मनमोहन अधिकारीको विचारले पार्टीलाई कालान्तरसम्म फाइदा हुन्छ - रक्षामन्त्री पोखरेल

चैत ११, २०७५

विराटनगर- उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वर्गीय मनमोहन अधिकारी व्यक्ति एक तर व्यक्तित्व अनेक भएको टिप्पणी गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जिल्ला समिति मोरङद्वारा पूर्वउपप्रधानमन्त्री एवं नेपाली वाम लोकतान्त्रिक आन्दोलनका नेता भरतमोहन अधिकारीको स्मृतिमा सोमवार आयोजित श्रद्धाञ्जलिसभामा पोखरेलले स्वर्गीय अधिकारीले पार्टीलाई जहिले पनि एकजुट गराएर लैजाने प्रयास गरेको स्मरण गरे ।


ADVERTISEMENT

'निकै खारिएका र परिपक्व स्व. अधिकारीको सपना, योगदान र विचारले पार्टीलाई कालान्तरसम्म फाइदा हुन्छ,' पोखरेलले भने, 'राष्ट्र र समाजका लागि गरिने योगदान कहिले पनि खेर जाँदैन । 

सोही श्रद्धान्जली सभामा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले स्व. अधिकारी वाम आन्दोलनका सफल, सक्षम, दक्ष र सहज नेता रहेको बताए । अधिकारीको योगदानले राज्यबाट प्राप्त हुने सेवा र सुविधामा जनताको पहुँच पुगेको उनको भनाइ थियो ।

सफल अर्थमन्त्रीको रुपमा चिनिएका स्व. अधिकारीले २०५१ सालमा बजेटमार्फत नेपाली जनता माझ ल्याएको ‘आफ्नो गाउँ आफै बनाउँ’ नारा अहिलेसम्म लोकप्रिय रहेको मुख्यमन्त्री राईको भनाइ थियो । 

नेकपाका केन्द्रीय सदस्यद्वय गुरु बराल र देवराज घिमिरेले नेपाल कम्युनिष्ट पार्टीका एक इमान्दार, मेहनती र कर्मठ व्यक्तित्व स्व. अधिकारीले समाज विकासका निम्ति अनुकरणीय योगदान गरेको चर्चा गरे ।

स्व. अधिकारीकी धर्मपत्नी सविता अधिकारीले स्व. अधिकारीले संकल्प लिएका विषय पार्टीले पूरा गराउनतर्फ ध्यान जानुपर्नेमा जोड दिइन् । नेकपा मोरङका सदस्य ऋषिराज पोखरेलको अध्यक्षतामा भएको श्रद्धान्जली कार्यक्रममा डा. भेषप्रसाद धमला र डा. प्रमोद झाले स्व अधिकारीको योगदानले मजदुर र किसानको जीवनस्तर उकास्न निकै मद्दत पुगेको विचार व्यक्त गरेका थिए ।

 

चैत ११, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस