०९ असार २०८३, मंगलबार

एमाले समीक्षा बैठकमा ओलीविरुद्ध असन्तुष्टि, नेतृत्व नफेरे विद्रोह हुने चेतावनी

असार २, २०८३
विराटनगर
एमाले समीक्षा बैठकमा ओलीविरुद्ध असन्तुष्टि, नेतृत्व नफेरे विद्रोह हुने चेतावनी

नेकपा (एमाले)को कोशी प्रदेशस्तरीय चुनावी समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यक्रममा तल्लो तहका नेताहरूले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै नेतृत्व परिवर्तनको माग गरेका छन् । 

पार्टीले अपेक्षित चुनावी नतिजा ल्याउन नसकेको र जनस्तरमा छवि कमजोर बन्दै गएको निष्कर्षसहित नेताहरूले नेतृत्वको विकल्प खोज्नुपर्ने धारणा राखेका हुन् ।

मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवार (प्रतिनिधिसभा निर्वाचन २०८२) तथा पूर्व केन्द्रीय सदस्य विनोद ढकालले अध्यक्ष ओली र महासचिव शंकर पोखरेल दुवैको कार्यशैलीमाथि प्रश्न उठाए । उनले महासचिव पोखरेललाई लक्षित गर्दै ‘अध्यक्षलाई देवतुल्य बनाउने काम तपाईंले नै गर्नुभयो, त्यसको जिम्मेवारी तपाईंले पनि लिनुपर्छ’ भने।

ढकालले २०२८ सालको झापा आन्दोलनको प्रसंग उल्लेख गर्दै नेतृत्वले स्वेच्छिक रूपमा जिम्मेवारी हस्तान्तरण नगरे युवाहरूले नयाँ आन्दोलन शुरू गर्न सक्ने चेतावनी दिए । उनले नेतृत्व परिवर्तन नभए इतिहासले वर्तमान नेतृत्वलाई कठोर रूपमा मूल्यांकन गर्ने बताए ।

‘तपाईंहरू नेतृत्व नछाडी बसिरहनुभयो भने इतिहासले तपाईंहरूलाई हेरेको हेर्‍यै बनाउनेछ र युवाहरूले नयाँ आन्दोलनको शङ्खघोष गर्नेछन्,’ ढकालले बैठकमा भनेका थिए ।

सोलुखुम्बुका जिल्ला अध्यक्ष डुफ बास्तोलाले पनि वर्तमान नेतृत्वबाट पार्टी अगाडि बढ्न नसक्ने दाबी गर्दै माथिदेखि तलसम्मका पदाधिकारीले नैतिक जिम्मेवारी लिएर पद छाड्नुपर्ने धारणा राखे । उनले भू–राजनीतिक प्रभाव, सामाजिक सञ्जाल र आन्तरिक कलहलाई एमालेको चुनावी पराजयका मुख्य कारणका रूपमा प्रस्तुत गरे ।

धनकुटाका जिल्ला अध्यक्ष शिव आङलाले पनि वर्तमान कार्यशैलीबाट पार्टी सञ्चालन सम्भव नभएको भन्दै व्यापक रूपान्तरण आवश्यक रहेको बताए ।

null

बैठकमा उम्मेदवार रहेका नेताहरूले चुनावी अभियानका क्रममा अध्यक्ष ओलीको नाम र तस्वीर प्रयोग गर्नसमेत कठिन भएको अनुभव सुनाएका थिए । मोरङ क्षेत्र नम्बर ३ का उम्मेदवार इरान राई र क्षेत्र नम्बर ५ का उम्मेदवार मनोज अग्रवालले ओलीको छविका कारण मत माग्न कठिन भएको बताएका थिए ।

बैठकमा सहभागी एक नेताका अनुसार नयाँ पुस्ताका मतदाताले ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै एमालेलाई मतदान नगरेको गुनासो उम्मेदवारहरूले गरेका थिए । कतिपय मतदाताले उम्मेदवार योग्य भए पनि उनलाई जिताउँदा फेरि ओली शक्तिशाली हुने भन्दै मतदान गर्न अस्वीकार गरेको उनीहरूको भनाइ थियो ।

यद्यपि सबै नेताहरू नेतृत्व परिवर्तनको पक्षमा देखिएनन् । केन्द्रीय सदस्य तुलसी न्यौपानेले महाधिवेशन भएको धेरै समय नबितेकाले तत्काल नेतृत्व परिवर्तनको बहस उपयुक्त नभएको बताए । ओखलढुंगाकी उम्मेदवार अस्मिता थापा र सोलुखुम्बुकी कल्पना राईले पनि हारको सम्पूर्ण दोष नेतृत्वमाथि थोपर्न नहुने धारणा राखे ।

झापाका अध्यक्ष प्रेम गिरीले सबै दोष अध्यक्ष ओलीलाई मात्र दिन नमिल्ने भए पनि पार्टी सुधारको आवश्यकता रहेको बताए ।

एमालेले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा गठन गरेको कार्यदलमार्फत देशभर समीक्षा तथा सुझाव संकलन अभियान सञ्चालन गरिरहेको छ ।

विराटनगरमा आयोजित कार्यक्रममा कार्यदल संयोजक थापासहित उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल तथा सचिवहरू भानुभक्त ढकाल, शेरधन राई र हिक्मत कार्की सहभागी थिए ।

कार्यक्रममा कोशी प्रदेशका १४ वटै जिल्लाका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो । यसअघि बागमती प्रदेशमा सम्पन्न समीक्षा बैठकमा पनि नेतृत्वको विकल्प खोज्नुपर्ने मत बलियो रूपमा उठेको नेताहरूले बताएका छन् । एमालेले असार १९ गतेभित्र देशभरका समीक्षा कार्यक्रम सम्पन्न गर्ने जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्