
रुस र युक्रेनबीच भइरहेको द्वन्द्व ६ महिना पुग्नै लाग्दा खतरनाक मोडमा आइपुगेको छ ।
रुसको नियन्त्रणमा रहेको जापोरिझझिया क्षेत्रस्थित एक आणविक भट्टीमा आक्रमण हुन सक्ने भनी दुवै पक्षले चेतावनी दिइरहेका छन् । त्यस्तो आक्रमणका कारण आणविक विकिरण फैलिएर युरोपलाई नकारात्मक असर पार्ने भनी मानिस डराइरहेका छन् ।
युरोपको सबभन्दा ठूलो आणविक भट्टीमा आक्रमण भएमा विद्युत् आपूर्तिमा समस्या आउने मात्र नभई विकिरण फैलिएर सन् १९८६ को चेर्नोभिल संकट दोहोरिने डरले युरोप आक्रान्त छ ।
उक्त भट्टीलाई रुसले निशाना बनाइरहेको भनी पश्चिमी सञ्चारमाध्यमहरूमा खबर आएको भए पनि त्यो तर्कसंगत देखिँदैन । लामो समयदेखि त्यो भट्टी रुसकै नियन्त्रणमा रहेकाले त्यस क्षेत्रमा रुसले आक्रमण गर्नुपर्ने खास कारण भने देखिँदैन ।
बरू भट्टीबाट रुसी सैनिकहरूलाई भगाउनका लागि युक्रेनी फौजले भट्टी वरपरको क्षेत्रमा आक्रमण गरिरहेको हुन सक्ने सम्भावना छ । त्यसो त रुसले पश्चिमसँग आणविक ब्ल्याकमेल गर्नका लागि भट्टीनजिक आक्रमण गरिरहेको युक्रेनको दाबी छ ।
युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले राष्ट्रलाई सम्बोधन गर्दै रुसले विकिरण फैलाउने त्रास देखाएर ब्ल्याकमेल गरिरहेको आरोप लगाए । उता रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले चाहिँ युक्रेनले भट्टी परिसरमा आक्रमण गरी विशाल क्षतिको जोखिममा पारेको प्रत्यारोप लगाएका छन् ।
आरोपप्रत्यारोपको यो सिलसिला चलिरहँदा आणविक ऊर्जासम्बन्धी अन्तर्राष्ट्रिय निकाय इन्टरनेसनल एटोमिक एनर्जी एजेन्सी (आईएईए) ले चिन्ता व्यक्त गरेको छ । आणविक भट्टी नजिक भइरहेको गोलाबारीले आणविक विपत ल्याउन सक्ने उसको भनाइ छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि आणविक भट्टी क्षेत्रमा भइरहेको गोलाबारी रोकिनुपर्ने आग्रह गरेका छन् । दुवै पक्षले तर्कसंगत सोच राख्दै आणविक भट्टीको सुरक्षालाई खतरामा पार्ने कुनै सैन्य गतिविधि गर्न नहुने उनको भनाइ छ ।
यसैबीच आईएईएले सेप्टेम्बर महिनाको आरम्भतिर जापोरिझझिया आणविक भट्टीको निरीक्षण भ्रमण गर्न सक्ने रुसले जानकारी दिएको छ । युक्रेनले त्यो भ्रमणलाई रोक्न खोजेको आरोप उसले लगाएको छ ।
रुसको परराष्ट्र मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले वाशिङटन, ब्रसेल्स तथा युरोपेली मुलुकहरूलाई आणविक भट्टी तथा वरपरका क्षेत्रमा युक्रेनी सैनिकहरूले गरेको आक्रमण रोक्नका लागि बाध्य बनाउन आग्रह गरेकी छन् । मस्कोले आईएईएसँग सहकार्य गरिरहेको र त्यस निकायका विशेषज्ञहरूलाई आणविक भट्टीमा पहुँच दिलाउनका लागि आवश्यक सबै काम गरिरहेको उनको भनाइ छ ।
जापोरिझझिया आणविक भट्टी संसारका १० ठूला भट्टीमध्ये एक हो र यसले युक्रेनमा उपयोग गरिने आणविक ऊर्जाको आधा भाग उत्पादन गर्ने गरेको छ । यस भट्टीको कुल क्षमता ६ हजार मेगावाट छ । त्यसबाट लगभग ४० लाख घरलाई विद्युत् आपूर्ति गर्न मिल्छ ।
आईएईएका अनुसार, यस भट्टीमा सोभियतकालमा बनाइएका रियाक्टरहरू छन् । पानीले ठण्डा राख्ने ती रियाक्टरहरूमा युरेनियम जडिएका छन् । प्रत्येक रियाक्टरको क्षमता ९५० मेगावाट छ ।
रुसीहरूले यस भट्टीलाई क्राइमियामा रहेको विद्युत् ग्रिडसँग जोड्न चाहेको बताइन्छ । क्राइमियाबाट यो भट्टी लगभग २०० किलोमिटर पर छ । सन् २०१४ मा रुसले क्राइमिया हात पारेको थियो । त्यस क्षेत्रमा पानी र बिजुलीको अविरल प्रवाहका लागि रुसले विभिन्न प्रयास गरिरहेको छ । त्यसबाट पनि थाहा हुन्छ, भट्टीमा आक्रमण गर्नु भनेको रुसका लागि आत्मघाती कदम हो र त्यस्तो मुर्ख्याइँ उसले गर्दैन ।
बरू लगातार युद्ध हार्दै गएपछि छटपटिइरहेको युक्रेनले चाहिँ भट्टीमा आक्रमण गरिरहेको हुन सक्ने देखिन्छ । पूरै डोनबास क्षेत्र किएभको नियन्त्रणबाट मुक्त हुन लागेकै बेलामा पश्चिमा सञ्चारमाध्यम तथा मानवअधिकारवादी संस्थाहरूले युक्रेन सरकार र सेनाका कमजोरीहरू खोतल्न थालेका छन् । यसको विषयमा पंक्तिकारले अघिल्लो लेखमा वर्णन गरेको छ ।
पढ्नुहोस् यो पनि :
पश्चिमी भाष्य समेत आफूविरुद्ध जान थालेपछि अनि रुसी सैनिकहरूलाई युक्रेनी भूमिबाट कसैगरी पनि पछि हटाउन नसकेपछि जेलेन्स्की रन्थनिएका छन् । त्यसैले जापोरिझझिया आणविक भट्टीमाथि आक्रमण गरी त्यहाँ तैनाथ रुसी सैनिकहरूलाई पलायनका लागि बाध्य बनाउने निर्णय उनले लिएका हुन सक्छन् ।
तर जेलेन्स्कीको यो निर्णय मुखको रिसले नाक काटे जस्तो हुनेछ किनकि यस किसिमको कारवाहीले पूरै युरोपलाई जोखिममा पार्नेछ । आणविक भट्टी ध्वस्त हुँदा त्यसबाट निस्कने हानिकारक विकिरणले गर्ने विनाश अकल्पनीय हुनेछ ।
शायद जेलेन्स्कीको उद्देश्य नै त्यही हो । पश्चिमा भाष्य आफूविरुद्ध जान थालेपछि आफूलाई रुससँग अवाञ्छनीय सम्झौता गर्न पश्चिमले बाध्य बनाउन सक्ने डर जेलेन्स्कीले लिएका हुन सक्छन् । रुसले अघि सारेका कतिपय शर्तहरू कुनै हालतमा स्वीकार्य नहुने भनी अड्डी कसेर बसेका जेलेन्स्कीले बाध्य भएर तिनलाई स्वीकार गर्नुपर्ने स्थिति आउन लागेको छ । त्यसलाई रोक्नका लागि उनले आणविक ब्ल्याकमेल गर्न खोजेको हुन सक्ने अनुमान नाजायज छैन ।
आणविक भट्टीमा रुसले आक्रमण गरेको भन्ने भाष्य फैलाएर पश्चिमाहरूमाझ पुनः रुसप्रति डरको वातावरण निर्माण गर्ने लक्ष्य पनि युक्रेनले लिएको हुन सक्छ । रुसका विषयमा पश्चिमले फैलाएको डर कमजोर बन्दै गएको अमेरिकीहरू स्वयंले स्वीकार गर्न थालेको सन्दर्भमा युक्रेनले यस्तो कदम चालेको हुन सक्छ ।
हालै ग्यालप नामक संस्थाले गरेको सर्वेक्षणमा जम्मा १ प्रतिशत अमेरिकीहरूले रुसलाई अमेरिकाको समस्याका रूपमा चित्रित गरेका छन् । उनीहरूका लागि त बढ्दो महंगी सबभन्दा ठूलो समस्या हो । त्यसैले युरोपमा के भइरहेको छ भन्ने कुरामा आम अमेरिकीको चासो छैन ।
अनि त्यसमाथि अमेरिकालाई युरोपबाट निस्केर हिन्द–प्रशान्त क्षेत्रमा ध्यान केन्द्रित गर्न परेको छ । त्यस क्षेत्रमा चीनको उदय रोक्ने उद्देश्यले ताइवान संकट चर्काउने दिशामा अमेरिकाले पाइला समेत चालिसकेको छ । अमेरिकी संसद्की सभामुख न्यान्सी पलोसीको उत्तेजनात्मक ताइवान भ्रमणबाट त्यो पुष्टि भइसकेको छ ।
यस्तो प्रतिकूल स्थितिमा आणविक विनाशको जोखिमको भाष्य निर्माण गरी युक्रेनप्रति पश्चिमाहरूको ध्यान पुनः आकर्षित गर्ने दाउ जेलेन्स्की सरकारले खेलेको हुन सक्छ । आणविक भट्टीमा आक्रमण गरी रुसलाई विश्व शान्तिको सबभन्दा ठूलो जोखिमका रूपमा स्थापित गर्ने युक्रेन सरकारको उद्देश्य हुन सक्छ ।
रुसलाई आतंकवादको प्रायोजकको संज्ञा दिनका लागि युक्रेनले पैरवी गरेको भए पनि अमेरिकाले त्यसो गर्न मानिरहेको छैन । तर जापोरिझझिया आणविक भट्टीमा रुसले आक्रमण गरी आणविक आतंकवादको उदाहरण प्रस्तुत गरेको भन्ने भाष्य स्थापित गरी अमेरिकाको सोच परिवर्तन गर्ने लक्ष्य युक्रेनले लिएको हुन सक्छ ।
त्यसो त जापोरिझझिया आणविक भट्टीको रियाक्टरमा बाहिरी आक्रमण खेप्ने अद्भुत क्षमता छ । सोभियतकालमा बनेको यस भट्टीमा बलियो सुरक्षाकवच जडान गरिएको छ ।
तर विज्ञहरूले रियाक्टरको केन्द्रमा हुने विस्फोट भन्दा पनि रियाक्टरलाई ठण्डा राख्ने प्रणालीमा बाहिरी आक्रमणले क्षति पुर्याउन सक्ने पीर मानेका छन् । कथंकदाचित् रियाक्टर ठण्डा हुन पाएन भने त्यसको तातो नियन्त्रणबाहिर जान्छ र त्यसबाट उत्पन्न आगोले विकिरण बाहिर फैलाउँछ ।
त्यसरी फैलिएको विकिरणले युरोपको कुनै पनि भागलाई दूषित बनाउन सक्छ । विकिरणका कारण फैलिने विषले मानिसहरूलाई गम्भीर रोगी बनाउनेछ । अहिले फैलिएको विकिरणको असर भावी पुस्ताहरूमा पनि पर्नेछ ।
यस्तो अप्रिय स्थिति आउनबाट रोक्नु विश्व समुदायको दायित्व हो । त्यसैले रुस र युक्रेन दुवैलाई तत्कालै जापोरिझझिया आणविक भट्टी वरपरको क्षेत्रलाई सामरिकीकरण गर्नबाट रोक्नुपर्छ ।
टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनले रुस र युक्रेनबीचको वार्ताका लागि पहल गर्न खोजिरहेका छन् र उनको पहललाई विश्व समुदायले समर्थन गर्नुपर्छ । त्यसो नगरिएको खण्डमा मानवतामाथि आणविक जोखिमको तरवार झुण्डिइरहनेछ ।