०४ असार २०८३, बिहीबार
वैदेशिक रोजगारीको पछिल्लो तस्वीर

सात महिनामै साढे चार लाख विदेशिए : यूएई प्रमुख गन्तव्य, श्रम स्वीकृति लिएर बेलायत जाने २ जना मात्रै

चैत ३, २०८१
काठमाडौं
सात महिनामै साढे चार लाख विदेशिए : यूएई प्रमुख गन्तव्य, श्रम स्वीकृति लिएर बेलायत जाने २ जना मात्रै

चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिनामा नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारहरूको संख्या उल्लेखनीय वृद्धि भएको छ । साउनदेखि माघसम्म कूल चार लाख ६५ हजार ५०८ जनाले श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३, असोजमा ५३ हजार ५२५, कात्तिकमा ७० हजार ९९०, मंसिरमा ८४ हजार २२६, पुसमा ६७ हजार २५८ र माघमा ७२ हजार ४४१ जनाले श्रम स्वीकृति लिएका हुन् । यो संख्या प्रतिमहिना औसतमा करिब ६६ हजार हो । 

श्रम स्वीकृति लिनेमध्ये पुरुष ४ लाख १२ हजार ५५२ र महिला ५२ हजार ९५६  छन् । माघमा मात्र ६४ हजार ३११ पुरुष र ८ हजार १३० महिलाले श्रम स्वीकृति लिएको तथ्यांकमा देखिन्छ ।

तथ्यांकअनुसार संयुक्त अरब इमिरेट्स (यूएई) श्रमिकको प्रमुख गन्तव्य रहेको छ, जहाँ एक लाख ४८ हजार १३३ जना गएका छन् । 

त्यसपछि साउदी अरेबियाका लागि ९१ हजार ३४७, कतारका लागि ८२ हजार २००  र मलेसियाका लागि १८ हजार १६४ जनाले रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।

जिल्लागत रूपमा धनुषाबाट सबैभन्दा धेरै २४ हजार २६१ जनाले श्रम स्वीकृति लिएका छन् भने मनाङबाट सबैभन्दा कम १४२ जनाले मात्र श्रम स्वीकृति लिएका छन् ।

यससँगै चालू आर्थिक वर्षमा रोजगारीका लागि इजरायल जानेको संख्या ७ मात्र रहेको छ भने बेलायत जानेको संख्या २ रहेको विभागले जनाएको छ ।

ठगिने पनि बढे, २८ करोड क्षतिपूर्ति भराइयो 
वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै ठगीमा पर्नेको संख्या पनि बढ्दो क्रममा छ । विभागअन्तर्गत उद्धार, राहत तथा समन्वय शाखाले माघ महिनासम्म वैदेशिक रोजगारीका क्रममा समस्या झेल्न बाध्य श्रमिकको समस्या समाधानमा पनि उल्लेख्य काम गरेको दाबी गरेको छ । 

लोकान्तरलाई प्राप्त तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८१/८२ को माघ महिनामा मात्र ११२ वटा नयाँ उजुरी दर्ता भएका छन् । सोही अवधिमा १० जना नेपाली कामदारको उद्दार गरिएको छ भने १५ जनाले क्षतिपूर्ति प्राप्त गरेका छन् । आपसी सहमतिमार्फत् २० उजुरी समाधान भएका छन् । विदेशमा अलपत्र परेकामध्ये माघ महिनामा फिर्ता गरिएको संख्या शून्य रहेको विभागले जनाएको छ । 

माघमा ४५ उजुरी फर्छ्यौट गरिएको छ, जसअन्तर्गत पीडितहरूले २४ लाख ८५ हजार रुपैयाँ क्षतिपूर्ति प्राप्त गरेका छन् । चालू आर्थिक वर्षको पुससम्मको सम्मको तथ्यांकअनुसार विभागमा जम्मा ९ सय ५४ उजुरी दर्ता भएका थिए । तीमध्ये ६४ जनाको उद्धार गरिएको थियो भने ४ सय १९ जनाले क्षतिपूर्ति पाएका थिए । 

उक्त अवधिमा आपसी सहमतिमार्फत् ४ उजुरी फर्छ्यौट भएका छन् भने ३३ जना फिर्ता भएका थिए । उजुरीकर्ताले ४ करोड ८७ लाख २९ हजार ५५० रुपैयाँ बराबरको क्षतिपूर्ति प्राप्त गरेका थिए ।

माघ महिनासम्म १ हजार ६६ उजुरी दर्ता भइसकेका छन् । माघसम्मको तथ्यांक हेर्दा पीडितले ५ करोडभन्दा बढी क्षतिपूर्ति पाएका छन् । यद्यपि अहिले पनि ५ सय १ उजुरी फर्छ्यौट हुन बाँकी रहेको छ । 

मुद्दा तथा अनुसन्धान शाखाको प्रगति
वैदेशिक रोजगार विभागअन्तर्गत मुद्दा तथा अनुसन्धान शाखाले चालू आर्थिक वर्ष २०८१/८२ को माघ महिनासम्म वैदेशिक रोजगारीमा समस्या झेलिरहेका नेपाली कामदारका उजुरी समाधानमा महत्वपूर्ण प्रगति हासिल गरेको दाबी गरेको छ ।

हालसम्म (माघ महिनासम्म) उक्त शाखामा २ हजार ५२१ उजुरी दर्ता भइसकेका छन् । तीमध्ये ३४६ उजुरी मिलापत्रमार्फत् समाधान भएका छन् भने १०९ वटा मुद्दा अदालतमा दायर भएका छन् । विभागका अनुसार कूल २३ करोड ६३ लाख ७ हजार ११० रुपैयाँ क्षतिपूर्ति वितरण भइसकेको छ ।

रोजगारदाता संस्थाको अनुगमन
यसबीचमा विभागले विभिन्न रोजगारदाता संस्था, अभिमुखीकरण तालिम प्रदायक संस्था र परामर्शदाता (कन्सल्टेन्सी)हरूको अनुगमन, निगरानी र फर्स्यौट प्रक्रियामा सक्रिय भूमिका निर्वाह गरेको दाबी गरेको छ ।

विभागको तथ्यांकअनुसार माघ महिनामा मात्र आकस्मिक तथा नियमित अनुगमनमार्फत् ८ वटा रोजगारदाता संस्थाहरूको निरीक्षण गरिएको छ । चालू आर्थिक वर्षको माघ महिनासम्म ६६ वटा संस्था अनुगमनमा परेका छन् ।

यस अवधिमा अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूको १० वटा भौतिक अनुगमन र भाइबरमार्फत् अनलाइन अनुगमन पनि सम्पन्न गरिएको छ ।
गत महिना (पुस) सम्म २३१ वटा संस्थाहरू को अनुगमन भइसकेको थियो । माघ महिनासम्म यो संख्या बढेर २५६ पुगेको छ ।

वैदेशिक रोजगार क्षेत्रलाई मर्यादित, पारदर्शी र सुरक्षित बनाउन विभागले अनुगमनलाई थप प्रभावकारी बनाउँदै आएको विभागका प्रवक्ता गुरुदत्त सुवेदीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्