‘लिभिङ टुगेदर’ : असीमित यौन इच्छामा सीमित सामाजिक दायरा !

भदौ २, २०७५

– कमला अवस्थी ‘कान्ती’

काठमाडौं –‘मानिसका आवश्यकता असीमित छन्, तिनलाई परिपूर्ति गर्ने साधन सीमित छन् ।’ यही अर्थशास्त्रीय सिद्धान्तभित्र बगेको उपन्यास हो ‘लिभिङ टुगेदर’ ।


लामो समयदेखि गैरआवासीय जीवन बिताइरहेका उपन्यासकार गोविन्द गिरी प्रेरणाको २४ औं कृति र छैठौं उपन्यासका रुपमा बजारमा आएको ‘लिभिङ टुगेदर’ले युवायुवतीको असीमित यौन चाहना र सीमित सामाजिक संस्कारलाई कलात्मक ढंगले प्रस्तुत गरेका छन् ।

बढ्दो आधुनिकीकरणसँगै शहरी परिवेशमा प्रचलनमा आइरहेको विवाह पूर्व नै प्रेमी–प्रेमिका सँगसँगै बस्ने विकृत प्रवृत्ति र त्यसका दुष्परिणामप्रति आम नागरिकलाई सचेत गराउनमै समग्र उपन्यास केन्द्रित देखिएको छ । उपन्यासमा गाउँको मध्यम वर्गीय जीवनशैलीदेखि काठमाडौं हुँदै अमेरिकाको वासिङ्टन डिसीको भोग–विलासवादी जीवनशैलीको यथार्थपरक चित्रण गरिएको छ ।

तानसेनका पण्डित जन्मेजयका छोरा कुमार भट्टराई र दमाईकी छोरी कृष्णाको काठमाडौंवासी सुप्रियाको घरमा डेरा खोज्ने क्रममा भेट भएको प्रसङ्गबाट शुरू भएको उपन्यास सामान्य/असामान्य परिवेश छिचोल्दै राधेश्याम र कृष्णाको यौन तृप्तिसँगै समाप्त भएको छ ।

यसबीच देखापर्ने कुमारका साथी कसरी साथीसंगतले कुलतमा होम्मिँदै गएका छन् ? सोको परिणाम स्वरुप जिन्दगी अन्योलमा परेको अवस्थालाई उपन्यासकारले अति सुक्ष्म तवरले प्रस्तुत गरेका छन् । कृष्णा दमाईकी छोरी भएर आफ्ना छोरासँग ‘लिभिङ टुगेदर’ सम्बन्धमा रहेको कुरा चित्त नबुझाउने कुमारका बुबा प्रशासनिक अधिकारी हुन् ।

नेपालमा सामाजिक तथा राजनीतिक परिवर्तनका खातिर ००७ साल, ०३६ साल, ०४६ साल र ०६२/६३ सालको जनआन्दोलनले छुवाछुत अन्त्य गर्नुपर्ने सवाल नउठाएका होइनन् । तर, सवाल राजनीतिक एजेण्डामै सीमित रह्यो । छुवाछुतजस्तो कुरीति तथा कुसंस्कार त्याग्नुपर्छ भन्ने लिखित दस्तावेज, मौखिक नाराबाजी र बहस चलिरहेपनि दलितलाई आफू सरह मान्छेका रुपमा स्वीकार गर्न नसक्ने र आफ्नो स्वार्थपूर्तिका लागि भने अँध्यारो कोठामा अँगाल्न पछि नपर्ने समाजप्रति उपन्यासले असन्तुष्टि व्यक्त गरेको छ ।

गाउँबाट राजधानीसम्म पुगेकी कृष्णा, एक ‘बार’मा काम गर्दा पेशासँगै असन्तुष्ट हुँदै आफूभन्दा उमेरले सानी सोनुसँग ‘रुम पार्टनर’ भएर बसेकी सोनुले समेत केटा साथीसँग लिभिङ टुगेदर बस्ने भएपछि एक्लो महसुस गर्छे । महिनाको ७ हजार कमाइले काठमाडौं बस्न सकिन्न भन्ने पीरले पिरोलिरहँदा कुमार आफ्नो दाउपेच लगाएर कृष्णाको कमजोरीको फाइदा उठाउन तम्तयार रहन्छ ।

उपन्यासमा ‘तिमीले काम गर्नुपर्दैन, मलाई खुशी गराउ, म तलब दिन्छु’ भन्ने कुमारको अभिव्यक्तिबाट पुरुषले महिलालाई हेर्ने भोगवादी प्रवृत्तिलाई उजागर गरेको छ । कुमार आफ्ना प्रेमिल र सहयोगी व्यवहारले उसलाई आफूसित सँगै बस्न मञ्जुर गराउँछ । कुमारका साथी चापे, खोडेले फलानो मैयाँलाई १५ हजार रुपैयाँमा बुक गरिएको भन्ने तीखो वचन बोल्छन् ।

महिलालाई पुरुषले आवश्यक पर्दा बजारको वस्तु सरह खरिद गर्ने र स्वार्थ पूर्ति भएपछि लिलाम गर्न मौका खोजिरहने अवसरवादी पात्र हाम्रै वरपर रहेको तथा परिस्थितिसँग हारेर यस्ता व्यक्तिको पासामा नपर्न आग्रह गरिएको पाइन्छ । उपन्यास लिभिङ टुगेदर पढिरहदा कहीँकतै काठमाडौंको ट्राफिक  जाम र बढ्दो महंगीले आम राजधानीका वासिन्दा मारमा परेको गुनासो समेत छर्लङ्ग भेटिन्छ ।

उपन्यासमा जिन्दगीको शुरूवाती चरणमा बिलासिता, यौनमै लिप्त कुमार, साथीहरू सोनु कृष्णा एक मोडमा आएर सबै हार्न पुगेका छन् । कोही यौन रोगका शिकार भए भने कोही लिभिङ टुगेदरबाट आमा बन्ने अनुभव प्राप्त गर्दछन् । उपन्यासका यी पात्रले जीवनको वास्तविक रुप देखाएको छ ।

आफूलाई मात्र बिलास र यौनकै वरिपरि सीमित राखिरहने कुमारका साथी अन्त्यमा आएर ठूलो यौनरोग एचआईभीको शिकार भएका प्रसङ्गबाट जिन्दगी जिउने कला जान्नुपर्नेतर्फ पनि उपन्यासले सचेत गराएको छ । उपन्यासका प्रमुख पात्रको जीन्दगी मैनबत्तिजस्तै उज्यालाका खातिर बल्दाबल्दै शिखाझैं समाप्त हुन्छ ।

उपन्यासमा लेखक जिन्दगीप्रति आशावादी र गतिशील देखिएका छन् । समग्रमा उपन्यासले जीवनको यथार्थ बोलेको छ भने नेपाली समाजले पचाउन नसक्ने लिभिङ टुगेदरलाई सहज ढंगले प्रस्तुत गरिएको छ । 

भदौ २, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस