राजनीतिक स्थिरताका लागि संविधान संशोधन गर्नेबारे बहस शुरू भएको समयमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शासकीय स्वरूपमै परिवर्तन गर्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ गठबन्धनसहित सरकार बनाउँदा संविधान संशोधन गर्ने विषयमा समेत समझदारी बनेको छ । निर्वाचन प्रणालीमा सुधार गर्ने गरी संविधान संशोधन गर्ने कांग्रेस–एमालेको योजना छ ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका भट्टराईले समानुपातिकको कोटा घटाएर हुने निर्वाचन प्रणालीले देशमा राजनीतिक स्थिरता नदिने बताए ।
लोकान्तर डट्कमसँगको कुराकानीका क्रममा भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा नगए उथलपुथल हुने गरी मुलुकमा अर्को आन्दोलन हुने दाबी गरे ।
‘गणतन्त्रमा जान पनि कोही तयार थिएनन्, आन्दोलनबाट स्थापना भयो,’ भट्टराई भन्छन्, ‘लेखेर राख्नुहोला, शासकीय स्वरूप परिवर्तन नभए अर्को आन्दोलन उठ्छ ।’
प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीले मात्र देशको अवस्थामा सुधार ल्याउन सक्ने उनको जिकिर छ ।
पूर्वप्रधानमन्त्री भट्टराईले आफूसँग जादुगर नम्बर छ भन्ने निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दाबीलाई तासको जोकरको जस्तो घमण्डको संज्ञा दिए ।
कांग्रेस–एमाले गठबन्धन कसरी अगाडि बढ्ला, प्रचण्डले फेरि चमत्कार गर्लान् ? नयाँ गठबन्धनप्रति छिमेकीको नजर कस्तो होला ? यी लगायत समसामयिक विषयमा भट्टराईसँग गरिएको अन्तर्वार्ता हेर्नुहोस्, भिडियोमा :