पुस ११, २०८०
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
साँच्चै नै संकटको यो घडीमा फ्रन्टलाइनमा रहेर जोखिम उठाएका छन् त केवल स्वस्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीले । तीमध्ये पनि विश्वका अर्बाै मानिसको ध्यान एकैपटक कसैले खिचेको छ भने त्यो सञ्चारमाध्यम र सञ्चारकर्मीले नै हो ।
घरको चौघेरामा थुनिएर बसेका आम मानिसलाई मिनेट–मिनेटमा सुसूचित गराउने, ताजा जानकारी दिन खटिएका विश्वका ‘डेन्जर जोन’मा रहेर स्थलगत रिपोर्टिड गरिराखेका सञ्चाकर्मीको भोगाइ र अनुभव भने कम रोचक र कम चुनौतीपूर्ण छैन ।
हरेक कामको परीक्षा संकट र चुनौतीकै माझमा हुने गर्छ । आज विश्वभरका सञ्चारकर्मी पनि त्यस्तै परीक्षामा सामेल भइराखेका छन् । केही नजीरको चर्चा गरौं ।
इटलीको पनि सबैभन्दा बढी कोरोना प्रभावित क्षेत्र लोम्वर्डीमा स्थलगत रिपोर्टिङमा खटिएकी छन् स्टेफानिया बाटिस्टेनि । सिरियादेखि टर्कीको कुर्दिश आतंककारीको समेत रिपोर्टिङमा अनुभव बटुलिसकेकी बाटिस्टेनीको यसपटक ‘भाइरस रिपोर्टिङ’को भोगाइ भने भिन्न छ ।
सीपीजेका लागि युरोप प्रतिनिधि अतिला मोडगलाई दिएको अन्तर्वार्तामा बाटिस्टेनीले भनेकी छन्, ‘मैले मेरो घरमा रहेका वृद्धा बुवाआमासँग नभेटेको धेरै भइसक्यो, किनकि यो अवस्थामा फिल्डमा रिपोर्टिङ गरेर बुवाआमालाई भेट्दा थप अर्को जोखिम निम्तिन सक्छ भन्नेमा म सचेत छु । त्यति मात्र होइन, हाम्रो आरएआई च्यानलको क्रु मेम्बर हेडक्वार्टर पनि गएका छैनौं । किनकि हामी सबैभन्दा बढी इन्फेक्सनको जोखिम मोलेर पनि बाहिरी फ्रन्टलाइनमा काम गरेका छौं । केवल हामी व्यस्त छौं त स्थलगत रुपमा यथार्थताको नजिक गएर सूचना संकलन गर्ने काममा मात्र ।’
‘जब म पहिलो पटक अस्पतालमा रिपोर्टिङका लागि गएँ, त्यो नरक जस्तै लागेको थियो । डाक्टर, नर्स सबै सशंकित अनि त्रसित देख्थें भने उनीहरूलाई थाहा थियो उपचार गरिराखेका धेरै जना मर्नेछन्, अनि बिरामीको आँखामा देखिएको आँसु र चित्कारले धेरै नरमाइलो लागेको थियो,’ उनले थपेकी छन्, ‘हुन त मैले सिरिया र टर्कीको द्वन्द्वमा रिपोर्टिङ गर्दा लकडाउन, कर्फ्यू, बम विस्फोट धेरै पटक आँखै अगाडि भोगेको छु तर अहिलेको यो अदृश्य आतंक भने बिल्कुल फरक छ, हाम्रा लागि जता पनि जतिबेला पनि शत्रु अर्थात् भाइरसले आक्रमण गर्न सक्छ ।’
उसो भए यस्तो अवस्थामा कसरी सुरक्षित भएर फिल्ड रिपोर्टिङ गरेकी छौ त भन्ने अतिलाको जिज्ञासामा भने उनले आफ्नो काम गर्ने कम्पनीले सबै सुरक्षा सामग्रीको प्रबन्ध र ग्यारेन्टी गरेको भन्दै आफूहरूसँग पर्याप्त मात्रमा मेडिकल्ली प्रोटेक्टिभ इक्वीपमेन्ट भएको उल्लेख गरेकी छन् । अब यहाँ जिज्ञासा उठ्छ – के नेपाली सञ्चारकर्मी पनि यो अवस्थामा आफूलाई पूरा सुरक्षित राख्दै ढुक्कसँग रिपोर्टिङ गर्न सक्ने अवस्थामा छन् त ? धेरैको जवाफ आउने छ – छैन । तर यो विगतको जस्तो कुनै द्वन्द्व वा प्रकोपमा रिपोर्टिङ गर्दा जस्तो सञ्चारकर्मीको पोशाक लगाएकै भरमा सुरक्षित भइने अवस्था भने अवश्य होइन । बाटेस्टिनीले खासमा आम सञ्चारकर्मीमाझ प्रवाह गर्न खोजेको सन्देश पनि यसैमा केन्द्रित छ, त्यसलै त उनको टीम अहिले परिवारसँग पनि फिजिकल्ली सम्पर्कमा आएको छैन अनि हेडक्वार्टर पनि गएको छैन ।
उनको पेशाप्रतिको खटाइ भने जति तारिफ गरेपनि पुग्दैन, कम चुनौतीपूर्ण पनि छैन । उनको एउटा भनाईले भने उनमा पत्रकार बन्नुमा कति गर्व र जिम्मेवारीबोध रहेछ भन्ने प्रस्ट हुन्छ । उनले भनेकी छन्, ‘मलाई प्रत्येक दिन देखेको मृत्यु सम्झँदा डर नलाग्ने होइन तर आफ्नो पेशा सम्झन्छु अनि आफैंले आफैंलाई प्रश्न गर्छु म पत्रकार किन बनेको ? आखिर मेरो आवश्यकता देश समाजले यतिबेला नै महसूस गरिराखेको छ ?’ (विस्तृत अध्ययनका लागि हेर्नुहोस् : Mong A, Q & A : R.A.I JOURNALIST STEFANIA BATTISTINI ON COVERING ITALYS CORONAVIRUS OUTBREAK, cpj.orj, 26 mar 2020] ।
उनका यी उर्जाशील भनाईले आम पत्रकारलाई उत्साहित बनाउने त छ नै सँगै जिम्मेवार र सत्यतथ्यमा केन्द्रित भएर सुसूचित गर्न प्रेरित पनि गरेको छ ।
कोरोनाबाट अति प्रभावित विश्वको अर्को देशभित्र पर्छ स्पेन । स्पेनको म्याड्रिडमा रहेर पत्रकारिता गर्दै आएकी मेरिया रेमरेजले नेइमन रिपोर्टस् अनलाइनमा लेखेकी छन्, ‘यो विषम परिस्थितिमा म सकेसम्म पत्रकारिताको माध्यमबाट सकारात्मक सन्देश प्रवाह गर्न चाहन्छु । मेरा हरेक समाचारमा डिजास्टर, क्राइसिस, कोहएस, क्याटास्ट्रोफ, नाइटमेयर जस्ता विशेषण हटाउने प्रयत्न गर्छु ।
किनकी अहिलेको यो संकटमा यस्ता नकरात्मक शब्दको प्रयोगले पत्रकारितामार्फत आममानिसमा उत्साह, आशा सञ्चार गर्न सकिँदैन भन्ने बुझेको छु । म सकेसम्म आशा जगाउने खालका अप्टिमेस्टिक बाइटहरूलाई समाचारमा प्राथमिकता दिन्छु, समाचारमार्फत जनस्वास्थ्यमा योगदान दिनुलाई कर्तव्य ठान्छु । त्यसैले मेरो रोजाइमा भ्याक्सिन, ट्रिटमेन्ट, सोलिडारीटी, इनोभेसन जस्ता शब्दहरू पर्ने गर्छन्, जसले मान्छेलाई इन्स्पाएर गरोस् ।’
म्याड्रिडबाट वासिङ्गटन पोस्टमा समेत योगदान पुर्याउँदै आएकी मेरियाले लकडाउनपछि सञ्चारमाध्यमले भोगेका समस्याबारे पनि चर्चा गरेकी छन् ।
(विस्तृत अध्ययनका लागि हेर्नुहोस् : Ramirez M,in spain Eldiario.es uses public service journalism to fight coronavirus, niemanreporters.org, mar 25 2020) ।
उसो भए म्यारियाले भने जस्तै हामीले पनि स्क्यान्डललाई भन्दा जिम्मेवार पत्रकारितामा जोड दिएका छौं त ? अहिले संवेदनशील बन्नुपर्ने विषय हो यो । हो वास्तवमा कहिलेकाहीँ बिकाउ समाचार बनाउँदा तत्कालका लागि चर्चा कमाउन सकिएला तर यसले समाजलाई क्षति पनि पुर्याउने गर्छ । यस्तो संकटमा केही नेपाली मिडिया पनि कतै बहकिएका त छैनन् भन्ने जिज्ञासा र गुनासो पनि नसुनिएको होइन । जनताले बनाउने हरेक मानसिकता सञ्चारमाध्यमले दिएको सूचनामा आधारित हुने गरेको कुरामा दुईमत छैन ।
अहिले आमसञ्चारमाध्यमको पहुँच विकसितदेखि हाम्रो जस्तो विकासोन्मुख देशका नागरिकसम्म सहज रुपमा पुगेको छ । वास्तवमा भावनामा बहेर ‘इमोसनल ब्ल्याकमेलिङ’ गराउने उद्देश्यले बनाइएका समाचारले पनि सर्वसाधारणको ध्यान खिचेको हुन्छ तर विपत्तिमा गरिने यस्तो मिसनले मेरियाले भने जस्तो जनताप्रति उत्तरदायी पत्रकारिताको भाव प्रकट हुन सक्दैन ।
विश्वका धेरै सञ्चारकर्मी अहिले सकारात्मक समाचार सम्प्रेषण गरेर आम जनमानसको आत्मबल दरिलो बनाउन केन्द्रित भइराखेको पनि देखिएको छ । भनिन्छ नि मनोबल बलियो छ भने आधा रोग त्यसै निको हुन्छ भनेर तर कतै हामी कोरोना संक्रमितबारे समाचार बनाउँदा उनीहरूले स्वदेश आएर ठूलै अपराध गरेजस्तो, सिंगो देशलाई बर्बादी गरे जस्तो ढाँचामा संक्रमित र अरुको पनि मनोबल गिराउने रुपमा समाचार त बनाइराखेका छैनौं ? एक पटक नेपाली सञ्चारकर्मीले आफूले पस्किराखेको समाचारलाई दोहोर्याएर हेर्ने कि ?
फेरि यो यथार्थता हो, विश्वका अरु धेरै देशका सञ्चारकर्मीको तुलनामा सेवासुविधादेखि स्रोतसाधनको उपलब्धतामा पनि नेपाली सञ्चारकर्मी धेरै सीमितताको बीचमा रहेर काम गर्न बाध्य छन् तर यो विषमतामा जवाफदेही बनेर सम्प्रेषण गरिने समाचारले राज्य र जनता दुवैलाई उत्तरदायी बनाउन सक्छ सायद । राज्यका कमजोरीलाई त खबरदारी गर्नैपर्छ तर स्वास्थ्य सम्बन्धीका समाचारमा सर्वसाधारणलाई निराशाभन्दा पनि आत्मबल बढाउने सन्देश प्रवाहमा सञ्चारकर्मी थप गम्भीर बन्नैपर्छ कि ? खासमा मेरियाको सन्देश पनि यसैमा केन्द्रित छ ।
चीनको वुहानको समाचार संकलन गरेका फ्रिलान्सर तथा चिनियाँ नागरिक पत्रकार चेन कुइसीको भोगाइ र अनुभव पनि कम रोचक र चुनौतीपूर्ण छैन । हङकङमा चलिराखेको प्रदर्शनको रिपोर्टिङ गरिराखेका चेनलाई एकाएक वुहानमा आउटब्रेक भएको कोरोनाले ध्यान खिच्यो तर त्यहाँ रिपोर्टिङ गर्न त्यति सहज थिएन । एक त भाइरसको डर, अर्कोतर्फ चिनियाँ कम्युनिस्ट सरकारको कडा सेन्सरसिप ! उनले आफू धेरै पटक चिनियाँ सुरक्षाकर्मीबाट जोगिँदै स्थलगत रुपमा भिडियो खिच्न जोखिम मोलेर पुगेको स्मरण गरेका छन् ।
क्वार्जका लागि जेनी लिलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘चिनियाँ सुरक्षाकर्मी घरमै गएर मेरा बुवाआमासँग समेत सरकारका काममा केही पनि नकारात्मक कुरा नफैलाउनका लागि मलाई भन्नु भनेका रहेछन् तर उनीहरू जाँदा म घरमा थिइनँ, यदि म हुन्थें भने सायद मलाई पक्राउ गर्ने थिए । साथै म पनि केही गलत सूचना कतै सम्प्रेषित हुन पुग्छ कि भनेर अति नै धेरै चिन्तित र गम्भीर थिएँ ।’
उनले थपेका छन्, ‘मैले पोस्ट गरेका केही भिडियोले चीनका सोसल मिडियाको ध्यान खिचेको थियो तर मलाई निरन्तरता दिइराख्न सहज थिएन । किनकि यूट्युब ब्लक गरिएको थियो भने मैले स्पेसल सफ्टवेयरको प्रयोग गरेर काम गरेको थिएँ । (विस्तृत अध्ययनका लागि हेर्नुहोस् : Li J, I have seen bodies: A Chinese citizen journalist reporters on the coronavirus from wuhan, Quartz, qz.com, feb 6 2020 ।
उनले आफ्नो सुरक्षाको लागि भने पर्याप्त मात्रमा फेस मास्क, सुरक्षित ग्लोब, अनि कोटको प्रयोगमा भने सधैं सचेत रहेको उल्लेख गरेका छन् ।
चेनको अनुभव विशेष गरेर चीनको राज्य नियन्त्रित सूचना सम्प्रेषण नीतिसँग बढी सम्बन्धित छ । अर्थात् चीनले सूचना सम्प्रेषणमा अपनाएको एकद्वार प्रणाली र कठोरताले गलत सूचना जानबाट रोक्यो भन्ने एउटा समूह छ भने सूचनामा सेन्सरसिप गर्यो भनेर आलोचना गर्ने अर्को जमात पनि सक्रिय नभएको होइन । यस्ता संकटमा हतार र अफवाह फैलाउने खालका सूचना जनमानससम्म जान नदिएर नै तुलनात्मक रुपमा कम क्षतिमा नै चीन कोरोना भाइरसलाई जित्ने अवस्थामा पुगेको त होइन भनेर प्रशंसा गर्नेको संख्यामा पनि कमी छैन ।
अर्कातर्फ फ्रिलान्सरको रुपमा काम गर्दै आएका चेनहरू पनि प्रत्येक सूचना, समाचार अपडेट गराउँदा चीनले अख्तियार गरेको कडा नीतिका कारण पटक–पटक ‘क्रस चेक’ गर्दै भेरिफाइड गर्न बाध्य हुन्थे । हो कहिलेकाहीँ राज्यले लिने कडा नीतिले जिम्मेवार बन्न उत्प्रेरित गराउँछ भन्ने प्रमाण पनि हो चेनको अनुभव । यो परिस्थितिमा नेपाली सञ्चारमाध्यमले पनि सूचना सम्प्रेषणको अधिकार प्रयोग गरिराख्दा राज्यबाट नियन्त्रित हुन नपरेपनि सेल्फ सेन्सरसिप भएर क्रसचेक र भेरीफाइडमा ध्यान दिँदा अझ बढी राम्रो हुन्छ कि ?
यीबाहेक द गार्डियानका बेइजिङ ब्युरो चिफ लिलि क्वु, हेल्थ एडिटर सराह बोस्ले र इटली रोमकी संवाददाता एन्जेला गिफ्रिडाको कोभिड–१९ को रिपोर्टिङ अनुभव कम चुनौतीपूर्ण देखिँदैन । १४ मार्चमा गार्डियानको अनलाइन संस्करणमा प्रकाशित उनीहरूको अनुभव होस् वा १ अप्रिलमा टीआरटी वल्र्डमा प्रकाशित इटालियान पत्रकार फ्रान्सेस्का म्याननोकीको रिपोर्टर्स डायरी कम सन्देशमूलक छैन ।
अनि द गार्डियानका लागि इजिप्ट प्रतिनिधि रुथ मिकल्सनलाई आफ्नो देशको कोरोनाको रिपोर्टिङमा अफवाह फैलाएको आरोप लगाउँदै इजिप्टियन सरकारले देश छोड्न जारी गरेको उर्दीले फेरि केही देश सञ्चारलाई राज्य नियन्त्रित गराउन सक्दो प्रयत्नरत छन् भन्ने पुष्टि पनि गरेको छ (विस्तृत अध्ययनका लागि हेर्नुहोस् : Safi M, Egypt forces guardian journalist to leave after coronavirus story, Gurdian,theguardian.com, mar 26, 2020।
बाटिस्टेनी, मारिया र चेन तीनै जनाको साझा अनुभवले यो पुष्टि गरेको छ कि चुनौती त धेरै छँदैछ तर सत्यताको नजिक पुगेर समाचार सम्प्रेषण गरे मात्रै आममानिसको मन जित्न सकिन्छ । संकटको यो महासंग्राममा कारोना अति प्रभावित क्षेत्रको डेन्जर जोनमा रहेर स्थलगत रिपोर्टिङ गरिराखेका सञ्चारकर्मीको भोगाइ र अनुभवले यो पनि सन्देश दिएको छ कि यो पेशा जति चुनौतीपूर्ण छ, त्योभन्दा बढी अझ रुचिकर र गर्व गर्न लायक पनि ।
(नोट : विस्तृत अध्ययनका लागि माथि उल्लेखित स्रोतहरूमा गूगल सर्च गर्न सक्नुहुनेछ । यो आलेख विविध सञ्चारमाध्यम तथा जर्नलमा प्रकाशित सामग्रीको अध्ययनपछि तयार पारिएको हो ।)
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...