१६ असार २०८३, मंगलबार
प्रतिनिधिसभा निर्वाचन

भावी प्रधानमन्त्रीका दाबेदार ८ ‘हेभी वेट’ नेता, को कति सुरक्षित ?

भदौ १, २०७९
भावी प्रधानमन्त्रीका दाबेदार ८ ‘हेभी वेट’ नेता, को कति सुरक्षित ?

२०७४ मंसिर २ गते गोरखाको पालुङटारमा आयोजित चुनावी सभामा पुराना वामपन्थी नेता देवी ओझाले तत्कालीन वाम गठबन्धनबाट प्रधानमन्त्रीमा दाबी गर्नेहरूको लर्कोप्रति कटाक्ष गर्दै एउटा किस्सा सुनाएका थिए–

म भर्खर झापाबाट यहाँँ आउँदैछु । झापामा केपी ओलीको क्षेत्रमा पुगें । त्यहाँ भावी प्रधानमन्त्री भनेर ओलीलाई भोट मागिँदैछ । बाटोमा आउँदै गर्दा साथीहरूसँग कुरा गरेको काठमाडौं– २ मा माधव नेपालका सहयोगीहरूले पनि भावी प्रधानमन्त्री माधव नेपाल भनेर भाषण गर्नुभएको रहेछ । चितवनमा पुगेको भावी प्रधानमन्त्री भन्दै प्रचण्डलाई भोट माग्दै गरेको देखें । चितवनबाट यहाँ आउँदै गर्दा मेरा पुराना साथी वामदेवको क्षेत्रमा के छ भनेर फोनमार्फत यसो बुझेको, बर्दियामा पनि भावी प्रधानमन्त्री भनेर भोट मागिएको रहेछ । काठमाडौं– ५ मा ईश्वर पोखरेलले पनि भावी प्रधानमन्त्री भनेर भोट मागिरहेका छन् । उनीहरूलाई कसैले बताइदिनु पर्‍यो, नेपालको संविधानमा एकजना मात्र प्रधानमन्त्रीको व्यवस्था छ ।

ओझाको किस्सा जस्तै ‘वाम लोकतान्त्रिक गठबन्धन’मा अहिले भावी प्रधानमन्त्रीको सूची लामो बन्दै गएको छ । चुनावको मिति घोषणा भएसँगै नेताहरूले आफूलाई भावी प्रधानमन्त्रीको रूपमा अगाडि सार्ने गरेको पाइन्छ । 

चुनाव जितेमा आफ्नो क्षेत्रको नेता प्रधानमन्त्री बन्छ र विकास हुन्छ भनेर मतदातालाई मनोवैज्ञानिक प्रभावमा पार्न पनि नेताहरूले चुनावमा जाँदा आफूलाई प्रधानमन्त्रीको रूपमा प्रोजेक्सन गर्ने गरेको पाइन्छ । 

आगामी मंसिर ४ गतेको निर्वाचनपछि प्रधानमन्त्री बन्न रहर गरेका आधा दर्जनभन्दा बढी आकांक्षी छन् ।

पाँचपटक प्रधानमन्त्री बनिसकेका शेरबहादुर देउवादेखि राजनीतिमा डेब्यु गरेका रवि लामिछानेसम्मले प्रधानमन्त्री बन्ने सपना देखेका छन् । उम्मेदवारी घोषणाको दिनसम्म संख्या बढ्ने भएपनि तत्कालका लागि ७ जना नेताले आगामी निर्वाचनपछि प्रधानमन्त्री पद ताकेका छन् । यसका लागि नेताहरूले देशभित्र र बाहिर पनि लाइन मिलाउन शुरू गरेका छन् । 

प्रधानमन्त्री पद ताकेका ७ नेता आफ्नो निर्वाचन क्षेत्रमा कति सुरक्षित छन् ? अघिल्लो प्रतिनिधिसभा चुनाव र भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनको मत विश्लेषणका आधारमा यो विश्लेषण गरिएको छ । 

पुष्पकमल दाहाल प्रचण्ड

मंसिरको चुनावपछिको पहिलो कार्यकालका प्रधानमन्त्रीको रूपमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाम सबैभन्दा बढी चर्चामा छ । तेस्रो शक्ति भएपनि सत्ताको चाबी बोकेर बसेको निर्णायक माओवादीले चुनावपछिको पहिलो कार्यकाल प्रधानमन्त्री लिनेगरी कांग्रेससँग सहमति गरेको छ ।

पहिलो कार्यकालको प्रधानमन्त्री सुनिश्चित नभए वामपन्थी गठबन्धन हुने प्रचण्डको धम्कीपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रचण्डलाई प्रधानमन्त्री दिन सहमत भएको विश्वस्त स्रोतको दाबी छ । 

पार्टीभित्र संस्थागत छलफल र निर्णय नभएपनि देउवा र प्रचण्डबीच पावर शेयरिङमा मोटामोटी सहमति भइसकेको कुरा लोकान्तरले यसअघि लेखिसकेको छ । ​

भावी प्रधानमन्त्रीको रूपमा प्रोजेक्सन गरिएका प्रचण्डले पुनः चितवन– ३ बाट चुनाव लड्ने तयारी गरेका छन् । यसअघिका चुनावमा निर्वाचन क्षेत्र फेर्दै हिँडेका प्रचण्डले यसपटक चितवन– ३ बाटै चुनाव लड्ने भन्दै तयारी गरेका छन् । विगतमा ‘टूरिस्ट’ उम्मेदवारको आरोप लागेपछि चुनाव नजिकिँदै गर्दा प्रचण्डले चितवनमा घर बनाएका छन् । आफ्नै घरमा बसेर चुनावी अभियान सञ्चालन गर्ने प्रचण्डको तयारी छ । 

२०७४ सालको प्रतिनिधिसभा चुनावमा राप्रपाका विक्रम पाण्डेलाई झण्डै १० हजार मतान्तरले पराजित गर्दै प्रचण्ड विजयी भएका थिए ।

प्रचण्डले ४८ हजार २ सय ६९ मत पाउँदा पाण्डेले ३८ हजार ९ सय ४२ मत पाएका थिए । त्यो बेला प्रचण्डले एमालेसँग र पाण्डेले कांग्रेससँग तालमेल गरेका थिए । यसपटक ठीक उल्टो छ । प्रचण्डले कांग्रेसलगायत दलसँग तालमेल गर्दा पाण्डेले एमालेसँग तालमेल गर्ने सम्भावना छ । स्थानीय तह चुनावमा भरतपुर महानगरमा एमालेले राप्रपासँग तालमेल गरेको थियो । 

एमाले र राप्रपाबीच तालमेल भएको खण्डमा फेरि पनि प्रचण्ड र पाण्डेबीच प्रतिस्पर्धा हुने सम्भावना छ । स्थानीय तह निर्वाचनलाई आधार मान्दा चितवन– ३ मा गठबन्धनको मत बढी देखिन्छ । चुनाव जित्ने या हार्ने विषयलाई सबै दलले स्थानीय तहको मतलाई आधार मानेर प्रक्षेपण गरिरहेका छन् । 

स्थानीय तह निर्वाचनमा चितवन– ३ मा एमालेले २९ हजार ७७१ मत पाएको थियो । सोही हाराहारीमा कांग्रेसले २९ हजार ३४३ र माओवादीले १० हजार ९४० मत पाएका थिए ।

राप्रपाले ६ हजार १९८ मत पाउँदा नेकपा एसले ५ हजार ३७ मत पाएको छ । वडाको मतलाई आधार मान्दा सत्तागठबन्धनको ४५ हजार ३ सय २० मत छ । राप्रपा र एमाले मिल्दा ३५ हजार ९६९ मत पुग्छ । स्थानीय तहको मतलाई आधार मान्दा गठबन्धन उम्मेदवार प्रचण्ड ९ हजार ३ सय ५१ मतले अगाडि देखिन्छन् । 

यसमा प्रचण्डको व्यक्तिगत प्रभावका भोटको प्रभाव पर्न सक्छ । चुनावपछि फेरि वामपन्थी सरकार बन्ने सम्भावनालाई मध्यनजर राखेर प्रचण्डलाई जिताउन एमालेकै शुभचिन्तक पनि लाग्न सक्छन् ।

नेकपा कालखण्डमा चितवनका कतिपय नेताले प्रचण्डसँग व्यक्तिगत सम्बन्ध स्थापित गरेका छन् ।

स्वतन्त्र वा अन्य कुनै आवरणमा नयाँ उम्मेदवारले चमत्कार गरेको अवस्थामा बाहेक चितवन– ३ मा प्रचण्ड सुरक्षित देखिएका छन् ।

शेरबहादुर देउवा

चुनावी सरकारको प्रधानमन्त्री र ठूलो दलको नेता भएपनि मंसिरपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सम्भावना दोस्रो नम्बरमा छ ।

पाँचपटक सरकारको नेतृत्व गरिसकेको र पछिल्लो समय जनताले देख्नेगरी केही काम गर्न नसकेका कारण देउवा स्वयं फेरि प्रधानमन्त्री बन्न लालायित छैनन् भनेर नेताहरू बताउँछन् । भलै ज्योतिषीको भविष्यवाणी अनुसार दुईपटक प्रधानमन्त्री बन्ने योग बाँकी नै छ । छैटौंपटक प्रधानमन्त्री बन्नुभन्दा पत्नी आरजुलाई राजनीतिमा स्थापित गर्ने देउवाको ध्यान रहेको कांग्रेस स्रोत बताउँछ । 

उमेरका कारण कार्यकारी पदमा भन्दा आलंकारिक पदमा बस्न फिट हुने सल्लाह उनले पाएका छन् ।

‘अन्य कुरा यथावत रहेमा’ भन्ने अर्थशास्त्रको सिद्धान्त राजनीतिमा लागू भएमा देउवा बालुवाटारबाट बूढानीलकण्ठ नभई शीतल निवास सर्न चाहन्छन् । गत महिना सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकमा देउवाले ‘सक्षम’लाई नेतृत्व दिएर आफू बिदा हुने बताएका थिए । 

राष्ट्रपति, प्रधानमन्त्री या पार्टी सभापति मात्र बस्ने जे भएपनि मंसिरको चुनावमा देउवा उम्मेदवार बन्दैछन् । लगातार ६ पटक चुनाव जितेका देउवा सम्भवतः प्रतिनिधिसभाका लागि अन्तिमपटक चुनावमा भिड्दैछन् । 

विगतमा वामपन्थी दलहरू एक ठाउँ हुँदा पनि चुनाव हराउन नसकेकाले देउवा यसपटक झन् ढुक्क देखिएका छन् । 

अघिल्लोपटक देउवाले २८ हजार ४ सय ४६ मत पाउँदा वाम गठबन्धनका माओवादी उम्मेदवार खगराज भट्टले २१ हजार ४ सय ९८ मत पाएका थिए ।

यसपटक कांग्रेस र माओवादीको भोट जोड्दा सहज जीत हासिल गर्न सकिने देउवाको आत्मविश्वास छ ।

स्थानीय तह निर्वाचनको वडागत मत नियाल्दा डडेल्धुरामा कांग्रेसले २१ हजार ७ सय ३५, माओवादीले १२ हजार ८ सय ७८ र एमालेले १० हजार ४ सय ४९ मत पाएका छन् । नेकपा एसको ५ हजार ४१ मत छ ।

प्रतिस्पर्धीभन्दा देउवा झण्डै ४ गुणाले अगाडि छन् । गठबन्धनको कुल भोट ३९ हजार ८ सय १० छ भने एमालेको १० हजार ४ सय मात्र छ । 

राप्रपाको ७ सय १४ भोटसमेत गर्दा विपक्षी गठबन्धनको ११ हजार १ सय ६३ को हाराहारीमा मात्र मत पुग्छ । 

केपी शर्मा ओली 

संसदीय व्यवस्थामा प्रमुख प्रतिपक्षी दललाई ‘प्राइमिनिस्टर इन वेटिङ’ भनिन्छ । संसद्मा सबभन्दा ठूलो दल भएर पनि प्रमुख प्रतिपक्षी दलको बेञ्चमा बस्न बाध्य एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री बन्ने तिर्खा मेटिएको छैन । 

सरकारमा गएर केही नयाँ गर्न खोजेपनि दुवैपटक आफूलाई अपमानपूर्वक ढंगले हटाइएको ओलीले बताउँदै आएका छन् । तेस्रोपटक सिंहदरबार पुग्ने केपी ओलीको महत्त्वाकांक्षा पूरा हुन चुनावमा अर्को चमत्कार हुनुपर्नेछ । 

सत्ता गठबन्धनको अहिलेको चरित्र हेर्दा एमालेले बहुमत पाउने सम्भावना क्षीण छ, तर केपी ओलीलाई चुनाव जित्न भने धेरै कठीन छैन । एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा पूरा गर्न ओलीलाई नै प्रधानमन्त्री प्रस्ताव गरेर चुनावमा जाने तयारी गरेको छ । 

एमालेले ‘ग्रीन जोन’मा राखेका करीब एक दर्जन क्षेत्रमध्ये झापा– ५ पनि एक हो । २०७४ सालको प्रतिनिधिसभा चुनावमा फराकिलो मतान्तरले विजयी भएका ओली यसपटक पनि सोही क्षेत्रबाट उठ्दैछन् ।

गत चुनावमा ओलीले ५७ हजार १ सय ३९ मत पाउँदा कांग्रेस उम्मेदवार डा. खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत पाएका थिए । 

स्थानीय तह निर्वाचनमा गठबन्धनको भन्दा एमालेको भोट धेरै आएको छ । एमालेले ४१ हजार ६१९ मत ल्याउँदा कांग्रेसले २२ हजार २२, माओवादी केन्द्रले १० हजार ७८८, राप्रपाले ८ हजार ३५३ र नेकपा एसले १ हजार ९८८ मत पाएका थिए । गठबन्धनको भोट ३४ हजार ७ सय ९८ छ । राप्रपा र एमालेले तालमेल गरे भने ४९ हजार ९ सय ७२ हुन्छ । 

राप्रपाको साथ लिन सकेमा ओली झापा– ५ मा सुरक्षित देखिन्छन् । त्यसो त एमाले र राप्रपा तालमेलका लागि छलफलमा छन् ।

गगन थापा 

भावी प्रधानमन्त्रीको रूपमा प्रोजेक्सन गरिएका अर्का नेता हुन्, कांग्रेस महामन्त्री गगन थापा ।

त्रिशंकु संसद् बन्ने भएकाले मंसिर ४ पछिको पहिलो कार्यकाल नभएपनि पाँच वर्षको अवधिमा गगन थापा प्रधानमन्त्री बन्ने सम्भावना कायमै छ ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री बन्ने गगनको चाहना स्वाभाविक रहेको भन्दै सहयोग गर्ने बताएका थिए । 

परम्परागत सोच राख्ने पार्टी नेपाली कांग्रेसभित्र गगनको क्रेजका कारण पनि उनलाई रोक्न कठिन छ । प्रधानमन्त्रीका लागि संसदीय दलको नेता बन्नुपर्ने कांग्रेस विधानको व्यवस्था छ ।

सभापति शेरबहादुर देउवाले बनाउने समानुपातिकको बन्दसूची र देउवाले टिकट बाँडेका सांसदले गगनलाई संसदीय दलको नेतामा भोट हाल्छन् कि हाल्दैनन्, अहिल्यै अनुमान गर्न हतार हुन्छ । 

प्रधानमन्त्री बन्न खोजेका गगनलाई रोक्न पार्टीभित्रबाटै अन्तर्घात र षड्यन्त्र हुने सम्भावना बाँकी छ । चर्चा कमाउनका लागि पनि गगन थापाको क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी घोषणा गर्नेको कमी छैन ।

यति हुँदाहुँदै पनि गगन थापा चुनाव जित्नेमा ढुक्क छन् । विगतमा वामपन्थी गठबन्धन हुँदा समेत सहज जीत हासिल गरेका गगनले यसपटक पनि अप्ठ्यारो महसूस गरेका छैनन् । 

चुनाव जितेपछि निरन्तर मतदातासँग सम्पर्कका रहेका गगनले कोभिडको कालखण्डमा मतदाताको घरघर पुगेर सहानुभूति बटुलेका छन् । 

राजनीतिमा नयाँ पुस्ताको नेतृत्वमा स्थापित हुन लागेकोमा केही स्वतन्त्र मतदाताको समेत उनलाई समर्थन छ । खगेन्द्र संग्रौला जस्ता वामपन्थी कित्ताका बुद्धिजीवी पनि अन्तिम समयमा गगन थापालाई जिताउन हिँड्ने गरेका थिए । 

२०७४ सालको चुनावमा गगन २१ हजार ५ सय ५८ मत पाएर विजयी भएका थिए । प्रतिद्वन्द्वी वामपन्थी उम्मेदवार राजन भट्टराईले १८ हजार १ सय ४० मत पाएका थिए ।

स्थानीय तह निर्वाचनमा वडा तहमा यो क्षेत्रबाट नेकपा एमालेले धेरै मत पाएको छ । गठबन्धनको कुल मत जोड्दा थोरै मात्र बढी छ । 

स्थानीय चुनावमा एमालेले १६ हजार ५०७, कांग्रेसले १५ हजार ७६३, नेकपा एसले २ हजार ४१४, राप्रपाले २ हजार २९३ र माओवादीले ८ सय ४४ मत पाएका थिए । उम्मेदवारको व्यक्तिगत योग्यता, हैसियत र प्रभावले मतमा तल माथि हुन सक्छ । 

डा. आरजु देउवा 

नेपाली कांग्रेसबाट प्रधानमन्त्रीमा 'प्रोजेक्सन' गरिएकी अर्की पात्र हुन्, डा. आरजु राणा देउवा । 

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी आरजुलाई चुनावपछिको प्रधानमन्त्रीको रूपमा चर्चा गरिएको छ ।

आरजुको हकमा वास्तविकताभन्दा अफवाह धेरै फैलाइएको छ ।

उपचारको सिलसिलामा भारतको राजधानी नयाँ दिल्लीमा भारतीय नेताहरूसँग भेट गरेर प्रचण्डसँग आलोपालो प्रधानमन्त्रीको सहमति गरेको भनेर नेपालमा हल्ला फैलियो । 

हल्ला र अफवाह धेरै फैलिएपनि देउवाले आरजुलाई राजनीतिमा स्थापित गर्न खोजेको कुरा लुकेको छैन । समानुपातिकमा सीट सुरक्षित हुँदाहुँदै आरजुले फेरि पनि प्रत्यक्षमा चुनाव लड्न खोज्दैछिन् । 

माइती जिल्ला बर्दियादेखि, कैलाली र कञ्चनपुरसम्मबाट आरजुलाई चुनाव लड्न लागि प्रस्ताव आएको छ ।

२०७४ सालमा कैलाली– ५ बाट चुनाव लडेकी आरजु यसपटक पनि सोही क्षेत्रबाट चुनाव लड्ने गृहकार्य गरिरहेकी छिन् । २०७४ सालमा एमालेका नारदमुनि रानासँग आरजु पराजित भएकी थिइन् ।

नारदमुनिले २७ हजार २ सय २ मत ल्याउँदा आरजुले २२ हजार ३ सय २२ मत पाएकी थिइन् । 

आरजुले ताकेको कैलाली– ५ मा भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनको नतिजामा कांग्रेस एक्लै राम्रो पोजिसनमा छ । माओवादीको पनि राम्रो भोट छ । कांग्रेसले २२ हजार ७ सय ७९ मत ल्याउँदा एमालेले १७ हजार ४ सय २० मत पाएको थियो । माओवादीले ८ हजार १ सय मत पाउँदा नेकपा एसले २ हजार पाएको छ ।

गठबन्धनका सबै दलको भोट जोड्दा यो क्षेत्रमा झण्डै दोब्बर मतको फरक छ । गठबन्धनको मत ३३ हजार ११३ पुग्दा एमाले र राप्रपाको कुल मत १९ हजार २१७ मात्र पुग्छ ।

माधवकुमार नेपाल

सत्ता गठबन्धनमा रहेको तेस्रो घटक नेकपा एसले पनि मंसिर ४ पछिको कुनै कालखण्डमा सरकारको नेतृत्व दाबी गरेको छ । गठबन्धनको मर्मअनुसार आलोपालो सरकारको नेतृत्व पाउनु पर्ने नेकपा एसको अडान छ ।  

चुनावमा नेकपा एसले कस्तो हैसियत प्राप्त गर्छ, त्यसले माधव नेपाल प्रधानमन्त्री बन्ने/नबन्ने निर्क्यौल हुनेछ ।

प्रचण्ड, देउवा र नेपालबीच पाँच वर्षपछिको चुनावी सरकारको नेतृत्व माधव नेपाललाई दिनेगरी भद्र सहमति भएको माओवादी स्रोतहरू बताउँछन् । 

सरकार सञ्चालनमा असमझदारी भएर चुनावपछि वामपन्थी दलहरू फेरि एकजुट हुने अवस्थामा पनि माधव नेपाल प्रधानमन्त्री बन्ने सम्भावना रहन्छ ।

‘विद्रोही शक्ति’ भएकाले प्रतिनिधिसभा चुनावमा आफ्नो पार्टीको हैसियत बढ्ने नेता नेपालले दाबी गरेका छन् । 

भावी प्रधानमन्त्रीका एक उम्मेदवार ठानिएका माधव नेपाल यसअघि चुनाव जितेको काठमाडौं– २ रोज्छन् कि विगतमा चुनाव जित्दै आएको रौतहट– १ मा झर्छन् भन्ने यकिन छैन । स्थानीय तहको मत विश्लेषणका आधारमा यसपटक नेपालले काठमाडौं– २ भन्दा रौतहट सुरक्षित ठानेका छन् । काठमाडौंमा स्वतन्त्रको बाढी र पूर्वप्रधानमन्त्रीलाई हराउने ‘नो, नट अगेन’ अभियान चलेका कारण रौतहट सुरक्षित रहेको सुझाव उनले पाएका छन् । 

मधेशको भोट ‘स्वीङ’ हुने सम्भावना कायम रहन्छ, त्यो अवस्थाबाहेक स्थानीय तह निर्वाचनमा गठबन्धनले पाएको मतले माधव नेपाललाई सहज देखाउँछ ।

स्थानीय तह निर्वाचनमा दुईवटा पालिका जितेको एसले १९ हजार ६९८, कांग्रेसले १६ हजार ९२८, लोसपाले १२ हजार ६२, जसपाले ८ हजार २४१ र माओवादी ८ हजार १९१ मत पाएका छन् ।

माधव नेपालको प्रतिस्पर्धी एमालेको ७ हजार ३८५ मत छ । लोसपा समेत गठबन्धनतर्फ आकर्षित भएकाले रौतहटबाट चुनाव जित्न माधव नेपाललाई सहज देखिन्छ । 

डा. बाबुराम भट्टराई

गोलाकारभित्रको हँसिया हथौडा चिह्नबाट चुनाव लड्न खोजेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पनि कतिपयले भावी प्रधानमन्त्रीको रूपमा चर्चा गर्ने गरेका छन् । बाबुरामसँग राजनीतिक सम्बन्धविच्छेद गरेका प्रशान्त सिंहले लोकान्तरसँगको एक अन्तर्वार्तामा बाबुराम फेरि प्रधानमन्त्री बन्ने दाबी गरेका थिए ।   

एउटै चिह्नबाट चुनाव लड्दै भविष्यमा पार्टी एकतासम्म पुग्ने सहमति गरेका बाबुराम परिस्थिति अनुकूल बन्दा प्रधानमन्त्री बन्न नसक्ने होइन ।

२०७४ सालको प्रतिनिधिसभा चुनावमा कांग्रेसको समर्थनमा भट्टराई गोरखा– २ बाट निर्वाचित भएका थिए । बाबुरामले ३१ हजार ८ सय ७ भोट पाउँदा वाम उम्मेदवार नारायणकाजी श्रेष्ठले २४ हजार ९ सय ३३ मत पाएका थिए ।

‘बाबुराम ब्रान्ड’सँग चुनाव लड्न नसकिने रहेछ भनेर हिँडेका नारायणकाजी अहिले राष्ट्रिय सभा सदस्य छन् । बाबुरामको क्षेत्रमा माओवादी बलियो छ भने हाराहारीमा कांग्रेस छ । वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा माओवादीले २२ हजार २५० मत पाउँदा कांग्रेसले २१ हजार १३६ मत पाएको थियो । एमालेको ७ हजार ९२६, बाबुरामको पार्टीको ७ हजार ५०४ र राप्रपाको ८७८ मत छ । गोरखा– २ मा गठबन्धनको भोट ५० हजार छ भने एमाले र राप्रपाको भोट जोड्दा झण्डै साढे ८ हजार हुन्छ । स्थानीय तह चुनावको मतलाई आधार मान्दा पनि बाबुराम सुरक्षित देखिन्छन् ।

वामदेव गौतम 

प्रधानमन्त्री बन्ने महत्त्वाकांक्षा लिएर वामदेव गौतमले राष्ट्रिय सभा सदस्यको कार्यकाल बाँकी रहँदै प्रतिनिधिसभा चुनाव लड्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री बन्नकै लागि वामदेवले प्रतिनिधिसभा सदस्य बन्ने तयारी गरेका हुन् । गोलाकारभित्रको हँसिया हथौडाको माओवादी चिह्नबाट वामदेव चुनाव लड्दैछन् । 

जनमोर्चाको प्रभाव बाँकी रहेको प्युठानबाट चुनाव लड्ने गौतमको चाहना छ । तर, पाँचदलीय गठबन्धनको एउटा हिस्सा राष्ट्रिय जनमोर्चाले दाबी गरेको त्यो क्षेत्र गौतमले पाउँछन् कि पाउँदैनन् अन्यौल छ । 

२०७४ सालको चुनावमा जनमोर्चाकी दुर्गा पौडेल ४७ हजार ५ सय १४ मतसहित विजयी हुँदा कांग्रेसका डा. गोविन्द पोखरेलले ३१ हजार २ सय ८६ मत पाएका थिए । 

भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा प्युठानमा कांग्रेस र माओवादीले समान ३ पालिका जित्दा एमाले दुई स्थानमा खुम्चिएको छ । तर, वडातर्फको भोटका आधारमा भने नेकपा एमाले अग्रस्थानमा छ । 

एमाले ३९ हजार ८७७ मत पाउँदा कांग्रेसले २१ हजार ५६४ मत पाएको छ । माओवादीले १७ हजार १ सय ६३ र जनमोर्चाले १३ हजार ६ सय १२ मत पाएका छन् ।

नेकपा एकीकृत समाजवादीले १ हजार ४ सय १७ मत पाउँदा राप्रपाले ४ सय ३३ मत पाएको छ । 

गठबन्धनको मत एक ठाउँमा जोड्दा ५३ हजार ७ सय ५६ हुन्छ । जनमोर्चालाई मिलाएर गठबन्धनबाट सर्वसम्मत उम्मेदवार बनेमा मात्र यो क्षेत्रमा गौतमलाई सहज हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्