प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम फाइनलमा

असार १०, २०७६

कञ्चनपुर – जिल्लाको महेन्द्रनगरमा जारी प्रधानमन्त्री कप महिला प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको टोली फाइनलमा प्रवेश गरेको छ ।

समूह ‘ए’को शीर्ष स्थानमा रहेको सुदूरपश्चिम प्रदेशले मंगलवार बिहानको खेल वर्षाका कारण प्रदेश नम्बर २ सँग प्रतिष्पर्धा नै नगरी फाइनलमा प्रवेश गरेको हो ।


ADVERTISEMENT

‘वर्षाका कारण समूह ‘ए’मा शीर्ष स्थानमा रहेको सुदूरपश्चिमको टीम फाइनल पुगेको हो,’ प्रतियोगिता प्राविधिक कमिटीका संयोजक विनय झाले भने, ‘वर्षाका कारण प्रतियोगिता अवधिभर ४ वटा खेल अवरुद्ध हुनपुगे ।’

मौसममा आएको सुधारका कारण मंगलवार दिउँसोपछि सशस्त्र प्रहरीको एपिएफ क्लब र प्रदेश नम्बर १ बीच दोस्रो सेमिफाइनल प्रतियोगिता हुने संयोजक झाले जानकारी दिए ।

आइतवार र सोमबार आएको वर्षाका कारण खेल मैदानमा पानी जमेपछि प्रतियोगिता सञ्चालन गर्न नसकिएको आयोजकको भनाइ छ । आयोजक महाकाली स्पोर्ट सोसाइटीले सोमबार राति अबेरसम्म विभिन्न प्रयास गरेर खेल मैदानको पानी हटाउने काम गरे पनि मंगलवार बिहानको प्रतियोगिता हुन सकेन । समूह ‘बी’को दोस्रो स्थानमा रहेको प्रदेश नम्बर २ सेमिफाइनल खेल्न नपाउँदै बाहिरियो ।

बुधवार बिहान हुने फाइनल प्रतियोगिताबाट उपाधि विजेता टीमले ४ लाख रुपैयाँसहित पुरस्कृत हुनेछ भने दोस्रो हुने टीमले ३ र तेस्रो हुने टीम २ लाख रुपैयाँ नगदसहित पुरस्कृत हुने आयोजकले जनाएको छ ।

असार १०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस