
बुटवल, ४ जेठ– एमाले र माओवादी केन्द्र एकीकरण गरी बनेको नेपाल कम्युनिष्ट पार्टीमा महासचिव बनेका छन्, विष्णु पौडेल । पौडेल महासचिव भएपछि नेकपा रूपन्देहीका कार्यकताहरूले खुशी मनाउनुका साथै दिपावली गरेका छन् ।
रूपन्देहीलाई प्रदेश नम्बर पाँचको राजधानी बनाउन पौडेलले ठूलो भूमिका खेलेका थिए । विभिन्न कालखण्डमा महत्त्वपूर्ण भूमिका खेलेका कारण पौडेले शक्तिशाली कम्युनिष्ट पार्टीमा महासचिव पाएको कार्यकताहरूको बुझाइ छ । पौडेलसँगै राजनीति गरेका पाल्पाका पूर्व जिविस सभापति तथा एमाले कार्यकता झपेन्द्र जिसी भन्छन्, ‘विष्णु पौडेलमा जुन क्षमता थियो त्यसलाई नव गठित नेकपाका नेताहरूले चिने ।’
उनले थपे, ‘उहाँ (पौडेल) महासचिव हुनु प्रदेश नम्बर पाँचको लागि गौरवको विषय हो । रूपन्देही तथा यस आसपासका क्षेत्रको विकासमा उहाँको योगदान अतुलनीय छ । अब उहाँ एकीकृत पार्टीको नेतृत्वसँगै प्रदेश नम्बर पाँचलाई नमूना प्रदेश बनाएर नेकपाको अध्यक्षदेखि प्रधानमन्त्रीसम्म बन्नुपर्छ ।’
तल्लो तहमा रहेका सबै कार्यकताहरूलाई पौडेलले मिलाएर लैजानुपर्ने जिसीको सुझाव छ । २०१६ मंसिर १६ गते स्याङजा पुतलीबजार–१०मा जन्मिएका हुन् नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेल । उनको बुटवल–८ रूपन्देहीमा घर छ । पौडेलले २०३३ सालमा एसएलसी उत्तीर्ण गरे । यस अगाडि उनी नेकपा एमाले, केन्द्रीय कमिटीको उपमहासचिव, स्थायी कमिटी र केन्द्रीय सचिवालयको प्रदेन सदस्य हुँदै प्रदेश नम्बर पाँचको संयोजक थिए ।
यस क्षेत्रका तत्कालिन एमाले माओवादी कार्यकताहरूले पौडेल महासचिव भएपछि सामाजिक सञ्जालमा बधाई तथा सफल कार्यकालको शुभकामना दिइरहेका छन् ।

जनवर्गीय संगठन प्रेस चौतारी नेपाल, रूपन्देही अध्यक्ष अमृत गिरीले महासचिव पौडेल एक सक्षम, समन्वयकारी र विकासप्रेमी नेता रहेको बताए । गिरीले लोकान्तरसँग भने, ‘पौडेल महासचिव भएपछि यस क्षेत्रका आम कम्युनिष्ट कार्यकताहरू उत्साहित भएका छन् । अब यस क्षेत्रको विकास निर्माणमा प्रत्यक्ष पहुँच पुग्ने आशा गरेका छन् । ’
पौडेलले आफ्ना कार्यकता मात्र नभइ विपक्षी दलका नेता÷कार्यकतालाई पनि आकर्शित गर्ने क्षमता राख्छन् । गिरीले थपे, ‘उहाँको क्षमता पार्टीले बुझेर महासचिव जस्तो जिम्मेवार पद दिएको छ ।’ बुटवललाई प्रदेश नम्बर पाँचको राजधानी बनाउन विष्णु पौडेल र टोपबहादुर रायमाझीले महत्वपूर्ण भूमिका खेलेका थिए ।
प्रदेश नम्बर पाँचमा पर्ने पहाडी जिल्ला टुक्राएर प्रदेश नम्बर चारमा मिसाउने तत्तकालिन सरकारले तयारी गरेपछि पौडेल र रायमाझीले आन्दोलनको नेतृत्व गरेका थिए ।
एमाले प्रदेश नम्बर पाँचका कार्यालय सचिव गोपाल भट्टराईले एक उर्जाशील व्यक्तिलाई पार्टीले महासचिव बनाएर राम्रो काम गरेको बताए । पौडेलभन्दा अगाडिदेखि नै एमालेका राजनीतिमा लागेका भट्टराईले भने, ‘अब विष्णु पौडेल देश निर्माण र समृद्धितर्फ जुटनुपर्छ’ उनले थपे, ‘उहाँ. (पौडेल) सर्वव्यापी हुनुभयो ।’
जसले बाबुरामलाई चुनावमा हराए
पौडेलले दोस्रो संविधानसभा निर्वाचनमा पूर्व प्रधानमन्त्री तथा एकीकृत माओवादीका नेता बाबुराम भट्टराई हराएरपछि चर्चामा आएका थिए ।
२०५१ सालमा पाल्पाबाट निर्वाचन जितेपछि उनी युवा तथा खेलकुद मन्त्री भए । २०५६ मा रूपन्देही झरेर चुवान लडे । २०५६ मा उनी नेपाली कांग्रेसका स्वर्गीय नेता सुर्यप्रसाद प्रधानसँग चुनावमा पराजित भए । त्यपछि उनलाई एमालेले महाकाली इन्चार्जको जिम्मा दियो । उनी पश्चिमतर्फ लागे । पौडेलले २०६४, २०७० र २०७४ को निर्वाचन लगातार जितेर ह्याट्रिक गरे ।
रुपन्देहीकी एमाले कार्यकता सीता पराजुलीले पौडेलले पार्टी एकीकरण गर्न खेलेको भूमिका जस्तै आगामी दिनमा पनि पार्टीलाई सन्तुलित राख्न भूमिका खेल्नुपर्ने सुझाव दिन्छिन् । उनले भनिन्, ‘पौडेल यस क्षेत्रको ढुकढुकी हो । अब दक्षिण एसियाकै ठूलो कम्युनिष्ट पार्टीको ढुकढुकी बन्नुपर्छ ।’
तीन/तीन पटक निर्वाचन जितेपछि पौडेल जलस्रोत, रक्षा र अर्थमन्त्रीको जिम्मेवारी सम्हालेर रूपन्देहीमा विकाश निर्माणमा सक्रिय भएपछि यस क्षेत्रमा लोकप्रिय नेताको छवि बनाएका छन् । पौडेलले अर्थमन्त्री हुँदा रूपन्देही ठूला–ठूला विकासका आयोजनाहरू समेत ल्याए ।
यो पनि पढ्नुहोस्