×

NMB BANK
NIC ASIA

कालजयी रचयिता जसले हुलाकबाट नारायण गोपाललाई गीत पठाए [भिडियोसहित]

कात्तिक २०, २०७४

NTC
Premier Steels
यो सम्झिने मन छ म बिर्सुं कसोरी
तिमी नै भनिदेऊ ए जाने निष्ठुरी
कवि तथा गीतकार दिनेश अधिकारी जागिरको सिलसिलामा बैतडी जानुपर्ने भएपछि छुट्ने बेलामा बिदा दिँदै नारायणगोपालले भनेछन्, ‘ए दिनेश, राम्रो गीत लेखेपछि मलाई पठाइदेऊ है !’

त्यतिखेरसम्म नारायणगोपाल र दिनेश अधिकारीको सम्बन्ध बलियो भइसकेको थियो । कामको सिलसिलामा काठमाडौंबाहिर बस्नुपरेपनि काठमाडौंको साहित्यिक र गीति माहोलसँग पुरानो सम्बन्ध थियो अधिकारीको ।
‘हुन्छ दाइ’, अधिकारीले भने । नारायणगोपाललाई दाइ भनेर सम्मान गर्थे उनी ।
उनीहरूबीच छोटो कुरा भयो ।

अधिकारी सरकारी जागिरे बनी बैतडीतिर लागे । यो २०४१ सालतिरको कुरा हो । डायरीमा काठमाडौंमै लेखिएका केही गीतहरू थिए । त्यही डायरीमा थियो – ‘यो सम्झिने मन छ म बिर्सुं कसोरी...।’

बैतडी पुगेको केही समयमै हुलाकबाट नारायणगोपाललाई गीत पठाइदिए महाराजगञ्जको ठेगानामा ।
त्यतिबेला हुलाकको जमाना थियो । फोनको सुविधा पनि कमैले मात्र उपभोग गर्न पाएका थिए ।dinesh adhikari

तर त्यो गीत लामो समयसम्म कता हरायो कता ? प्रेषक अधिकारीलाई नारायण दाइले चिठीमा पठाएको गीत पाए कि पाएनन् भन्ने पनि थाहा भएन । बरू अधिकारी नै काठमाडौं फर्कने बेला भइसकेको थियो ।

सम्बन्धको निकटताले काठमाडौं आउँदा नारायणगोपालकै घर पुग्न भ्याउँथे दिनेश । नभ्याउँदा फोन गरेर भन्थे, ‘दाइ, यसपालि घर आउन पाइएन ।’

अधिकारीले फेरि काठमाडौं आउँदा त्यही औपचारिकता निर्वाह गर्दै भने, ‘दाइ, काठमाडौं आको थें, घरमा आउन भ्याइनँ ।’

त्यतिबेलासम्म अधिकारी बैतडीबाट कलैया सरुवा भइसकेका थिए ।

नारायणगोपालले हठात् भने, ‘ए दिनेश, खै त गीत ?’

‘दाइ, डायरी त कलैयामा पो छ त,’ उनले झट्ट सम्झेर सुनाए, ‘तर दाइ बैतडीबाट एउटा गीत पठाएको थिएँ त ।’
‘त्यसोभए मसँग होला’, नारायणगोपालले यति भने । उनले अर्को गीत पठाऊ पनि भनेनन् अधिकारीलाई ।

बल्ल एक वर्षपछि ‘यो सम्झिने मन छ...’ गीत रेकर्ड भएको दिनेशलाई थाहा भएछ । ‘नारायणगोपाल दाइले कलैयामै क्यासेट पठाउनुभएछ ।’

उनी सम्झन्छन्, ‘काठमाडौंमा लेखेको गीत बैतडीबाट पठाएर कलैयामा आइपुग्दा बल्ल रेकर्ड भएको थाहा पाएँ ।’
उनी हाँस्छन् ।

उता काठमाडौंमा भने त्यही गीतले बजार रन्काएको थियो । अर्कोतिर उनका कविताले पनि साहित्यकारका माझमा चिनारी दिएको थियो अधिकारीलाई ।

कुरा सुन्छु नानाथरी गाँठो पर्छ छातीभरि
बह पोख्ने ठाउँ छैन बसेकी छु बाटो हेरी
लैजा चरी...
मेरो खबर जहाँ होला, उसको शहर

अधिकारीको यो गीत आज पनि उत्तिकै चर्चामा छ । योगेश्वर अमात्यले स्वर दिएको ‘लैजा चरी’ गीतमा न्ह्यू बज्राचार्यले संगीत दिएका थिए ।

अधिकारीकै शब्द गाएर थुप्रै नेपालीले ‘कभर गीत’ पनि गाइसकेका छन् । यो गीतले योगेश्वर अमात्य र न्ह्यू बज्राचार्यलाई जति चिनायो, त्यसको तुलनामा रचनाकार दिनेश अधिकारी भने कमै चर्चामा रहे ।

यी त भए गीतका कुरा । साहित्यमा पहिलो पाइला भने कविताकै माध्यमबाट चालेको सम्झन्छन् दिनेश ।
गत साउनमा ‘तस्बिरको कथा’ को माध्यमबाट तस्बिरमा लुकेको परिवेशलाई आख्यानीकरण गरेका थिए उनले ।

‘जागिरबाट सेवानिवृत्त भएपछि फेसबूक चलाउन थालें, पुराना तस्बिर फेसबूकमा पोस्ट गर्दा साथीहरूले बरू पुस्तकका रूपमा प्रकाशन गर्नुस् भनी सल्लाह दिए’, लगभग चौंतीस वर्ष सरकारी जागिरे भएका अधिकारी आफ्नो पहिलो आख्यानात्मक कृति ‘तस्बिरको कथा’ बारे थप्दै भन्छन्, ‘फेसबूक चलाउन नथालेको भए यो कृति नै जन्मिदैनथ्यो होला ।’

काठमाडौंका रैथाने अधिकारीलाई यहाँका साहित्यकारको खुबीले स्कुले उमेरदेखि नै तानेको रहेछ । विद्यालयमा प्रथम भइने र पुरस्कार थाप्ने सपनाले कविता लेख्ने गरेको उनी सुनाउँछन् । उपत्यकास्तरीय कवितामा प्रथम पनि भएका थिए उनी । राजा वीरेन्द्रले पनि दुईपटक पुरस्कार दिएको सम्झना सुनाउँछन् अधिकारी ।

शुरुमा लहडैलहडमा कविता लेख्न थालेपनि पछि भने कविता लेख्दै गर्दा बीपी कोइराला, भूपि शेरचन, भवानी भिक्षु, मोहन कोइराला लगायतका साहित्यकारसँग संगत बाक्लो भएको थियो उनको ।

लहडैमा कवितातर्फ आकर्षित भएका अधिकारी २०३६ सालको कविता आन्दोलनपछि गम्भीर भएर कविता रचनामा लागेको बताउँछन् । लगत्तै अर्को वर्ष कविता सङ्ग्रह प्रकाशन गरे – ‘अन्तरका छिटाहरू ।’

बजारमा उनका अन्य कृति ‘धर्तीको गीत’, ‘भरियाको भूगोल’ लगायतका कवितासङ्ग्रह पनि उपलब्ध छन् । उनको कृति ‘संवेदनाके स्वर’ हिन्दी भाषामा पनि प्रकाशित छ ।

कवि अधिकारी शुरुमा भने कवि बन्नका लागि कविता नलेखेको बताउँछन् ।

‘कहिले प्रथम हुने लोभले कविता लेखिन्थ्यो, कहिले नाम छापिन्छ भनेर कविता लेखिन्थ्यो,’ अधिकारी आफ्ना शुरुवाती दिन स्मरण गर्दै सुनाउँछन्, ‘२०३६ को सडक कविता आन्दोलनपछि भने कविता लेख्नुपर्छ भन्ने लाग्न थाल्यो ।’
त्यतिबेलाको सडक कविता आन्दोलन खासमा तत्कालीन व्यवस्थाको विरुद्ध थियो । काठमाडौंमा रहेर कविताकर्म गरेका सयौं कविले ‘सडक कविता आन्दोलन’ शुरुवात गरेका थिए त्यतिबेला ।

कविहरूले शुरुमा स्वतन्त्रताको पक्षमा भन्दै आन्दोलन गरेपनि त्यो आन्दोलन बहुदलीय व्यवस्थाका लागि गरिएको आन्दोलन भएको अधिकारी बताउँछन् ।

‘त्यस आन्दोलनले नेपाली कवितामा परिवर्तन ल्याइदियो,’ उनी थप्छन्, ‘नेपाली कविता बिस्तारै समाजसँग टाढा हुँदै गएका थिए, क्लिष्ट र अमूर्त थिए । २०३६ को आन्दोलनले कविताहरू फेरि समाजसँग जोडिए ।’

कविताको अवस्था कस्तो थियो भने साहित्यको वकालत गर्ने पत्रिकाले नै कवितालाई महत्त्व दिँदैनथ्यो । अधिकारी सम्झन्छन्, ‘पहिले कविता नपठाउनू भन्ने सूचना नै छाप्ने पत्रिकाले पनि कवितालाई विशेष महत्त्व दिन थाले त्यो आन्दोलनपछि ।’

सयभन्दा बढी सक्रिय कविहरूमध्ये अहिले भने बढीमा एक दर्जन आफ्ना समकालीन कविले ‘कविता’ लेखिरहेको अधिकारी सुनाउँछन् ।

अहिलेका कविताले केही भिन्नै मोड लिएपनि ती कवितालाई समाजले कत्तिको रुचाउँछन् भन्ने कुरालाई अहिले नै आँकलन गर्न नसकिने दिनेश बताउँछन् ।

‘केही अकविता पनि कविता भएका छन् आजभोलि,’ उनी थप्छन्, ‘यस्ता कविताले विकृति फैलाएपनि युवाप्रति कविताको रुचि बढाएको छ, यसलाई सकारात्मक रूपमा लिऔं ।’

यो पुस्तामा कैयौं आशालाग्दा कवि पनि देखेका छन् उनले ।

त्यसो त पहिले पनि कविताको पकड कमजोर भन्न नमिल्ने धारणा राख्छन् अधिकारी । विभिन्न स्थानमा हुने गोष्ठी अनि पत्रिकामा छापिने फुटकर कविता र तिनै कविता प्रकाशन हुँदा पनि कविको आकर्षणले कविता बिक्री हुनुको ‘मानक’ लाई हेर्ने हो भने कविताको बजारलाई कमजोर भन्न नहुने बताउँछन् कवि अधिकारी ।

‘कवितालाई ‘विनिमय’ को अर्थमा लिने हो भने कविता नै साहित्यको सबैभन्दा सशक्त विधा हो, कविताको आफ्नै शक्ति छ,’ उनी सुनाउँछन्, ‘कविता लेखेकै कारणले राजकाजको मुद्दा परेको छ नि मलाई ।’

त्यतिबेलाका सरकारी जागिरे । वास्तविक नाम दिनेशहरि अधिकारी भए पनि साहित्यमा उनले ‘हरि’ लाई झिकिदिएका थिए नाम ‘लामो’ भयो भनेर । यो ‘हरि’ शब्द पनि उनको नामसँग मात्र जोडिएको थिएन । बुवा र हजुरबुबाको नाममा पनि जोडिएको थियो ।

चिनेजानेका साहित्यकारले उनलाई दिनेश अधिकारीका नामले चिन्थे तर शाही नेपाली जंगी अड्डामै जागिर खाएका दिनेशलाई भने त्यही हरि छुट्दा कर्मचारीले चिनेनन् । ‘साहित्यकारको जमातले त चिन्थ्यो, एक दुई पत्रिकामा तस्वीर छापिएपनि खासै खोजी गरिएन,’ उनले थपे, ‘शाही नेपाली जंगी अड्डामा कविता लेख्ने दिनेश अधिकारी भन्ने म नै हुँ भनेर कसले अड्कल काटोस् ?’

पछि त्यो मुद्दा यसै सेलायो । उनले समाजका कविता लेखिरहे । ‘यदि मै हो भन्ने भए त जागिर मात्र जाँदैनथ्यो, मलाई जेलमा कोचिदिन्थे’, उनी सुनाउँछन् ।

सेवानिवृत्त जिन्दगी बिताइरहेका अधिकारीले सरकारी जागिरकै सिलसिलामा देशका विभिन्न जिल्लामा पुग्दा एकातिर आफ्नो जागिरे कर्तव्य निर्वाह गरे भने अर्कोतिर तिनै पुगेका ठाउँमा देखेभोगेका विषयवस्तुलाई कवितामा उतारे ।

हजारौं पर्यटक घुम्न जाने रारा तालको सुन्दरतावरिपरि बस्ने स्थानीयको हालत कस्तो होला ? अरूले रारा घुमेर त्यसको सुन्दरताको वर्णन गरे । उनले त्यहाँको पीडालाई कवितामा उतारे । कविता थियो – ‘नीलो बह ।’
पछि त्यही कविता ‘कर्णाली दक्षिण बग्दछ’ नाटकमा पनि समावेश भएको दिनेश स्मरण गर्छन् ।

‘जागिरले मेरो कविता लेखनमा इँट्टा थपेको थियो,’ उनी भन्छन्, ‘पेशा र शोख दुवै फरक कुरा हुन् । कविता मेरो एकोहोरो प्रेम थियो, पेशा थिएन ।’

अधिकारीका कविता त समाजका ऐना बनेका छन् नै । उनका गीत पनि उस्तै कालजयी छन् । ‘तिमी जुन रहरले ममा भुल्न आयौ,’ ‘तिमी यसै लजायौ,’ ‘सोचेजस्तो हुन्न जीवन’ लगायतका कर्णप्रिय गीतले उनलाई परिचित बनाएको छ ।
ममाथि पिठ्यूँमा बसेर हात उठाऊदै
यत्तिखेर--
मेरो सानो छोरो
तोते बोलीमा 'हत् घोरा हत्' भनिरहेछ
र, चार हात-खुट्टाहरु टेकेर
म, घोडा भाँतीमा घोप्टिएको छु
ऊ, आफ्नो इच्छानुसार मलाई
घरि, पूर्व हिँडाउँछ
घरि, पश्चिम फर्काउँछ
म उसका आदेशहरु पालन गर्दै
मनमनै सोचिरहेछु--
मान्छेको जिन्दगी धेरै हदसम्म घोडाकै नियति रहेछ
र, ढल्किँदो उमेर सँगसँगै हरेक मान्छे
आफ्नो लागि कम र अरुहरुकै लागि ज्यादा बाँच्ने गर्दोरहेछ
र त--
यी ! अहिले म छोराको घोडा भएको छु
हाँस्दा पनि त आफू कहिले हाँसियो र उन्मुक्त ओठले?
सधैँ परिस्थितिकै पुच्छर समातेर दाँत ङिच्याएको छु

'बाबु' भएपछि
सायद जो कोही लोग्ने मान्छेले भन्छ
'आमा' भएपछि
सायद जो कोही स्वास्नीमान्छेलाई लाग्छ-
खै ! कहाँ छ जिन्दगीमा स्वतन्त्रता?
म, अहिले बीच सडकमै थुनिएको छु
म, अहिले गुलियो चपाउँदा चपाउँदै कुँडिएको छु
लाग्छ--
आफ्ना खुसीका दिनहरु त
मैले 'चीँ मुसी चीँ' सँगसँगै छाडिसकेँ
स्वतन्त्रताका गगनभेदी गीतहरु त
मैले भातका सितासँगसँगै साटिसकेँ
तै पनि अझै अरुले मान्छेकै सँज्ञा दिन्छन् भने म के भनूँ?
हैन भने
अहिले त -बस !
हट् ! हट् ! ! हट् ! ! !
मुखभरि लगाम खिँचिएको
मात्र एउटा घोडा हुँ म
कहिले छोराको . . .
कहिले घोडाको . . .
(अधिकारीको हट् घोडा हट् कविता)

अहिले उनी आरामको जिन्दगी बिताइरहेका छन् । युवापुस्ताको जोश अहिले मत्थर हुँदै जानु स्वभाविकै भइहाल्यो । घरमै बस्छन् ।

कहिलेकाहीँ कविता लेख्छन् । कहिले गीत । ‘मेरो खराब बानी के छ भने कविता लेख्छु भनेर लेख्न सक्दिनँ, दिमागले अह्राएको बेलामा मात्र लेख्न बस्छु,’ उनी थप्छन् ।

‘फर्केर हेर्दा प्रत्येक दश वर्षमा कविता सङ्ग्रह प्रकाशन भएको रैछ, केही वर्षभित्र कविता सङ्ग्रह निकाल्न सकिन्छ कि भन्ने लागेको छ’, उनी सुनाउँछन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x