×

NMB BANK
NIC ASIA

सन्दर्भ : सत्ता समीकरण अदलबदल

महासमिति बैठकपछिको कांग्रेस र गठबन्धनको जात्रा

काठमाडाैं | फागुन २४, २०८०

NTC
Premier Steels

सामान्यतया राजनीतिलाई समाजको वृहत्तर हितका लागि अपनाइने बाटो या माध्यम मानिन्छ । यसले समग्र समाजको हितलाई आफ्नो प्राथमिकताको केन्द्रविन्दु बनाउँछ । तर, हाम्रो हकमा यसको मान्यता र परिभाषा फरक छ । यतिबेला नेपालको राजनीतिक परिदृश्य बदलिएको छ । नेपाली राजनीतिलाई बायाँ हातको खेल ठान्ने र राजनीतिमा जे गरेपनि हुन्छ भन्ने मनोविज्ञान भएका पेशेवर राजनीतिज्ञका कारण सत्ता गठबन्धन भत्किँदै/बन्दै गर्न थालेको छ, हाम्रा लागि यो नौलो कुरा भएन, किनभने राज्य र सरकार जनहितमा चल्नुपर्छ भन्ने हेक्का नराख्नेहरू वर्तमान राजनीतिमा नराम्ररी हावी भएका छन् । त्यसैले पुनः एकपटक नेपालको सत्ता राजनीतिमा भित्रभित्रै पाकिरहेको खिचडी ढाक्ने च्याङ्लो पर्दा उघ्रिएको छ, अर्थात् पटाक्षेप भएको छ । दलकेन्द्रित र अझ स्वार्थकेन्द्रित राजनीतिको नयाँ संस्करण हाम्रो सामु आएको छ ।

Muktinath Bank

सतहमा देश र जनताको एकसूत्रीय रटान एवं अन्तर्यमा राजनीतिक व्यापार समकालीन राजनीतिको मौलिक चरित्र हो भन्दा फरक पर्दैन । यस सन्दर्भमा एउटा नीति श्लोक राम्रोसँग मेल खान्छ, जो कालजयी छ, 'एक लज्जां परित्यज्ज सर्वत्र विजयी भवेत ।' तसर्थ, लोकलज्जाका सम्पूर्ण सीमा नाघेर भइरहेका राजनीतिक गतिविधि पटक्कै अनौठा छैनन् र मान्नु पनि हुँदैन । भोलि ६ महिना पुग्दानपुग्दै हामी नेपालीले अर्को सत्ता समीकरण व्यहोर्नुपर्ने सुनिश्चित नै छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नयाँ सरकारी गठबन्धन बनेर शपथ लिएसँगै अर्को सम्भावित समीकरणको चर्चा शुरू भइसकेको छ । गठबन्धन फेरिनुलाई पनि क्रान्ति सम्झिनेहरूबाट मुलुकले कुनै आश नगरे हुन्छ । १५ महिनामा २ पटक गठबन्धन फेर्ने प्रवृत्ति सत्तालोलुप अवसरवादी चरित्रबाहेक अर्थोक केही होइन । यसले नेपाली राजनीतिमा तीव्र रूपले स्खलन भइरहेको नैतिक मूल्य देखाउँछ । यसले नेपाली समाजमा अस्थिरता र अशान्ति थपिने साथै नेपालको ओरालो लागेको यात्रा र अनिश्चित भविष्यलाई संकेत गर्दछ । यस घटनाले प्रजातन्त्रवादी जनमतका लागि एउटा ऐतिहासिक अवसर सिर्जना गरिदिएको छ । अब भेडाभेडासँग र बाख्राबाख्रासँग हुने दिन आएको छ । यस्तो मौका सितिमिति आउँदैन । कांग्रेसले यस अवसरलाई अधिकतम रूपमा सदुपयोग गर्नसक्नुपर्छ ।


Advertisment
Nabil box
Kumari

महासमिति बैठक

Vianet communication

नेपाली कांग्रेसको महासमिति बैठक केही दिनअघि सम्पन्न भएको सर्वविदितै छ । बहुप्रतिक्षित बैठकलाई नीति महाधिवेशन समेतको अभिभारा बोकाइएको थियो, जसले पार्टीको नीति र कार्यक्रम समेत तर्जुमा गर्नुपर्ने जिम्मेवारी थियो । महाधिवेशनपछिको उच्च निकायको रूपमा रहेको महासमितिले के–के गर्‍यो ? पार्टी सदस्यहरू र प्रजातान्त्रिक जनमतका अपेक्षा कति पूरा गर्‍यो या गरेन, इतिहासले समीक्षा गर्ला नै । अहिलेको बहस भने महासमितिको आयोजना, प्रस्तुत भएका प्रस्तावहरू, सम्पन्न छलफल र निकालिएका निष्कर्षहरूमा केन्द्रित गर्नु उपयुक्त हुनेछ । के आयोजनाको उद्देश्य अनुरूप बैठक सफल भयो त ? यस बैठकमा कांग्रेसको भावी मार्गचित्र तयार भयो त ? शिथिल भएका पार्टी संरचना र भ्रातृ संस्थाहरू अब चलायमान र गतिशील हुने भए त ? देशभरिका झन्डै नौ लाख क्रियाशील सदस्यहरू र लाखौं  शुभचिन्तकका पीडा, गुनासा तथा अपेक्षाहरू सम्बोधन हुने भए त ? कांग्रेसका परम्परागत मतदाता र नयाँ पुस्ता ०८४ को आमचुनावका लागि आश्वस्त भए त ? यी र यस्ता अनगिन्ती प्रश्नहरूको सिधा र चित्तबुझ्दो जवाफ वा समाधान भेटियो त ? यसैको सेरोफेरोमा चर्चा गर्नु उपयुक्त हुनेछ ।

यस घटना (गठबन्धन परिवर्तन)ले प्रजातन्त्रवादी जनमतका लागि एउटा ऐतिहासिक अवसर सिर्जना गरिदिएको छ । अब भेडाभेडासँग र बाख्राबाख्रासँग हुने दिन आएको छ । यस्तो मौका सितिमिति आउँदैन । कांग्रेसले यस अवसरलाई अधिकतम रूपमा सदुपयोग गर्नसक्नुपर्छ ।

हामी बेलाबेलामा चलचित्र हलमा गएर वा घरमै पनि सिनेमा हेर्छौं । ती नेपाली, हिन्दी, अङ्ग्रेजी वा जुनसुकै भाषाका हुन सक्छन् । सिनेमा हेर्नुपूर्व र हेरिसकेपछि सम्बन्धित सिनेमाप्रतिको हाम्रो धारणामा समानता रहँदैन । कि त सुनेको भन्दा राम्रो लागेर त्यसको बखान शुरू गर्छौं या त सोचेको भन्दा खराब लागेर कटु आलोचना गर्छौं । राम्रो लागेमा समाजमा प्रचार पनि गर्छौं, खराब भए पैसा खेर गएको प्रचार र गुनासो गर्दै बस्छौं । यो हामी सबैको अर्थात् नेपालीहरूको सनातन र औसत चरित्र पनि हो । महासमितिको हकमा पनि यस्तै भयो ।

बैठकको समापन समारोहबाट निस्कँदा महासमितिका सदस्यहरू बीचमा चलेको खासखुसमा सन्तुष्टि र असन्तुष्टि दुवै झल्कन्थ्यो । पटक–पटक सारिएर अन्ततः सम्पन्न गरिएको बैठक कम्तीमा सम्पन्न भयो । देशभरिका साथीहरू एकैथलोमा भेला भएर पार्टीको अवस्थाका बारेमा छलफल गर्ने मौका पाए र बोल्न चाहने साथीहरूले संक्षेपमा भएपनि आ-आफ्नो धारणा राखे, सुझाव दिए । महाधिवेशनपछिको उच्च निकायका साथीहरूले पार्टी सुदृढीकरणका निम्ति चिन्ता र चासो प्रकट गरे । यसलाई एक हदसम्म सकारात्मक मान्नुपर्छ । र कम्तीमा महासमिति बैठक आयोजना भएको सन्देश विश्वभरी प्रवाहित भयो ।

एउटा कथानक चलचित्रसँग तुलना गर्दा यसका कथा, पटकथा, संवाद, द्वन्द्व, संगीत र समग्रमा कला पक्ष थोरबहुत परम्परागत र थोरबहुत रोमाञ्चक देखिन्थ्यो । र, सिनेमा अन्ततः वियोगान्त निष्कर्षमा पुगेर टुंगियो, हिन्दी सिनेमाको बागवान जस्तै सुखद लागे पनि नमीठो । कहिलेकाहीँ भने सिनेमाको अन्त्य सुखद पनि हुँदैन, नमीठो मात्र हुन्छ । राजनीतिक दलका लागि जनता र पार्टी सदस्य अभिभावक हुन्, जसको मनोभावना बुझेर संस्था चल्नुपर्छ । यदि त्यसो नहुने हो भने तत्पश्चातको राजनीतिक पटाक्षेप पीडादायी हुन्छ नै । महासमितिलाई जति नै सिंगार्न खोजेपनि अन्ततः हर्षोल्लासको वातावरण देखिएन । जति विषयहरू विस्तृत रूपमा उठ्नुपर्थ्यो ,ती विषयले प्रवेश नै पाएनन् ।

गत उपचुनाव किन हारियो र आगामी उपचुनाव कसरी जित्ने ? सत्ता गठबन्धनको कार्यशैली र भविष्य, सुशासनको अवस्था र भ्रष्टाचारजस्ता विषयमा गम्भीरता साथ छलफल नै भएन । भ्रातृ संगठनको अधिवेशनको कुरा त आयो, ती संस्थाहरूको सञ्चालन र परिचालनको योजना र मार्गचित्र आएन । भ्रातृ र शुभेच्छुक संस्था सञ्चालन गर्ने नीति खोइ ? भन्ने प्रश्न जीवित नै रह्यो । र, खासगरी नेपाली जनतामा व्याप्त निराशा र आक्रोशको कारण खोजी गरी सम्बोधन गर्ने जमर्को देखिएन । खासगरी नेपाली लोकतन्त्रका चुनौतीहरू के-के हुन्, तिनिहरूसँग जुध्ने कसरी ? त्यसका लागि कस्तो तयारी गर्ने भन्ने विषय आउँदै आएन । एउटा सर्वाधिक पुरानो राष्ट्रिय पार्टीको उच्च आयोजनाले नेपाली जनतामा आशाको सञ्चार गर्‍यो कि गरेन, यो मूल प्रश्न हो ।

पार्टी उपसभापतिले प्रस्तुत गर्नुभएको नीति र कार्यक्रम सुन्दा र पढ्दा गजबै लाग्छ, तर यो नितान्त परम्परावादी छ र परिणामुखी नहुने निश्चित छ । हामी परम्पराको निरन्तरतामा अटल देखियौं । हामीले आफू सत्तारुढ पनि हौं र आउने निर्वाचनसम्ममा देश र जनतालाई ठोस उपलब्धि दिनुपर्छ भन्ने कुरामा सचेतता देखाएनौं । महासमिति औपचारिक आयोजना मात्र थिएन, आशा र विश्वासको नयाँ प्रस्थानविन्दु (New Departure) पनि थियो । गत चुनावको दलीय गठबन्धनलाई कसिलो र भरपर्दो बनाएर पूरा अवधि टिकाउने र जनअपेक्षा पूरा गर्ने ठोस आधार प्रस्तुत नभएकैले पनि महासमिति लगत्तै गठबन्धन समेत टुटेको छ । भविष्यको कुनै ठेगान नभए पनि नेपाली राजनीतिमा कम्युनिस्ट ध्रुवीकरणको खतरा बढेको छ । यसले समाजको आधारभूत तहसम्म राजनीतिक द्वन्द बढाउने निश्चित छ । यसमा हामी पनि दोषी छौँ । यसलाई निशंकोच स्वीकार्न सक्नु पर्दछ ।

वडाबाटै प्रतिनिधित्व

महासमिति बैठकमा प्रस्तुत महामन्त्रीद्वयका प्रस्तावहरूले संगठन तथा नेपाली राजनीतिका समस्या, जटिलता र सुधारको आवश्यकतालाई औंल्याएका छन् । प्रस्तुति प्रभावकारी नै छन् । महासमिति सदस्यहरूको ध्यान खिचेकै छन् । तथापि सुधार र परिवर्तनको ठोस आधारसहितको प्रत्याभूति छैन । पार्टीभित्र अब केही हुन्छ कि भन्ने जनअपेक्षा कायम त छ तर सुनिश्चितता देखिँदैन । प्रस्ताव गरिएर सर्वसम्मतिले पारित गरिएको भनिएको सीमाबन्दी (Term limit ) को १, २, ३, ४ प्रस्ताव नीतिको रूपमा कहिलेदेखि लागू हुन्छ त ? प्रस्तावमा आउने, नीति बन्ने तर लागू नहुने प्रवृत्तिले संस्थालाई कहाँ पुर्‍याउँछ ? यसलाई लागू गर्ने कसले ? यसपटक पनि यस्तै प्रवृत्तिको पुनरावृत्ति हुने देखिएको छ । केन्द्रीय पदाधिकारी र सदस्यहरू स्वत: महाधिवेशन प्रतिनिधि हुने हालको व्यवस्था हटाएर वडाबाटै निर्वाचित हुनुपर्ने वैधानिक व्यवस्था गरिने प्रतिवद्धतालाई सार्थक बनाउन सकिन्छ कि सकिँदैन ? कि यो प्रस्तावको हालत पनि विगतजस्तै हुने हो ? अब यसलाई सार्थक बनाउने समय आएको छ । तर, यसमा आशंका छ ।

समाजका प्रबुद्ध व्यक्तिहरूको कथन छ, इतिहासबाट प्रेरणा लिने र सिक्ने हो । यदि त्यसो हुन सक्यो भने समाजले बाटो बिराउँदैन, राष्ट्रका निम्ति काम गर्ने ऊर्जा कायम रहिरहन्छ र गल्ती दोहोरिँदैन । तर, इतिहासलाई दन्त्यकथा र पुराणजस्तो भट्याइ मात्र रहने हो भने न ऊर्जा रहन्छ, न त हामी पुनः गल्ती गर्नबाट जोगिन्छौं । नेपालको नियति भने विडम्बनापूर्ण छ । हामीमा इतिहासबाट कहिल्यै नसिक्ने र गल्ती दोहोर्‍याइरहने बानी बसेको छ । विश्वभरका लागि यसको गतिलो उदाहरण हामी नेपाली नै हौं । त्यसैले हामीले बारम्बार गोता खाइरहेका छौं, अझ भुक्तमान झेल्न बाँकी नै छ । हामी किन पछौटे, अविकसित र दुःखदायी जीवन भोगिरहेका छौं, यसको कुनै लेखाजोखा छैन र अन्त्य कहिले हुने हो कुनै ठेगान छैन । हामी नेपाललाई २० वर्षभित्र मध्यम आयको देश बनाएर विश्वसामु आफ्नो प्रतिष्ठा बढाउन सक्छौं भन्ने आत्मविश्वास, योजना, नेतृत्व र दृढ अग्रसरताको कमी नै वर्तमान दुरावस्था हो भन्ने कुरामा नेपाली समाजमा कुनै विवाद छैन । जीन र भारतजस्ता विश्व महाशक्ति राष्ट्रको बीचमा रहेको भाग्यमानी राष्ट्र नेपाल आत्मसम्मानपूर्वक उभिएर हिँड्न सक्ने अवस्थामा किन पुगेन भन्ने गम्भीर बहस आजको आवश्यकता पनि हो । तर, हाम्रा बहसहरू घरेलु मामलाभन्दा माथि उठ्नै सकेनन् । घरेलु मामिला समेत दलीय स्वार्थभन्दा माथि उठ्न सकेनन् । दलीय स्वार्थ पनि गुटगत स्वार्थभन्दा बाहिर निस्कनै सकेनन् । हाम्रो कटु यथार्थ यही नै हो । महासमितिको बैठक समेत यसै सेरोफेरोमा अल्झिएर सकिएको छ ।

सनातन हिन्दू राज्य

इतिहासको विकासक्रममा मानव सभ्यताले निकै ठूलो उतारचढाव झेल्नुपर्‍यो । यसैको शृंखलामा राज्य, धर्म र वादहरूको उत्पत्ति भयो । वादहरूमध्येको उत्तम मानिने बहुलवाद (जो मानवतावाद पनि हो) ले लोकतन्त्रको परिकल्पना गर्‍यो । यसैका पछिल्ला कडी हुन्, राजनीतिक दलहरू । राजनीतिक दलहरूले नै लोकतान्त्रिक शासन प्रणालीको प्रतिनिधित्व गर्दछन् । यसअघि संसार धर्मद्वारा शासित थियो । अक्सर मानिसहरू धर्मलाई ईश्वरीय रचनाको रूपमा बुझ्दछन् । तर, धर्म मानिसद्वारा रचित जीवन जिउने सर्वोत्तम विधान हो । यसले अहिंसा, करुणा, दया, परोपकार, सेवा, सत्मार्ग र सदविचारलाई प्रबर्द्धन गर्छ । यसैको माध्यमबाट ईश्वरलाई पाउन सकिने मान्यता राख्छ । अर्को कुरा ईश्वर आलिसान दरबार बनाएर अज्ञातस्थलमा बसेको कुनै मूर्त स्वरूप होइन, जसलाई साक्षात्कार गर्न, भेट्न र बात मार्न सकियोस् । ईश्वर चरम प्रतिभाको बिराट स्वरूप, तीव्र बुद्धिको उत्कर्ष, अतुलनीय, निराकार र अदृश्य त्यस्तो विम्ब हो, जसको बहुआयामिकतासामु मानव सभ्यता नतमस्तक छ । कतिपय महामानवहरूले यसको प्रतिनिधित्व गर्दछन् । हरेक युगमा यस्ता महामानव पैदा भएका छन् । राम, कृष्ण, बुद्ध यसका ज्वलन्त उदाहरण हुन् । हरेक युगमा मानव समाजमा फैलिने र बढ्ने अधर्म, अन्याय, हिंसा र पापको अन्त्यका लागि महामानवहरूको उदय भयो, यसैको दृष्टान्त नै रामायण र महाभारत हो ।

महासमितिको बैठकमा सनातन हिन्दूराज्य स्थापना अभियानको सशक्त उपस्थिति देखियो । लगभग पचास प्रतिशत महासमिति सदस्यहरूले यस विषयमा सहमति जनाउनुले पार्टीभित्र यसको पक्षमा बलियो जनमत छ भन्ने देखाउँछ । नेपाली जनताको प्रतिनिधि संस्थाको रूपमा स्थापित राजनीतिक दल हो, नेपाली कांग्रेस पार्टी । यो पार्टी लाखौं नेपालीको आस्था र भरोसाको केन्द्र थियो र अझ पनि रहन सक्छ । त्यसका लागि यस दलले आफूलाई सैद्धान्तिक, नीतिगत र सांगठनिक रूपमा परिस्कृत तुल्याउनुपर्छ । विगतमा यसको विपक्षमा न कुनै जनमत थियो, न कुनै मजबुत र लोकप्रिय राजनीतिक दल । सत्ताको महत्त्वाकांक्षा बढेपछि दरबार खुलेआम कांग्रेसको विपक्षमा उभियो, जसका कारण समयक्रममा जनआन्दोलनको माध्यमले स्वयं राजसंस्था नै उन्मुलनमा जानुपर्‍यो । र, अहिले हामी गणतन्त्रात्मक नेपालमा छौं, नत्र राजसंस्था सितिमिति नेपालबाट जाँदैनथ्यो । तसर्थ हिन्दूराज्य स्थापनाको मुद्दामा पार्टीले आफ्नो स्पष्ट दृष्टिकोण र नीति तय गर्नुपर्नेमा ठूलो अलमल देखिनु हुँदैन । संविधानको मौजुदा व्यवस्थालाई कायम राख्ने वा संशोधनमा जाने स्पष्ट धारणा बनाउनुपर्छ । कि त वर्तमान व्यवस्था ठीक छ भन्न सक्नुपर्छ, या त संशोधनमा जाऊँ भनेर अग्रसरता लिनुपर्छ ।

गठबन्धनको मामला

गत निर्वाचनमा नेपाली कांग्रेसले कसैसँग गठबन्धन गर्नु आवश्यक नै थिएन । पार्टीभित्र यस विषयमा मतभेद पनि थियो । २०७४ सालमा गठबन्धन गरेर चुनाव जितेको एमाले र माओवादी गत निर्वाचनमा मिल्नसक्ने तार्किक आधार थिएन । मिलिहाले पनि जनमत प्राप्त हुने सम्भावना छँदै थिएन । कांग्रेस एक्लै सय सिट हाराहारीमा चुनाव जित्ने सम्भावना थियो । यस यथार्थलाई बुझेर निर्वाचनमा जानुपर्थ्यो, तर त्यसो भएन । प्रजातन्त्रवादी मतदातालाई गठबन्धनको भारी बोकाइयो । र, मरेर ८९ सीटमा थन्किनुपर्‍यो । यसैबाट अहिले अस्थिरता चाहनेहरूलाई बल मिलेको छ । र, अहिले गठबन्धन भत्किँदा रुवावासी गर्नुको औचित्य नै छैन । मिल्नै नहुनेसँग मिलेपछि यस्तै हुन्छ । र, अब कांग्रेसले आफ्नो बाटो तय गर्नुपर्छ । पार्टीका बहुसंख्यक साथीहरूको यही चाहना छ ।

नेपालको राजनीतिमा धेरै अघिदेखि उठेको विषय हो वृहत् प्रजातान्त्रिक एकता । यसले प्रजातान्त्रिक जनमतलाई एकताबद्ध तुल्याउँदै आफ्नो धरातललाई मजबुत बनाउँछ । ढिलोचाँडो नेपाली राजनीतिमा वैचारिक ध्रुवीकरण अवश्यम्भावी छ ।

नेपाली कांग्रेस महासमिति बैठकको पूर्वसन्ध्यामा केही समयअघि आयोजित युवा महासमिति सदस्यहरूको अनौपचारिक काठमाडौं भेलाले निकै भावुक र गम्भीर मनोविज्ञान प्रकट गर्दै बैठकसँग खास अपेक्षा समेत गरेको थियो । त्यो भेला गुटगत थिएन । त्यहाँ केही मुद्दामा गम्भीर छलफल चलेको थियो । मुद्दा समसामयिक थिए । त्यसमध्ये गठबन्धन पनि एक प्रमुख मुद्दा थियो । सो अपेक्षा कति पूरा भयो ? बैठक सम्पन्न भइसकेको परिप्रेक्ष्यमा पार्टीका सदस्यहरू मात्र होइन, आम नेपाली जनताले गरेका अपेक्षाहरू के-के थिए र के कस्ता निर्णयका साथ उत्साहजनक सन्देश प्रवाहित गर्न बैठक सफल भयो, यस विषयमा समयक्रममा समीक्षा हुँदै जानेछ ।

बैठकमा पार्टीका पदाधिकारी र सरकारका तत्कालीन अर्थमन्त्री समेतबाट नीति र कार्यक्रम, संगठन, समसामयिक राजनीति, अर्थ र लेखासम्बन्धी केन्द्रीय समितिबाट अनुमोदित प्रस्तावहरू पेश गरिनु र सर्वसम्मतिले पास पनि हुनु स्थापित परम्परागत यान्त्रिकीकरण थियो । यसको पक्ष विपक्षमा टीकाटिप्पणी गर्नुको कुनै अर्थ छैन, किनभने यतिबेला समग्र पार्टी नै यान्त्रिक रूपमा चलिरहेको छ । पार्टीभित्रको जीवन्तता खोजी मर्दा पाइँदैन । बैठकको चर्चा मात्र जीवन्तता होइन । पार्टी जीवन हिँडेकोसम्म छैन, घिस्रिएको छ । यतिसम्म कि को के गर्दैछ, सामान्य खोजीनीति छैन । जुन संस्थाले पार्टी सदस्य खोज्दैन, त्यसले जनता कसरी खोज्छ ? पार्टीमा संवेदना मरेको छ । नेतालाई वृहत् पार्टी परिवारको परवाह छैन, जसको तागतमा आफू उभिएको हो, त्यसको खोजखबर छैन । यस्तो प्रवृत्ति कहाँबाट भित्रियो, कसैलाई थाहा छैन । नेतृत्वको सानो झुन्ड रमाए पुग्ने मनोविज्ञान उदेकलाग्दो छ । तर, पनि सत्य बोल्न कोही अघि सर्दैन ।

वृहत् प्रजातान्त्रिक एकता

नेपालको राजनीतिमा धेरै अघिदेखि उठेको विषय हो वृहत् प्रजातान्त्रिक एकता । यसले प्रजातान्त्रिक जनमतलाई एकताबद्ध तुल्याउँदै आफ्नो धरातललाई मजबुत बनाउँछ । ढिलोचाँडो नेपाली राजनीतिमा वैचारिक ध्रुवीकरण अवश्यम्भावी छ । बेलाबेलामा कम्युनिस्ट खेमाबाट यस्तो प्रयत्न हुँदै आएको छ । ०७४ सालको चुनावी गठबन्धन त्यसैको पूर्वाभ्यास थियो र त्यसैको जगमा नेकपा बन्यो । त्यसको असफलताबाट नेपालका कम्युनिस्टहरूले राम्रो पाठ सिकेका छन् । अबको प्रयत्न सुझबुझपूर्ण हुनसक्छ । तसर्थ ढिला नगरिकन नेपालका सम्पूर्ण प्रजातन्त्रवादीहरू एकढिक्का हुनु जरुरी छ । यसको नेतृत्व कांग्रेसले गर्नुपर्दछ । र, वृहत् प्रजातान्त्रिक एकताको अवधारणा अघि बढाउनुपूर्व कांग्रेसको आन्तरिक एकता सुदृढ हुनुपर्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x