×

NMB BANK
NIC ASIA

तराईको एउटा 'भाइब्रेन्ट' नगर

स्वतन्त्र चुनाव जितेका बर्दिबासका मनकारी मेयर– सरकारी गाडी सुत्केरी ओसार्न दिए, लिँदैनन् तलबभत्ता

‘पूर्वाधार विकासमार्फत ५ वर्षमा नगरलाई नमूना बनाउँछु’

काठमाडाैं | माघ २२, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

प्रसुतीको अपरेसन गराएर घर पुगेकी नगरवासी महिला प्यारालाइसिसले थलिएको थाहा पाएपछि प्रह्लादकुमार क्षेत्री डाक्टर लिएर बर्दिबास ८ स्थित बिरामीको घरमै पुगे । घरबाट बर्दिबास अस्पतालमा ल्याएर बिरामीको उपचार गरे । आफ्नै घरबाट खाने कुरा र खसीको खुट्टाको झोल ल्याएर खुवाए । थप उपचारका लागि डाक्टरले काठमाडौं लैजान सिफारिश गरेपछि क्षेत्रीले आफ्नो निजी गाडीमा हालेर उपचार गर्न पठाए, निजी खर्चमा । काठमाडौंको अस्पतालमा एक साता बसेपछि बिरामी (अनिता सापकोटा) निको भएर पूर्ववत् अवस्थामा फर्किन । उनी अहिले आफ्नो घरधन्दा गरेर बसेकी छिन् ।

Muktinath Bank

यसरी आर्थिक अवस्था कमजोर भएका विरामीलाई उपचारमा सहयोग गर्ने क्षेत्री हुन्, महोत्तरीको बर्दिबास नगरपालिका मेयर । २०७९ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र चुनाव जितेका क्षेत्री यस्तै सामाजिक कामले स्थानीयमाझ परिचित र लोकप्रिय छन् । उनले उपचारमा सहयोग गरेको यो मात्र होइन, कयौं उदाहरण छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बर्दिबास ६ की शारदा बस्नेत हिँड्दाहिँड्दै हातखुट्टा नचल्ने भएर लडिन् । आर्थिक अवस्था कमजोर रहेको परिवारले उपचार गरे पनि सञ्चो हुँदैन भनेर गाउँमै झारफुक गरेर राखेका रहेछन् । झारफुक गरेर बिरामीलाई घरमै राखिएको थाहा पाएपछि मेयर क्षेत्रीले उपचारको अग्रसरता लिए । ‘अस्पतालमा लगे पनि सञ्चो हुने होइन भनेर माया मारेर परिवारका सदस्य झारफुकमा लागेका रहेछन् । त्यो थाहा पाएर घरमै गएर उपचार गरौं, म सहयोग गर्छु भनेर काठमाडौं पठाएँ, केही समय उपचार गरेपछि अहिले सकुशल भएर काम गरिरहनुभएको छ’ क्षेत्रीले सुनाए ।  


Advertisment
Nabil box
Kumari

बर्दिबासमा समाजसेवीको पचिहान बनाएका क्षेत्री २०७९ सालको स्थानीय तह चुनावमा सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारलाई पराजित गरेर मेयर बने । उद्योग वाणिज्य संघ बर्दिबासको अध्यक्ष तथा अन्य संघ–संस्थामा काम गरेको सक्रियताका कारण उनले चुनावमा बाजी मारे । ‘जेब्रा’ चुनाव चिह्न लिएर स्वतन्त्र लडेका क्षेत्रीलाई स्थानीयले भरपूर सहयोग गरे । माओवादीको गढ मानिएको क्षेत्रमा स्वतन्त्र ढंगले मेयर जित्नुको पछाडि पुरानो कहानी छ, रातारात मालपोत कार्यालय बर्दिबासमा ल्याउने कामको अगुवाइ । 

Vianet communication
Laxmi Bank

सरकारले बर्दिबासमा एकीकृत सेवा केन्द्र स्थापना गर्ने निर्णय गर्‍यो । तर, मालपोत र नापी कार्यालय नभएपछि जिल्लाको उत्तरी भेगका सर्वसाधारणलाई सदरमुकाम जलेश्वर पुग्नैपर्ने बाध्यता मेटिएन । क्षेत्री लगायतको समूहले रातिको समयमा मालपोत कार्यालयका फाइल बर्दिबासमा सारे, जसका कारण बर्दिबासको चहलपहल ह्वात्तै बढ्यो । 

त्यसका अतिरिक्त २०७२ सालमा भएको नाकाबन्दीको समयमा बर्दिबासमा ग्यास र पेट्रोल सहज गरे ।

‘आपूर्ति सहज गरेको भनेर आन्दोलनकारीले मेरो घरमा कालोझण्डा गाडेका थिए,’ क्षेत्रीले स्मरण गरे । त्यतिबेला उनी उद्योग वाणिज्य संघ बर्दिबासको अध्यक्ष थिए । व्यापार व्यवसायबाट राम्रो कमाइ गरेका क्षेत्रीले गाउँटोलमा संघ संस्था, मन्दिर र क्लबलाई चन्दा तथा अन्य सहयोग गरेका थिए । त्यही बलमा उनी स्वतन्त्र ढंगले मेयर निर्वाचित भए । 

चुनाव जितेलगत्तै उनले घोषणा गरे, मेयरको सरकारी गाडी चढ्दिनँ, त्यो गाडी बर्दिबास अस्पतालमा बच्चा जन्माउन आउने सुत्केरीलाई घर पुर्‍याउन प्रयोग गर्छु । शपथ ग्रहणमा गरेको वाचाअनुसार उनले मेयर चढ्दै आएको बा २ झ ३७६१ नम्बरको गाडी बर्दिबास अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयनारायण शर्मालाई हस्तान्तरण गरे ।

null

अहिले उनी निजी गाडी चढ्छन् र सरकारी गाडी सुत्केरी ओसार्न प्रयोग भइरहेको छ । बर्दिबास अस्पताल मध्य तराईमा खासगरी प्रसुतीका लागि चर्चित छ । सर्लाही, रौतहटदेखि सिन्धुलीसम्मका महिला प्रसुतीका लागि बर्दिबास अस्पताल पुग्ने गरेका छन् ।

‘हिजोका दिनमा गाईवस्तु चर्ने अस्पतालमा अहिले सिन्धुली, सर्लाही, धनुषासम्म र सर्लाही तथा रौतहटसम्मका बिरामी आउँछन् । नगर अस्पतालमा बर्दिबास अस्पताल देशभरीमै दोस्रो हो,’ उनले थपे ।

सुत्केरी गराउन ल्याउने र सुत्केरी भएपछि घरसम्म पुर्‍याउने काम त्यही गाडीले गरिरहेको छ । नगरवासीलाई अस्पतालमा प्रयोग हुने रगत निःशुल्क गरिएको छ । सुत्केरी ओसार्न गाडी दिएका कारण स्थानीयवासीमाझ मेयरको लोकप्रियता बढेको छ । 

‘काठमाडौंका बालेन र हर्क साम्पाङको मात्र चर्चा हुन्छ, यहाँको मेयरले पनि नगरवासीको मन जित्ने काम गरेका छन्,’ स्थानीय सीता बस्नेतले भनिन्, ‘प्रह्लादले गरेका कामबाट अहिलेसम्म यहाँका मतदाता सन्तुष्ट छन् ।’ 

जेब्रा चिह्न लिएर चुनाव लडेका क्षेत्री १४ हजार २१० मत पाएर विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी माओवादीका राजु खड्काले ८ हजार २ सय ३२ मत पाएका थिए । उपमेयरमा पनि क्षेत्री समूहबाटै स्वतन्त्र चुनाव लडेकी तारादेवी महतो विजयी भएकी थिइन् ।

बर्दिबास अस्पतालमा मेयर क्षेत्री

शिक्षामा बालेनले गर्न नसकेको काम

नगरपालिकाभित्रका सामुदायिक स्कूलको प्रधानाध्यापक नियुक्तिमा बर्दिबास नेपालकै पहिलो पालिका भएको छ । काठमाडौं महानगरका मेयर बालेन साहले यो प्रयास गरेपनि सर्वोच्च अदालतले कार्यान्वयनमा रोक लगाएको छ । बर्दिबास नगरपालिकाले कानून बनाएर ५२ वटा स्कूलमा प्रधानाध्याक नियुक्त गरेको छ । स्कूल सुधारको प्रस्तावसहित खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गरिएको हो । 

नगरपालिकाभित्रको देउराली माविको सञ्चालक समितिका अध्यक्ष राजु तामाङले शिक्षा क्षेत्रमा बर्दिबासमा आमूल सुधार भएको बताए । 

‘माविमा प्राविको हेडमास्टर थिए, उनीहरूले माविको शिक्षक आउन नदिने काम गरेका थिए । त्यस्तो शिक्षकबाट विद्यार्थीले कस्तो शिक्षा पाउँथे होला ?’ तामाङले लोकान्तरसँग भने, ‘५ वर्षमा नभएको काम २१ महिनामा भएको छ । विद्यालय शिक्षा सुधारको क्षेत्रमा निकै प्रगति भएको छ । यसले पढाइको स्तर बढाउने अपेक्षा राखेका छौं ।’

नगरपालिकाले आफ्नै स्रोतसाधनमा सय जना शिक्षक थप गरेको छ । प्राविमा ५ जनाको दरबन्दी, निमाविमा थप ३ जना र माविमा थप ५ जना गरेर प्लसटूसम्म सञ्चालित स्कूललाई १३ जना दरबन्दी कायम गरिएको छ । यसका लागि स्रोत व्यवस्थापन गर्न हम्मेहम्मे परेको मेयर क्षेत्रीले बताए । ‘संघीय सरकारबाट आउने ४४ करोड अनुदानमध्ये झण्डै ३० करोड हाराहारी शिक्षामै खर्च गरेका छौं, जसबाट नगरपालिकाभित्रका सामुदायिक विद्यालयको गुणस्तरमा व्यापक सुधार हुने अपेक्षा राखेका छौं,’ मेयर क्षेत्रीले लोकान्तरसँग भने । 

चालू आर्थिक वर्षमा संघबाट आउने नगद अनुदान १४ वडालाई ६० लाखको दरले बाँड्ने निर्णय भएको छ । जनताको आवश्यकता र अपेक्षाको तुलनामा संघ र प्रदेशबाट आउने स्रोत निकै कम भएको क्षेत्रीले बताए । 

पूर्वाधार विकासमा फड्को 

२१ महिनामा भएको काम पूर्वाधार विकास हो, पूर्वपश्चिम महेन्द्र राजमार्ग र पूर्वी तथा तराईको संगम भए पनि बर्दिबासका केही वडा अति दुर्गम छन् । महोत्तरी जिल्लाको सम्पूर्ण चुरे क्षेत्र यही नगरपालिकामा पर्छ, जहाँ अति दुर्गम क्षेत्र पनि छन् । 

बर्दिबास बजारबाट चुरे क्षेत्रका ती वडामा पुग्नै २ घण्टा लाग्छ । ती ठाउँमा समेत बाटो पुर्‍याउने र कालोपत्रे गर्ने कामको नेतृत्व मेयरले गरेका छन् । 

‘म मेयर निर्वाचित भएर आएपछि पूर्वाधार विकासमा धेरै काम भएका छन्, मतदातासँग गएर बुझ्दा पनि हुन्छ । वडाका टोल टोलको बाटो पक्की भएको छ,’ क्षेत्रीले भने, ‘वडा नम्बर १० र ११ का छाड्के, झ्याउरे भाङरेलाई पनि नियमित यातायात सञ्चालन गर्नेगरी सडक विस्तार गरेका छौं ।’ 

null

समयमा काम पूरा गर्न नसकेर कालोसूचीमा पर्न लागेका ठेकेदारलाई समेत व्यक्तिगत पहलमा स्रोत जुटाइदिएर पनि मेयरले विकास निर्माणका काम पूरा गरेका एक स्थानीयले बताए । ‘ठेक्का पारेर लामो समयदेखि बाटो र पुल अलपत्र पारेका थिए, मेयरसाप आफैंले सरसामाग्री जुटाइदिएर अलपत्र काम पूरा गर्न लाग्नुभएको छ,’ एक स्थानीयले भने । 

सडक, विद्युत पोल र सिञ्चाइ अहिले जनताको मुख्य चासो र सरोकारको विषय रहेको उनले बताए । ‘मतदाताकोमा पुग्दा जनताको अपेक्षा बाटो र सिञ्चाइ तथा बोरिङ र इनार हुने गरेको छ । रोजगारीको कुरा पनि उत्तिकै टड्कारो छ,’ मेयर क्षेत्रीले भने, ‘पूर्वाधारमा केही कमी हुन दिँदिनँ । जागिर मैले दिन सक्दिनँ, नगरपालिका जहाज हो धेरै लोड गर्नु हुँदैन भन्दै आएको छु ।’ 

क्षेत्री मेयर निर्वाचित भएपछि बर्दिबासमा रासायनिक मल वितरण व्यवस्थित भएको छ । वडाध्यक्षको सिफारिशका आधारमा मल बेच्ने निर्णय गरेपछि किसानले सहज ढंगले मल पाइरहेका छन् । ‘खाद (रासायनिक मल) वितरणमा पहिला सहकारी संस्थाको मनोमानी थियो । कसैले बोराका बोरा पाउँदा कसैले १ किलो पाउँदैनथे । मलमा घोटाला हुन्थ्यो,’ क्षेत्रीले भने, ‘अहिले वडाध्यक्षको स्विकृतिविना मल बेच्न पाइँदैन, त्यसैले किसानले मल पाउन सहज भएको छ ।’

नगर कार्यपालिकाबाट निर्णय गरेरै वडाध्यक्षलाई कृषि मन्त्री बनाइएको छ । वडा नम्बर ९ का वडाध्यक्ष धुरन महतो कृषि मन्त्री छन्, जसले नगरभरीका किसानको समस्या पहिचान र समाधानका उपायबारे काम गरिरहेका छन् । किसानले मल र बिउ पाए/नपाएको अनुगमन गर्ने गरेका छन् । 

मधेश प्रदेश सरकारले बर्दिबासमा बनाउने प्रस्ताव गरेको ‘बर्दिबास मेडिकल कलेज’ स्थापनाका लागि जमिन खोज्ने काममा मेयर क्षेत्री सक्रिय छन् । बर्दिबास ४ को माइस्थान सामुदायिक वनभित्र मेडिकल कलेज स्थापना गर्ने सरकारको तयारी छ । 

सार्वजनिक सुनुवाइ गरेर मेडिकल कलेज बर्दिबासमा स्थापना पहल गर्ने निर्णय मेयर क्षेत्रीले गराएका छन् । यसका लागि कटान हुने रुखको चारगुणा रुख रोप्नका लागि ठाउँको पहिचान गर्ने काम चलिरहेको छ । 

बर्दिबासमा कृत्रिम ताल बनाउने योजना 

मेयर क्षेत्रीले बर्दिबास नगरपालिका बजारभन्दा माथि रहेको पाटु क्षेत्रको खाली जग्गामा ताल बनाउने योजना रहेको उनले बताए । ‘तालले पर्यटकीय चहलपहल बढाउँछ, त्यतिमात्र होइन, तराईको जमिनमा पानी रिचार्ज गर्न मद्दत पुग्नेछ,’ मेयर क्षेत्रीले भने । बर्दिबास ३ स्थित पुछार पाटुमा नदी उकासको जग्गामा मधेश प्रदेशकै ठूलो ताल बनाउने योजना छ । रातु नदी किनारमा फैलिएको ३ किलोमिटर आसपासको २० बिघा जमिनमा ताल बनाउने नगरपालिकाको योजना छ । 

चुरे क्षेत्र मासिँदा तराईको उर्बर जमिन मरुभूमि बन्न सक्ने भन्दै सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सञ्चालनमा ल्याएको छ । लोकप्रिय नारा ल्याइए पनि त्यो कार्यक्रम प्रभावकारी बन्न सकेको छैन । 

‘चुरेको तलतिर जमिनमुनि पानी सुकिरहेको छ, रिचार्ज गर्न सकिएन भने तराई मरुभूमि बन्ने खतरा छ । त्यसैले चुरे क्षेत्रमा ताल र पोखरी जरुरी छ,’ मेयर क्षेत्रीले भने । 

ताल निर्माणका लागि नगरपालिकाले प्रारम्भिक रूपमा २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सर्लाही जिल्लामा बनेको यस्तै खालको भरत तालमा पर्यटकको ओइरो लाग्ने गरेको छ । 

बर्दिबास– ३ का स्थानीय रमेश खत्रीले २१ महिनाको अवधिमा मेयरले शुरू गरेका सुधारका कामले मतदाता उत्साही रहेको बताए ।

null

‘यसअघिका मेयरले पनि कामै नगरेको भन्न मिल्दैन, तर स्वतन्त्र मेयर आएपछि बर्दिबासको विकासले फड्को मारेको देखिएको छ,’ खत्रीले लोकान्तरसँग भने, ‘अहिलेको कामलाई निरन्तरता दिनुभयो भने ५ वर्षमा नगरपालिकाको विकासमा कायापलट हुनेछ ।’

पाटुमा बन्न लागेको ताल मधेश प्रदेशकै गौरवको योजना हुने स्थानीयको अपेक्षा रहेको उनले बताए । ‘बर्दिबासमा ताल बन्दा यहाँको आर्थिक विकास र स्थानीयले रोजगारी पाउने छन्, यो काम सफल भयो भने मेयरलाई बर्दिबासवासीले सधैं स्मरण गर्नेछन्,’ खत्रीले भने । 

बर्दिबासमा बन्ने तालमा जनकपुरदेखि महोत्तरीको आसपासका जिल्लाका पर्यटक आई आर्थिक चहलपहल बढ्ने र रोजगारी सिर्जना हुने मेयर क्षेत्रीको भनाइ छ । 

बर्दिबास– १३ विजलपुराका आशुतोष झाले प्रह्लाद क्षेत्री मेयर भएर आएपछिको छोटो समयमा विकासको धेरै काम भएको बताए । ‘हिजो धूलो उड्ने सडक आज पक्की भएका छन्, मुख्य सडक कालोपत्रे र भित्री सडक ढलान भएको छ,’ झाले लोकान्तरसँग भने, ‘किसानको सहजताका लागि ठाउँ–ठाउँमा बोरिङ खनिएको छ । जनताको भावना बुझेर मेयरले काम गरिरहनुभएको छ ।’

लिँदैनन् सुविधा, जम्मा भएको तलबभत्ताले बालबालिका पढाउने 

मेयरले सरकारी कोषबाट कुनै तलबभत्ता र सुविधा लिएका छैनन् । जनताको सेवा गर्न भन्दै राजनीतिमा आएकाले सरकारको कोषबाट तलब भत्ता लिन नहुने उनको मान्यता छ । ‘नगरपालिकाबाट आउने तलबभत्ता मेरो खातामा गएको छ, कति रकम जम्मा भयो हेरेको पनि छैन, आर्थिक अवस्था कमजोर भएका बालबालिकाको शिक्षाका लागि कोष बनाएर खर्च गर्ने योजना छ,’ मेयर क्षेत्रीले लोकान्तरसँग भने । 

बर्दिबास फाउन्डेसनबाट वार्षिक ३० जनालाई छात्रवृत्ति दिँदै आएकोमा १० जनाको जिम्मा क्षेत्रीले लिएका छन् । मेयरको कार्यकक्षमा राष्ट्रपतिको मात्र फोटो छ, प्रधानमन्त्रीको छैन । किन भनेर सोध्दा कूटनीतिक जवाफ फर्काए, ‘हाम्रो देशको प्रधानमन्त्री फेरिएकोफेरियै । राष्ट्रपति ५ वर्ष नै चल्ने भए । फोटो बनाउन लाग्ने ५ सय रुपैयाँ भएपनि बचाऔं भनेर राष्ट्रपतिबाहेकको फोटो नराखेको !’

null

स्थानीय आशुतोष झाले मेयर क्षेत्रीले सुशासनको क्षेत्रमा पनि राम्रो काम गरिरहेको बताए ।

‘तराईका जिल्लामा पीसी (पर्सनल कमिसन) र कमिसनविना काम हुँदैन, तर बर्दिबासमा मेयरले पारदर्शी ढंगले काम गर्न कर्मचारीलाई निर्देशन दिएको हामीले थाहा पाएका छौं,’ झाले भने ।

७ सय जनाको फोन कण्ठ !

बिहानदेखि राति अबेरसम्म जनताको काममा हिँड्ने मेयरको फोन सहयोगीले बोकेका हुन्छन्, कसैको फोन आए उनले कति नम्बरबाट आएको बताउँछन् । एक दुईपटक कुराकानी भएको फोन नम्बर उनलाई कण्ठै हुन्छ । ‘उहाँलाई ५/७ सय जनाको फोन नम्बर कण्ठ छ,’ सहयोगी विनोद ढुंगेलले भने, ‘म बिहान ७ बजे कार्यालय आउँदा मेयरसाप फिल्डमा पुगिसक्नुभएको हुन्छ । बिहान ६ बजेदेखि राति १० बजेसम्म उहाँ नगरपालिकाको काममै व्यस्त हुनुहुन्छ ।’

माघ पहिलो साता शीतलहर प्रभावित बर्दिबासका ठाउँठाउँमा दाउरा र मुढा झार्ने काममा उनी व्यस्त थिए । दाउराको माग गर्दै विभिन्न नम्बरबाट फोन आइरहेको थियो । 

नगरवासीलाई उनको कार्यकक्षमा प्रवेश गर्न रोकतोक छैन । आफ्ना सरोकार, चासो र गुनासो लिएर नगरवासी मेयरको कार्यकक्षमा पुग्ने गरेका हुन्छन् ।

‘मेरो कार्यकक्षमा आउन कसैलाई रोकतोक छैन, सबै कुरा पारदर्शी छन्, कुनै गोप्य कोठा यहाँ छैन,’ क्षेत्रीले लोकान्तरसँग भने । 

नगरको काममा व्यस्त हुने भएकाले जिल्ला छाडेर सितिमिति बाहिर नजाने उनले बताए । ‘यहाँको काम  छाडेर काठमाडौं जान मन लाग्दैन, एकदिन बाहिर गयो कि बर्दिबासमा के भयो भन्ने चिन्ता लाग्छ,’ क्षेत्रीले भने ।  

आफूले गर्न चाहेर पनि कतिपय सुधारका काम गर्न नसकेको उनले बताए । पूर्वपश्चिम राजमार्ग र बीपी राजमार्गको छेउछाउका सडकमा सफा गर्न नपाएकोमा उनले गुनासो गरे । ‘राजमार्ग छेउछाउ फोहर छ, यसलाई सफा गरेर व्यवस्थित गरौं भनेको यसका लागि सडक विभागको अनुमति चाहिने रहेछ । राजमार्ग विस्तारको काम सकिएपछि सफा र हरियाली बनाउँछौं,’ क्षेत्रीले भने । पूर्वपश्चिम राजमार्गको कमला–ढल्केबर–पथलैया ४ लेन सडक विस्तारको तयारीमा छ । 

मध्य तथा पूर्वी पहाडी जिल्लाका मानिस तराई झरेर विकास हुँदै गरेको बर्दिबास तराई प्रदेशको मात्र नभई नेपालकै भाइब्रेन्ट शहरमध्ये एक बन्न पुगेको छ । पाँच वर्षे कार्यकाल पूरा गर्दा बर्दिबासलाई पूर्वाधारले सम्पन्न बनाउने सपना रहेको क्षेत्रीले बताए । ‘निर्वाचित भएको २१ महिनामा विकासका केही काम भएको छ, बाँकी समयमा पूर्वाधार विकासमार्फत बर्दिबासलाई नमूना नगर बनाउने मेरो योजना छ,’ क्षेत्रीले लोकान्तरसँग भने । 

हेर्नुहोस्, भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x