
काठमाडौं – बेलायतकी प्रधानमन्त्री टेरिजा मेले जनता आफ्नो पक्षमा रहेको बताउँदै ब्रेक्जिटमा भइरहेको ढिलाइको दोष सांसदहरूले लिनुपर्ने भनाइ राखेकी छन् ।
प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रीटबाट बोल्दै मेले मानिसहरू आन्तरिक किचलो र राजनीति खेलबाट थाकिसकेको र आगामी कदमहरूका विषयमा राजनीतिकर्मीहरूले निर्णय लिनुपर्ने बताइन् ।
यसअघि मेले युरोपेली संघका अध्यक्ष डोनल्ड टस्कलाई पत्र लेखेर ३० जुनसम्म ब्रेक्जिटमा ढिलाइको अनुरोध गरेकी थिइन् ।
विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बीनले मे अहिलेको संकटको विशालताका सम्बन्धमा पूर्ण अस्वीकारको स्थितिमा रहेको आरोप लगाए ।
सांसदहरूले मेको ब्रेक्जिट सम्झौतालाई दुईपटक अस्वीकार गरेपछि ढिलाइका लागि पत्र लेख्न उनी बाध्य भएकी थिइन् । सांसदहरूले सम्झौताविहीन ब्रेक्जिटलाई अस्वीकार गर्न समेत मतदान गरेका थिए ।
यो ढिलाइ आफ्ना लागि पश्चात्तापपूर्ण रहेको उनले बताइन् तर उनले ३० जुनपछि ब्रेक्जिटलाई लम्ब्याउन तयार नरहेकोमा उनले जोड दिइन् । केही सांसदहरूले यसमा थप समय आवश्यक भएको बताएका छन् ।
कानून परिवर्तन नभएमा बेलायतले अर्को शुक्रवार अर्थात् मार्च २९ मा युरोपेली संघ त्याग्न लागेको छ ।
बीबीसीबाट