०९ असार २०८३, मंगलबार

मुख्य न्यायाधिवक्ताको कार्यालयलाई नै थाहा छैन कोशीमा कति कानून बने

असार २, २०८३
विराटनगर
मुख्य न्यायाधिवक्ताको कार्यालयलाई नै थाहा छैन कोशीमा कति कानून बने

कोशी प्रदेशमा हालसम्म कति कानून बने र ती कानून कुन प्रक्रियाबाट निर्माण भए भन्ने विषयमा मुख्य न्यायाधिवक्ताको कार्यालय नै बेखबर रहेको पाइएको छ ।

प्रदेश सरकारलाई कानूनी परामर्श दिने र सरकारको तर्फबाट मुद्दा–मामिला हेर्ने संवैधानिक निकायले नै कानून निर्माणसम्बन्धी तथ्यांक र प्रक्रियाबारे जानकारी नभएको स्वीकार गरेपछि प्रदेश सरकारभित्रको समन्वयमाथि प्रश्न उठेको छ ।

मंगलबार प्रदेशसभा सार्वजनिक लेखा समितिको बैठकमा समितिका सदस्य भूपेन्द्र राईले प्रदेश सरकारले हालसम्म कति कानून निर्माण गरेको छ र त्यसमा मुख्य न्यायाधिवक्ताको कार्यालयको भूमिका के रहेको छ भन्ने प्रश्न उठाएका थिए । 

जवाफमा मुख्य न्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता रबिन सापकोटाले प्रदेशमा हालसम्म कति कानून बनेका छन् भन्नेबारे कार्यालयसँग आधिकारिक जानकारी नभएको बताए ।

उनले कानून निर्माणका लागि आवश्यक विज्ञ जनशक्ति कार्यालयसँग भए पनि सरकारले कुनै छलफल नगर्ने गरेको गुनासो गरे। 

‘हामीलाई अहिलेसम्म प्रदेशमा कति वटा कानून बनेका छन् भन्ने जानकारी छैन । कानून बनाउँदा आवश्यक विज्ञ टोली हामीसँग छ, तर सरकारले हामीसँग कुनै छलफल गर्दैन,’ उनले भने ।

सापकोटाका अनुसार कानून निर्माणका क्रममा सरकारले कुन विज्ञ टोली वा व्यक्तिलाई प्रयोग गर्छ भन्ने विषयसमेत कार्यालयलाई जानकारी हुँदैन । समन्वयको अभावका कारण आफूहरू भूमिकाविहीन जस्तै बनेको उनको भनाइ थियो ।

प्रदेश सरकारको तथ्यांकअनुसार कोशी प्रदेशमा हालसम्म ६७ वटा ऐन प्रदेशसभाबाट पारित भएका छन् । त्यस्तै, १३ वटा ऐन संशोधन, १२ वटा अध्यादेश, ३३ वटा नियमावली, १० वटा नियमावली संशोधन, ६३ वटा कार्यविधि, २१ वटा निर्देशिका, ५ वटा गठन आदेश, २ वटा दिग्दर्शन, २ वटा मापदण्ड र ४ वटा नीति निर्माण भएका छन् । 

तर यति ठूलो संख्यामा कानूनी दस्तावेज निर्माण हुँदा मुख्य न्यायाधिवक्ताको कार्यालयसँग पर्याप्त परामर्श नभएको पाइएको छ ।

बैठकमा पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीले आफ्नो कार्यकालमा भने मुख्य न्यायाधिवक्ताको कार्यालयसँग समन्वय हुने गरेको दाबी गरे ।

उनले कानून निर्माणका लागि समिति बनाएर त्यसमा मुख्य न्यायाधिवक्ताको कार्यालयलाई पनि सहभागी गराउने अभ्यास गरिएको बताए । ‘पहिला मन्त्री भएका बेला छलफल हुन्थ्यो, अहिले के अवस्था छ मलाई जानकारी छैन,’ उनले भने।

समितिका सदस्य भूपेन्द्र राईले सरकारको आफ्नै कानूनी सल्लाहकार निकायलाई बेवास्ता गरी बाहिरबाट विज्ञ नियुक्त गर्दा अनावश्यक खर्च बढ्ने बताए । 

सार्वजनिक लेखा समितिले अबदेखि कानून निर्माणका क्रममा मुख्य न्यायाधिवक्ताको कार्यालयसँग अनिवार्य समन्वय गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ ।

यसैबीच, कानूनमै व्यवस्था नभएको अस्थायी चालक अनुमति पत्र छपाइका नाममा प्रदेश सरकारले लाखौं रूपैयाँ खर्च गरेको विषय पनि सार्वजनिक लेखा समितिको छलफलमा उठेको छ । आर्थिक वर्ष २०८०/८१ मा आन्तरिक मामिला तथा कानून मन्त्रालयले ४७ लाख १३ हजार रूपैयाँ खर्च गरेर १ लाख ८७ हजार ५०० थान अस्थायी लाइसेन्स कार्ड छापेको थियो ।

तर तीमध्ये २१ हजार थान मात्र वितरण गरिएको र बाँकी १ लाख ६६ हजारभन्दा बढी कार्ड कार्यालयमै थन्किएको पाइएको छ । समितिका सदस्यहरूले यसलाई गम्भीर आर्थिक लापरबाहीको रूपमा लिँदै सम्बन्धित पदाधिकारीलाई जवाफदेही बनाउनुपर्ने बताएका छन् ।

राईले राज्यकोषको दोहन भएको आरोप लगाउँदै सम्बन्धित अधिकारीलाई समितिमा बोलाउन माग गरेका छन् । 

समितिले आवश्यक परे वर्तमान तथा तत्कालीन मन्त्री, सचिव र मुख्यमन्त्रीलाई समेत बोलाएर छलफल गर्ने निर्णय गरेको छ ।  

सार्वजनिक लेखा समितिले यही असार १० गतेसम्म विभिन्न मन्त्रालय तथा सरकारी निकायसँग लेखापरीक्षणसम्बन्धी विषयमा छलफल गर्ने कार्यतालिका तय गरेको छ ।

मंगलबार आन्तरिक मामिला तथा कानून मन्त्रालय र मुख्य न्यायाधिवक्ताको कार्यालयसँग छलफल गरेको समितिले बुधबार भौतिक पूर्वाधार विकास मन्त्रालय, असार ४ गते खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय र असार ५ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं आर्थिक मामिला तथा योजना मन्त्रालयका पदाधिकारीसँग छलफल गर्नेछ । 

समितिले असार ८ गते प्रदेश लोकसेवा आयोग, प्रदेश योजना आयोग र प्रदेशसभा सचिवालयसँग संयुक्त छलफल गर्नेछ । असार ९ गते उद्योग, कृषि तथा सहकारी मन्त्रालय र पर्यटन, वन तथा वातावरण मन्त्रालयको पालो तोकिएको छ । 

असार १० गते स्वास्थ्य मन्त्रालय र सामाजिक विकास मन्त्रालयका प्रतिनिधिहरूसँग छलफल गरिने सामाजिक विकास समितिका सभापति राजेन्द्र किराँतीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्