थारु महिलाको अनौठो संस्कृति : वर्षाको याचना गर्दै मध्यराति निर्वस्त्र

जेठ २०, २०७५

धनगढी, २० जेठ – गर्मी सिजनमा वर्षा नभएपछि पानी पार्न के–के गर्नुपर्ला ? वैज्ञानिक कारण छुट्टै हुन सक्छ । तर, कैलालीका थारु महिलामा वर्षाको याचना गर्दै मध्यराति निर्वस्त्र भएर हलो जोत्ने परम्परा रहेको छ ।

एकादेशको कथाझै लाग्ने यस्तो परम्परा अहिलेसम्म पनि जीवितै  छ । खडेरी परेपछि थारु जातिका महिलाले पुरुषको पहिरन लगाई प्रकृतिसँग पानीको याचना गर्ने ‘गैया बेह्रना’ (गाई, गोरु छेक्ने) प्रचलन कायमै रहेको हो । कैलालीको कैलारी गाउँपालिका–३ लालपुरका थारु महिलाले हालै गैया÷गोरु बेह्रना कार्यक्रम गरेका छन् ।


ADVERTISEMENT

मध्यरातमा निर्वस्त्र भएर कोही महिला गोरु बनेको, कोही हलो जोतेको, कोही लुहार बनी हली पिटेको, कोदालो चलाएको अभिनय गरेर कार्यक्रमको थालनी गरेका थिए । सँगसँगै प्रकृतिसँग पानी पार्न अनुग्रह गरिएको लोकलयको ‘सजना गीत’मा आपसमा दोहोरी खेल्दै ‘गैया बेह्रना’ परम्परा मनाए ।

स्थानीय ६० वर्षीया प्रदेशनी चौधरीले लोपोन्मुख परम्परा संरक्षण तथा सम्वद्र्धनको उद्देश्यले परम्पराको प्रदर्शन गरेको बताइन् । ३० वर्षयता गैया बेह्रना कार्यक्रम कतै नदेखेको बताउने उनले नयाँ पुस्तालाई देखाउन तथा पुस्तान्तरणकै उद्देश्यले गरिएको बताइन् । मध्यराति हलो जोतेर गैया बेह्रना कार्यको थालनी गरेका महिलाहरू भोलिपल्ट पुरुषको परम्परागत पोशाक धोती, सर्ट, पाइन्ट लगाएर कैलारी गाउँपालिकास्थित डम्मारा गाउँमा गाई छेक्न तथा समाउन पुगेका थिए ।

गैया बेह्रना जाने पक्षले वास्तविक गाई÷गोरु नसमाएर प्रतिकको रुपमा गाउँकै मोह्रिनिया (गीतसंगीतमा निपूर्ण महिला), भल्मन्सा (गाउँको मुखिया) या उनकी श्रीमतीलाई बन्दी बनाएर लैजाने प्रचलन रहेको बताइन्छ । सोही अनुसार उनीहरूले डम्मारा गाउँका भलमन्सा जेठुराम चौधरीलाई बन्दी बनाएर लगे । 

बन्दी बनाएर लगिसकेपछि अर्को पक्ष (डम्मारा गाउँ) का महिलाहरू पनि बन्दी छुटाउन जानुपर्ने हुन्छ । यसरी छुटाउन गएका र गैया बेह्रना जाने पक्षबीच लोकलयमा गाइने सजना गीतमा दोहोरी (लडाई) चल्ने र आपसमा खानपान गर्ने संस्कार रहँदै आएको बताउँछन् लालपुरका भल्मन्सा जगदिश चौधरी । उनले यसरी हुने दोहोरीकै प्रभावले पानी पर्ने जनविश्वास थारु समुदायमा रहेको समेत सुनाए ।

‘गैया बेह्रना’को ऐतिहासिक पक्ष

गैया बह्रना प्रचलन थारु जातिका महिलामा रहेको प्रचलित एउटा लोकनाटकको रुपमा रहेको बताइन्छ । थारु संस्कृतिविद् अशोक थारुका अनुसार गाउँको गल्ली, आँगन, बारी आदिमा प्रदर्शन गरिने हुँदा यसलाई आजको सडक नाटकजस्तो मानिन्छ । विशेषगरी बैशाख, जेठतिर समयमा पानी नपरी खेती लगाउन समस्या पर्न थाल्यो भने खडेरीबाट मुक्ति पाउन वर्षात्को याचना स्वरुप यो प्रदर्शन गर्ने प्रचलन रहेको संस्कृतिविद् थारु बताउँछन् ।

गैया बेह्रना प्रचलनको छुट्टै ऐतिहासिक पक्ष रहेको संस्कृतिविद् थारुको दावी छ । उनले यो प्रचलन महाभारतको विराट पर्वसँग जोडिएको बताए । उनका अनुसार महाभारतका एक पात्र भीमले युद्धको क्रममा किचकको हत्या गरेपछि कौरवपक्षलाई पाण्डपहरू विराटको दरबारमा छन् भन्ने शंका लाग्छ । शंकाकै आधारमा कौरवहरू सुशर्माको नेतृत्वमा विराटका गाईहरू अपहरण गर्न फौज पठाउँछन् । त्यसैबीच, सुशर्माको नेतृत्वमा रहेको कौरव फौज र विराटपुत्र उत्तरकुमारको नेतृत्वमा रहेको फौजबीच लडाई भएको बताइन्छ । युद्धमा विराटको फौज हार्छ । पछि विराट पुत्र उत्तर कुमार युद्ध मैदान छोड्नै लाग्दा वृहन्नलाको छद्मभेषमा उत्तरकुमारको सारथि बनेका अर्जुनले फौजको आफैं नेतृत्व गरेको र युद्ध जितेर अपहरित गाईहरू फर्काएको किवदन्ती रहेको छ ।

तर, थारु जातिमा महाभारतमा वर्णित आख्यानलाई बेग्लै प्रयोजनका लागि बेग्लै किसिमले प्रदर्शन गरेका पनि संस्कृतिविद् थारुको विश्लेषण छ । ‘गैया बेह्रना’मा संलग्न थारु महिलाहरू विराटको दरबारमा १ वर्षे गुप्तवासमा बसेका बृहन्नला (नपुंसक) रुपी अजुर्नभक्त वीरंगनाको रुपमा रहेको उनको विश्लेषण छ । थारु महिलाहरू पुरुषको पहिरनमा हुुनुले विहन्नलाको प्रतीकको रुपमा रहेको पुष्टि गरेको संस्कृतिविद् थारु बताउँछन् । यसमा गाई लुट्ने, फलफूल, तरकारी लुट्नेदेखि गरिने अन्य कार्यहरू बृहन्नला रुपी अर्जुनको साहसिक कार्यको अनुकरण रहेको पनि बताइएको छ ।

‘गैया बेह्रना’ प्रस्तुतीकरण

नेपाल लोकवार्ता तथा संस्कृति समाज काठमाडौंद्वारा प्रकाशित ‘थारु लोकवार्ता तथा लोकजीवन’ पुस्तक अनुसार गैया बेह्रनाको आफ्नै तौरतरिका रहेको छ । पुस्तकका अनुसार बैशाख जेठतिरको समयमा पानी नपरी लामो खडेरी परेमा थारु गाउँका महिलाहरू आपसमा सल्लाह गरी गैया बह्रना गर्ने दिन तय गर्छन् । निश्चित गरिएको दिन बेलुका सबै भेला भई गैया बेह्रनाको तयारी गर्छन् । यसबेला उपस्थित महिलामध्ये कोही हली, कोही गोरु, कोही लोहार र एउटीले बाहुन्यिा (बाहुनी) भूमिकामा खटिन्छन् । 

रातिको समयमा सबै महिला प्रायः निर्वस्त्र भएर महिलाहरूलाई नै जुवा नारेर उल्टो हलोले जोत्न थाल्छन् । लोहारले कोदालो, फली, हसियालगायत औजार उल्टोतिरबाट पिटेको अभिनय गर्छन् । गल्ली–गल्ली र आँगन–आँगनमा बाढी आएको ठानी कसैले बाँध बाँध्न थाल्छन् । गल्ली र आँगनमै खेतको आली बनाएको अभिनय गर्नुपर्छ ।

त्यस्तै, कुनै महिला गल्ली–गल्ली र घरका आँगनमा गएर ‘पानी डे कि, ढानी डे’ भन्दै अस्लिल शब्दयुक्त सजना गाउँदै हिड्छन् । यस अवसरमा गाइने सजना गीतमा वर्षात् र यौन एकअर्काका पूरक र प्रतीक भई आएको पुस्तकमा उल्लेख छ । साथै, बाहुन्यिाको भूमिका निर्वाह गर्ने थरुनीले ब्रत बसेकी हुन्छिन् । उनी राति पानी परेको बेला ठूलो भ्यागुतो कराएको अनुकरण स्वरुप ‘गो गाँ गो गाँ’ गर्दै कराउँछिन् । 

रातभरिको त्यो क्रियाकलापपछि गैया बह्रनाका ती महिला बिहानदेखि पुरुष भेषमा गाउँलेहरूको फूलवारीका फलफूल तरकारी टिप्छन् र गाउँलेका गाईगोरु अपहरण गरी ल्याएर बाँध्ने गर्छन् । त्यसरी ल्याएका गाईगोरुलाई दाना खुवाइन्छ । टिपेर ल्याएका फलफूल, तरकारी र घरघरबाट उठाएका दाल चामल लिएर गाउँ नजिकैको बगैचा गई सामूहिक भोजन गर्छन् । भोजन खानुअघि बहुन्यिा बनेकी महिलाले एउटा भ्यागुतो ल्याएर त्यसको पूजा गरी भ्यागुतोलाई दुधभात खान दिइन्छ । महिलाहरूको मात्रै सहभागिता रहने ‘गैया बेह्रना’ लोकनाटक वास्तवमा प्रकृतिसँग पानी माग्ने आन्दोलनको रुपमा समेत रहेको संस्कृतिविद्को विश्लेषण छ ।

जेठ २०, २०७५ मा प्रकाशित

लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि प्रदेश नम्बर ७ का प्रतिनिधि हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार