०४ असार २०८३, बिहीबार
सत्ता पुन:प्राप्तिको छटपटी

फेरि किन 'म्याजिक नम्बर' जप्दैछन् प्रचण्ड ?

मंसिर ४, २०८१
काठमाडौं
फेरि किन 'म्याजिक नम्बर' जप्दैछन् प्रचण्ड ?

आफूसँग ३२ सीटको म्याजिक नम्बर छ भनेर भाषण गर्दा प्रधानमन्त्री पद गुमाएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’मा फेरि सत्ताको छटपटी देखिन थालेको छ ।

नेकपा एमाले र नेपाली कांग्रेसलाई डेढ वर्ष रिंगाएका प्रचण्डको ‘सत्ता म्याजिक’ भाषणले संकटमा परेको थियो । तर, ४ महिना नपुग्दै उनै प्रचण्डले फेरि ३२ सीटको म्याजिकले कांग्रेस–एमालेको सत्ता उल्ट्याउने दाबी गरेका छन् । 

प्रचण्डको यही म्याजिकले आजित भएका कांग्रेस–एमालेले असार १७ गते प्रचण्डविरुद्ध गठजोड गरे । त्यसपछि असार ३० गते कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्न पुगे । ओली प्रधानमन्त्री बनेको ४ महिना मात्रै भएको छ । 

पटक–पटक प्रचण्डबाटै धोका पाएपछि २०८४ को चुनावसम्मै सत्ता समीकरण टिकाउने समझदारीमा कांग्रेस–एमाले अगाडि बढेका छन् ।

७ बुँदे सहमतिमा २ वर्ष ओलीले र त्यसपछि डेढ वर्ष चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने समझदारी छ ।

तर, प्रचण्डले सरकारका विषयमा तारन्तार विरोधाभाषपूर्ण अभिव्यक्ति दिन थालेका छन् । कात्तिक १३ गते न्यूज एजेन्सीसँग कुरा गर्दै प्रचण्डले आफू सरकार ढाल्ने पक्षमा नरहेको बताएका थिए । 

‘सय दिनसम्मको (काम) हेर्दा यो सरकार सफल भएको मान्न सकिँदैन । सरकार असफल नै छ । तर, फेरि सरकार त बनेकै छ । मैले यो कुरा पनि भनेको छु कि सरकार राष्ट्र र जनताप्रति अझ गम्भीर र संवेदनशील होस्,’ प्रचण्डले भनेका थिए, ‘सरकारले सकारात्मक काम गरेर जाओस् भन्ने छ । यो सरकार अहिले नै ढाल्नुपर्छ भन्ने माओवादी केन्द्रको र मेरो कुनै मनसाय छैन, किनभने त्यसो गरेर फेरि जनतालाई हैरान पार्ने भन्दा यही सरकारले राम्रो गर्दिएहुन्थ्यो भन्ने छ ।’

त्यसको केही दिन बित्न नपाउँदै फेरि प्रचण्डले ‘सत्ताको म्याजिक नम्बर’ भन्ने भाषण दोहोर्‍याएका छन् । मंसिर १ गते काभ्रे–काठमाडौं सम्पर्क समितिको भेलामा प्रचण्डले माओवादी फेरि सत्तामा आउने दाबी गर्न भ्याए । 

‘यही हलमा हो, तामाङ राष्ट्रिय मुक्ति मोर्चाको सम्मेलन थियो । मैले ३२ को संख्यालाई जादुको संख्या भयो हाम्रो भनेको थिएँ । मेरो यो भनाइले उनीहरू उद्वेलित र तरंगित पनि भए होलान् । मैले त्यो नभनेको भए पनि हुन्थ्यो होला । तर, म के भन्छु भने अहिले हाम्रो संख्या फेरि पनि म्याजिक नै छ,’ प्रचण्डले भनेका छन्, ‘किनभने हामी ३२ भएको हुनाले प्रमुख विपक्षी दलको नेता छ हाम्रो पार्टी । विपक्षी दललाई ‘गभर्मेन्ट इन वेटिङ’ भन्छ, जुन पर्खिरहेको सरकार हो । त्यसकारण यो सरकारलाई उल्ट्याएर बन्ने सरकार हाम्रै हो फेरि । त्यसकारण हामी चिन्तित हुनुपर्ने कुनै कारण छैन ।’  

प्रचण्डले यसो भनिरहँदा उनीबाट पटक–पटक धोका पाएका कांग्रेस–एमाले झन् नजिक भइरहेको भान हुन्छ । यतिसम्म कि एकअर्काका प्रतिस्पर्धी दल कांग्रेस–एमाले स्थानीय तह उपनिर्वाचनमा कतिपय स्थानमा तालमेलसम्म पुगेका छन् ।

प्रचण्डले यसो भनिरहँदा उनीबाट पटक–पटक धोका पाएका कांग्रेस–एमाले झन् नजिक भइरहेको भान हुन्छ । यतिसम्म कि एकअर्काका प्रतिस्पर्धी दल कांग्रेस–एमाले स्थानीय तह उपनिर्वाचनमा कतिपय स्थानमा तालमेलसम्म पुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २ वर्ष पुग्नुभन्दा एक हप्ता अगाडि नै सत्ता हस्तान्तरण गर्ने पटक–पटक बताएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले पनि ओलीलाई कुनै अप्ठ्यारो नपार्ने गरी सत्ता प्राप्तिका लागि २० महिना कुर्ने संकेत दिइसकेका छन् । 

यसअघि जस्तो कसैले पनि नखेलोस् भनेर प्रचण्ड र देउवा दुवैले सरकारलाई समेत निर्देश गर्ने गरी शीर्ष नेताको संयन्त्र बनाएका छन् । यो संयन्त्रको कुनै ठूलो भूमिका निर्धारण गरिएको छैन । तर, सत्ता सहयात्रामा खटपट आउन खोजे तत्काल शीर्ष नेता बसेर यसलाई मिलाउने अभिभारा संयन्त्रलाई दिइएको छ । संयन्त्रका संयोजक एवं कांग्रेस उपसभापति पूर्णबहादुर खड्का २ पार्टीको बीचमा आएको समस्या र आशंकालाई मिलाउने काम यसले गर्ने बताउँछन् । 

‘कांग्रेस र एमालेले ७ बुँदे सहमतिको जगमा यो सरकार बनाएका हुन् । यसैले २ पार्टीको सरकारले केन्द्र, प्रदेश र जिल्लासम्मै सरकारलाई सहयोग गर्न तथा समन्वय गर्न कांग्रेस र एमालेबीच दुईदलीय संयन्त्र बनाइएको छ,’ खड्काले लोकान्तरसँग भने, ‘दुई पार्टीको बीचमा समस्या आउन सक्छन् । कुनै खालको अविश्वास र आशंका देखिए हटाउने काम यसले गर्छ ।’

राजनीतिक विश्लेषक मुमाराम खनाल आफूलाई राजनीतिमा सान्दर्भिक राखिराख्न प्रचण्डले नहुने कुरामा पनि अन्टसन्ट बोल्ने गरेको बताउँछन् । ‘हामी दुई हप्ता सरकारमा जाँदैनौं, यसैले राम्रो काम गरोस् भनेर बोल्नुभएको थियो । लगत्तै राजनीतिमा आफूलाई सान्दर्भिक राखिरहन मसँग ३२ सीटको जादुयी अंक छ भनेर बोल्नुभएको हो,’ खनालले लोकान्तरसँग भने, ‘नेताहरूले यसरी अन्टसन्ट बोलिरहन्छन् । यो सत्ता नहुँदाको छटपटी हो । यसैले प्रचण्डको भनाइलाई सिरियस रूपमा लिन जरुरी छैन ।’

null

संसदीय राजनीतिमा कुनै पनि बेला सरकार ढल्ने र बन्ने स्थिति हुने भए पनि नेपालमा गठबन्धन राजनीतिको जग र अभ्यास नै कमजोर रहेको उनी बताउँछन् । ‘संसदीय राजनीतिमा कुनै पनि बेला सरकार ढल्ने र बन्ने हुन्छ । तर पनि गठबन्धन सरकारको राजनीतिक बेस हुन्छ । भारतमा एनडीए र यूपीए यस्तै बेसमा छन्,’ खनाल भन्छन्, ‘तर, हाम्रोमा एजेन्डाको आधारमा अघि बढ्ने र विचारधारामा हिँड्ने संस्कृतिको अन्त्य भइसक्यो । नम्बरको हिसाबले प्रचण्डको जादुयी ३२ नम्बर ठीक होला, तर यो राजनीतिक होइन ।’

प्रधानमन्त्री ओलीका प्रेस संयोजक रामशरण बजगाईं कार्यकर्तालाई भ्रममा राख्न र आफू कमजोर छैन भन्ने देखाउन प्रचण्डले यस्तो अभिव्यक्ति दिएको बताउँछन् ।  

‘केही लाग्दैन भन्ने थाहा पाएपछि आफ्ना कार्यकर्तालाई भ्रममा राख्न, प्रचण्ड कमजोर भएको छैन, पार्टी सिद्धियो भन्ने नठान्नुस् भनेर छटपटीमा बोलेका हुन्,’ प्रधानमन्त्रीनिकट स्रोत भन्छ, ‘कांग्रेस र एमालेको सरकार दशैंतिहारपछि ढल्छ भनेर लागे । तर, उनले थाहा पाउने गरी जिल्लासम्मै संयन्त्र बन्यो । अनि कार्यकर्ता टिकाउन, अल्मल्याउन र कार्यकर्तालाई धोका दिन प्रचण्डले यस्तो बोलेका हुन् ।’

यति मात्र होइन, प्रचण्डले संसद् विघटन हुनसक्छ भनेर पनि बोलिरहेका छन् । कात्तिक ३० गते काठमाडौंमा एक पुस्तक विमोचन कार्यक्रममा प्रचण्डले फेरि संसद् विघटन हुन सक्ने दाबी गरेका थिए । 

‘अहिले पनि परिवर्तनलाई रोक्ने प्रयास भएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध भएकाहरू सचेत हुन आवश्यक छ,’ प्रचण्डले भनेका थिए, ‘फेरि विगतको जस्तै संविधानलाई मिच्ने, संसद् विघटन गर्ने कोशिश सफल नहोस् । देशलाई फेरि प्रतिगमनतिर लैजाने कोशिश हुनसक्ने भएकाले शतर्क हुनुपर्छ ।’

राजनीतिक म्याजिक कार्ड अपत्यारिलो त छ नै, अर्कातिर यही बीचमा प्रचण्डले भारतको द हिन्दू पत्रिकालाई दिएको अन्तर्वार्ता पनि कूटनीतिक मर्यादाविपरीत रहेको भन्दै आलोचनामा परेको छ ।

कूटनीतिक मर्यादाविपरीतको अभिव्यक्ति पनि विवादमा

राजनीतिक म्याजिक कार्ड अपत्यारिलो त छ नै, अर्कातिर यही बीचमा प्रचण्डले भारतको द हिन्दू पत्रिकालाई दिएको अन्तर्वार्ता पनि कूटनीतिक मर्यादाविपरीत रहेको भन्दै आलोचनामा परेको छ । प्रचण्डले ‘केपी ओलीजी पहिलो दुईपक्षीय भ्रमणका लागि चीन जाँदैहुनुहुन्छ । तर, यो भ्रमण चिनियाँ कार्डजस्तो देखिन्छ, यो गलत छ’ भन्ने अभिव्यक्ति दिएका थिए ।

प्रचण्डको यो अभिव्यक्तिलगत्तै एमाले सचिव एवं विदेश विभाग प्रमुख रघुवीर महासेठले विज्ञप्ति जारी गर्दै गैह्रजिम्मेवार अभिव्यक्ति फिर्ता लिन आग्रह गरे । 

‘नेपाललाई कुनै पनि परराष्ट्रको अनुमोदन आवश्यक छैन । प्रधानमन्त्रीको चीन भ्रमण नेपालले पालना गरेको स्वतन्त्र परराष्ट्र नीतिको प्रतिविम्ब हो । प्रचण्डका शब्दहरूले नेपालको राष्ट्रिय स्वाभिमान, सार्वभौमसत्ता र जनताको प्रतिष्ठामाथि प्रहार गरेका छन्,’ महासेठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘नेकपा एमाले नेपालले भारत र चीनसँगको सन्तुलित सम्बन्ध कायम गर्न आफू कटिबद्ध रहेको पुनःपुष्टि गर्दछ । साथै, पुष्पकमल दाहाललाई आफ्नो गैरजिम्मेवार र विभाजनकारी अभिव्यक्तिहरू फिर्ता लिन र नेपाली जनतासँग माफी माग्न आग्रह गर्दछ ।’

ओलीले चिनियाँ कार्ड खेलेको दाबी गर्ने प्रचण्डले पहिलोपटक प्रधानमन्त्री हुँदा २०६५ मा पहिलो भ्रमण चीनबाट गरेका थिए । कांग्रेससँग मिलेर २०७९ को चुनाव लडेका प्रचण्डले पुस १० गते एमालेसँग मिलेर सरकार बनाएका थिए । तर, एमालेसँग सरकार बनाएकै बेला कांग्रेसको पनि विश्वासको मत लिए । अनि राष्ट्रपति कांग्रेसलाई दिनेगरी सहमति गरे । तत्कालै कांग्रेसलाई सरकारमा पनि ल्याए ।

कांग्रेस सभापति शेरबहादुर देउवासँग आलोपालो प्रधानमन्त्री बन्ने समझदारी पनि गरे । तर, देउवालाई सत्ता हस्तान्तरण गर्नुअगाडि नै प्रचण्डले कांग्रेससँग निहुँ खोजे । कांग्रेसले प्रचण्डलाई नै निरन्तर प्रधानमन्त्री बनाउन चाहेको पनि थियो । तर, २०८० फागुन तेस्रो साता कांग्रेसलाई सरकारबाट धकेलेर प्रचण्डले एमालेलाई भित्र्याए । एमालेसँगको समीकरण पनि लामो समय लान सकेनन् । एमालेसँग सत्तामा हुँदा प्रचण्डले फेरि कांग्रेससँग समीकरणको कुरा गरेको एमाले नेताहरू बताउँछन् ।

आलोपालो धोका पाएको समान बुझाइले कांग्रेस–एमाले नजिकिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्