०५ असार २०८३, शुक्रबार
नेकपामा संकट

प्रचण्ड-माधवलाई नेतृत्व छाड्न सुझाउँदै झलनाथको ३६ बुँदे असन्तुष्टि [पूर्णपाठ]

असार ३, २०८३
काठमाडौं
प्रचण्ड-माधवलाई नेतृत्व छाड्न सुझाउँदै झलनाथको ३६ बुँदे असन्तुष्टि [पूर्णपाठ]

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्र पठाएका छन् ।

उनले संयोजक प्रचण्ड र सह–संयोजक माधवकुमार नेपालको नेतृत्वमा अब पार्टी चल्न नसक्ने भन्दै उनीहरूलाई नेतृत्व छोड्न प्रस्ताव गरेका छन् । दुवै नेताले राजीनामा गरेर विशेष बैठकमार्फत नयाँ, योग्य र विचारवान नेतालाई संयोजक चयन गर्न झलनाथको माग छ । 

प्रचण्डलाई लेखेको ३६ बुँदे असन्तुष्टि पत्रमा खनालले नेकपाको नेतृत्व विचलित भएकाले यही नेतृत्वले पार्टीलाई महाधिवेशनसम्म लैजान नसक्ने टिप्पणी गरेका छन् । 

वर्तमान नेतृत्वले पार्टी एकता, वैचारिक स्पष्टता र संगठनात्मक पुनर्गठन गर्न नसकेको खनालको आरोप छ  । पार्टीको अन्तरिम विधानलाई ‘सार–सङ्ग्रहवादी खिचडी विधान’को संज्ञा दिँदै खनालले त्यसबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण हुन नसक्ने दाबी गरेका छन् । 

खनालका अनुसार अन्तरिम विधानमा जनताको बहुदलीय जनवाद (जबज), प्रजातान्त्रिक समाजवाद, वर्तमान संविधानवाद तथा संसदीय पुँजीवादी लोकतन्त्रका तत्वहरू मिसिएका छन् । उनले यसलाई वैचारिक रूपमा असंगत र दिशाहीन दस्तावेज भएको टिप्पणी गरेका छन् ।

‘तपाईं आफैंमा पनि अहिले आकर्षण छैन, नेतृत्वमा आशा र भरोसा एकदमै घटेको छ । उचित समयमा उचित निर्णय गर्न सके पार्टी र क्रान्तिलाई नयाँ मोड दिन सकिन्छ,’ खनालले भनेका छन् । 

उनले पार्टी एकताको घोषणा भएको सात महिना बितिसक्दा पनि संगठनात्मक एकीकरण सम्पन्न हुन नसकेको, निर्वाचनमा पार्टीले अपेक्षाविपरीत ‘शर्मनाक पराजय’ भोग्नुपरेको तथा बदलिएको राष्ट्रिय राजनीतिक परिस्थितिको कुनै ठोस विश्लेषण नेतृत्वले गर्न नसकेको आरोप लगाएका छन् ।

खनालले पार्टी केन्द्रीय कमिटीलाई राष्ट्रिय महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरी महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने धारणा राखेका छन् ।

प्रचण्ड स्वयंले यस्तो प्रस्ताव अघि सारेमा त्यो कम्युनिष्ट आन्दोलनका लागि ठूलो योगदान हुने र नेतृत्व हस्तान्तरणको सकारात्मक उदाहरण स्थापित हुने उनको भनाइ छ ।

हेर्नुहोस् झलनाथले प्रचण्डलाई लेखेको पत्र :
 

salt training

कमेन्ट गर्नुहोस्