तामिल नाडुमा सुरक्षाकर्मीको गोली लागि ९ जनाको मृत्यु

नयाँ दिल्ली,  ८ जेठ - भारतको दक्षिणी राज्य तामिल नाडुमा तामा खानी बन्द गर्न भन्दै विगत तीन महिनादेखि जारी आन्दोलनमा प्रहरीले चलाएको गोली लागि कम्तीमा नौ जनाको मृत्यु भएका र अन्य २० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 
प्रशासनले घटनामा कति जनाको मृत्यु भएको भन्ने बिषयलाई पुष्टि गरिसकेको छैन । यद्यपि स्थानीय मन्त्री डि जयाकूमारले सञ्चारमाध्यमसँग कुराकानी गर्दै भने , घटनाबारे बिस्तृत विवरण आइसकेको छैन । सरकारले घटनामा मृत्यु भएका नागरिकका आफन्तलाई राहतको व्यवस्था गर्नुपर्छ र गर्नेछ । 
घाइते सबैको उपचार खर्च पनि सरकारले व्यहोर्ने उनले बताए  । 
मन्त्री डि जयकूमारका अनुसार करिब २० हजार आन्दोलनकारीको समूहले एक्कासी हिंसात्मक गतिविधि चलाएपछि प्रहरीले बल प्रयोग गर्नु परेको बताए  । स्थानीय नागरिकहरूले आफ्नो क्षेत्रमा सञ्चालनमा रहेको खानीको लाईसेन्स अर्को २५ वर्षका लागि नवीकरण गर्न लागेको थाहापाएपछि आन्दोलन शुरु गरेका बताइएको छ । 
“स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्नुको कुनै विकल्प थिएन, मन्त्री जयकूमारले भने  । 
विगत तीन महिनादेखि जारी आन्दोलन विगत केही दिन यता उग्र बनिरहेको थियो । 
राज्यको प्रमुख प्रतिपक्षी दल डिएमके पार्टीले स्थानीयको चासोलाई सम्बोधन गर्न असफल भएको भनी सरकारको आलोचना गरे   । 

जेठ ८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस