम गर्न आएका दर्जी थरका दाइलाई म आफैंले खाना पकाएर दिनुपर्ने भयो । खाना पाकिसकेपछि मैले उनलाई घरको एउटा कोठामा बोलाएँ र खाना खुवाएँ । घरका अरू सदस्य कोही थिएनन् त्यस दिन । एकछिन पछि आफूलाई पनि खाना पस्कें र ती दर्जी थरका दाइसँग टाँसिएर सँगै खाना खाएँ ।
मैले यो सब गरेको देखेपछि ती दर्जी दाइ बेस्सरी डराए । ‘यसो गर्नु हुँदैन बाबु, अरूले थाहा पाए भने मलाई गाली गर्छन्, गाउँबाट लखेट्न सक्छन्’ भन्दै दर्जी दाइ तर्सिए । मलाई चाहिँ त्यसदिन निकै आनन्द आयो । तर काठमाडौं आउनुअघि मैले त्यो घटना गाउँमा सार्वजनिक गरिनँ, ती दर्जी दाइले पनि कसैलाई भनेनन् किनकि हाम्रो कुरा कसैले सुन्नेवाला थिएन ।
जब काठमाडौं आएर अलि जान्ने बुझ्ने भएँ, गाउँमा जातीय आधारमा घृणायोग्य व्यवहार गर्नु अपराध रहेछ भन्ने पूरापूर बोध भयो । आफूले बुझेको सही रहेछ भन्ने पक्का भयो ।
समय बदलिएको त छ तर अझै पनि समाजमा छुवाछुत, शोषण, सामन्ती व्यवहारका घटना रोकिएका छैनन् । फरक यत्ति हो– कतै छुवाछुतका नाममा गरीबलाई होच्याउने तुच्छ व्यवहार र हतोत्साहित गर्ने काम भइरहेका होलान्, कतै गरीब किसानको रगत पसिनाको शोषण गर्ने अपराध मौलाइरहेका होलान् । कथित हुनेखाने, टाठाबाठा, उपल्लो दर्जाका सामन्तहरूबाट यो वा त्यो बहानामा गाउँका गरीब किसानको शोषण गर्ने अपराध जारी नै छ भन्ने पछिल्लो उदाहरण हो– सर्लाहीका उखु किसानको काठमाडौंमा पोखिएको आँसु ।
समय यस मानेमा बदलिएको छ कि मेरो गाउँका दर्जी दाइ उसबेला मैले घरभित्र छिराएर खाना खुवाएकोमा डराएका थिए । अहिलेका मानिसहरू थिचोमिचो र शोषणसामु नझुक्ने भएका छन्, जुन जायज छ ।
आफूहरूलाई लुटेर किर्नासरी मोटाएका व्यापारीसामु सर्लाहीका उखु किसान झुकेनन् । उनीहरू एकसातादेखि काठमाडौंमा छन् । आफ्नै देशको संघीय राजधानी एकपटक टेकौं न त भनेर उनीहरू यहाँ आएका होइनन् । ६ वर्षदेखि आफूले बेचेको उखुको मूल्य नदिएर बिचल्लीमा पारिएपछि न्यायको ढोका ढकढकाउन उनीहरू ऋण काढेर यहाँ आएका हुन् । धेरैजसोको साथमा भएको पैसा सकिइसकेको छ । कोही आफन्तको कोठामा आश्रय लिइरहेका छन् भने केही जसोतसो ओतसम्म लाग्ने कवाडी व्यापारीसँग रात गुजारिरहेका छन् ।
उखु किसानको समस्या धेरैलाई सामान्य लागिरहेको जस्तो देखिन्छ । यो पंक्तिकारलाई चाहिँ उनीहरूको समस्या अर्बमा हुने भ्रष्टाचारभन्दा गम्भीर र संवेदनशील लागिरहेको छ । गरीबमाथि यसभन्दा ठूलो अपराध र शोषण केही हुँदैन भन्ने लागिरहेको छ ।
नेपालमा अहिले पनि दुईछाक खान धौ–धौ पर्ने गरीबको संख्या उल्लेख्य छ । हो, तिनैमध्येमा पर्छन् उखु किसान । उनीहरूसँगको कुराकानीबाट के बुझिन्छ भने एउटा उखु किसानले वर्षभरि मरिमेटेर श्रम गरेपछि सरदर वार्षिक एकलाखदेखि डेढ/दुईलाख रुपैयाँसम्म आम्दानी गर्छ । त्यही आम्दानीले उसले घर, खेती किसानी, छोराछोरीको पढाइ, साहुको ऋण तिर्ने, मीठोमसिनो खाने, औषधि उपचार गर्ने, लुगाफाटा किन्ने र चाडबाड मनाउने गर्छ ।
यति धेरै दैनिक क्रियाकलाप उखुबाट आम्दानी हुने नगदसँग जोडिएको हुन्छ एक गरीब किसानको । हो, त्यही आम्दानी खोसेर ६–६ वर्ष सम्म भुक्तानी नदिने व्यक्ति व्यापारी हो कि व्यापारीको आवरणमा अपराधकर्म गर्ने मानिस ? यदि धर्म या पाप भन्ने विषय सत्य हो भने त्यस्ता व्यापारीलाई कुन हदको पाप लाग्छ ?
उखु लिने, चिनी, सक्खर बनाएर आफूले अकुत कमाउने तर गरीब उखु किसानको पैसा नदिने व्यापारी त मानवता हराएको घृणायोग्य पात्र भयो भयो, त्यस्तालाई अहिलेसम्म पक्रेर जेल नहाल्ने सरकारी संयन्त्र कस्तो ? मन्त्री कस्तो ? कर्मचारी कस्ता ?
कि त्यस्ता व्यापारीसँग मन्त्री र कर्मचारी पनि मिलेका छन् ? कतै त्यस्ता व्यापारीबाट मन्त्री र कर्मचारीले गरीब किसानलाई जिउँदै मारेबापत दानापानी पाएका त छैनन् ? पंक्तिकारसँग कुनै तथ्य, प्रमाण त छैन । तर यत्ति चाहिँ भन्न सकिन्छ कि ६–६ वर्षसम्म किसानलाई जिउँदै मार्ने व्यक्ति चाहे त्यो व्यापारी होस्, मन्त्री या कर्मचारी, ती कारवाहीको भागिदार छन् । तिनलाई पाप लाग्नेछ । समयले तिनलाई सजाय दिनेछ ।
आदर्श मन्त्री कता गए ?
मार्क्सवाद, सुशासन, समृद्धि र अनुशासनका चर्का कुरा गर्ने एकजना आशलाग्दा व्यक्ति (जसप्रति यस पंक्तिकारको पनि सम्मान छ) घनश्याम भुसाल यस देशको कृषिमन्त्री छन् । तर एकसातादेखि माइतीघर मण्डलामा जम्मा भएर विरोध प्रदर्शन गरिरहेका ती गरीब किसानको आँसुले उनलाई छोएन । छुन्थ्यो भने उनी कम्तीमा एकपटक उखु किसान उभिएको ठाउँमा गएर सहानुभूति प्रकट गर्थे होला । किसानलाई भेटेर उनीहरूका कुरा सुन्थे होला ।
तपाईंहरूको समस्या समाधान गर्न पहल गर्छु भन्थे होला । तर अहँ, मन्त्री भुसाललाई उखु किसानको आँसुले छुँदै छोएन । उनले ती किसानलाई एकपटक पनि भेटेनन् । आदर्शका कुरा गर्न सजिलो छ तर व्यवहारमा लागू गरेर देखाउन गाह्रो छ, कमरेड ! चर्का कुरागराइ र व्यावहारिक भोगाइमा आकाश जमिनको फरक छ, कमरेड !
गोविन्द केसी, रविन्द्र मिश्र, सुरेन्द्र केसी र नागरिक अगुवा कता गए ?
समाजमा ढोंगीहरूको ठूलो जमात छ । बाहिर आदर्श र इमान्दारिताका चर्का गफ गर्ने भित्री धन्दा अर्कै । यस्ताको संख्या ठूलो छ नेपालमा । डा. गोविन्द केसी, पूर्व पत्रकार एवं हाल साझा पार्टीका संयोजक (मेरा पूर्वहाकिम) रविन्द्र मिश्र, सुरेन्द्र केसी, नागरिक समाजका स्वघोषित तर विवादास्पद अगुवा, आफूलाई पत्रकारका अगुवा ठान्ने स्वघोषित तर विवादास्पद पात्र र आदर्शका कुरा गरेर नथाक्ने महोदयहरूले थुप्रै विषय, प्रवृत्ति र पात्रप्रति विमति राख्दै पटक–पटक विज्ञप्ति निकालेको, माइतीघरमा जम्मा भएर विरोध गरेको देखिएकै हो ।
आदरणीय महोदयहरू, तपाईंहरूले यतिञ्जेल जुन विषय या प्रवृत्तिप्रति विरोध जनाउँदै माइतीघरमा भेला भएर विरोध गर्नुभयो नि, हो त्यही थलोमा एकसातादेखि यस देशका वास्तविक गरीब किसान आफ्नो श्रम, रगत र पसिनाको मूल्य मागेर चिसो भुइँमा उभिएका छन्, उभिँदा उभिँदै गलेर ढलेका छन् । तपाईंहरूले अहिलेसम्म जुन विषयमा विरोधका स्वरहरू उजागर गर्नुभयो नि, तीभन्दा यी किसानका पीडा, समस्या र सरोकार दशौंगुणा संवेदनशील, गम्भीर र जायज छन् । के तपाईंहरूलाई थाहा छैन, एकसातादेखि सर्लाहीका उखु किसानको आँसुले माइतीघर मण्डलालाई निथ्रुक्कै भिजाएको छ भनेर ? कि तपाईंहरू ती किसानका समस्या र विरोध प्रदर्शनप्रति जानकार हुनुहुन्न ? हुनुहुन्छ भने किन उनीहरूको आँसुले तपाईंहरूको मन पग्लेन ? पग्लिन्थ्यो भने तपाईंहरू उनीहरूलाई एकपटक भेट्नसम्म किन जानुभएन ? किन तपाईंहरूले उखु किसानको पक्षमा विज्ञप्ति निकाल्नुभएन ? उखु किसानलाई न्याय दिलाउन सरकारलाई दबाब दिन किन सक्नुभएन ? किन उखु किसानसँगै उभिएर उनीहरूको आन्दोलनमा एक्यबद्धता जनाउनुभएन ?
आदरणीय महोदयहरू, उखु किसानप्रति तपाईंहरूले देखाएको पूरापूर उदासीनता/बेवास्ताले के संकेत गर्छ, थाहा छ ? तपाईंहरू निहित स्वार्थसिद्धिका लागि मात्र यतिञ्जेल कुनै विषय, प्रवृत्ति या पात्रको विरोधमा उत्रनुभएको थियो र भोलिका दिनमा पनि त्यस्तै गर्नुहुनेछ भन्ने आशंकामा बल पुर्याएको छ । तपाईंहरूको लडाइँ साँच्चै यो देश, समाज र नेपालीको हितमा हो या हुन्थ्यो भने गरीब उखु किसानप्रति एक्यबद्धता जनाउन जानु जत्तिको उचित कदम अरू के हुन सक्थ्यो ? जवाफ छ तपाईंहरूसँग ? के कारणले एक–एक सातासम्म तपाईंहरू उखु किसानका मागबारे एक शब्दसम्म बोल्नुभएन ? जतिसुकै आरोप खेप्न परोस् या गाली सहन परोस्, यो पंक्तिकार तपाईंहरूलाई धिक्कार्न बाध्य छ । अलिकति पनि नैतिकता छ भने अहिले नै सबै काम छोडेर तपाईंहरू उखु किसानलाई भेट्न जानुस् । उखु किसानले न्याय पाउने वातावरण बनाउन लाग्नुस् । यो चिसोमा ऋण काढेर न्यायको भिख माग्दै काठमाडौं आएका किसानलाई रित्तो हात होइन, पूरापूर न्याय हुने गरी पैसा दिलाउन सहयोग गर्नुस् । होइन भने समयले तपाईंहरूलाई पनि धिक्कार्नेछ, सजाय दिनेछ, महोदयहरू !
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...