मधेशमा उपेन्द्र युगको समाप्ति भएकै हो ?

जेठ २७, २०७५

संघीय समाजवादी फोरम नेपालले दुई बुँदे लिखित सम्झौता गरी नेपाल कम्युनिस्ट पार्टीको सरकारमा सहभागी भएको दिनदेखि काठमाडौंको राजनीतिक संसारमा खुसीको माहौल छाएको छ  । उता मधेशमा उपेन्द्र यादव नेतृत्वको पार्टीका कार्यकर्ता बाहेकले उनको सत्तारोहणलाई मधेश आन्दोलनको भावनामाथिको धोखा भनिरहेका छन् । 

राजनीति बडो अजीव हुन्छ । उपेन्द्र यादवले काठमाडौंको माइतीघर मण्डलामा अन्तरिम संविधान जलाएका थिए र मधेशी जनताले उनलाई आफ्नो नेताको रुपमा स्वीकार गरिहाले । यसको अर्थ अन्तरिम संविधान नजलाउँदासम्म उनी नेता थिएनन् भन्न खोजिएको होइन । 


ADVERTISEMENT

तर उपेन्द्रबाटै मधेशको कायापलट हुन्छ भन्ने  भावनामा बग्नु मधेशी जनताको भूल थियो भने कुरा सायद अब मधेशी जनताले बुझेको हुनुपर्छ । 

उपेन्द्र यादवले भारतको पटनामा निर्वासन भोगेको तथा वामपन्थी इतिहासको चर्चा गर्नु भन्दा पनि उनको पछिल्लो इतिहासबारे थोरै चर्चा गरौं । 

नेपालको संविधान २०७२ निर्माण र संविधान घोषणा हुँदा अन्य मधेशवादी दलहरु संविधान संशोधनको माग गरिरहँदा यादव भने पुनर्लेखनको आवश्यकता भएको वकालत गर्दै मधेश दौडाहामा थिए । 

संविधान पुनर्लेखनको माग भनेको नेपालको सत्ता केन्द्रित राजनीतिमा आफ्नो स्थान खोज्नु थियो । जुन उपेन्द्र यादवका लागि “बायाँ हाथको खेल” भइसकेको छ । 

विभेदपूर्ण र नश्लीय भन्दै संविधानको विरोधमा रहेका यादवले कम्युनिस्ट सरकारमा सहभागी भइ संविधानलाई पूर्णत स्वीकार गरेका छन् । जसबाट यो प्रमाणित हुन्छ कि उनले मधेशमा गरेका हरेक आन्दोलन फगत एउटा नाटक थियो । 

मधेशी जनता माझ अहिले पनि संविधानप्रतिको असन्तुष्टीे तुष हरित नै छ । जसलाई उपेन्द्र यादवले नबुझ्ने कुरै भएन । 

यसका बाबजुदपनि उपेन्द्र यादवले नेकपासँग दुई बुँदे तमसुक गरि आम मधेशीको भावना माथि कसरी कुठाराघात गर्ने आँट गरेका होलान् मधेशमा प्रश्न गर्नेको संख्या कमी छैन । 

यो प्रश्नको जवाफ सजिलो छ । उपेन्द्र यादवले आम मधेशी जनतालाई केही महत्त्वपूर्ण कुरा प्रस्ट गर्न खोजेका छन् । उनको यो सत्तारोहणबाट उनले के प्रस्ट्याउन खोजेका छन् भने अब यादवमा  सिमान्तकृतको मुद्दा बोक्ने क्षमता छैन । जसका कारण उनी विस्तार सत्तामुखी राजनीतिको बाटो अवलम्बन गर्नुमा नै आफ्नो भविष्य उज्ज्वल देखिरहेका छन् । र, यो वास्तविकता पनि हो । हरेक व्यक्तिको एउटा सिमित क्षमता हुन्छ ।

राजनीतिमा त अझ बढी । अब उपेन्द्र यादवसँग संघर्ष गर्ने क्षमता नरहेको सजिलै बुझ्न सकिन्छ । उनको पार्टीभित्र रहेको बर्चस्वले गर्दा पार्टीका अन्य नेताहरु पनि आज आम मधेशीबाट गालीको भागिदार बन्न बाध्य भएका छन् । 

मधेश आन्दोलनका शहीद परिवार तथा घाइतेहरु संघीय समाजवादी फोरम नेपालले गरेको दुई बुँदे सम्झौताको बारेमा अनविज्ञ छन् । समग्र मधेश एक प्रदेश हुँदै एक मधेश दुई प्रदेशको सपना देखाउदै सत्तारोहणमा लिप्त मधेशवादी दलहरु संघर्षको लडाईंमा असफल भइसकेको कुरा किन स्वीकार्न हिचकिचाउँछन् ? नेपालको संविधानलाई विश्व कै उत्कृष्ट संविधान भन्नेहरुसँग संविधान पुनर्लेखनका वकालतकर्ताले कस्तो किसिमको संशोधन गराउलान् उनै जानुन् । 

आमजनले यति मात्र बुझेका हुन्छन् की विजेता र पराजितबीच कुनै पनि सम्मानजनक सम्झौता हुन सक्दैन । 

अहिलेको कम्युनिस्ट सरकार बिजेता हो भने फोरम नेपाल र राजपा नेपाल जस्ता कथित मधेशवादी दलहरु पराजित दल हुन् । झन् संविधानमा संशोेधनको कुरा मधेशवादीले उठान गरेको हरेक पल्ट कम्युनिष्ट पार्टीका मुखिया केपी शर्मा ओलीले अस्विकार गर्दै आएका थिए । संविधान संशोधनको हरेक बुँदामा देशघात देख्ने ओलीले उपेन्द्रको संविधान संशोधनको सहमतिलाई कसरी कार्यान्वयन गर्लान् ?

देशहितमा मात्र संविधान संशोधन गर्नुपर्छ तर देशहितको परिभाषा तथा भाष्य निर्माण गर्ने जिम्मा एक जना व्यक्ति ओलीमा मात्र रहेको कुरा अहिलेको दम्भयुक्त राजनीतिक वातावरणले प्रष्ट गरेको छ । 

वर्तमान अवस्थामा मधेशवादी दलहरुमार्फत संविधानको अर्थपूर्ण संशोधनको आश गर्नु व्यर्थ हो । 

मधेशमा स्थानीय तहमा, प्रदेशमा मधेसी दलको सरकार छ । विकासका काम अगाडि बढिरहेका छन् । 

मधेशमा सरकाको नेतृत्वकर्ता दल अनि प्रभावशाली पार्टीका प्रमुख भएर सामान्य खालको मन्त्रालयको मन्त्री बन्नु भनेको पराजित मानिसकाताको उपज र व्यक्तिगत स्वार्थ होइन भने के हो ? मधेशी जनताले उपेन्द्र यादवमाथि यो आरोप लगाउनु के गलत हो ? 

अन्त्यमा, मधेश आन्दोलन अहिलेको लागि अब पूर्णतः समाप्त भएको बुझ्दा गलत हुने छैन ।  राजपा पनि सरकारमा जान कुस्ती खेलिरहेको थियो तर बाजी उपेन्द्रले मारेका मात्र हुन् । जसरी हिमाल र पहाड मा विप्लव र मधेशमा सिके राउत संगठन विस्तारमा लागेका छन् त्यो अर्को आन्दोलनको संकेत हो । यही अवस्थामामधेस अब उपेन्द्रहरुको हताबाट फुत्किनेमा शंका छैन ।
 

जेठ २७, २०७५ मा प्रकाशित

रणधीर चौधरी

चौधरी समसामयिक राजनीतिक घटनाक्रम र मधेस मामलामा कलम चलाउँछन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस