कात्तिक ३०, २०८०
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चालेको राजनीतिक सकुनी चालको काउन्टर गर्न यतिबेला सत्ता गठबन्धनलाई हम्मेहम्मे परेको छ । ओलीले सत्ता गठबन्धनमाथि अढाई फ्रन्टको मोर्चा खोलेका छन् ।
एउटा मोर्चामा एमाले आफैं सम्पूर्ण शक्तिका साथ मैदानमा ओर्लिएको छ । अर्कोतिरको मोर्चामा मिडिया, सोसल मिडिया र मल्टिमिडियाको फर्मेसन अजय शक्तिका रूपमा आफूलाई प्रमाणित गर्न कस्सिएको छ ।
झण्डै आधा फ्रन्टको लडाइँमा नेपाली कांग्रेसकै एउटा हिस्साले देउवाको कुर्सीतिर निशाना सोझ्याएको छ । समग्रमा ओलीको अढाइ फ्रन्टको मोर्चामा सत्ता गठबन्धन सी आकारको रणनीतिक घेराभित्र छ ।
ओलीद्वारा घोषित मोर्चाका २ मुख्य उद्देश्य छन् – पहिलो – सरकार ढाल्नु र गठबन्धन भत्काउनु । दोस्रो – अर्थमन्त्री हटाएर प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डलाई एकैपटक गम्भीर झट्का दिनु ।
अर्थमन्त्री हटाएपछि कतिपय सवालमा प्रधानमन्त्रीले जिम्मेवारी लिनुपर्ने विषयलाई उछालेर देउवाको राजनीतिक करिअरलाई धरापमा पार्ने खेल शुरू गरिने छ र माओवादी अध्यक्ष प्रचण्डले त एउटा कुशल कमाण्डर, ऊर्जाका सफल व्यक्ति र पार्टी राजनीतिका आशा लाग्दा व्यक्तिलाई संरक्षण गर्न नसकेको आरोप खेप्नु नै छ । यसरी यस अढाइ फ्रन्टको मोर्चामा एक तीर दुई शिकार हुने विश्वासका साथ ओली आन्तरिक चलखेलमा निकै सक्रिय छन् ।
एकैपटक प्रचण्डमाथि राजनीतिक आक्रमण गर्दा सिंगो माओवादी प्रतिवादमा उत्रिने कुरा राम्रैसँग बुझेका ओलीले छानी–छानी, एक–एक गरी उनको वरिपरिका सारथिविरुद्ध मोर्चा खोलेका छन् ।
प्रचण्डको सांगठनिक घेराका कोर कमाण्डरमध्ये महरामाथिको आक्रमणमा सफलता प्राप्त भएपछि हौसिएको एमाले त्यसलगत्तै सभामुख अग्निप्रसाद सापकोटा विरुद्धको घेराबन्दीमा जमेर लाग्यो । सभामुख सापकोटाको प्रतिरक्षामा कुनै कसर बाँकी नराखेर प्रचण्डले एमालेमाथि प्रत्याक्रमणको फायरिङ खोले र ओली विरुद्धको मोर्चालाई निष्कर्षमा पुर्याए ।
प्रचण्डको प्रत्याक्रमणको फायरिङले ओली सत्ताच्युत भए । दुईतिहाइ प्रदेशमा मुख्यमन्त्री लिएको एमाले सबै प्रदेश सरकारबाट बाहिरियो । संघ र सबै प्रदेशका सरकारबाट अचानक बाहिरिँदाको पीडा एमालेलाई थाहा छ । प्रचण्डको प्रचण्ड प्रहारले रामधुलाइ खाएको एमाले पुनः शक्ति सञ्चयका साथ सत्ता गठबन्धन विरुद्धको मोर्चा खोल्न पुग्यो ।
यसपटक माओवादीको अर्को खम्बा ढालेर एमालेले माओवादी पार्टी पंक्तिमा मौन र सुस्तरी बोल्ने पात्र एवं प्रवृत्तिलाई साइडलाइन धन्यवाद दिने रणनीति तय गरेको छ ।
जुन कुराको आभास सिंगो माओवादी पंक्तिलाई छ । यसपटक माओवादीमाथि प्रहारका अतिरिक्त ओलीले कांग्रेसमाथि पनि आफ्नो माइन्ड गेम प्रयोगको शुरूआत गरेका छन् । कांग्रेसमा देउवा विरुद्धको मोर्चा सशक्त बन्दै जाँदा ओलीले आफ्नो प्रयोगलाई सफलताको नजिक देखेका छन् ।
केही समयको मौनतापछि एमाले सरकारमा रहँदा भएका हर्कत र कर्तुतहरू मानिसहरूले बिर्सेका छन् ।
नारायणहिटी राजदरबारको बतास काण्डदेखि पशुपतिनाथको मन्दिरका सुनका जलपहरू, ३३ किलो सुन प्रकरण, निर्मला हत्याकाण्ड, यी सबै घटनालाई एकाएक गायब गर्दै एमाले यतिबेला अर्थ मन्त्रालयमा बजेटको अघिल्लो राति छिरेको व्यक्ति को हो, त्यसको सीसीटीभी चाहियो भन्ने हंगामा मच्चाउन सफल भएको छ । एउटा स्क्यान्डलको ढाकछोपका लागि अर्को स्क्यान्डल तयार पार्नसक्ने कला एमालेसँग छ ।
यसपटक गज्जबको परिदृश्य के देखियो भने आफूलाई नेपाली राजनीतिका चतुर खेलाडी सम्झने कांग्रेसका केही युवाहरू पनि ओली रणनीतिको घेराभित्रै छन् । ओलीको इशारामा आफ्नै सभापति विरुद्धको मोर्चा सशक्त बनाउने उनीहरूको विवेकले कांग्रेसीजनलाई पीडा भएको हुनुपर्छ भने एमाले खेमामा त्यसले जबरजस्त आशाको सञ्चार गरेको छ ।
विशेषगरी आफ्नो पार्टीमा प्रतिपक्षविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुने तथा विपक्षी विरुद्धको लडाइँमा पूरै हार्डलाइनर देखिनेहरूलाई सशक्त बनाउँदै मैदानमा उतार्ने अनि विपक्षीको सफ्ट तप्कालाई इङ्गेजमा राखिरहने ओली रणनीति प्रत्येक पाइलाको नापजाँचसहित अघि बढेको छ ।
ओलीको प्रथम दृष्टिको प्रहारको केन्द्रविन्दु माओवादी हो । यद्यपि माओवादीसँग प्रतिवादका लागि खासै रणनीति र संयन्त्र तयारी अवस्थामा छैन । थोरै फरक तर सीसीटीभी फुटेजको कथा महरा प्रकरण शैलीकै छ र मिडिया उपयोगको नीति पनि दुरुस्तै उस्तै छ ।
पहिलो पटक प्रचण्ड प्रधानमन्त्री हुँदा धोका दिएर एमालेसँगको गठबन्धन भत्काएका ओली जब बिस्तारै एमालेभित्र संस्थागत हुँदै गए, उनले पार्टी अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री पड्काए ।
प्रचण्डले अघि सारेका झलनाथ खनाललाई ६ महिनामै सत्ताच्युत गरेका ओलीले बुटवल महाधिवेशनमा साथ दिएका वामदेव गौतमलाई बर्दियामा उनकै निर्वाचन क्षेत्रमा पराजित गराउन भूमिका खेले । प्रधानमन्त्री बन्न माओवादीसँग चुनावी कार्यगत एकता हुँदै पार्टी एकतासम्म पुगेका ओलीले अन्ततः प्रथम अध्यक्ष भन्दै आफूलाई लुइ चौधौंको हाराहारी राख्न थालेपछि पार्टी विभाजन भयो ।
ओली पार्टी विभाजनको दृश्य हेर्न तयार भए तर अध्यक्ष र प्रधानमन्त्रीमा आलोपालो गर्न तयार भएनन्, जुन उनले आफैंले गरेको सहमति र सम्झौताविरुद्ध थियो ।
उनले आफू सिंहासनमा नरहने देखेपछि तलदेखि माथिसम्म झांगिएको आफ्नै पार्टीको सत्ता उखेलेर फाले तर सहयोद्धा र पार्टी संगठनका लागि आफूलाई एकछिन सहायक भूमिकामा राख्न रुचि प्रकट गरेनन् । जब अदालतमा उनको आफ्नो सेटिङको प्रयास असफल भयो, त्यसपछि देउवा सरकारलाई परमादेश सरकार भन्दै आत्मरतिको बाटोमा हिँडे ।
यतिबेला स्थानीय निर्वाचनमा गुमेको साखलाई पुनः उठाउन ओलीले भरमग्दुर प्रयास जारी राखेका छन् । त्यसका लागि कांग्रेसभित्र अनौपचारिक विभाजन र माओवादीभित्र व्यापक निराशा सिर्जना गर्ने रणनीतिमा उनले अहोरात्र कार्यकर्ता परिचालन गरेका छन् । महाप्रसाद ओलीको आदेशका तिनै पात्र हुन्, जसले एमालेको हातबाट सत्ता गएलगत्तै राष्ट्र बैंकमा विभिन्न विषयमा बबण्डर मच्चाउन शुरू गरे । ओलीले आफ्नो पार्टीपंक्ति, कर्मचारीतन्त्र र मिडियाले मात्रै पनि सत्ता गठबन्धन र प्रधानमन्त्रीको कुर्सी नडगमगाउने देखेपछि हरेक पार्टीभित्र सियोझैं पस्ने र आफ्नो मिसन पूरा गर्ने योजना तयार गर्दैछन् ।
खासगरी सत्ता गठबन्धनभित्रै अविश्वास र हरेक पार्टीमा गुट–उपगुटहरूको एउटा हिस्सा आफ्नो निकट राखी सहानुभूति प्राप्त गर्न सकिए निर्वाचनपछि एमालेको पुनरुदय सम्भव तुल्याउन सकिन्छ कि भन्ने आशामै उनले सबैखाले दाउपेच र षड्यन्त्रलाई राजनीतिक ल्याबमा टेस्ट गर्न चाहेका छन् ।
कहाँबाट बढ्यो एमालेको मनोबल ?
सत्ता र शक्तिको रापताप, माओवादीमय शहर, भर्खरै सम्पन्न संविधान सभाबाट राजतन्त्रको अन्त्य र गणतन्त्रको उदय अझ भनौं यस युगको सुखद आरम्भका दिनहरूले सिंहदरबारमाथि अपेक्षाको चाङ थियो । सत्तामा माओवादी र सिंहदरबारमा प्रचण्डको रजगज हुने कुरामा त्रसित थिए एमाले नेता केपी शर्मा ओली ।
झापामा माओवादीसँग पराजित हुनुको प्रतिशोधले छाती भत्भति पोलिरहेको थियो । ठीक त्यहीबेला उनले कटुवाल प्रकरणको बहानामा गठबन्धन टुटाएर प्रचण्डलाई सत्ताबाट बाहिर धकेले । त्यही विन्दुबाट ओलीको मनोबल बढ्यो ।
सफेद झूट बोल्न सक्ने कलालाई उनले राजनीतिक दाउपेचमा गज्जबको हतियार बनाएका छन् । जस्तोः एसपीपी प्रकरणमा सेनाले मिति हातले लेख्न हुन्छ भन्दै विषयलाई विषयान्तर गर्न उनी सफल भए । आरोप सेनातिर सोझ्याउँदै आफू विना कुनै ग्लानी र हीनताबोध झूटकै सहारामा आफ्नो तत्कालीन गलत नीतिलाई अस्वीकार गर्न सफल भए । केही दिनअघि राजाको वक्तव्य लेखेको कथा उनले सगौरव सुनाए । न मिडियाले प्रश्न गर्यो, न राजनीतिक नेताहरूले त्यसबारेमा आफ्नो ध्यानाकर्षण गरे ।
त्यसकारण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राजनीतिको सकुनी चालमा निकै माहिर खेलाडी हुन् । जतिसुकै प्रतिकूल अवस्थामा पनि विपक्षीविरुद्ध पासा थाप्न उनी कहिल्यै थाक्दैनन् । उनको टिपिकल विशेषता के हो भने अरु समुन्द्रमा माछाका लागि जाल बिछ्याउँछन्, ओली माझीलाई पासा थाप्छन् । जसले आफूलाई पार लगाउँछ, उसैको हुर्मत नलिएर उनको राजनीतिक संस्कारको कोर्स र इमानको अध्याय पूरा हुँदैन ।
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...