माघ २, २०८०
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
काठमाडाैं | साउन १४, २०८०
नेपाली कांग्रेसले मात्रै होइन, देशले नै आशा गरेका युवा नेता हुन्, गगन थापा । नेविसंघको राजनीति गरेर सभापति र अध्यक्ष भएका थुप्रै नेताको भीडमा थापा संगठनको महामन्त्रीसम्म मात्रै बने । तर, पनि समकालीन युवा नेता मात्रै होइन, राजनीतिमा थापाभन्दा २० वटा बढी भोटो फटाएका नेता पनि उनका अगाडि फिक्का देखिन्छन् ।
कांग्रेसभित्र र बाहिर पनि गगन थापा ब्रान्ड अत्यधिक रुचाइन्छ । सबै शीर्ष र प्रभावशाली नेता सहभागी भएका कार्यक्रममा आज पनि गगनको भाषण सुन्न नेता/कार्यकर्ता लालयित हुन्छन् । उनको बेजोड भाषण सुनेका नेता/कार्यकर्ताले उनलाई २०६४ सालयता चारपटक सांसद, एकपटक मन्त्री र पार्टीको महामन्त्रीसम्म बनेको देख्न पाएका छन् । ४७ वर्षीय थापा प्रधानमन्त्री र पार्टी सभापति पदमा भने अहिलेसम्म पुग्न सकेका छैनन् ।
नेपालमा मात्रै होइन, दक्षिण एसियामा नै विरासतको राजनीति बलियो छ । साथै यो प्रणालीकै रूपमा विकास भएको पाइन्छ । तर, पारिवारिक विरासतविना देशको पुरानो, ठूलो र लोकतान्त्रिक पार्टीका यी युवा नेताले आफूलाई ‘फर्स्ट म्यान’ बनाउने गरी कम्मर कसेर लागेका छन् । एउटा सामान्य कर्मचारीको सन्तानको रूपमा जन्मिएका थापामा एकपटक प्रधानमन्त्री र पार्टी सभापति बन्ने हुटहुटी अत्यधिक देखिन्छ ।
नेतृत्वसम्म पुग्ने गरी उनी आफैंले कुनै समूह निर्माण गर्न सकेका छैनन्, न ठूला समूहको मत र अभिमत पाएका छन् । तर, पनि युवा विचार समूहको नेताको रूपमा आफूलाई उभ्याउँदै आफ्नो मिसनमा थापा दृढ देखिन्छन् ।
पछिल्लो समय नेतृत्वमा पुग्न उनले देखाएको हुटहुटीको नतिजा के हुन्छ भन्नेमा धेरैमा कौतुहलता छ । बलियो पकड र भरोसाविनाको उनको महत्त्वाकांक्षा उनकै लागि भारी पर्ला कि ? उनी सफल होलान् भन्नेमा अनेकन अनुमान गर्न थालिएको छ ।
१३ औं महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको गुटबाट महामन्त्री लड्दा गगन सफल हुन सकेनन् । तर १४ औं महाधिवेशनमा डा. शेखर कोइराला पक्षबाट महामन्त्री लड्दा सहजै जीतसम्म पुगे । गगन २०७८ मंसिरमा भएको महाधिवेशनबाट महामन्त्रीमा विजयी भएका थिए । परम्परागत ठूलो गुटको छहारीले मात्रै थापालाई महामन्त्री बनायो । ठूलो टीमबाट महामन्त्रीमा विजयी भएपछि गगनले निरन्तर पार्टी सभापति र प्रधानमन्त्री बन्ने आकांक्षा राख्दै आएका छन् ।
यतिमात्रै होइन, आफ्नो टीमका नेता डा. शेखरको इच्छा नहुँदानहुँदै पनि थापाले संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँगै प्रतिस्पर्धा गरेका थिए । दलको नेतामा ७ महिना अघि (६ पुस २०७९) गगनले देउवासँग प्रतिस्पर्धा गरेका थिए । देउवा ६४ मत ल्याएर विजयी हुँदा थापाले २५ सांसदको साथ पाए । कांग्रेसका जम्मा सांसदमा डा. शेखर पक्षमा ३० भन्दा बढी सांसद थिए । तर, गगनले टीमका सबै सांसदको पनि साथ पाएनन् ।
मत धेरै नपाए पनि गगनले आफूलाई युवा विचार समूहका नेताको रूपमा उभ्याउन भने सफल भए । १४ औं महाधिवेशनदेखि अर्का महामन्त्री विश्वप्रकाश शर्माले खुलेरै गगनलाई प्रधानमन्त्री बनाउन सबै प्रयत्न लगाउने बताए । देउवा टीमबाट महामन्त्रीमा उठेर पराजित भएका अर्का युवा नेता प्रदीप पौडेलको समेत गगनले साथ पाएका थिए ।
अत्यधिक व्यक्तिगत लोकप्रियता, युवा विचार समूहको नेता बन्दै थापाले टीमका नेताको समेत समझदारी कायम गरेर अगाडि बढ्ने तयारी गरिरहेका छन् ।
महामन्त्री थापानिकट केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी समयले सधैं नपर्खिने भन्दै हिसाबकिताब नगरी जोखिम उठाउनैपर्ने बताउँछन् ।
‘उमेर, अनुभव, पोजिसन, लोकप्रियता, काम गर्ने हुटहुटी र सक्रियताले पनि सबैथोकको हिसाबकिताब निकालेर मात्रै पदमा दाबी गर्ने भन्ने हुँदैन । पार्टी र समयसक्रमसँगै देखिएका चुनौतीका बीच अब महामन्त्रीलाई धेरै कुर्ने छुट छैन,’ सिवाकोटी भन्छन्, ‘यसैले जोखिम उठाउनै पर्छ । धेरै साथीहरूको माग पनि यही छ । अप्ठ्यारो भइसकेपछि मात्रै हातमा लिन खोज्नुभन्दा सम्हाल्न सक्ने अवस्थादेखि नै प्रयास गर्दा यसले नतिजा दिन्छ ।’
लगातार चारपटक सांसद भएको, मन्त्री भएको, अनुभवी, सक्रिय र क्षमतावान नेताको रूपमा पनि थापा पार्टी र देशको नेतृत्वमा पुग्न आवश्यक भएको सिवाकोटी बताउँछन् ।
‘पार्टीदेखि सरकारको नेतृत्व गर्ने ठाउँसम्म पुग्न इच्छा र आंकाक्षा राख्नु स्वाभाविक हो । सपना नै नदेख्ने मान्छेले कहीँ पुग्दैन,’ शिवाकोटी भन्छन्, ‘उहाँले आफ्नो इच्छाको मात्रै कुरा गर्नुभएको छ । टीमका नेता आदरणीय शेखर दाइसँग पनि उत्तिकै समझदारी बनाएर जाने तयारीमा हुनुहुन्छ ।’
थापालाई संसदीय दलको नेता बनाउनका लागि डा. शेखर कोइराला र उपसभापति धनराज गुरुङले प्रस्ताव गर्दा महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पौडेल समर्थक बसेका थिए । टीमको पर्याप्त मत पाउन नसके पनि युवा विचार समूहको नेताको रूपमा थापाले आफूलाई उभ्याउन सफल भए ।
पर्याप्त संख्या नपुगेर पराजित भए पनि थापाले फेरि पनि संसदीय दलको नेता बन्ने आकांक्षा राख्न छोडेका छैनन् । नेतृत्व परिवर्तनका लागि महाधिवेशन कुर्न नसक्ने र फेरि पनि दलको नेता बन्न कोशिश गर्ने थापाले पटक-पटक बताउँदै आएका छन् ।
‘म त यसअघि नै दलको नेतामा लडेको मान्छे हुँ । दलको नेता हुनुपर्छ भनेरै प्रयास गरेको हो,’ थापाले गत असार ३० गते विराटनगर पुगेर भनेका थिए, ‘मेरो कोशिश निरन्तर हुनेछ । साथीहरूको संख्याले सार्थकता दिन्छ भन्ने महसूस भएपछि फेरि पनि दलको नेता बन्ने प्रयास गर्नेछु ।’ त्यसअघिको शनिबार पनि थापाले दलको नेता फेरेर आफू वा आफ्नो पुस्ताको प्रधानमन्त्री बन्नु आजको आवश्यकता भएको टिप्पणी गरेका थिए ।
१४ औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवाले ५९.१२ प्रतिशत मत पाए । तर डा. शेखर कोइरालाले ४० प्रतिशत मत पाएका थिए । शेखर पक्षले यही ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको मतलाई आफ्नो हिस्सा मानेको छ ।
अर्कातिर संसदीय दलमा देउवालाई ढाल्न ८९ मा ४५ मत ल्याउनुपर्नेछ, यसका लागि पहिले पाएकोभन्दा थप २० सांसदको समर्थन गगनलाई आवश्यक पर्दछ, जुन शेखर पक्षका सांसदको मतले मात्रै पुग्ने छैन । यसअघि शेखर पक्षका भोट नहालेका नेताले हाल्दा पनि अझै १० सांसदको मत गगनलाई आवश्यक पर्छ । यसका लागि गगनले देउवा पक्षकै १० सांसदलाई आफ्नो पक्षतिर पार्नुपर्ने हुन्छ । तर, देउवाको तयारी अर्कै छ । यसअघि पनि मन्त्री बनाउने आश्वासनमा शेखर पक्षकै सांसदलाई गगनतिर जानबाट रोकेका थिए । सत्ता गठबन्धनको आलोपालोमा फेरि देउवाले प्रचण्डपछि प्रधानमन्त्री बन्ने तयारी गरेका छन् । यस्तोमा त झन् देउवाले मन्त्री बनाउने आश्वासनमा धेरै सांसदलाई रोक्न कार्ड फ्याँक्ने छन् ।
थापाले सञ्चारमाध्यममार्फत आफूले ५५ वर्षपछि राजनीतिबाट अवकाश लिने दाबी गरेका थिए । उनी यतिखेर ४७ वर्ष नाघेका छन् । यसैले उनैले भनेअनुसार उनको सक्रिय राजनीति गर्ने उमेर अब ८ वर्ष मात्रै बाँकी छ । यसैले पनि गगनमा पार्टी र सरकारको नेतृत्व गर्ने हुटहुटी बढेको देखिन्छ ।
पार्टी र राजनीतिमा हिँडेका थापाले केन्द्रीय समिति बैठकमा विश्व दाइको गुट छैन भनेर बोल्दा उनैलाई हानी गर्ने एक नेता बताउँछन् ।
‘संसदीय दलको निर्वाचनमा गगनजीलाई समर्थन गर्नेमा विश्व दाइ हुनुहुन्थ्यो । तर गगनजीले विश्व दाइको गुट नै छैन भन्नुभयो,’ ती नेता भन्छन्, ‘पार्टी र देशको राजनीतिमा सबैथोक जित्छु भनेर हिँड्ने नेताले यसरी बोल्नुहुँदैन । उहाँले त सबैको प्रयत्नले राम्रो गर्न सकिन्छ भनेर लाग्ने हो ।’
कांग्रेस युवा नेता गुरु घिमिरे परम्परागत राजनीतिबाट जनता र कार्यकर्तामा चरम निराशा आएकाले कोही न कोही अग्रसर हुनुपर्ने बताउँछन् । टीम र समूह छैन भनेर बस्नेभन्दा परिवर्तनको भोक जगाउनुपर्ने उनको भनाइ छ ।
‘गगन थापा र विश्वप्रकाश शर्माले २० महिना महामन्त्री भएर हेर्नुभयो । पार्टीका गतिविधि, कार्यक्रम, जनताबीचको उपस्थिति, नेतृत्वको जनतासँग सम्बन्ध, पार्टीको दृष्टिकोण र भूमिकालाई नजिकबाट हेर्दा उहाँहरूमा अब यसरी बसेर हुँदैन भन्ने बोध देखिन्छ,’ घिमिरे भन्छन्, ‘२० महिना सभापति बदल्न कोशिश गर्यौं, तर सच्याउन सकेनौं भनेर त सार्वजनिक अभिव्यक्ति दुवै महामन्त्रीले दिनुभएको छ । यसैले बलियो समूह छैन भनेर युवा नेताहरू चुप बस्ने हो भने नागरिकमाथि नै धोका हुन्छ ।’
कांग्रेसको सात प्रतिशत पपुलर मत घटेको, रवि र बालेनहरूप्रति आशा देखिन थालेको अवस्थामा गगनहरूमा दिक्दारी देखिएको पनि घिमिरेको टिप्पणी छ ।
‘परम्परागत पार्टीको राजनीति मिलिजुली सत्ता र गठबन्धन हो भन्ने भाष्य निर्माण भएको छ । यसैले यिनीहरूलाई भोट किन दिने र बालेन तथा रविहरूलाई किन नदिने भन्नेमा नागरिक पुगेका छन् । यो नयाँले राम्रा कार्यक्रम र एजेन्डा दिएर होइन, पुरानाले आशा र उत्साह जगाउन नसकेर हो,’ घिमिरे भन्छन्, ‘निर्वाचनमा कांग्रेसको ७ प्रतिशत लोकप्रिय मत घटेको छ । नयाँ दलको चुनौती छ । यसैले उहाँहरू दिक्दार देखिनुहुन्छ । भोलिको आँधीबेहरी यसरी हुँदैन भन्ने संकेत प्राप्त गरेकाले परिवर्तनको हुटहुटी गगनसहितका नेतामा देखिन्छ ।’
यसअघि एमालेमात्रै चुनौती रहेकोमा पछिल्ला चुनावबाट रवि, बालेन र हर्क साम्पाङ उदाउन थालेपछि पनि गगन पुस्ता थप चुनौतीमा देखिएको छ । मागेर होइन प्रयत्न गरेर पहिलो प्राप्तिको मिसनमा गगन अडिग देखिन्छन् ।
तर, युवा विचारका नाममा एक्लै अगाडि बढे गगन सफल नहुने घिमिरे बताउँछन् ।
१४ औं महाधिवेशनमा शेखर र गगन एउटै समूहबाट लड्दा उनीहरूमा कुनै वैमनस्यता थिएन । तर, यो २० महिनामा यी दुईबीच जति आत्मीयता हुनुपर्ने हो त्यस्तो नरहेको घटनाक्रमले देखाउँछन् ।
शेखरको अनिच्छाको बाबजुद पनि गगनलाई उनले संसदीय दलको नेतामा प्रस्ताव गरेका थिए । तर, गगनमा देखिएको संसदीय दलको नेता हुँदै सभापतिसम्मको भोकको बेगबारे कोइराला पनि राम्रै जानकार छन्, किनकि देउवासँग पराजित भएपछि शेखरमा पनि १५ औं महाधिवशेनबाट एकपटक सभापति हुने तीव्र आकांक्षा छ ।
‘हिजो टीम छरपस्ट हुँदा अवस्था नराम्रो बन्यो । यसैले टीमलाई एकताबद्ध बनाएर जाँदा सबैले अवसर पाउने र काम गर्ने अवस्था बन्छ,’ घिमिरे भन्छन्, ‘गगन थापासहितका युवा नेता आश गरेका, जीवनको लगानी गरेका नेता हुनुहुन्छ । परम्परागत छलछामपूर्ण राजनीतिबाट कोही अगाडि जान सक्दैन भनेर सफा मनले भन्नुपर्छ । १५ औं मा एउटा नेता सभापति र १६ औंमा अर्को नेता सभापति हुन सक्छन् । सभापति नभई पार्टी सुधार्न र प्रधानमन्त्री नभई देश सुधार्न सकिँदैन ।’
युवा नेताहरूबीच पनि मिलेर अगाडि बढ्नेबारे छलफल भइरहेको घिमिरे बताउँछन् ।
गगनका सबलता के–के ?
गगन पार्टीभित्र अत्यधिक लोकप्रिय छन् । उनको यही यही लोकप्रियताको बलमा उनी एकदिन पार्टीको ‘फर्स्ट म्यान’ नै बन्छन् भन्ने आशा धेरै नेता कार्यकर्तामा देखिन्छ ।
भविष्यको पार्टी कमान्डर हुने भन्ने सन्देश दिएर थापाले धेरै मत र मनलाई आफूहरूतिर आकर्षित गर्ने सामर्थ्य राखेका छन् ।
चारपटक सांसद भएको अनुभव, पार्टी महामन्त्री भएर देशभरका नेता/कार्यकर्तासँग जोडिने र अर्को महाधिवेशनका लागि तयारी गर्ने पर्याप्त मौका उनलाई छ । थापा आफैं पनि हप्ताको दुईतीन दिन उपत्यकाबाहिरका कुनै न कुनै कार्यक्रममा सहभागी भएकै हुन्छन् ।
परम्परागत राजनीति गर्दै आएका नेताभन्दा पृथक भएको सन्देश दिएर नेता कार्यकर्तालाई आफूतिर आकर्षित गर्ने खुबी गगनमा देखिन्छ । आफ्नै दलका पुराना नेतालाई विस्थापित र नयाँ दललाई चुनौती दिन सक्ने क्षमता गगनमा मात्रै भएको मनोविज्ञान हुर्काउन सक्नु उनको अर्को सबलता हो । यतिमात्रै होइन गगन भविष्यको नेता हो यसलाई साथ दिनुपर्छ भनेर खुट्टा उचालेर बस्ने दर्जनौं प्रभावशाली नेताको सद्भाव पनि उनलाई छ ।
बेजोड, तर्क, अनुभव, क्षमता र खटाइ गगनका अरू सबल पक्ष हुन् । अत्यधिक लोकप्रियता नै उनको सबैभन्दा ठूलो शक्ति हो ।
दुर्बलता के–के ?
ठूलो र प्रमुख गुटको नेतामात्रै ‘फर्स्ट म्यान’ बन्ने परम्परा रहेको कांग्रेसमा गगन अपवादमा देखिएका छन् । समूहको सर्वमान्य नेता नहुनुको उनको दुर्बलता देखिन्छ, किनकि प्राविधिक हिसाबमा पनि डा. शेखर कोइराला यो समूहका प्रमुख नेता हुन् । समूहको केन्द्रदेखि पार्टीको तल्लो तहसम्मको मुख्य र आधिकारिक ‘लिगेसी’ अहिले पनि शेखरसँगै छ ।
कोइरालाको सहमति र अनुमतिविना एक्लै अगाडि बढ्न खोज्दा गगनलाई आफ्नो ‘मिसन’ पूरा गर्न कठिन हुनसक्छ । यसैले शेखरको आत्मविश्वासमा मात्रै गगन आफ्नो महत्त्वाकांक्षा पूरा गर्न सक्ने बाटोमा देखिन्छन् ।
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...