टुट्दै गरेको दुईतिहाइको भ्रम र राजनीतिमा देखिएको नयाँ सम्भावना

असोज २४, २०७५

देश सञ्चालन राजनीतिले गर्छ । चुनावको प्रयोग गरेर आम नागरिकले सरकार गठन गर्न सहयोग गर्छ । लोकतन्त्रको यो एउटा सौन्दर्य पनि हो । लोकतन्त्र बहालीको बेलादेखि नै नेपालमा पनि यो प्रक्रिया चल्दै आएको छ । अहिले त झन् संघीयता र गणतन्त्र पनि आइसकेको छ नेपालमा । र एक दशकपश्चात् दुईतिहाइको सरकार छ । दुईतिहाइ अर्थात् सरकारले सम्पूर्ण निर्णय गर्नसक्ने वातावरण । 

तर नेपालमा अहिलेको दुईतिहाइ भने ‘दुई खेमा’ मा विभाजित भएको छनक भेटिन थालिएको छ । नेपाल कम्युनिस्ट पार्टीभित्रको शीतयुद्ध महसूस गर्न लायक छ । कारण हो, अस्तित्वको टकराव । यो यस्तो मानवीय मनोवैज्ञानिक अवयव हो जसको व्यवस्थापन भएन भने विद्रोह सिर्जना हुन समय लाग्दैन । र विद्रोहको सिर्जना भइसकेको छ अहिले नेपाल कम्युनिस्ट पार्टीभित्र । 


ADVERTISEMENT

अब चर्चा गरौं अस्तित्वमा देखिएको राजनीतिक खलबलीको । प्रधानमन्त्री विदेश गएको  बेला नेकपाका अर्का वरिष्ठ नेता माधव नेपालले संसदमा कवितात्मक लयमा ‘देश डुब्न लाग्यो’ भन्ने जस्ता अभिव्यक्ति दिएका थिए । र प्रधानमन्त्रीज्यूले त्यहीँबाट जवाफ फर्काउनुभयो – म आउँदैछु, देश डुब्दैन । यो फगत नेताहरूको जुहारी होइन । यसको अन्तर्यमा थोरै पनि खोतल्दा पार्टीभित्र भएको विद्रोहको बीजारोपणको अंकुरणका रूपमा यसलाई हेर्न सकिन्छ । बेलाबखत नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले सरकारलाई लक्षित गर्दै दिइराख्ने अभिव्यक्तिले पनि अर्थ राख्छ । सरकारको आफ्नै मतियारहरूले असन्तुष्टि प्रकट गर्नु दुःखद हुन्छ । अहिले प्रतिपक्षको भूमिका पनि सरकारकै खेमाले गरिरहेको कुरा बुझ्न राजनीतिको कखरा बुझ्नेलाई कठिन छैन । 

दुईतिहाइको जगमा उभिएको सरकारले आमजनतालाई महसूस हुनेगरी केही गरेर देखाउन नसक्नु केपी ओली सरकारको दुर्भाग्य हो ।

भनिन्छ, राजनीतिमा जिम्मेवार नेताहरूले सत्यकुरा कहिले राख्दैन ‘पब्लिक डोमेन’ मा । तत्कालीन माओवादी केन्द्र र नेकपा एमालेको चुनावी गठजोड हुँदै अस्पष्ट एकीकरणको बखत पालोपालो सरकार चलाउने भनी गरिएको भद्र सहमतिलाई प्रचण्ड वा केपी ओलीले किन दोहोर्‍याइरहनुपर्‍यो ?

अहिलेको सरकारसँग देश कल्याणको लागि काम गर्नुपर्छ भने चाहना नभएको होइन । दुईतिहाइको जगमा उभिएको सरकारले आमजनतालाई महसूस हुनेगरी केही गरेर देखाउन नसक्नु केपी ओली सरकारको दुर्भाग्य हो । देशमा बलात्कार, महिला हिंसा, न्यायालयभित्र राजनीति जस्ता मुद्दा एकाएक बढ्दै गएको हुनाले यो सरकार जनअपेक्षित भएन भनी आलोचना गर्नेहरूले छुट पाएका छन् । र यो छुट जायज पनि छ । र अर्को छुट पाएका छन् माधव नेपाल र प्रचण्डले । प्रचण्डलाई प्रधानमन्त्री नै बनिहालौं भने अहिले लागेको छैन होला । तर विशाल भनिएको नेकपाको मुखिया बन्ने चाहनाको आयतन उनमा बढी हुनुपर्छ ।

तत्कालीन नेकपासँग एकीकरण गर्नेबेला उनले यथेष्ट आलोचना खेपेका थिए । प्रचण्डको एमालेकरण भयो भनेर । तर गिरिजाप्रसाद कोइराला मृत्युशय्या मा भएको बेला वहाँले देश आफूलाई सुम्पेर जानुभयो भन्ने अभिव्यक्ति प्रचण्डको आइराखेको हुन्छ । गिरिजाबाबु अर्थात् नेपाली राजनीतिका खप्पिस खेलाडी । स्वाभाविक छ, प्रचण्डले आफ्ना आलोचकलाई जवाफ दिनका लागि पनि नेकपाका मुखिया बन्न लागेको हुनुपर्छ । 

एमाले खेमाका पछिल्लो निर्वाचनमा पराजित नेतालाई मध्यावधि चुनावको माध्यमबाट चुनाव जिताउने कसरत प्रचण्डले त्यत्तिकै गरिरहेका होइनन् । एमालेभित्र वामदेव गौतमको आफ्नै प्रभाव र दबदबा थियो । उनको खेमा अहिलेको नेकपाभित्र हुने नै भयो । ओली खेमाको बढ्दो अहंकारका कारण माधव नेपालभित्र उत्पादित हीनताबोधले पनि प्रचण्डलाई सघाइरहेकै छ ।

प्रचण्डको भर्खरै सम्पन्न विदेश भ्रमणपश्चात् उनको अनुहारमा देखिएको हाउभाउभित्र भूराजनीतिक खुशीको झलक बुझ्न कठिन छैन । उनले भारत भ्रमणको बेलामा हिन्दुस्तान टाइम्स पत्रिकालाई दिएको अन्तर्वार्तामा भनेका थिए, ‘म प्रधानमन्त्री भएको बेला भारत आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मा १५ मिनेट दिनुभएको थियो र यसपालि एकघण्टा १५ मिनेट समय दिएर कुरा गर्नुभयो’ । प्रचण्डको यो अभिव्यक्तिमा पनि गाम्भीर्य लुकेको छ । यसमा छुट्टै लेख लेख्न सकिन्छ । 

मौका अहिले पनि सरकार र खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीको हातमा छ । आफूलाई फराकिलो राख्नुपर्छ उहाँले, कुनै किसिमको गिरोहको चंगुलमा फस्नु बेठीक हुन्छ ।

यसै सन्दर्भमा, राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले सरकार निर्माण भएकै बेलादेखि नेकपा सरकारलाई समर्थन दिँदै आएको छ । समर्थन गरेको हप्ता पनि नबित्दा ‘ओठे धम्की’ दिँदै आइरहेको थियो, सरकारबाट समर्थन फिर्ता लिने भनेर । र केही दिनअघि मात्रै राजपा संयोजक महन्थ ठाकुरले प्रधानमन्त्रीलाई सरकारबाट समर्थन फिर्ता लिने भनेर अल्टिमेटम सहितको ज्ञापनपत्र बुझाएका छन् ।

यता प्रदेश—२ मा राजपाका प्रदेश सांसदहरू संघीय समाजवादी फोरम नेपाल नेतृत्वको सरकारको हिस्सा भएर पनि आजभोलि आफ्नै सरकारप्रति आक्रामक भइरहेका छन् । केन्द्रको राजनीतिमा खैलाबैला मच्चेको बेला प्रदेश—२ को राजनीति तरंगित हुनु फगत संयोग मात्र हुनसक्दैन । सल्किँदै गइरहेको राजनीतिक आगोले कुन रूप लेला त्यो कालान्तरमा देखिने नै छ । 

अहिलेलाई यति बुझ्न सकिन्छ, नेपालीले अपेक्षा गरेको स्थायी सरकार र देशको समृद्धिको सपनामा तत्कालका लागि कालो बादल नै लागेको छ । मौका अहिले पनि सरकार र खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीको हातमा छ । आफूलाई फराकिलो राख्नुपर्छ उहाँले, कुनै किसिमको गिरोहको चंगुलमा फस्नु बेठीक हुन्छ । संविधानमा आम सीमान्तीकृतले खोजेको संशोधनलाई सार्थकता दिई देशको नेता बन्ने मौका पनि यही हो, सम्भावना कम भएपनि । प्रचण्ड र माधव नेपाललाई शुभकामना दिने मौका पनि आउने सम्भावना व्यापक छ ।

असोज २४, २०७५ मा प्रकाशित

रणधीर चौधरी

चौधरी समसामयिक राजनीतिक घटनाक्रम र मधेस मामलामा कलम चलाउँछन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस