सिद्धान्तका रूपमा मान्न सकिए पनि जबज अहिले पार्टी कार्यक्रम हुन सक्दैन

बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक प्रणालीसहितको समाजवादी कार्यक्रम नै आजको नेकपाको कार्यक्रम हुनसक्छ
साउन १९, २०७६

आगामी एकताको महाधिवेशनसम्म माओवाद,जनताको बहुदलीय जनवाद र एक्काइसौं शताब्दीमा जनवादको विकासहरुलाई स्थगित गरिएको छ ।मार्क्सवाद लेनिनवादलाई पार्टीको मार्गदर्शक सिद्धान्तका रुपमा अगाडि सारिएको छ । नेपाल अर्धसामन्ती राष्ट्रिय परिस्थितिमा रहेका वेला अगाडि सारिएको पार्टी कार्यक्रम जनताको बहुदलीय जनवाद,अहिले नेपाली समाज समाजवादी क्रान्तिको चरणमा प्रवेश गरिसकेको अवस्थामा पार्टी कार्यक्रम हुनसक्दैन ।

बहुदलीय प्रतिस्पधात्मक राजनीतिक प्रणालीसहितको समाजवादी कार्यक्रम नै आज पार्टीको कार्यक्रम हुनसक्छ । यस्तो अवस्थामा जनताको बहुदलीय जनवादको सैद्धान्तिक मार्गदर्शन भने अनिवार्य छ । दोस्रो विश्वयुद्ध खासगरी सन् ६०को दशक पछि शुरु भएका कम्युनिष्ट क्रान्तिहरुको समग्र मुल्यांकन गर्दा अबको कम्युनिष्ट आन्दोलन जनतको बहुदलीय जनवादको सैद्धान्तिक मार्गदर्शन विना सफल हुने देखिन्न ।

विषय प्रवेश
भारतको कम्युनिष्ट आन्दोलनले पछिल्लो निर्वाचनमा खाएको धक्का पछि एकातिर नेपाली पूँजीवादीहरु लामो खडेरीमा एकझर पानी परेझैं ठानेर खुशीले गद्गद् हुँदै आगामी निर्वाचनमा नेपालको कम्युनिष्ट आन्दोलन पनि त्यसैगरी ढल्नेछ भन्ने अनुमान लगाउन थालेका छन् भने अर्कातिर दूई ठूला कम्युनिष्ट पार्टीहरुको एकीकरण पछि जुरमुराएर उठेको नेपालको कम्युनिष्ट आन्दोलनका कतिपय व्यक्तिहरु बढि उत्साहीत भएर ५० वर्ष शासन गर्ने हौवा खडा गरेका छन् ।


ADVERTISEMENT

एकीकरणकै समयमा भएको नेपाल कम्युनिष्ट पार्टीभित्रको समझदारीलाई ख्याल नगरी कतिपय कमरेडहरु पार्टी कार्यक्रमका सम्बन्धमा विवादसहित देखापर्न थालेका छन् । उनीहरुले पूर्व कम्युनिष्ट समूहमा विकसित र अहिले स्थगित कतिपय सैद्धान्तिक वैचारिक विषयहरुमा अन्तरपार्टी बहस शुरु गरेका छन् । ती मध्ये पूर्वपार्टीहरुले अगाडि सारेका कार्यक्रम  बढि मुखरित भएका छन् ।

अहिले विवादमा देखापरेका विषयहरुले नेपाल राष्ट्रको ऐतिहासिक विकास क्रमका सम्बन्धमा गम्भीर छलफल आवश्यकतालाई देखाएका छन् । ती मध्ये नेपाली समाज ऐतिहासिक विकासक्रमको सन्दर्भमा कुन युगमा रहेको छ भन्ने विषय एक हो । कतिपयले नेपाली समाज अहिले पनि अर्धसामन्ती युगमा छ भन्छन भने कतिपयले नेपाली समाज पूँजीवादी युगमा प्रवेश गरिसकेको छ भन्ने तर्क अगाडि सारेका छन् । यस्तो अवस्थामा पार्टीका अगाडि नेपाली समाजको ऐतिहासिक विकासक्रमका सम्बन्धमा एउटा निष्कर्षमा पुग्नु पर्ने अवस्था सृजना भएको छ ।

आगामी एकताको महाधिवेशनसम्म माओवाद, जनताको बहुदलीय जनवाद र एक्काइसौं शताब्दीमा जनवादको विकासहरुलाई स्थगित गरिएको छ । ‘मार्क्सवाद लेनिनवाद’लाई पार्टीको मार्गदर्शक सिद्धान्तका रुपमा अगाडि सारिएको छ । नेपाल अर्धसामन्ती राष्ट्रिय परिस्थितिमा रहेका वेला अगाडि सारिएको पार्टी कार्यक्रम जनताको बहुदलीय जनवाद, अहिले नेपाली समाज समाजवादी क्रान्तिको चरणमा प्रवेश गरिसकेको अवस्थामा पार्टी कार्यक्रम हुनसक्दैन । बहुदलीय प्रतिस्पधात्मक राजनीतिक प्रणालीसहितको समाजवादी कार्यक्रम नै आज पार्टीको कार्यक्रम हुनसक्छ । यस्तो अवस्थामा जनताको बहुदलीय जनवादको सैद्धान्तिक मार्गदर्शन भने अनिवार्य छ । दोस्रो विश्वयुद्ध खासगरी सन् ६०को दशक पछि शुरु भएका कम्युनिष्ट क्रान्तिहरुको समग्र मुल्यांकन गर्दा अबको कम्युनिष्ट आन्दोलन जनतको बहुदलीय जनवादको सैद्धान्तिक मार्गदर्शन विना सफल हुने देखिन्न ।

त्यसैगरी नेपालको निरंकुश राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको घोषणालाई पूँजीवादी जनवादी क्रान्ति सम्पन्न भएको मान्ने र नमान्ने विचारमा पार्टीले एउटा निष्कर्ष दिनुपर्ने आवश्यकता टड्कारो रुपमा देखापरेको छ । आधा शताब्दी भन्दा लामो समयसम्म संचालन भएको पूँजीवादी जनवादी क्रान्तिकालमा भएका अनेकौं सधारहरुका कारण नेपालको सामन्ती उत्पादन पद्धति पूँजीवादी उत्पादन पद्धतिमा रुपान्तरण भइसकेको अवस्थामा शान्तिपूर्ण र वैधानिक रुपमा संविधान सभाको पहिलो बैठकले गरेको राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको घोषणाबाट राजनीतिक रुपमा पनि पूँजीवादी जनवादी क्रान्ति सम्पन्न भएको मान्न सकिने कि नसकिने भन्ने विषय गम्भीर बहसमा देखापरेको छ ।

नेपाली समाज सामाजिक आर्थिक रुपमा पूँजीवादीकरण भइसकेको निष्कर्ष निकाल्ने हो भने जनताको बहुदलीय जनवाद, जनताको जनवाद र एक्काइशौ शताब्दीमा जनवादको विकास पार्टी कार्यक्रम हुन सक्नेछैनन् ।

सामाजिक, आर्थिक र राजनीतिक रुपले समाज पूँजीवादीकरण भइसकेको निष्कर्षमा पुग्ने हो भने ऐतिहासिक रुपमा नेपाली समाज समाजवादी क्रान्तिको चरणमा विकसित भएको मान्नु पर्ने हुन्छ । त्यस्तो अवस्थामा पार्टी कार्यक्रम समाजवाद स्थापना गर्ने हुन जान्छ । 

उपर्युक्त विषयहरुलाई मध्येनजर गर्दा कार्यक्रम सम्बन्धि अहिलेको बहस पूँजीवादी जनवादी क्रान्तिको कार्यक्रमलाई पार्टी कार्यक्रम घोषणा गर्ने कि पूँजीवादी जनवादी क्रान्ति सम्पन्न भइसकेको हुनाले समाजवादी रुपान्तरणको कार्यक्रमलाई पार्टी कार्यक्रम घोषणा गर्ने भन्ने देखिन्छ । यद्यपि समाजवादी रुपान्तरणको चरणमा नेपाली समाज पुगिसकेको भए पनि समाजवादलाई अधिकतम् कार्यक्रम बनाउँदै अथवा समाजवादलाई रणनीति बनाउँदै अहिले भने कार्यनीतिक रुपमा पूँजीवादीकरणलाई नै तात्कालिक कार्यक्रम बनाएर जानु पर्छ भन्ने विषय पनि विवादमा रहेको छ ।  

कार्यक्रम सम्बन्धि उपरोक्त विचारहरुलाई अन्यथा लिन जरुरी छैन यी नेपाली क्रान्ति र त्यसको भविष्यसंग सम्बन्धित भएर देखापरेका हुन् । पार्टी एकता संयोजन समितिले एकीकरणभन्दा पहिले नै टुंगो लगाउनु पर्ने यी विषयहरु हुन् । अब पार्टी सक्रियतापूर्वक पार्टी कार्यक्रम कार्यान्वयन गर्ने अवस्थामा आइपुगेको छ । यस्तो अवस्थामा पार्टीले कुन कार्यक्रम कार्यान्वयन गर्ने र कुन राजनीतिक दिशामा कार्यान्वयन गर्दै अगाडि बढ्ने भन्ने विषयहरु तात्कालिक समस्याका रुपमा देखापर्नु स्वभाविक छ ।

कार्यक्रम सम्बन्धि मतान्तर देखापरेकै अवस्थामा भर्खरै प्रकाशित भएको राजनीतिक प्रतिवेदन र पहिले प्रकाशित भएको विधानमा पार्टीको न्यूनतम् कार्यक्रम जनताको जनवाद जुन समाजवाद उन्मुख छ हो भने अधिकतमा कार्यक्रम समाजवाद हो भनेर उल्लेख गरिएको छ । तर न्यूनतम् तथा अधिकतम कार्यक्रम ठोस रुपमा भने प्रस्तुत गरिएको छैन ।

यसले पनि पार्टीभित्र गम्भीर सैद्धान्तिक बहसको आवश्यकतालाई इंगित गरेको छ । कार्यक्रम सम्बन्धि यी मतान्तरहरुले भर्खरै सम्पन्न पार्टी एकीकरणको घोषणालाई नोक्सान पु¥याउन सक्छ कि भनेर पार्टी पंक्तिमा चिन्ता प्रकट भएको पनि छ । तर पार्टीका विभिन्न नीतिगत विषयहरु छलफलका रुपमा प्रकट भइसकेका हुनाले चिन्ता होइन आइसकेका विषयहरुलाई पार्टी नेतृत्वले व्यवस्थित गर्दै अन्तरपार्टी छलफल संचालन गर्नु उपयुक्त हुनेछ । यसले पार्टीको भावनात्मक एकतालाई सुदृढ गर्न ऐतिहासिक भूमिका खेल्नेछ ।

पार्टी एकीकरण ऐतिहासिक सन्दर्भ
पछिल्लो पटक पार्टी एकीकरणमा सामेल दुबै पार्टीका अत्यन्त महत्वपूर्ण ऐतिहासिक सन्दर्भहरु छन् । नेपालको संविधान जारी भएपछि पहिलो आम निर्वाचनमा कम्युनिष्ट पार्टीहरुको भूमिका खोजि गर्ने सन्दर्भ पार्टी एकीकरणको उपयुक्त अवसर बन्न पुग्यो ।

तत्काल निर्वाचनमा जानु पर्ने र जनतालाई पार्टी एकीकरणका निम्ति आश्वस्त पार्दै जनमत प्राप्त गर्नुपर्ने वाध्यात्मक स्थितिका कारण पार्टी एकीकरण गर्ने घोषणा पूर्व दुबै पार्टीका ऐतिहासिक सन्दर्भहरु र आफैले विकास गरेका विचारहरु तथा अवलम्बन गरेका भिन्न भिन्न नीतिहरुका सम्बन्धमा एकीकृत विचार बनाउन सकिने अवस्था रहेन ।

पार्टी एकीकरण सम्बन्धि हतारोले सैद्धान्तिक र बैचारिक पक्षलाई उचित महत्व नदिइदा अहिले घोषणा भए पनि डेढ वर्षसम्म पूर्ण एकीकरण सम्पन्न हुन सकेको छैन ।

त्यस्तो अवस्थामा मार्क्सवाद–लेनिनवादलाई आफ्नो मार्गदर्शक सिद्धान्त मान्दै पूर्व पार्टीहरुले विकास गरेका र अवलम्बन गरेका माओवाद, जनताको बहुदलीय जनवाद र एक्काइसौं शताब्दीमा जनवादको विकासहरुलाई आगामी एकताको महाधिवेशनमा छलफलको विषय बनाउने गरी स्थगित गर्ने सहमतिमा मात्र पार्टीलाई तत्काल एकीकरण गर्ने निष्कर्षमा पुग्न सकियो । 

नेपाल कम्युनिष्ट पार्टी(एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वीच २०७५ साल जेठ ३ गते मदन आश्रित स्मृति दिवसको अवसर पारेर एकीकरण गरियो र एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राखियो । त्यसै दिन औपचारिक रुपमा निर्वाचन आयोगमा गई एकीकृत नयाँ पार्टीलाई कानूनसम्मत दर्ता पनि गरियो ।

त्यसै दिन दुबै पार्टीमा रहेका केन्द्रीय कमिटीका सदस्यहरुलाई मिलाएर ४४१ सदस्यीय नयाँ केन्द्रीय कमिटी पनि निर्माण गरियो । यी दुई पार्टीका वीच औपचारिक रुपमा पार्टी एकीकरणको प्रयत्न २०६३ साल मध्यतिर शुरु गरिएको थियो । दुबै पार्टीका एकीकरण कार्यदलहरुले अनेकौं पटक बैठक गरे । तर २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा नेकपा(एमाले) ले खाएको धक्का र २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) ले खाएको धक्का पछि मात्र दुबै पार्टीले एकीकरणको आवश्यकतालाई गम्भीर रुपमा तात्किालिक महत्वको विषय बनाएर छलफल अगाडि बढाए । अनेक पटक कार्यदलहरुले एकीकरणको टुंगो लगाए पनि पार्टी प्रमुखहरुलाई सहमत गराउन नसक्दा २०७४ साल असोजसम्म एकीकरणका निम्ति पर्खन पर्यो । 

सबैलाई अवगत नै छ नेपाल कम्युनिष्ट पार्टीको स्थापना पुष्पलालको नेतृत्वमा २२ अप्रिल १९४९ तद्नुरुप वि.स. २००६ साल बैसाख १० गते भएको थियो । तर पार्टी विभाजनको विजारोपण २००८ सालमा सम्पन्न पहिलो सम्मेलनमै भएको थियो । २०१७ साल पुष १ गते राजाले संवैधानिक बहुदलीय व्यवस्थालाई समाप्त गरेर निरंकुश तानाशाही व्यवस्था नेपालमा पुनसर््थापना गरेकै समयमा पार्टीमा पहिलो विभाजन देखापर्यो । १७ जनाको केन्द्रीय कमिटीबाट तत्कालिन महासचिव केशरजंग रायमाझीसहितका ९ जना सदस्यले राजाको कदमलाई समर्थन गर्दै पार्टी विभाजन गरे ।

त्यस पछि पार्टीको अनेक पटक विभाजन, अनेक पटक एकीकरण, पुनर्एकीकरण, गठन, पुनर्गठन अनि पून विभाजन पून एकीकरणका अनेकौं घटना परिघटनाहरु देखापरे । त्यसभित्रबाट शुरु भएको झापा संघर्षको आधारमा विकसित भएको नेकपा(एमाले) र जनयुद्धको आधारमा विकसित भएको नेकपा(माओवादी केन्द्र)को एकीकरणबाट वर्तमान नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को उदय भयो ।

नेकपा (एमाले) अनेकौं कम्युनिष्ट समूहहरुको एकीकरणबाट बनेको पार्टी थियो । त्यो पार्टीको पछिल्लो एकीकरण २०४७ साल पुष २२ गते नेकपा(माले) र नेकपा(मार्क्सवादी)का वीच भई नेकपा(एमाले)को विकास भएको थियो । भनिन्छ, झापा संघर्ष २०२८ देखि २०४७ सालसम्म करिब ४५ वटा समूहहरुका वीच एकीकरण भएर नेकपा(एमाले) निर्माण भएको थियो । त्यसैगरी २०३२ साल को चौंथो महाधिवेशनदेखि २०४१ मा माओवादीको जन्म र २०५२ मा शुरु गरेको जनयुद्ध पछि सम्पन्न हेटौंडा महाधिवशन तथा २०७४ सालसम्म करिब १२ वटा कम्युनिष्ट समूहहरुको एकीकरणबाट नेकपा(माओवादी केन्द्र) विकास भएको थियो । 

कम्युनिष्ट पार्टी एकीकरणका अनेकौं घटनामा अनेकौं व्यक्तिहरुको महत्वपूर्ण योगदान रहेको छ । तर आज प्रवृत्तिगत पक्षलाई हेर्दा नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) का वीच भएको एकीकरणको प्रक्रियामा सैद्धान्तिक र वैचारिक पक्षलाई भन्दा राजनीतिक र प्राविधिक पक्षलाई बढि महत्व दिइयो । पार्टी एकीकरण सम्बन्धि हतारोले सैद्धान्तिक र बैचारिक पक्षलाई उचित महत्व नदिइदा अहिले घोषणा भए पनि डेढ वर्षसम्म पूर्ण एकीकरण सम्पन्न हुन सकेको छैन ।

त्यति मात्र होइन एकीकरण घोषणा गर्दा दुबै पार्टीमा रहेका सबै कमिटीहरु, जनवर्गीय संगठनहरु र पेशागत तथा ट्रेड युनियनहरु सबै भंग गरिए । अहिलेसम्म केन्द्रीय कमिटीको दोस्रो बैठक बसेको छैन । करिब ८ लाख पार्टी संगठीत सदस्यहरु डेढ वर्षसम्म असंगठीत रहनु परेको छ । पार्टी गतिविधि राष्ट्रव्यापी रुपमा शून्य छ । 

उपरोक्त अवस्था पार्टीको एकीकरण प्राविधिक रुपमा गर्ने निर्णयको परिणाम हो भन्दा अत्युक्ति हुनेछैन । एकीकरण भागवण्डाको आधारमा गर्ने समझदारी भयो । दुबै पार्टीका अध्यक्ष, अध्यक्ष पदमै रहनु पर्ने व्यवस्था गरियो । केन्द्रीय कमिटीदेखि पार्टी सेलसम्म भागवण्डामै एकीकरण गर्ने काम भइरहेको छ । यो एकीकरणमा दुबै पार्टीभित्र रहेका अनेकौं किसिमका समूहहरुको व्यवस्थापन गर्नुपर्ने भयो ।

पार्टीको अध्यक्षता र सरकारमा सहभागितासमेत प्रमुख नेताहरुले आलोपालो गर्ने सहमति गर्नुभएको विचार बाहिर आइसकेकै छ । जस्लाई सुविधाजनक व्यवस्थापन गर्न नसक्दा आजसम्म पनि संगठनात्मक एकीकरणको काम सम्पन्न हुन सकेको छैन । सरकारले जनतालाई चित्त बुझ्ने गरी राज्य संचालन नगरेका गुनासाहरु प्रशस्तै छन् । यस्तो अवस्थामा पार्टीको संस्थागत संलग्नता सरकार संचालनमा हुन सकेको छैन । केन्द्रदेखि ७ प्रदेश र ७५३ स्थानीय तहका बहुसंख्यक सरकार नेपाल कम्युनिष्ट पार्टीसंग सम्बन्धित छन् । सबै तहका व्यवस्थापिकामा झण्डै दुइतिहाइ बहुमत प्राप्त छ । पार्टीको संगठनात्मक एकीकरण समयमै हुन नसक्दा सबै व्यवस्थापिकाका सदस्यहरु र सरकार पार्टीगत रुपमा होइन व्यक्तिगत रुपमा संचालित भएका हुन् की भन्ने देखिन्छ ।  

केही व्यक्तिहरु ५० वर्षसम्म लगातार कम्युनिष्ट पार्टीले जितिरहनेछ भन्ने कुरा गर्छन । तर ५०/१०० वर्षसम्म लगातार हामी शासन सत्तामा हुनेछौं भन्ने यी भनाईहरुरु यर्थाथ संगत देखिदैनन् ।

अहिले देखापरेका सबै विषयहरु सैद्धान्तिक छैनन् । आएका कतिपय विषयहरु वास्तविक सत्य स्थापित गर्नका निम्ति नभएर निहीत स्वार्थसंग सम्बन्धित अवसरवाद पनि जोडिएका छन् । बहसमा सामेल हुँदै जाँदा सबै वास्तविकता छर्लङ हुँदै जानेछन् । कतिपयले बहसलाई जनताको बहुदलीय जनवाद अथवा ‘जवज’ मान्ने कि नमान्ने भनेर केन्द्रीत गर्न खोजिएको छ ।

यसको एउटा उद्देश्य नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र पूर्व एमाले पंक्तिलाई पूर्व माओवादी पंक्ति विरुद्ध गोलबन्द गर्न खोजिएको हो की भन्ने देखिन्छ । यदि यो अनुमान वास्तविकता भयो भने प्रकारान्तरले एकीकृत भइरहेको कम्युनिष्ट आन्दोलनलाई छिन्नभिन्न पार्न सक्नेछ । डेढ वर्षसम्म नेपालको राजनैतिक इतिहासमा सबैभन्दा सुसंगठीत शक्तिका रुपमा रहेका पार्टीलाई विघठन गरिएको छ, नयाँ पार्टीको संगठनात्मक एकीकरण सम्पन्न हुनसकेको छैन तर एकीकरण गर्न नसकेकोमा कुनै दुख छैन, पश्चाताप पनि छैन, आत्मालोचना छैन, जवाफदेहीताको वोध सम्म पनि छैन । यो भने दुखको पक्ष हो ।

कुनै पनि बस्तु, व्यक्ति र विचारको महत्व बुझ्नलाई त्यसको अनुपस्थितिमा के परिणाम हुन सक्थ्यो, अव पनि त्यो भएन भने परिणाम के हुनसक्छ भन्ने विश्लेषणका आधारमा अनुमान गर्दा प्रष्ट हुन्छ । आजका सबै सम्बन्धहरु बहुआयामिक छन् भनेर कसैलाई घोकाइ रहनु जरुरी छैन । पछिल्लो पटक मुख्य राजनीतिक शक्तिमा रहेका दुई कम्युनिष्ट पार्टी एकीकरणको घोषणा समकालिन विश्व राजनीतिमा ऐतिहासिक महत्वको घटना थियो । यो साम्राज्यवादी किल्लाभित्रै पूँजीवादीहरुलाई जनमतको श्रेष्ठताको आधारमा पराजित गर्ने नयाँ जाज्वल्यमान शक्तिको उदय थियो ।

यो एटोमिक हतियार थिएन र यो लेजर हतियार पनि थिएन तर यो संसारभरिका नयाँ किसिमले मुक्तिका निम्ति लड्न तयार श्रमजीवीहरुका निम्ति सबैभन्दा शक्तिशाली हतियार थियो । त्यसोभएर यसको महत्व पेरीस कम्युन भन्दा, रुसको अक्टुवर क्रान्ति भन्दा र चीनको सफल जनवादी क्रान्ति भन्दा कम थिएन । प्रयोग पछि प्राप्त परिणामले पुुष्टि गर्दछ हामीले घटनाको अनुमान गरेको महत्व सही थियो र छ । हाम्रो अनुमान भविष्यमा पुष्टि भइरहनेछ ।

बहुदलीय प्रतिस्पर्धाको माध्यमबाट पूँजीपति वर्गसंग श्रमजीवी वर्गले शुरु गरेको यो नयाँ किसिमको लडाई अब वर्गयुक्त समाज रहँदासम्म भइरहनेछ । भविष्यमा यस्ता लडाइहरु श्रमजीवी वर्गले अनेक पटक जित्ने र अनेक पटक हार्ने पनि हुनेछन् । जित्ने हार्ने लडाइको यो क्रम लामो समयसम्म चलिरहनेछ जबसम्म संसारमा पूँजीवादको अस्तित्व रहनेछ । केही व्यक्तिहरु ५० वर्षसम्म लगातार कम्युनिष्ट पार्टीले जितिरहनेछ भन्ने कुरा गर्छन । तर ५०/१०० वर्षसम्म लगातार हामी शासन सत्तामा हुनेछौं भन्ने यी भनाईहरुरु यर्थाथ संगत देखिदैनन् ।

जे भएपनि नेपालका दुई ठूला कम्युनिष्ट पार्टीको एकीकरणको संरक्षण अहिले हामी कम्युनिष्टहरुको सबैभन्दा ठूलो कर्तव्य हो र जस्जस्ले नेपाललाई स्वतन्त्र, स्वाधीन र समृद्ध देख्न चाहन्छन् उनीहरुका निम्ति पनि यो त्यत्तिकै महत्वको कर्तव्य हो । सिद्धान्त परित्याग गरेर कोही कम्युनिष्ट बन्न सक्दैन तर यतिवेला साच्चिकै नेपाली जनताको नजरमा कम्युनिष्ट पार्टीको एकता मार्क्सवाद–लेनिनवाद भन्दा पनि महत्वपूर्ण छ, जनताको बहुदलीय जनवाद र अन्य जनवादहरुको त कुरै नगरे हुन्छ । अब बहुचर्चित जनताको बहुदलीय जनावादका सम्बन्धमा बहसलाई केन्द्रीत गरौं ।

के हो जनताको बहुदलीय जनवाद?

बहुदलीय प्रतिस्पर्धासहितको कम्युनिष्ट आन्दोलन संचालन गर्ने सिद्धान्तको नाम हो जनताको बहुदलीय जनवाद । यो सिद्धान्त प्रतिपादनमा मदन भण्डारीको मुख्य योगदान रहेको छ । यसले कम्युनिष्टहरुले विकास गरेको राजनीतिक प्रणालीमा सामन्तवादका विरुद्ध पूँजीपति वर्गको अगुवाइमा विकसित बहुदलीय प्रतिस्पर्धाको प्रणालीलाई प्रतिस्थापन गरेको छ ।

मदन भण्डारीले २०४७ सालमा बहुदलीय जनवादका नाममा र २०४९ सालमा सम्पन्न पार्टीको पाँचौ महाधिवेशनमा “नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद” का नाममा यो विचारलाई व्यवस्थित रुपमा अगाडि सार्नुभएको हो ।  उहाँले यसलाई सामन्तवाद साम्राज्यवाद विरोधी पूँजीवादी जनवादी क्रान्तिको कार्यक्रमका रुपमा अगाडि सार्नुभएको थियो ।

सातौं महाधिवेशनमा यसलाई पार्टीको सिद्धान्त घोषणा गरियो । पार्टीको आठौं महाधिवेशनबाट यो मार्गदर्शक सिद्धान्त बन्यो । त्यसयता क्रान्तिको कार्यक्रमका रुपमा जनताको बहुदलीय जनवाद र नेपाली क्रान्तिको सिद्धान्तको रुपमा जनताको बहुदलीय जनवाद गरी दुई रुप प्रकट भएका छन् । 

यस सम्बन्धमा विचार गर्दा जनताको बहुदलीय जनवादको कार्यक्रमले आफ्नो पूँजीवादी जनवादी ऐतिहासिक सन्दर्भ पार गरेको छ र अहिलेको पार्टी कार्यक्रम हुन सक्दैन । तर जनताको बहुदलीय जनवादले अगाडि सारेका कतिपय महत्वपूर्ण विषयहरु समाजवादी कार्यक्रमका पनि अभिन्न अंग बन्ने कुरा निश्चित छ । 

कार्यक्रमका रुपमा जनताको बहुदलीय जनवाद

पार्टी कार्यक्रमका सम्बन्धमा संक्षिप्त विश्लेषणात्मक चर्चा गरौं । क्रान्ति सम्पन्न गरेपछि पुरानो प्रतिक्रियावादी सामाजिक आर्थिक व्यवस्थाका ठाउँमा स्थापना गरिने नयाँ सामाजिक आर्थिक व्यवस्थाको सामग्रिक कामहरुको नाम कार्यक्रम हो ।

यो एमालेको पाँचौ महाधिवेशनका दस्तावेजहरुमा धेरै ठाउँमा उल्लेख भएको पनि छ । नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद, सबभन्दा पहिले नेकपा(एमाले)को कार्यक्रमको रुपमा जनताका वीच ल्याइयो । यसले सामन्तवाद साम्राज्यवाद विरोधी सामाजिक आर्थिक व्यवस्थालाई सविस्तार प्रस्तुत ग¥यो । यस्तो कार्यक्रमलाई कतिपय देशमा नयाँ जनवाद, कतिपय देशमा राष्ट्रिय जनवाद र अन्य कतिपय देशमा जनताको जनवाद पनि भनिएको छ ।

नेपालमा अरुले भन्दा केही थप विशेषताका रुपमा बहुदलीय प्रतिस्पर्धा समावेश गरेको हुनाले अरु भन्दा फरक देखाउन पनि क्रान्ति पछिको कार्यक्रमको नाम ‘जनताको बहुदलीय जनवाद’ राखेका छौं भनेर मदन भण्डारीले आफ्ना रचनाहरुमा उल्लेख गर्नुभएको छ । अहिले नेपालमा पूँजीवादी जनवादी राजनीतिक क्रान्ति मात्रै हैन, सुधारका माध्यमबाट सामाजिक आर्थिक क्रान्ति पनि सम्पन्न भइसकेको छ । ऐतिहासिक भौतिकवादबाट मार्गदर्शन लिने हो भने अहिले नेपाली क्रान्ति समाजवादी चरणमा प्रवेश गरेको छ । तर प्रमुख शक्तिका रुपमा नेकपाको उदय भइसकेको र सामाजिक आर्थिक रुपान्तरण समाजवाद उन्मुख हुनुपर्ने नेपालको संविधानमा उल्लेख भइसकेको हुनाले अब फेरि समाजवादी राज्यक्रान्ति गर्न जरुरी छैन ।

शान्तिपूर्ण र वैधानिक बाटोबाट श्रमजीवी वर्गको समाजवाद निर्माण गर्न सकिने अवस्थामा फेरि राजनीतिक क्रान्ति गर्नु भनेको प्रतिक्रान्ति र प्रतिगमन भन्दा अर्को हुदैन । यस्तो अवस्थामा समाजवाद रणनीतिक लक्ष्य हैन तात्कालिक ठोस कार्यक्रम बनेको छ । अहिले लोकतान्त्रिक मुल्य–मान्यतामा आधारित समृद्ध समाजवाद निर्माण गर्ने कार्यदिशा नै नेकपाको राजनीतिक कार्यदिशा हो ।

यस सम्बन्धमा विचार गर्दा जनताको बहुदलीय जनवादको कार्यक्रमले आफ्नो पूँजीवादी जनवादी ऐतिहासिक सन्दर्भ पार गरेको छ र अहिलेको पार्टी कार्यक्रम हुन सक्दैन । तर जनताको बहुदलीय जनवादले अगाडि सारेका कतिपय महत्वपूर्ण विषयहरु समाजवादी कार्यक्रमका पनि अभिन्न अंग बन्ने कुरा निश्चित छ । 

सिद्धान्तका रुपमा जनताको बहुदलीय जनवाद

नेकपा(एमाले)को पाँचौ महाधिवेशनमा प्रस्तुत नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवादमा थप विशेषताहरु भन्दै, संविधानको सर्वोच्चता, बहुलवादी खुला समाज, शक्ति पृथककीरणको सिद्धान्त, मानवअधिकारको रक्षा, बहुदलीय प्रतिस्पर्धाको प्रणाली, आवधिक निर्वाचन, बहुमतको सरकार र अल्पमतको विपक्ष, कानूनको शासन, जनताको जनवादी व्यवस्थाको सुदृढिकरण, विदेशी पूँजी र प्रविधि, क्षेतिपूर्ति, विदेश नीति, नेतृत्व र अधिनायकत्व र जनतको बहुदलीय जनवाद समेत गरी १४ विशेषताहरु अगाडि सारिएको थियो ।

त्यसवेलासम्म यी विशेषताहरु मध्ये बहुदलीय प्रतिस्पर्धाको प्रणाली, बहुमतको सरकार र अल्पमतको विपक्ष तथा बहुलवादी खुला समाज जस्ता अधिकांश विषयहरुलाई संसारका कुनै पनि देशका कम्युनिष्ट पार्टीले आफ्नो क्रान्तिको कार्यक्रमका रुपमा अगाडि सारेका थिएनन् । बरु उनीहरुका दस्तावेजमा संसारभरका पूँजीवादीहरुहरुले यस्ता विषय अगाडि सारेर सर्वहारा–श्रमजीवीहरुलाई भ्रममा पारेका छन् भनेर भण्डाफोर गरेको पाइन्छ ।

नेपालका अन्य कम्युनिष्ट पार्टीहरुले पनि उपरोक्त लोकतान्त्रिक मुल्य–मान्यता प्रति प्रतिवद्धता व्यक्त गरका छैनन् । तर मदन भण्डारीले उपरोक्त १४ विशेषताहरुलाई नेपालमा समाजवाद विकास हुँदा पनि अवलम्वन गर्ने प्रतिवद्धता सहित अगाडि सार्नु भएको थियो । अहिले नेपालको कम्युनिष्ट आन्दोलन कतिपय विषयमा १४ विशेषताहरु भन्दा अगाडि बढिसकेको छ ।

यी विशेषताहरुलाई नेकपाले नेपाली विशेषताको समाजवादमा पनि अवलम्बन गर्ने प्रतिवद्धता व्यक्त गरिसकेको छ । यसमा ध्यान दिनुपर्ने विषय के हो भने मदन भण्डारीले जनताको बहुदलीय जनवादलाई अगाडि सार्दा पनि केवल कार्यक्रमको खाकालाई मात्र जनताको बहुदलीय जनवाद भन्नु भएको थिएन । मदन भण्डारीले यी सबै विषयहरु मार्क्सवाद लेनिनवाद सम्मत छन् भनेर पुष्टि गर्न जुन जुन सैद्धान्तिक मान्यता र नयाँ सैद्धान्तिक प्रस्थापनाहरु अगाडि सार्नु भयो तिनिहरुको सामग्रीक नामका रुपमा जनताको बहुदलीय जनवादको सिद्धान्त देखापरेको हो ।

जनताको बहुदलीय जनवादको यो सैद्धान्तिक पक्षलाई ओझेलमा पारेर १४ विशेषतालाई मात्र अगाडि सार्ने हो भने नेकपा कम्युनिष्ट होइन कांग्रेस बन्ने छ । किनभने यी विषयहरु संसारभरका पूँजीवादी पार्टीहरुले हामी भन्दा २०० वर्ष पहिले अगाडि सारिसकेका छन् । नेपाली कांग्रेसले यी विषयहरुलाई आफ्नो कार्यक्रममा शुरुदेखि अहिलेसम्म समावेश गरेकै छ ।

नेपाली पूँजीवादी जनवादी क्रान्तिको कालमा जनताको बहुदलीय जनवादलाई क्रान्तिको कार्यक्रमको रुपमा अगाडि सार्दा यसको मुख्य रुप सामन्तवाद साम्राज्यवाद विरोधी थियो । त्यो कार्यक्रम आज पनि अवलम्बन गर्ने भन्ने कुरा यथार्थ सम्मत छैन । तर जनताको बहुदलीय जनवादको सैद्धान्तिक मार्गदर्शन, आज मात्र हैन, समृद्ध समाजवाद निर्माणको सुदुर भविष्यसम्म पनि आवश्यक परिरहनेछ । 
रुसको समाजवादी क्रान्ति र चीनको जनवादी क्रान्ति पछि विशेष राष्ट्रिय परिस्थितिमा बहुदलीय प्रतिस्पर्धामा आधारित राजनीतिक प्रणाली अवलम्बन गरिएन ।

त्यसपछि संसारभरिका कम्युनिष्ट पार्टीहरुभित्र एकदलीय राजनीतिक प्रणाली नै जनवादी र समाजवादी व्यवस्थाका राजनीतिक प्रणाली हुन भन्ने मान्यता स्थापित गरियो । नेपालका कम्युनिष्ट पार्टीहरुमा पनि त्यही भ्रम गहिरो गरी स्थापित भयो । तर नेपालको राष्ट्रिय अवस्था र सोभियत संघमा कम्युनिष्ट पार्टीको असफलताबाट शिक्षा लिदै मदन भण्डारीको नेतृत्वमा रहेको नेकपा(एमाले) ले भ्रमका विरुद्ध खडा हुँदै बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणाली अवलम्बन गर्ने घोषणा ग¥यो ।

मदन भण्डारी बाहेक पार्टी नेतृत्वका खम्बा मानिएका ठूलो अपराध गरिएछ त्यस्तो घोषणा गरेर भन्दै थरथर काम्न थाले । तर मदन भण्डारी किन्चित विचलित हुनुभएन ।

त्यस पछि नेपालका अन्य कम्युनिष्ट पार्टी र पूँजीवादी पार्टीहरुले बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणाली अवलम्बन गरेका हुनाले अब नेपाल कम्युनिष्ट पार्टी(एमाले) कम्युनिष्ट सिद्धान्तबाट पतन भयो भनेर ठूलो हल्ला चलाए । त्यसको प्रभाव पार्टीभित्रै गहिरो गरी पर्यो । त्यसले भर्खर एकीकरण भएको पार्टीको एकतामा पनि समस्या उत्पन्न हुने खतरा देखापर्यो ।

यी सबै अवस्थालाई मध्येनजर गर्दै मदन भण्डारीले बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणाली मार्क्सवाद लेनिनवाद सम्मत छ भनेर जुन सिद्धान्त अगाडि सार्नुभयो तिनीहरुको समष्टिगत नाम नै जनताको बहुदलीय जनवाद हो । पार्टीभित्रका कतिपय बरिष्ट नेताहरु र कार्यकर्ताहरुको एउटा पंक्तिले यो सैद्धान्तिक पक्षलाई मान्न अस्विकार गरिरहे । वास्तवमा जनताको बहुदलीय जनवादको सिद्धान्त अहिले र भविष्यसम्मका निम्ति पनि मार्गदर्शक सिद्धान्त बनाइएन भने अबको कम्युनिष्ट आन्दोलन सफल हुने सम्भावना छैन । 

यस सम्बन्धमा ऐतिहासिक सन्दर्भहरुको जानकारी आवश्यक छ । कार्यक्रमका रुपमा जनताको बहुदलीय जनवादका आधारभूत पक्षहरु सबै तत्कालिन माले र मार्क्सवादी वीच भएको एकीकरण पछि नेकपा(एमाले) का तर्फबाट जारी गरिएको घोषणापत्रमा स्पष्ट उल्लेख गरिएको छ । मौलिक अधिकार, मानवअधिकार, बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणाली, संविधानको सर्वोच्चता आवधिक निर्वाचन आदि सबै घोषणापत्रमा उल्लेखित छन् ।

त्यसपछि नेपाली काँग्रेस र अन्य कम्युनिष्ट समूहहरुले नेकपा(एमाले) भाई कांग्रेस भयो भनेर व्यापक प्रचार शुरु गरे । रुसी र चीनियाँ क्रान्तिको नमूनामा क्रान्ति सम्पन्न गर्ने सपनामा रमाएका पार्टी कार्यकर्तालाई पार्टी अब सिद्धान्तबाट विचलित भयो भन्ने लाग्यो । जहाँसुकै प्रश्न उठ्यो–पार्टीले किन संशोधनवादी बाटो समात्यो ? स्थिति यस्तो भयो कि कोही कार्यकर्ता कांग्रेस बने, कोही अन्य क्रान्तिकारी भनिने कम्युनिष्ट पार्टीमा जान थाले ।  

मदन भण्डारी बाहेक पार्टी नेतृत्वका खम्बा मानिएका ठूलो अपराध गरिएछ त्यस्तो घोषणा गरेर भन्दै थरथर काम्न थाले । तर मदन भण्डारी किन्चित विचलित हुनुभएन । त्यसपछि उहाँले पार्टीको घोषणा मार्क्सवाद–लेनिनवाद सम्मत छ भन्ने अनेक तर्क अगाडि सारेर ‘बहुदलीय जनवाद बारे’ भन्ने पुस्तिका पार्टीको नाममा प्रकाशित गर्नुभयो । त्यो व्यापक रुपमा वितरण पनि गरियो ।

त्यसले पार्टीका पक्षमा दृढतापूर्वक अडिग रहन र वैचारिक संघर्षमा दृढबल प्रदान ग¥यो । तर बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणाली जनवाद र समाजवादमा समेत अवलम्बन गर्ने विषय घोषणा पत्रमा उल्लेख गरेर ठूलो गल्ती गरिएछ भनि ठान्नेहरुले केन्द्रीय कमिटीमा मदन भण्डारीले अगाडि सार्नुभएको बहुदलीय जनवाद बारे भन्ने दस्तावेजलाई अस्विकार गर्नुपर्छ भनेर प्रस्ताव अगाडि सारे । झिनो मतको अन्तरबाट त्यो प्रस्ताव अस्विकृत भयो ।

मार्क्सवादका तीन अभिन्न अंग छन् । ती मध्ये पहिलो हो द्वन्द्वात्मक भौतिकवादी दर्शन, दोस्रो हो राजनीतिक अर्थशास्त्र र तेस्रो हो वैज्ञानिक समाजवाद । तीनै अंगमा जनताको बहुदलीय जनवादले थप योगदान गरेको छ र मार्क्सवाद लेनिनवाद थप समृद्ध भएको छ ।

तर त्यो प्रस्तावका पक्षधरहरुले पाँचौ महाधिवेशन र त्यसपछि पनि जनताको बहुदलीय जनवादलाई विरोध गरिरहे । पार्टीको पाँचौ महाधिवेशनमा मदन भण्डारीले भने त्यो विचारलाई अरु थप परिमार्जन गरेर क्रान्तिको कार्यक्रम र राजनीतिक प्रतिवेदनमा त्यसका सिद्धान्तहरु समावेश गर्नुभयो । त्यसयता जनताको बहुदलीय जनवादका सैद्धान्तिक पक्षमा कतिपय व्यक्तिहरुले तर्कयुक्त लेखहरु  प्रकाशित पनि गरेका छन् । 

मदन भण्डारीले जनताको बहुदलीय जनवाद सम्बन्धि आफ्ना रचनामा द्वन्द्ववादका नियमहरुलाई अत्यन्त सशक्त रुपमा राख्नु भएको छ । उहाँले भन्नु भएको छ– हरेक बस्तुका सार र रुप भएजस्तै राज्यसत्ताको पनि सार र रुप हुन्छ । राज्यसत्ताको रुप शासन प्रणाली हो भने सार वर्गीय पक्षधरता हो । मानवजातिले विकास गरेको बहुदलीय प्रतिस्पर्धाको शासन प्रणाली एक लोकप्रिय प्रणाली हो । यसलाई राजनीतिक व्यवस्था भित्र देखापर्ने द्वन्द्व व्यवस्थापनका लागि पनि प्रभावकारी रुपमा प्रयोग गर्न सकिन्छ ।

बहुदलीय प्रतिस्पर्धाको शासन प्रणाली अवलम्बन गरेर सर्वहारा श्रमजीवी वर्गको वर्गीय स्वार्थको रक्षा अरु राम्ररी गर्न सकिन्छ । राजनीतिक व्यवस्थामा द्वन्द्व व्यवस्थापन झनै राम्ररी गर्न सकिन्छ । मदन भण्डारीले अगाडि सारेका विचारहरुलाई मार्गदर्शक सिद्धान्त मान्न सकिन्न भन्ने कतिपय व्यक्तिहरुले सिद्धान्त मान्नका निम्ति त्यसले मार्क्सवादका तीन अभिन्न अंगमा थप योगदान गर्नसक्नु पर्छ भनेर आफुलाई प्रस्तुत गरेको पनि पाइन्छ । तर जनताको बहुदलीय जनवादको सिद्धान्तले मार्क्सवादका तीन अभिन्न अंगमा थप योगदान गरेको छ ।

मार्क्स र एंगेल्सको देहावसान पछि मार्क्सवादका सैद्धान्तिक पक्षमा रुसमा क्रान्ति र समाजवाद निर्माणका सन्दर्भमा विकसित लेनिनका विचारहरुले मार्क्सवादी सैद्धान्तिक भण्डारमा केही महत्वपूर्ण थप योगदान भएको निष्कर्ष निकालियो र त्यसलाई लेनिनवाद नामाकरण गरियो । त्यसैगरी राष्ट्रिय स्वतन्त्रता, कृषि क्रान्ति र लोकतन्त्रका सन्दर्भमा चीनको कम्युनिष्ट पार्टीका नेता माओत्सेतुङका विचारहरुलाई मार्क्सवाद–लेनिनवादका सैद्धान्तिक भण्डारमा थप योगदानका रुपमा ग्रहण गर्दै माओत्सेतुङ विचाराधारा भनियो ।

त्यस्तै २० औं शताब्दीको उत्तरार्ध र २१ औं शताब्दीको शुरुवातमा विकसित विश्वपरिस्थितिका सन्दर्भमा नेपालको राष्ट्रिय घेराभित्र भएपनि कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने क्रममा अगाडि आएका मदन भण्डारीका विचारहरुले मार्क्सवाद–लेनिनवादका सैद्धान्तिक भण्डारमा थप योगदान गरेको निष्कर्ष निकाल्दै ती योगदानहरुको नामाकरण जनताको बहुदलीय जनवाद गरियो । लेनिनवाद र माओतसेतुङ विचारधारा, मार्क्सवादका छुट्टै सिद्धान्त नभए जस्तै जनताको बहुदलीय जनवाद पनि मार्क्सवाद लेनिनवाद भन्दा छुट्टै विचार होइन । तर यो प्रश्न त जबरजस्त रुपमा उठ्छ नै जनताको बहुदलीय जनवादले मार्क्सवाद लेनिनवादमा गरेका थप योगदानहरु के हुन ?

मार्क्सवादका तीन अभिन्न अंग छन् । ती मध्ये पहिलो हो द्वन्द्वात्मक भौतिकवादी दर्शन, दोस्रो हो राजनीतिक अर्थशास्त्र र तेस्रो हो वैज्ञानिक समाजवाद । तीनै अंगमा जनताको बहुदलीय जनवादले थप योगदान गरेको छ र मार्क्सवाद लेनिनवाद थप समृद्ध भएको छ ।

द्वन्द्वात्मक भौतिकवादी दर्शनमा जनताको बहुदलीय जनवादले थपेको महत्वपूर्ण योगदान राज्यसत्तामा द्वन्द्ववादको प्रतिस्थापन हो, त्यसैगरी राजनैतिक अर्थशास्त्रमा जनताको बहुदलीय जनवादको थपेको योगदानको नाम हो क्रमिक आर्थिक विकास र त्यस्तै वैज्ञानिक समाजवादमा जनताको बहुदलीय जनवादले थपेको योगदानको नाम हो बहुलवादी खुला समाज ।

राज्यसत्तामा द्वन्द्ववादका नियमहरुको प्रतिस्थापनबाट प्रतिस्पर्धात्मक राजनीतिक प्रणाली राज्यसत्ताको अस्तित्व रहँदासम्म कायम रहने विचार विकसित भएको छ, क्रमिक आर्थिक विकासको आधारलाई अवलम्बन गरेपछि संसारमा पूँजीवादको अस्तित्व रहँदासम्म समाजवादले पूँजीवादसंग प्रतिस्पर्धा र सहकार्य गरेरै आफुलाई विकास र संरक्षण गर्न सक्छ भन्ने विचार विकसित भएकोछ र बहुलवादी खुला समाजको अवधारणाबाट भावि परिकल्पित साम्यवादी समाजमा वर्ग संघर्ष नभएपनि पुराना र नयाँ, पश्चगमन र अग्रगमन तथा यथास्थिति र गतिशीलता वीच निरन्तर संघर्ष भइरहने र त्यसले त्यो समाज निरन्तर विकसित भइरहने विचार विकसित भएको छ ।

जनताको बहुदलीय जनवादका उपरोक्त सिद्धान्तहरुले २१औं शताब्दीका विशेषतामा मार्क्सवाद–लेनिनवादलाई मानवजातिको परिवर्तन र विकासमा सदा मार्गदर्शक सिद्धान्त बन्न महत्वपूर्ण योगदान गरेका छन् । यी विचारधाराहरुका कारण २१औं शताब्दीको अन्त्यसम्ममा विश्वव्यापी समाजवाद स्थापनाको अनुमान सम्भव भएको छ ।

साउन १९, २०७६ मा प्रकाशित

वामदेव गौतम

गौतम नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं पूर्व उपप्रधानमन्त्री हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस